पचास हजार राशिका पाँच ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ पाँच जना स्रष्टालाई अर्पण

रमेश पोखरेल, काठमाडौं

साहित्य सन्ध्याको नियमित मासिक ३९९ औँ शृङ्खला एवम् वार्षिक पुरस्कार तथा सम्मान अर्पण विशेष समारोह भदौ ७ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रित प्रमुख अतिथि हुनुहुन्थ्यो भने नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समारोहका अतिथिहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.जगत् उपाध्याय, प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल, प्राज्ञ डा.देवी नेपाल, प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, माननीय खेम नेपाली, जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राई, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, प्रा.डा.बद्रीविशाल पोखरेल, प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रा.डा.खेमनाथ दाहाल, वरिष्ठ कवि जगन्नाथ आचार्य, कथाकार राममणि पोखरेल, अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे, जनमत साहित्यिक मासिकका मोहन दुवाल, डा.षडानन्द पौडेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, साहित्यकार आनन्दराम पौडेल, वरिष्ठ कवि अनिल पौडेल, शब्द संयोजन साहित्यिक मासिककी कार्यकारी सम्पादक सुमी लोहनी, वरिष्ठ कवि नरेश शाक्य, सङ्गीतकार डम्बर पहाडी, वरिष्ठ गायक जे.बी.टुहुरे, नर्मदेश्वरी सत्याल, मदनप्रसाद सत्याल, पोषरमण चापागाईँ, वरिष्ठ कविहरू उमेश उपाध्याय र विधान आचार्य, कथाकार सीताराम नेपाल, वरिष्ठ साहित्यकार हरिहर खनाल, रेडियो नेपालका निर्देशक टीका भण्डारी, प्राज्ञ नमुना शर्मा, प्राज्ञ शशि लुमुम्बू, वरिष्ठ गजलकार बूँद राना, प्रगतिशील लेखक सङ्घ नेपालका उपमहासचिव आर.सी.न्यौपाने, वरिष्ठ गजलकार रामबहादुर पहाडी उपस्थित हुनुहुन्थ्यो ।
उक्त विशेष समारोहमा उपस्थित सम्पूर्ण व्यक्तित्वलाई सन्ध्याकी सदस्य देबु लुइटेलले स्वागत गर्नुभएको थियो भने राष्ट्रगानको गायनसँगै कार्यक्रमको प्रारम्भ गरिएको थियो । प्रमुख अतिथिले बिजुली बत्ती बालेर समारोहको समुद्घाटन गर्नुभएको थियो । वरिष्ठ कवि जगन्नाथ आचार्यले चारओटा श्लोक कविता वाचन गरी उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई सिन्धुपाल्चोकबाटै ल्याएका पुष्पगुचछा अर्पण गर्नुभएको थियो ।
समारोहका प्रमुख अतिथि, प्राज्ञ प्रा.डा हेमनाथ पौडेल, साहित्य सन्ध्याका अध्यक्ष राम विनय र वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले संयुक्तरूपमा आनन्ददेव भट्टद्वारा लिखित ‘आनन्ददेव भट्टको जीवनवृत्त’ र नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘भूमिका र समीक्षा’ कृतिको लोकार्पण गरिएको थियो । लोकार्पित ‘आनन्ददेव भट्टको जीवनवृत्त’ कृतिमाथि टिप्पणी गर्नुहुँदै प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले वरिष्ठ साहित्यकार एवम् प्रगतिशील साहित्यलेखन तथा आन्दोलनकै धरोहर बन्नुभएका आनन्ददेव भट्ट नै लेखक रहेको यो कृतिलाई साहित्य सन्ध्याले प्रकाशन गरेको, भट्टले बाँचेको त्रियासी वर्ष लामो सङ्घर्षपूर्ण र स्वाभिमानी जीवनका सम्झना यो पुस्तकमा समेटिएको, २००८ सालपछिको नेपाली साहित्य र नेपाली प्रगतिवादी साहित्यका अत्यन्त महत्त्वपूर्ण स्रष्टा आनन्ददेव भट्टको राजनीतिक, साहित्यिक एवम् कत्ति पनि विचलित नभएको निष्ठायुक्त वैचारिकताको चित्रण कृतिमा गरिएको छ । उच्च स्तरको शैक्षिक योग्यता प्राप्त गरेर अध्यापन, पाठ्यक्रम निर्माण, सङ्गठन, अनुवाद आदि क्षेत्रमा अत्यन्तै निष्ठावान् रही भट्टले बाँचेको निर्लाेभी, निस्वार्थी व्यक्तित्व जो वैचारिक निष्ठामा कहिल्यै पनि नझुकेको सङ्घर्षपूर्ण जीवनवृत्तलाई कृतिमा समेटिको हुँदो यो महत्त्वपूर्ण कृति भएको धारणा राख्नुभयो ।
‘साहित्य सन्ध्या–मन’, ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कार स्थापनाको उद्देश्य तथा लोकार्पित ‘भूमिका र समीक्षा’ कृतिका बारेमा प्रकाश पार्दै नर्मदेश्वरी सत्यालले सम्पूर्ण परिवारका सदस्यको सहमतिमा आपूmहरूको देहावसानपछि गरिने परम्परागत रुढियुक्त कर्महरू नगर्ने र त्यस समयमा गरिने खर्चलाई अक्षयकोषमा राखी साहित्य सन्ध्याको व्यवस्थापनमा शिक्षाका क्षेत्रमा र स्वास्थ्यका क्षेत्रमा विशेषगरी आयुर्वेद स्वास्थ्यका क्षेत्रमा योगदान गर्ने विशिष्ट साधकलाई पुरस्कार तथा सम्मान गर्ने उद्देश्यले दुइटा पुरस्कारको स्थापना गरिएको र यो प्रयत्नका माध्यमबाट समाज रूपान्तरणका पक्षमा र फेर्नुपर्ने हाम्रा संस्कारजन्य परम्पारामा रूपान्तरणको प्रयत्न आफैँबाट गरिनुपर्छ भन्ने मान्यता अघि सार्नखोजिएको धारणा राख्नुभयो । साथै आपूmले ‘भूमिका र समीक्षा’ कृतिमा विविध विषयमा कलम चलाएका विषयलाई कृतिको आकार दिएको हुँदा पढेर प्रतिक्रिया दिन आग्रहसुमेत गर्नुभयो ।
स्रष्टाचयन समितिका संयोजक गोपाल मैनालीले साहित्य सन्ध्या पुरस्कार तथा सम्मानका लागि देशैभरिका केही स्रष्टाको नाम टिपेर अलग अलग व्यक्तित्वले नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा गरेको योगदानको विश्लेषण गर्दा अनेरास्ववियुको अध्यक्ष भएर वैचारिक नेतृत्व गरेका, नेपाल पत्रकार महासङ्घको महासचिव भएर योगदान गरेका, झापाको बिर्तामोडमा कञ्चनजङ्घा एम.एम.सञ्चालन गरेर जनअधिकारका पक्षमा लागिरहेका, नेपाली प्रगतिवादी साहित्यका कविता, कथा, संस्मरण, गीत लेखन, गायन, सङ्गीतका क्षेत्रमा योगदान गरेका, तीन सयभन्दा बढी गीतमा सङ्गीत भरेका बहुआयामिक व्यक्तित्वलाई २०७५ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्नु सबैभन्दा बढी उपयुक्त ठानेर सिफारिस गरिएको र सो सिफारिसलाई साहित्य सन्ध्याको कार्यसमितिले निर्णय गरेको जानकारी दिनुभयो ।
‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित हुने चन्द्र भण्डारीको व्यक्तित्वमाथि चर्चा गर्नुहुँदै प्राज्ञ डा.देवी नेपालले सामान्य गोरेटो खनिराखे कुनै दिन पिच हुने रहेछ, बिरुवा रोपिराखे कसैले न कसैले गोडमेल गरेर कुनै दिन फल दिने रहेछ भने झैँ २०३३ सालमा राजविराजमा नेपाली भाषा बचाऊ अभियानको रूपमा स्थापना गरिएको साहित्य सन्ध्या २०३९ सालदेखि सामाजिक रूपान्तरणको वैचारिक अभियान हाँक्ने संस्थाको रूपमा विकसित हुँदै अहिले आफैँमा इतिहास भइसकेको छ । पुरस्कार दिने संस्था र लिने व्यक्तिका बारेमा बोल्दा पनि कहिले काहीँ गौरवबोध हुन्छ, आज त्यही भएको छ । आज सम्मानित हुने चन्द्र भण्डारी पनि आफैँमा इतिहास हो । २०४२ सालमा अनेुरास्ववियुको अध्यक्षको जिम्मेवारी सम्हालेका, २०५२ सालमा नेपाल पत्रकार महासङ्घको जिम्मेवारी सम्हालेका, २०५४ सालमा मेचीनगर नगरपालिकाको उपमेयरको रूपमा निर्वाचित भएर जनताको सेवा गरेका, निरङ्कुशताविरोधी अभियानमा संलग्न हुँदा नौ वर्ष आठ महिना जेलजीवन व्यतीत गरेका, ३०० भन्दा बढी गीत लेखेर सङ्गीतसमेत गरेका निष्ठावान् व्यक्तिलाई साहित्य सन्ध्या जस्तो निष्ठाको, त्यागको र सङ्कल्पको पुरस्कार अर्पण हुनु आफैँमा गौरवको कुरा हो । हामीले मात्र होइन प्रगतिशील धारका स्रष्टाहरूले यो पुरस्कारलाई गर्बिलो पुरस्कार मान्ने गरेको पाइन्छ । ५० भन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका चन्द्र भण्डारी चेतना र जागरणका सम्बाहक, निर्भीक व्यक्तित्व मात्र होइन आफैँमा संस्स्था बनिसकेका हुँदा पुराना पुस्तालाई सम्मान गर्न जानेका र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने व्यक्तित्व चन्द्र भण्डारी सम्मान गर्नलायक पात्र रहेको धारणा राख्नुभयो ।
‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ प्राप्त गर्ने विष्णुप्रसाद पोखरेल र ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ प्राप्त गर्ने वसन्ता शर्मा आचार्यको व्यक्तित्वका बारेमा जयन्ती स्पन्दनले सङ्क्षिप्तमा प्रकाश पार्नुभयो । त्यसैगरी ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’को स्थापनाका बारेमा नियात्राकार पोषरमण चापागाईँले प्रकाश पार्नुभयो र साहित्यकार एवम् ‘अक्षरका रङहरू’ नियात्रासङ्ग्रहका सम्पादक अच्युत घिमिरेको व्यक्तित्वका बारेमा समेत प्रकाश पार्नुभयो ।
सम्मानित व्यक्तित्वका बारेमा प्रकाश पारिसकेपछि रु.१५,०००।– राशिको २०७५ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ वरिष्ठ साहित्यकार, गीतकार, सङ्गीतकार, सञ्चारकर्मी चन्द्र भण्डारीलाई अर्पण गरियो । सभाध्यक्ष राम विनयले माला लगाइदिनुभयो । विशिष्ट अतिथि गङ्गाप्रसाद उप्रेतीले दोसल्ला ओढाइदिनुभयो भने प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले सम्मान पत्र तथा पुरस्कार राशि अर्पण गर्नुभयो । त्यसैगरी रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–मन’ पुरस्कार तथा सम्मान’द्वारा प्रगतिवादी विचारक, सङ्गठक, शिक्षासेवी वरिष्ठ प्रधानाध्यापक विष्णुप्रसाद पोखरेललाई सम्मानित गरियो । त्यसैगरी रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कार तथा सम्मान’द्वारा दाङ जिल्लाको सिसनिया स्वास्थ्चौकीमा पाँचौँ तहको अनमी पदमा कार्यरत रहेर ‘मातृ शिशु स्वास्थ सेवा’मा विशेष योगदान गरी मानवजीवन रक्षामा उल्लेख्य योगदान गरिरहेकी वसन्ता शर्मा आचार्यलाई अर्पण गरियो । त्यसैगरी रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा साहित्यकार एवम् अङ्क्षरका रङहरू नियात्रासङ्ग्रहका सम्पादक अच्युत घिमिरेलाई सम्मानित गरियो । त्यसैगरी यसै वर्षदेखि प्रारम्भ गरिएको साहित्य सन्ध्याका वर्षभरिका एघारओटा गाष्ठीमध्ये दसओटामा प्रत्यक्ष सहभागिता जनाउने स्रष्टालाई रु.५,०००।– राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा मुकुन्द न्यौपानेलाई सम्मानित गरियो ।
सम्मानित व्यक्तित्व मुकुन्द न्यौपानेले एउटा कविता वाचन गर्नुभयो भने सम्मानित व्यक्तित्व वसन्ता शर्मा आचार्यले दूरदराजमा रहेर आप्mनो कर्ममा निष्ठावान् रहेकी मलाई साहित्य सन्ध्याले मेरो निस्वार्थ कर्मलाई समेत मूल्याङ्कन गरी सम्मानित गर्ने निर्णय गरेकोमा अत्यन्त खुसी लागेको छ र अझ जिम्मेवारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्दछ भन्ने दायित्वबोध भएको छ भन्नुभयो ।
सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यकार, गीतकार, सङ्गीतकार, सञ्चारकर्मी चन्द्र भण्डारीले साहित्य सन्ध्याको पुरस्कार तथा सम्मान प्राप्त गरेकोमा खुसी छु भने सहरले गाउँ बिर्सिँदै गएकोमा दुःखी पनि छु । आपूmले रेडियोमा महिनामा छत्तिसओटा कार्यक्रम गाउँकेन्द्रित गरिरहेको, अहिले गाउँ बिर्सिने र धर्मको किनबेचको प्रवृत्ति मौलाइरहेकोमा चिन्ता लागिरेको छ । वर्तमान संविधानको कमजोरीको फाइदा उठाएर विधर्मीले नाङ्गो नाच मच्चाइरहेका छन् । त्यसैले राज्यको स्वाधीनता जोगाउने आन्दोलन अब राजनीतिले होइन साहित्य, कला र संस्कृतिले गर्नुपर्ने वेला आएको छ । पूर्वाेत्तर भारतमा नेपाली भाषीहरू छन्, उनीहरूका भाषा, संस्कृति, रीतिरिवाज छन्; त्यहाँ पुग्नु जरुरी छ । नेपालमाथिको सांस्कृतिक अतिक्रमण रोक्न नेपालबाहिरका नेपालीको सिर्जनात्मक भूमिका रहन्छ । म जस्तो आफ्नै कर्ममा लागिरहेको गाउँमा बस्नेलाई धेरै फुक्र्याउनु् पनि हुँदैन । अहिलेकै गतिमा विधर्र्मीका गतिविधि बढिरहे भने मुलुकमा धार्मिक युद्ध हुने अवस्था आउने छ । सम्पूर्ण विष, विषादी र विकृतिका विरुद्धमा हामी स्रष्टाले बोल्नु आवश्यक छ, राजनीतिक पार्टीका गुटका विरुद्धमा लेख्नु आवश्यक छ । आजको यो अवसरमा हामी सबै यो कर्ममा लागौँ भन्ने आग्रह गर्दछु । साहित्य सन्ध्याको पुरस्कार निष्ठाको पुरस्कार हो, म यसलाई सदैव शिरमा राख्छु र सत्कर्ममा लागिरहन्छु भन्नुभयो ।
जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राईले सहरको व्यस्तताले र यहाँका अवसरहरूले सांस्कृतिक आन्दोलन मलुवा भएको सत्य हो । जनसंस्कृति सहरकेन्द्रित हुनु राम्रो होइन नै । सामाजिक सांंस्कृतिक रूपान्तरणको आन्दोलनमा हामी स्रष्टा सम्पूर्ण रूपमा लाग्नु आजको आवश्यकता पनि हो र चुनौती पनि हो । संविधानमा विमति छन् तापनि संयमताका साथ विकृति र विसङ्गति हटाएर अगाडि जानुपर्दछ । साहित्य सन्ध्या आफैँमा प्रतिष्ठित र ऐतिहासिक संस्था हो । इतिहास बोकेको यो संस्था सहरमा रहे पनि यसका आँखा देशैभरि पुग्छन् भन्ने कुराको प्रमाण आजका सम्मानित स्रष्टाहरूको चयन हो । साहित्य सन्ध्याको यो पुरस्कारले पुरस्कारको गरिमा र गौरव कायम गर्नसकेको छ । इमान र निष्ठाको खोजी गर्ने र सम्मानित गर्ने कार्य आफैँमा सराहनीय छ । आज सम्मानित पाँचै जना स्रष्टालाई हार्दिक बधाई दिन्छु भन्नुभयो ।
विशिष्ट अतिथि गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा अपहेलित भएको, मैथिली र सोभन्दा बढी हिन्दीको बाहुल्य रहेका कारण नेपाली भाषा बचाऊ अभियानको रूपमा २०३३ सालमा राजबिराजमा थालिएको कवगोष्ठी ५–६ वर्ष चल्यो । पछि हामी र विद्यार्थी काठमाडौँ सरेर आएपछि २०३९ सालदेखि सामाजिक रूपान्तरण अभियानका रूपमा यो अगाडि बढ्यो । समय र सन्दर्भलाई समातेर अविश्रान्त यात्रारत रहने हो भने इतिहास बन्दोरहेछ, अभियान बन्दोरहेछ । साहित्य सन्ध्या पनि यो अवस्थासम्म आइपुग्न धेरैको योगदान रहेको छ । आजका दिनमा यो ऐतिहासिक र ऊर्जावान् संस्था बनेको छ । यसले महत्त्वपूर्ण काम गरेको छ । संस्थामा रेहर योगदान गर्ने पुरानाको सम्मान गरेको छ र नयाँलाई कार्यशालाका रूपमा स्थान दिएको छ । देशैभरिका महत्त्वपूर्ण योगदान गरिरहेका स्रष्टालाई खोजेर सम्मानित गरेको छ । पूर्वको झापामा रहेर देशबाहिरका नेपालीलाई जोड्ने काम चन्द्र भण्डारीले गरिरहनुभएको छ । राजनीतिमा जस्तो छिटो परिवर्तन संस्कृतिमा आउँदैन । चन्द्रजीले गाउँमा जनचेतना बढाएको सत्कर्मलाई आजको पुरस्कारले सम्मानित गरेको हो । २०६७ सालपछिको नेपाल प्रज्ञाप्रतिष्ठानलाई पहिलेको अवस्थासँग तुलना गर्नमिल्दैन । अहिले प्रज्ञाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरेको छ, प्रकाशनमा अग्रणी भूमिका निर्वाह गरेको छ, बाहिरका नेपालीलाई समेट्न लागिपरेको छ साथै अब प्रज्ञाले नेपाललाई लेखनद्वारा चिनाउने र विदेशीलाई समेत पुरस्कृत गर्ने योजना बनाएको छ । अब अन्तरदेशीय सहकार्य पनि गरिने छ । साहित्य सन्ध्याको पनि आकार बढिरहेको छ । उदारमना साहित्यकारहरूको प्रयत्नले संस्था सुदृढ पनि बनेको छ र यसले सजगकताका साथ, जिम्मेवारीका साथ यात्रा तय गरिरहेको छ । आजको गरिमामय समारोहमा साहित्य सन्ध्या पुरस्कार तथा सम्मानद्वारा सम्मानित सबै पाँचै जना स्रष्टाहरू बधाईका पात्र हुनुहुन्छ भन्नुभयो ।
प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले स्वर्ग भन्ने अन्धविश्वास र रुढि आज पनि मौलाइरहेको छ । उतिवेलै गौतम बुद्धले जातपातको विरोध गरे । उनलाई आदर्श त मानियो तर समाजबाट जातपातको अन्धविश्वास हटेन । त्यसैले नपाली समाजको दिमागमा नै अन्योल छ । नेपाली समाजले नयाँ यो कुराको आविष्कार गर्यो भन्ने कमै सुनिन्छ । हाम्रा लेखनमा विज्ञानले प्रवेश पाइरहेको छैन, पाउनुपर्दछ । हाम्रो मुलुक विविधतायुक्त छ र समृद्ध छ । जातपातका कुरामा अहिले हाम्रो समाज थोरै अगाडि त बढेको छ तर ग्रामीण समाज अझै उस्ताको उस्तै छ ! हामी साहित्यकारको अबको लेखन सबै मानिस एकै हौँ भन्ने पक्षमा, जीवननिर्वाहमुखी लेखनका पक्षमा, सम्पूर्ण जनतालाई जागरुक पार्ने लेखनका पक्षमा, हाम्रो देशमा यी यी व्यवसाय गर्ने सम्पदा छन् भन्ने जानकारी दिने पक्षमा केन्द्रित हुनुपर्दछ । विज्ञानमुखी, प्रविधिमुखी, उद्योगमुखी, व्यवसायमुखी सिर्जना आवश्यक छ । यसमा सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । ठग प्रवृत्ति, ढाँट प्रवृत्तिले मुलुकको समृद्धि हुँदैन । हामीलाई आपूmसँग भएका महत्त्वका कुरामा जानकारी नै छैन र राख्दैनौँ पनि । औद्यागीकरणको चेतनाको विकास नै भएन हामीकहाँ ! त्यसैले शिक्षामा, प्रविधिमा, अन्वेषणमा क्रान्ति ल्याउने सचेत लेखन आवश्यक छ । आजको यो विशेष समारोहमा आफ्नो क्षेत्रमा रहेर विशिष्ट योगदान गर्ने व्यक्तिहरू सम्मानित हुनुभएको छ । सबैलाई बधाई छ । साहित्य सन्ध्याको यो अविश्रान्त अभियानलाई पनि बधाई छ भन्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले आजको यो विशेष समारोह ३९९ औँ नियमित शृङ्खला पनि हो । आज दुइटा कृति लोकार्पित भए । शीर्षस्थ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको जीवनवृत्त प्रकाशन गर्ने अवसर साहित्य सन्ध्यालई प्राप्त भयो । हामीलाई गौरवबोध पनि भइरहेको छ । साहित्यकारले विकृति र विसङ्गतिका विरुद्धमा लेख्नुपर्छ । आज पाँच जना स्रष्टा सम्मानित हुनुभयो । स्रष्टाहरूका बारेमा चर्चा गरिदिने चर्चाकार तथा सम्मानित स्रष्टालाई हार्दिक धन्यवाद छ, बधाई छ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *