पाँचजना विशिष्ट व्यक्तित्वलाई २०७९ सालका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४३ औँ विशेष शृङ्खला भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्ष, काठमाडौँमा आयोजना गरी पाँचजना विशिष्ट व्यक्तित्वलाई २०७९ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरियो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सदस्य रूपक अलङ्कारको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा साहित्यकार एवम् प्रतिनिधिसभा सदस्य माननीय रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा प्रा.केशव सुवेदीको उपस्थिति रहेको थियो । विशेष अतिथिहरूमा पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिवहरू प्रा.डा.जीवेन्द्र देव गिरी र प्रा.जगत्प्रसाद उपाध्याय, प्रज्ञाका पूर्व प्राज्ञपरिषद् सदस्यहरू प्रा.डा.हेमनाथ पौडेल, प्रा.डा.देवी नेपाल र लक्ष्मी माली उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकारहरू वासुदेव अधिकारी र विधान आचार्य, ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कारका लागि अक्षयकोष स्थापनाकर्ता डा.मदनप्रसाद सत्याल र नर्मदेश्वरी सत्याल, ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार’का लागि अक्षयकोष स्थापक साहित्यकार पोषरमण चापागाईँ, हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने, विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल, सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रकी अध्यक्ष डा.सावित्री श्रेष्ठ, उमेश उपाध्याय, डा.वसन्त पन्त, खेमराज निरौला, नर्मदेश्वरी सत्यालकी बयासी वर्षीय आमा खेमकुमारी घिमिरे, नरदेवी आयुर्वेदिक चिकित्सालयका कार्यकारी प्रमुख डा.प्रदीप के.सी., डा.जया सत्याल, विजया सत्याल, डा.राजेन्द्रप्रसाद अधिकारी, द्रोण कोइराला, शार्दूल भट्टराई, वरिष्ठ कविहरू अनिल पौडेल, मोहन दुवाल र नरेश शाक्य, धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशन, नमुना शर्मा, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, वरिष्ठ कवि स्नेह सायमी, साहित्यकार हरिप्रसाद भण्डारी, कवि तथा गीतकार चिन्तामणि सिवाकोटी, राममणि ढुङ्गेल, बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर तथा साहित्यकार अनिता लामा, डम्बर पहाडी, प्रगतिशील लेखक सङ्घ बाग्मती प्रदेशका बैरागी जेठा, महेश खरेल, गायत्रीकुमार चापागाईँ, डा वसन्त पन्तकी जीवन सङ्गिनी प्रा.विजया पन्त, डा.कृष्ण सुवेदीलगायत अतिथिका रूपमा उपस्थित हुनुहन्थ्यो ।


उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथिले बिजुली बत्ती बालेर गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तित्वलाई सन्ध्याकी सचिव जयन्ती स्पन्दनले स्वागत गर्नुभएको थियो । २०७९ सालका साहित्य सन्ध्या पुरस्कार तथा सममान अर्पण गर्ने प्रयोजनका लागि साहित्यकार विधान आचार्यको संयोजकत्वमा जयन्ती स्पन्दन र ज्ञानु विद्रोही रहेको ‘स्रष्टा चयन समिति’ गठन गरिएकोमा उक्त समितिले सममान तथा पुरस्कारका लागि व्यक्तित्व चयन गरी सिफारिस गरेको हुँदा स्रष्टा चयनको औचित्य तथा आधारका बारेमा संयोजक विधान आचार्यले पुरस्कृत हुने पाँचैजनाको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।


वि.सं.२०१५ कार्तिक १७ गते झापा जिल्लाको भद्रपुरमा माता धर्मकुमारी उपाध्याय र पिता पुण्यप्रसाद उपाध्यायका सुपुत्रका रूपमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण गरी २०३१ सालमा नयाँ सन्देश पत्रिकामा मुक्तक छपाई नेपाली साहित्यमा प्रवेश गरेर नेपाली साहित्यमा पाँचओटा कवितासङ्ग्रह, दुईओटा उपन्यास प्रकाशित गराइसक्नुभएको र निबन्ध, समालोचना विधामा फुटकररूपमा कलम चलाइरहनुका साथै निरन्तर सिर्जनारत रहँदै नेपाली प्रगतिवादी साहित्यमा अविच्छिन्न योगदान गर्नुभएका, नेपाली समाजको समग्र रूपान्तरणका लागि सिर्जना, वैचारिक सङ्गठन, प्रशिक्षण, समाजसेवा र जनपरिचालनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका उमेश उपाध्यायलाई रु.एक्काइस हजार एक सय राशिको २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।


वि.सं.२०२२ असोज १९ गते माता कौशल्यादेवी निरौला र पिता हरिप्रसाद निरौलाका सुपुत्रका रूपमा ताप्लेजुङ जिल्लाको पूmलबारी रमितेमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरी सिङ्गो जीवन प्राध्यापन तथा नेपाली साहित्यका कविता, कथा, गीत, निबन्ध, समालोचना आदि सबै विधामा सक्रियताका साथ कलम चलाउनु भई नेपाली समाजको रूपान्तरणका पक्षमा उल्लेख्य योगदान गरिरहनुभएका; विभिन्न सङ्घसंस्थामा सक्रिय रहनुभएका खेमराज निरौलाले साहित्य सन्ध्याले सम्पन्न गरेका वर्षभरिका बारओटा गोष्ठीमध्ये एघारओटामा प्रत्यक्ष सहभागी भई सिर्जना वाचन गर्नुभएको अभिलेखबाट देखिएको हुँदा रु.पाँच हजार राशिसहित २०७९ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।


वि.सं.२०१७ माघ १५ गते माता सुशीला पन्त र पिता गोपालराज पन्तका सुपुत्रका रूपमा जन्मिनुई पुख्र्यौली घर गोरखा र हाल वनस्थली, काठमाडौँमा बसोवास गरिरहनुभएका र जापानको हिरोसिमा विश्वविद्यालयबाट न्युरोसर्जरीमा विद्यावारिधि गर्नुभई स्नायु रोग विशेषज्ञका रूपमा स्वदेश तथा विदेशमा अतुलनीय सेवा गर्नुभएका, अत्यन्त जटिल प्रकृतिका ३०० भन्दा बढी शल्यक्रिया गर्नुभएका र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट स्थापना गरी त्यसैका माध्यमबाट स्वदेश तथा विदेशका लाखौँ जनताको जीवनरक्षामा विशिष्ट योगदान गर्नुभएका, प्राध्यापनका माध्यमबाट स्नायुसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न र विशेषज्ञ सेवाका माध्यमबाट नेपाली जनताकोे जीवनरक्षामा अहोरात्र समर्पित रही विभिन्न संस्थामा आबद्ध रही, विभिन्न प्रकाशनसमेतमा सक्रिय भूमिका निर्वाह गरी जनतालाई स्तरीय चिकित्सा सेवा दिनुका अतिरिक्त अन्तर्राष्ट्रिय जगत्मै विशेषज्ञ चिकित्सकको पहिचान कायम गरी देशकै गौरव बन्न सफल हुनुभएका डा.वसन्त पन्तलाई उहाँको यो गौरवपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै रु.दश हजार राशिको २०७९ सालको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।


वि.सं.१९८७ माघ १ गते दैलेखमा माता रञ्जिता आचार्य र पिता मधुलाल आचार्यकी सुपुत्रीका रूपमा जन्म भई वीरेन्द्रनगर नगरपालिका वडा नं.१२ नेवारे, सुर्खेतमा बसोवास रहेकी, छोरीले पढ्नै नहुने त्यो कठोर समयकी महिला भएर पनि सामान्य लेखपढ गर्नसक्ने, ‘पुराना भजन तथा तीज गीतसङ्ग्रह’ २०७८ प्रकाशित गरिसकेकी नन्दकला सुवेदीले अठासी वर्षको उमेरमा ४,५९० मिटरको उचाइमा रहेको तिब्बतको मानसरोवर र सोभन्दा १०० मिटर माथि रहेको कैलाश पर्वतको परिक्रमा गर्ने स्थल दार्चेनसम्मको साहसिक यात्रा सम्पन्न गरी ‘अठासी वर्षमा कैलाश मानसरोवर’ २०७९ नियात्रा कृति प्रकाशित गर्नुभई जीवनको उत्तरार्धमा पनि नेपाली नियात्रा साहित्यमा अनुकरणीय योगदान गर्नुभएको हुँदा रु.दश हजार राशिको २०७९ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरियो ।


वि.सं.२०६८ माघ १५ गते अर्घाखाँची जिल्लाको पाणिनी ३, खिदिममा माता मिठु कामी र पिता बाबुराम कामीकी सुपुत्रीका रूपमा जन्म भई श्री सरस्वती भवन राष्ट्रिय माध्यमिक विद्यालय, खिदिममा कक्षा ७ मा अध्ययनरत रहेकी गोमा कामीका बुबाको जीवन निर्वाहका लागि मजदुरी गर्न गएकै अवस्थामा भारतको भोपालमा असामयिक मृत्यु भएपछि एकल आमाले बनीबुतो गरेर भए पनि पठनपाठनमा योगदान गरिरहनुभएको देखिएको र उहाँँ पनि आशावादी जीवनदृष्टिका साथै आफ्नो भविष्य निर्माणमा आफैँ सङ्घर्षरत रहनुभएको पाइएकाले उहाँको सक्रिय, आशावादी एवम् सङ्घर्षपूर्ण जीवनयात्रालाई थप प्रोत्साहित गर्दै सत्कर्मका माध्यमबाट असल नागरिक बन्नसक्नुहोस् भन्ने कामनाका साथ २०७९ सालको रु.दश हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा उहाँलाई सम्मानित गरियो ।


पुरस्कृत सबै व्यक्तित्वलाई समारोहका अध्यक्ष राम विनयले माल्यार्पण गर्नुभएको, विशिष्ट अतिथिले दोसल्ला ओडाइदिनुभएको थियो भने प्रमुख अतिथिले पुरस्कार राशि तथा सम्मानपत्र अर्पण गर्नुभएको थियो । समारोहमा सुर्खेतकी ९३ वर्षीय नन्दकला सुवेदीको पुरस्कार तथा सम्मान उहाँका साहिँला छोरा नन्दलाल सुवेदी र कान्छी छोरी पवित्रा सुवेदीले ग्रहण गर्नुभएको थियो भने गोमा कामीको पुरस्कार तथा सम्मान कविराज पराजुलीले ग्रहण गरिदिनुभएको थियो ।


सो विशेष समारोहमा यस वर्ष साहित्य सन्ध्याको अभियानलाई नजिकबाट मूल्याङ्कन गरी रु.एक लाख राशिको पुरस्कार तथा सम्मान प्रदान गर्ने हेमराज स्मृति प्रतिष्ठान, ‘अमरज्योति साहित्य सम्मान’द्वारा सम्मानित गर्ने विद्युतकर्मी साहित्यिक समाज र सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रलाई हार्दिक आभारपत्र अर्पण गरिएको थियो । संस्थाका अध्यक्षहरू रीता न्यौपाने, कृष्णदेव रिमाल र डा.सावित्री श्रेष्ठलाई समारोहका अध्यक्ष राम विनयले माल्यार्पण गर्नुभएको थियो भने प्रमुख अतिथिले आभारपत्र समर्पण गर्नुभएको थियो ।


नर्मदेश्वरी सत्यालले शिक्षा, स्वास्थ्य, साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई ‘साहित्य सन्ध्या–मन’ र ‘साहित्य सन्ध्या–कृष्णचन्द्र बालकुमारी सत्याल’ सम्मान तथा पुरस्कार समर्पण गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको बारेमा प्रकाश पार्नुभयो भने साहित्यकार पोषरमण चापागाईँले ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ अर्पण गर्ने प्रयोजनका लागि अक्षयकोषको सथापना गरेको जानकारी गराउनुहुँदै साविकमा रु.एक लाखको अक्षयकोष स्थापना गरेकोमा रु.पचास हजार थप गर्ने घोषणासहित समारोहका अध्यक्षलाई उक्त रकमको चेक प्रदान गर्नुभएको थियो ।


‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित उमेश उपाध्यायले आपूmले प्रगतिशील साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा केही योगदान गर्नसकियोस् भन्ने मान्यताका साथ साहित्यसिर्जना गरेको र पाँचओटा कवितासङ्ग्रह तथा दुइटा उपन्यास प्रकाशित गरेको, ३८ वर्ष प्राध्यापन गरेको, लामा व्याख्यानसहितका प्रशिक्षण दिएको, नेपालको श्रमिक आन्दोलनलाई व्यवस्थित पार्न योगदान गरेको र फेरि साहित्यकै किनारमा फर्किएर आख्यान लेखिरहेको अवस्थामा साहित्य सन्ध्याले योग्य ठानेर पुरस्कार तथा सम्मान अर्पण गरेकोमा हार्दिक धन्यवाद दिन्छु, आभार व्यक्त गर्दछु भन्नुभयो ।
सम्मानित व्यक्तित्व डा.वसन्त पन्तले साहित्य सिर्जनाका माध्यमबाट प्राप्त हुने ख्याति र चिकित्साका क्षेत्रको सफलता एकै खालको हुँदैन । एउटा बिरामीको रोग निको पार्न वर्षाैँ लाग्ने र निको भएपछि डाक्टर भगवान पनि भन्ने तर आपूmले उपचार गरेको बिरामी तलमाथि हुँदा गाली पनि खाने पेसाको मजस्तो व्यक्तिले गरेको योगदानलाई मूल्याङ्कन गरेर राजनीतिकर्मी मात्र नभई साहित्यकारसमेत रहनुभएका आजका प्रमुख अतिथिका हातबाट मैले पुरस्कार तथा सम्मान ग्रहण गरिरहँदा मलाई आफ्नो कर्ममा थप दायित्व थपिएको महसुस भएको छ र यो मूल्याङ्कनका प्रति हार्दिक आभार व्यक्त गर्दछु भन्नुभयो । सम्मानित व्यक्तित्व त्रियानब्बे वर्षीय नन्दकला सुवेदीले सुर्खेतबाट ‘यो उमेरमा आपूmलाई सम्मान गरेकामा हार्दिक धन्यवाद दिन्छु’ भनी पठाउनुभएको अडियो सन्देश नन्दु उप्रेतीले समारोहमा सुनाइदिनुभएको थियो ।


विशिष्ट अतिथि प्रा.केशव सुवेदीले साहित्य सन्ध्याले अविच्छिन्न ४४३ औँ शृङ्खलाका रूपमा आजको यो विशेष समारोह आयोजना गरिरहेको छ । नेपाली प्रगतिशील साहित्यको संस्थागत विकासमा यस संस्थाले महत्त्वपूर्ण योगदान गरेको छ । उल्लेख्य सङ्ख्यामा साहित्यिक व्यक्तित्व निर्माण गरेको छ । अब यो अभियानका उपलब्धिको अनुसन्धान र अभिलेखन पनि आवश्यक रहेको छ भन्नुहुँदै सम्मानित सबैलाई बधाई दिनुभयो ।


प्रमुख अतिथि माननीय रघुजी पन्तले साहित्य सन्ध्याको चार दशक लामो निरन्तरको सक्रियता र आज सम्मानित वयक्तिहरू सबैलाई बधाई ज्ञापन गर्दछु । अहिलेको यवापुस्ता भाषा साहित्यका प्रति विमुख भइरहेको अवस्थामा यस्ता समारोहमा आफ्ना बालबालिकालाई ल्याउने, सुनाउने र उनीहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने काम हामीले गम्भीरताका साथ गरेनौँ भने कालान्तरमा नेपाली भाषा साहित्यको उत्थान होइन पतन हुने सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।


समारोहमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष रमेश पोखरेलले आजको यो विशेष समारोहमा उल्लेख्य र गुणस्तरीय उपस्थिति रहेको छ । २०३३ सालमा राजबिराजमा गङ्गाप्रसाद उप्रेतीलगायतले साहित्यका माध्यमबाट नेपाली भाषा जोगाउने अभियानका रूपमा परिकल्पना गर्नुभएको र उहाँहरू तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थी काठमाडौँ आएसँगै २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको सोद्देश्यमूलक वैचारिक अभियानका रूपमा थालनी गरेको र एक वर्षपछि देखि नै वासुदेव अधिकारीलगायतले हाँकेको आनदोलनका चार दशक व्यतीत भएका छन् । यस संस्थाले अहिलेसम्म ६३ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरेको छ । यो अभियानको उद्देश्यसँग सहमत हुने व्यक्तित्वहरू अक्षयकोष स्थापना गरेरै जोडिनुभएको छ । संस्थाको यति लामो इतिहास निर्माणमा योगदान गर्ने सबै सबैमा हामी हार्दिक धन्यवाद अर्पण गर्दछौँ र सबैको प्रेरणाले यो अभियानलाई निरन्तर अगाडि बढाइरहन्छौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथिहरू, अतिथिहरू, सहभागी आदरणीय व्यक्तित्वहरू, सम्मानित व्यक्तित्वहरू, स्रष्टा चयन समितिका पदाधिकारहरू सबै सबैमा हार्दिक धन्यवाद अर्पण गर्दछौँ आभार प्रकट गर्दछौँ भन्नुभयो ।


समारोहका अध्यक्ष राम विनयले २०७९ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने आजको यो विशेष समारोहमा उपस्थित भइदिने सबैप्रति हामी आभारी छौँ । यो अविच्छिन्न र निरन्तर साहित्यका माध्यमबाट हाँकिएको वैचारिक अभियान हो । हाम्रो अभियानको आत्मसमीक्षासहित हामी अगाडि बढिरहन्छौँ भन्नुभयो र यो विशेष समारोह सफल पार्न योगदान गर्ने सबैका प्रति आभार व्यक्त गर्दै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *