मितिः २०६९।३।२
रमेश पोखरेल,काठमाण्डु
साहित्य सन्ध्याको ३१७ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘पुष्पलाल र मदन भण्डारीको स्मृतिमा कविगोष्ठी र कविताको वाचन वैशिष्ट्य’का बारेमा चर्चा गरी सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याकी सदस्य नर्मदेश्वरी सत्यालको अध्यक्षता गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीका प्रमुख अतिथि वरिष्ठ वामपन्थी राजनीतिज्ञ नरबहादुर खाँड हुनु हुन्थ्यो भने अतिथिमा पुष्पलालका समकालीन तथा भूपि शेरचनलाई कम्युनिस्ट बनाउने पाका राजनीतिज्ञ एवम् स्रष्टा हर्ष स्याङ्बो, लोक संस्कृतिविद् तुलसी दिवस, साझा प्रकाशनका सञ्चालक एवम् कवि अनिल पौडेल, राम विनय, वरिष्ठ कवि राम बहादुर पहाडी उपस्थित हुनु हुन्थ्यो ।
लोक संस्कृतिविद् तुलसी दिवसले कविताको मर्म वाचन कला, दृश्य र प्रकाशनका माध्यमबाट सार्वजनिकीकरण हुने गर्दछ । प्रकाशनले मात्र कवितालाई जीवन्त पार्न सक्तैन, आकर्षक पाराले हिँडाउन सक्तैन; त्यसका लागि वाचन वैशिष्ट्य अत्यन्त आवश्यक कुरा हो । वाचनको आकर्षणले नै स्रोतालाई लट्ठ बनाएर कविता सुन्न बाध्य पार्दछ । कविता शब्दमा निकै शक्तिशाली रहेछ भने पनि वाचन कला कमजोर भइ दियो भने स्रोतालाई आकर्षण गर्न सक्तैन । त्यसै गरी कविताको सर्जक वा कवि समाज वा आफ्नो लेखनप्रति जिम्मेवार पनि हुनु पर्दछ, समाजका विकृति विसङ्गतिका प्रति सचेततापूर्वक र सही ढङ्गले निसाना लगाउन सक्यो भने सफल कविता बन्न सक्तछ भन्दै कविताको वाचन वैशिष्ट्यका विषयमा निकै लामो प्रशिक्षणमूलक मन्तव्य दिनु भयो र कविता वाचन समेत गर्नु भयो ।
गोष्ठीमा नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा एवम् हस्ती क.पुष्पलालका समकालीन ८५ बर्से कवि हर्ष स्याङ्बो, अच्यूत घिमिरे, प्रदीपरत्न शाक्य, मोहिनी मन, वैरागी जेठा, बालकवि शिक्षा नेपाल, गोपाल नेपाल, ध्रुव घिमिरे, सीताराम नेपाल, भद्रगोल किराती, रुवी नेपाल, स्वागत नेपाल, मीना ज्ञवाली, सभ्यता नेपाल, आँसु शर्मा, पुण्य गौतम ‘विश्वास’, रामबहादुर पहाडी, सरु आस्था, इन्द्रजित चौलागाईँ, बलराम राई, प्रभाती किरण, निर्भीक राई, जी.के.एन.खडेरी, असीम सागर, यदुनाथ वसन्तपुरे, रमा खतिवडा र गोपालकुमार मैनालीले आआफ्ना कविता, गीत, गजल तथा तान्का वाचन गर्नु भएको थियो ।
वाचित कवितामाथि समीक्षक एवम् कवि अतीन्द्र दाहालले टिप्पणी गर्नु हुँदै गोष्ठीमा पुराना र नयाँ पुस्ताको जमघट (दश–बाह्र बर्से देखि ८५ बर्से कवि) साहित्य सन्ध्याले गराएको र सिक्ने सिकाउँने कार्यशालाका रूपमा लामो समयदेखि साहित्य सन्ध्याले सबैलाई मञ्च प्रदान गरि रहेको; पुराना स्रष्टाका उत्कृष्ट कवितादेखि नयाँ स्रष्टाका सिकारु कविता वाचन गरिएका, साहित्य सन्ध्याले आयोजना गरेको यस गोष्ठीको अभिप्राय भनेकै हरेक कविका कवितामा परिवर्तनको आकाङ्क्षा होस् अर्थात् यथास्थितिमा रूपान्तरणको भावना अभिव्यक्त होस् भन्ने रहेको, कविले आफ्ना कवितामा समयको विसङ्गतिलाई सशक्त ढङ्गले उजागर गर्नु पर्ने र कविताले नै त्यो कुरा बोल्नु पर्दछ भन्ने कुरामा कविले विशेष ध्यान पु¥याउने पर्ने भन्दै विचार कलाको सन्तुलन नै कविताको सशक्त पक्ष हो भन्नु भयो ।
उपस्थित सबै स्रष्टालाई धन्यवाद दिँदै साहित्य सन्ध्याको उद्देश्य तथा अभियानका बारेमा समेत जानकारी दिई स्रष्टाहरूको निरन्तर सहभागिता तथा रचनामा निखारको अपेक्षा सहित सभाध्यक्ष नर्मदेश्वरी सत्यालले गोष्ठीको समापन गर्नु भयो ।