पोखराका प्रगतिवादी साहित्यकार लोकनाथ पुडासैनीको ‘चामल भात’ उपन्यासको लोकार्पण एवम् परिचर्चा सम्पन्न

पुस १६ गते शनिवार अपराह्न ठिक १ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष, बाग बजारमा जन साहित्यिक मञ्च, नेपाल काश्कीका अध्यक्ष लोकनाथ पुडासैनीद्वारा लिखित उपन्यास ‘चामल भात’ को लोकार्पण एवम् परिचर्चा कार्यक्रम सम्पन्न गरियो । जन साहित्यिक मञ्च नेपालका केन्द्रीय अध्यक्ष राम विनयको अध्यक्षता र मञ्चको आख्यान विभागका संयोजक नवराज रिजालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा साहित्यकार एवम् एमाले नेता पूर्व मन्त्री खगराज अधिकारी प्रमुख आतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो । विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी हुनु हुन्थ्यो भने अतिथिहरूमा प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.यादबप्रकाश लामिछाने, प्रा.डा.कृष्णप्रसाद घिमिरे, पुडासैनी समाजका अध्यक्ष उत्तम पुडासैनी, भुँडी पुराण प्रकाशनका केशव पराजुली, जन गायक रामेश श्रेष्ठ, डा.कृष्ण दाहाल, वरिष्ठ कवि द्वय वासुदेव अधिकारी र कणाद महर्षि र उपन्यासकार लोकनाथ पुडासैनी उपस्थित हुनु हुन्थ्यो ।

15726750_821320244675859_5295724809635108658_n
साहित्यकार लोकनाथ पुडासैनीद्वारा लिखित ‘चामल भात’ उपन्यासको सार्वजनिकीकरण प्रमुख अतिथि पूर्व मन्त्री खगराज अधिकारीले गर्नु भयो । लोकार्पित उक्त उपन्यासका बारेमा समालोचना गर्दै प्रा.डा.यादबप्रकाश लामिछानेले स्रष्टाले गरेको सिर्जनामाथिको टिप्पणी कठिन कुरा हो, त्यसमा पनि ३६९ पृष्ठको उपन्यास एक हप्ताभन्दा पनि कम समयमै अध्ययन गरी समालोचना गर्नु पर्ने जिम्मेवारी झन् चुनौती पूर्ण रहेको भए पनि उपन्यास पढ्दा नेपालको सामाजिक जीवन वा लोक जीवन जीवन्त रूपमा चित्रण गरिएको; समाजका ढोँग, आडम्बर, विकृति, विसङ्गति, रुढिवाद, अन्ध विश्वास, गरिबी, अभाव, पाखण्ड जस्ता यावत कुराको जीवन्त प्रस्तुति रहेको; समाजको स्वरूप, आकृति, विधि विधान, पारस्परिक सद्भाव, सामन्तवादको जीवन्त चित्रण गरिएको; कृत्रिम वा अनावश्यक साहित्यीकरण नगरिएको; उपन्यासकार ध्रुवचन्द्र गौतम, धच गोतामेका उपन्यासमा भए जस्तै आञ्चलिकता प्रमुख रूपमा आएको; कृषिमा आश्रित नेपाली जन जीवन उजागर भएको; गोरखाको एउटा गाउँका जनताको जीवन वृत्तका माध्यमबाट प्रतीकात्मक रूपमा समग्र नेपाली विपन्न जनताको जन जीवन चित्रित भएको; नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक पक्ष उजागर गरिएको; व्यङ्ग्यात्मक रूपमा नेपाली राजनीति समेतको चित्रण गरिएको; सारै मसिनो गरी झर्काे नमानी नेपाली समाजको चित्रण गरिएको; उपन्यास पढ्दा लेखकको रुचि मनोविज्ञान रहेको पाइँदैन तापनि खेताला जानु पर्ने नेपाली जन जीवनको हल्काफुल्का यौन समेत चित्रित रहेको; लेखक र उनले खडा गरेको पात्र गोरेका बिच तादात्म्य रहेको देखिँदा स्रष्टाले आफ्नै जीवनको चित्रण गरेका पो हुन् कि भन्ने देखिएको; हाम्रो चुनावी प्रक्रियाका प्रति व्यङ्ग्य गर्दै भोट माग्दाको नेता चुनावपछि अर्कै भएको मात्र होइन जनतालाई दुख दिने काममा समेत लागेको ढोँगको सुन्दर चित्रण गरिएको; व्यक्ति स्रष्टा प्रगतिवादी हुँदहुँदै पनि जनतालाई दमन गर्ने सामन्तलाई पराजय व्यहोरेको नदेखाई सुध्रने अवसर दिएको देखाइएबाट कृतिलाई प्रगतिवादी बनाउनेतिरको सारै लोभ स्रष्टाले नगरेको; उपन्यासको पात्र गोरे मार्फत ज्यादै मसिनो गरी झन्झट नमानी नेपाली ग्रामीण जीवनको कष्टकर चित्र जीवन्त रूपमा उजागर गर्दै त्यो समाजको समग्र रूपान्तरणको प्रयत्न पनि पात्रका माध्यमबाट गरिएको र आग्रह पनि गरिएको पाइन्छ । खोलाखेत भनिएको छ तर बारी र खरका कुरा मात्र उपन्यासमा आउँछन्, खोलाबाट पानीको कुलो ल्याएर खेत बनाउने र जनताको जीवन स्तर सुधार्ने उपन्यासकारको चाहना रहेको छ । परम्परा धान्ने खालका तर नराम्रा कुराको विरोध गरिएको छ र गोरेले लँगौटी लगाएर हिँडडुल गर्दा लाज बचाउन नसकिने भन्दै आफ्नै बाबुलाई रूपान्तरण गरी ठुलो खालको कट्टु लगाउनु पर्छ भनेर बदल्न सकेको छ । उपन्यासमा लामो शैलीको प्रयोग भएको छ तर सङ्क्षिप्त शैलीको प्रयोग बढी उपयुक्त हुन्छ भन्ने पक्षमा लेखकको ध्यान जानु जरुरी छ । जातीय सम्मान र आदर भाव उपन्यासमा ठाउँ ठाउँमा देखाइएको छ । कथित युद्धका प्रति घृणा गर्दै वैचारिक आस्थालाई पनि कोरा राजनीतिक वर्णन जस्तो होइन कलात्मक पार्नु पर्छ भन्ने सचेतता उपन्यासमा छ । इतिहासको सम्मान गर्दै गजे घले, भीमसेन थापा जस्ता पुर्खाको यथोचित सम्मान गरिएको छ । कोसी ब्यारेकमा बाँध बाँधेर भारतले पानी लगेको र त्यसैका कारणले नेपाली भूमि डुवानमा परेको, नेपाली जनता र भूमि ठगिएको यथार्थ उपन्यासमा चित्रित छ । समग्र नेपालका सबै खाले पीडाको चित्रण उपन्यासले कुनै न कुनै रूपमा गरेको छ । सामुदायिक वन र व्यवस्थापनका कुरा, स्कुल व्यवस्थान र सुञ्चालनका कुरा अनि व्यावसायिक वा गरि खाने शिक्षा दिनु पर्ने कुरा, कृषिको आधुनिकीकरणका कुरा मात्र होइन सरकारी कर्मचारीको कामचोर प्रवृत्तिको पनि उछित्तो काडिएको छ ।

15747539_10212274553925647_4075835816995723859_n
उपन्यासको प्रारम्भमा तथ्य बढी र आख्यानीकरण कमजोर भएका कारण हुनु पर्ने जति सशक्त बन्न भने सकेको छैन उपन्यास तर उपन्यासकारको सिङ्गो सिर्जना र बौद्धिकता समतामूलक समाज निर्माण र रूपान्तरणको पक्षमा रहेको छ । स्रष्टाको उद्देश्य माटोप्रेम र राष्ट्रवादी भावना जगाउनु रहेको छ । मौलाउँदै गएको कुसंस्कृति, आधुनिकताका नाममा भित्रिएको वा अवलम्बन गर्ने गरिएका विकृति उजागर गरिएको छ, त्यसका प्रति चिन्ताभाव व्यक्त गरिएको छ । परिवेश आन्तरिक रहेको छ र बाह्य परिवेशका रूपमा कास्की, पोखराको चित्रण गरिएको छ । पात्र गोरेको भाषा मानक नेपाली रहेको छ भने अन्य पात्रहरूले पर्वती उपभाषिका र जनबोली प्रयोग गरेका छन् । उपमा अलङ्कारको धेरै प्रयोग भएको छ । उपन्यासमा प्रयोग भएको भाषाका आधारमा हेर्दा उपन्यासकार प्राविधिक व्यक्ति हो जस्तो लाग्दैन । भाषागत अभिव्यक्ति सुन्दर ढङ्गले प्रस्तुत गर्न सक्नु भएको छ । उपन्यासमा उखानको सुन्दर संयोजन गरिएको छ । उपन्यासमा विधा भञ्जन भयो तर विधा मिश्रण सफल तरिकाले हुन चाहिँ सकेन । यथार्थको कलेबरबाट सम्पूर्ण नेपाली जनताको भोगाइ चित्रित भएको छ । गरिबीका कारण चामलको भात खान चाडबाड नै पर्खनु पर्ने नेपालीको पीडा उपन्यासले जीवन्त रूपमा चित्रण गरेको छ । अनिकाल लागेर बेसाहा किन्दा पनि देख्छन् कि भनेर साँझ पारेर घर फर्कर्नु पर्ने समाजको नियतिलाई उजागर गरिएको छ भन्ने समेतको विशद चर्चाका साथ २०२५ सालबाट नेपाली प्रगतिवादी आख्यान लेखनको थालनी भएको परम्परामा उहाँले अर्काे खुडकिलो थप्नु भएको छ र आगामी दिनमा स्पष्ट देखिने गरी प्रगतिवादी सिर्जना गर्न सक्नु होस् भन्दै शुभ कामना दिनु भयो ।

15727238_821320334675850_5133919911451713674_n
पुडासैनी सेवा समाजका अध्यक्ष उत्तम पुडासैनीले उपन्यासकारलाई बधाई दिनु भयो भने भुँडी पुराण प्रकाशनका केशव पराजुलीले उपन्यासकारलाई बधाई दिनु हुँदै पठन संस्कृतिको विकास अझैसम्म पनि हाम्रो मुलुकमा भइ नसेकेको प्रति चिन्ता व्यक्त गर्नु भयो । विशेष अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले राष्ट्रिय जन सांस्कृतिक महासङ्घको यो डबलीमा सङ्गीत, कवितापछि आख्यानको पनि चर्चा हुन थालेकोमा खुसी व्यक्त गर्नु भयो र हाम्रो समाजमा थरी थरीका असन्तुुलित चिन्तन देखा परि रहेका छन् । पाखण्ड र अतिवादको पक्षमा हामी छैनौँ । सीमित व्यक्तिका र चर्का एवम् उग्र कुराले समाज रूपान्तरण हुँदैन । समाजको रूपान्तरणका लागि असल विचार बोकेको स्रष्टाले प्रमुख भूमिका निर्वाह गर्न सक्छ । नेपाली समाज र जन जीवनले भोगेका दुख र पीडालाई जीवन्त रूपमा चित्रण गर्ने र विकृत समाज रूपान्तरण गर्ने आग्रह उपन्यासकारले यो उपन्यासमा गर्नु भएको छ, यो असाध्यै राम्रो कुरा हो । समालोचक प्रा.डा.यादबप्रकाश लामिछानेले विशद चर्चा गर्नु भएको छ त्यसलाई लिखित रूप प्रदान गरी छाप्न सकियो भने सबै पाठक समक्ष पुग्छ, त्यो गर्नु पर्छ । जनबोलीको प्रयोगले कृतिलाई जोगाउने मात्र होइन भाषाको संरक्षण पनि गर्छ । यसका लागि पनि उपन्यासकार बधाईको पात्र हुनु हुन्छ भन्नु भयो ।

उपन्यासकार लोकनाथ पुडासैनीले आफू प्राविधिक भएको र साहित्यिक व्यक्ति नभएकाले साहित्यिक मानकको प्रयोग सायद गर्न सकिनँ तर चाडबाडमा मात्र चामलको भात खान पाइँने हाम्रो नेपाली ग्रामीण समाज मेरो पनि भोगाइ हो । त्यही जीवन भोगाइको अभिव्यक्ति नै यो उपन्यास हो । हामीले अहिले दिइ रहेको शिक्षाले मान्छेलाई गरि खाने बनाउन सकेन, युवा पलायनको समस्या रोक्न सकिएन, हाम्रा बारी र खेत बाँझै राखेर मरुभूमिका पसिना बगाउन युवा लाइन लाग्ने परिवेश रोक्न सकिएन, मान्छेका पीडा अझै पनि उस्तै छन्, नेपाली ग्रामीण समाज ज्यादै पीछडिएको छ । यी सबै यथार्थलाई मैले नजिकबाट अनुभूत गरेको छु र त्यसैलाई उजागर गरी यो समाजको रूपान्तरण गर्नु पर्छ भन्ने उद्देश्य राखेर उपन्यास तयार पारेको धारणा राख्नु भयो र प्रमुख अतिथि, विशेष अतिथि, समालोचक र उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनु भयो ।

प्रमुख अतिथि पूर्व मन्त्री खगराज अधिकारीले म्याक्सिम गोर्कीले आमा उपन्यास नलेकेका भए रुसमा क्रान्ति हुँदैनथ्यो । कुनै सङ्गठनमा बाँधिनु भनेको ढलोटमा ढालिएको भाँडो हुनु हो । वास्तवमा अभिव्यक्तिको शैली र शिल्पको कला हो सिर्जना, जो सबैको बसमा हुँदैन । साहित्य भनेको समाज रूपान्तरणको सशक्त माध्यम हो । अहिले देश लुटिँदै छ, संविधान संशोधनलाई हतियार बनाएर ठाडो हस्तक्षेप भइ रहेको छ । क्लिष्टता साहित्यको उचाइ होइन । हाम्रो देश सांस्कृतिक विविधताको देश हो । भदौ महिनामा जौ उमारेर, भदौमा जौ उम्रेको खुसीमा कुखुरो काटेर त्यसैको रगतमा अक्षता भिजाएर टीका लगाउने किरात संस्कृतिलाई खस र बाहुनले आत्मसात गरे तर अहिले तिनै किरातले रातो टीका लगाउनु हुँदैन भन्ने भ्रम छरिएको छ । गण्डकी मगर भाषाको शब्द हो तर यो शब्दको प्रयोग गर्नु हुन्न भनेर खस र बाहुनले कहिल्यै बोलेनन् तापनि त्यही जातीयताको नाराले यतिखेर देश दुखि रहेको छ । २०२७ सालमा नेपाली नागरिकता पाएका बाबुका सन्तान राजेन्द्र महतोले दुई वर्ष अगाडि नै २०२५ सालमै नेपाली नागकिता प्राप्त गरेका छन् र उनलाई मुख्य मन्त्री बनाइ दिनु पर्छ भन्ने हठले यतिखेर देश दुखि रहेको छ, राष्ट्रिय एकता भाँडिएको छ । साहित्य स्वच्छन्दता मात्र होइन, साहित्य करले लेख्ने विषय पनि होइन । यतिखेर स्रष्टाले यी सबै सामाजिक विकृतिका विरुद्ध उभिनु पर्छ र सचेतताका साथ सिर्जना गर्नु पर्दछ । क्रान्तिकारी रातो झन्डाबाट जातीय सङ्कीर्णताको आगो सल्काइएको छ, विखण्डनको चेतना जगाइएको छ । माक्र्सवाद भनेको जीवन पद्धति हो भन्ने यथार्थ बुझ्न नसक्नुको भाँडभैलो अहिलेको कथित जातीय सङ्कीर्णताको आन्दोलन हो । पहिचान खोज्ने हो भने पहिला त एकीकृत पहिचान खोज्नु पर्छ अनि पो अङ्ग प्रत्यङ्ग ! साहित्यले त्यही काम गर्नु पर्दछ । यतिखेर तपाईँ हाम्रो काँधमा यो जिम्मेवारी आएको छ । लोकनाथ पुडासैनीको यो प्रयत्नलाई धन्यवाद छ, बधाई छ भन्नु भयो ।

सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा आफूलाई समर्पित गर्नु हुने र नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउनु हुने अनि देश र समाजलाई झक्झक्याउने स्रष्टा लोकनाथ पुडासैनीद्वारा लिखित ‘चामल भात’ उपन्यासको लोकार्पण र परिचर्चाको अवसर पोखरादेखि आएर हामीलाई दिनु भएकोमा धन्यवाद दिनु भयो । जन साहित्यिक मञ्च, नेपालले सोद्देश्यमूलक ढङ्गले यस्ता विशेष कार्यक्रमको आयोजना गरि रहेको छ । यो विशेष समारोहमा निम्ता स्विकारेर आइ दिने प्रमुख अतिथि पूर्व मन्त्री खगराज अधिकारीज्यू, विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीज्यू, टिप्पणीकार प्रा.डा.यादबप्रकाश लामिछानेज्यू, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक स्वागत गर्नु भएको थियो ।

धन्यवाद सहित कार्यक्रमको समापन गर्दै जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले पोखरामा रहेर र जागिरको सिलसिलामा देशको पूर्वदेखि पश्चिमसम्म पुग्दा आफूले देखेको नेपाली ग्रामीण जनताको कष्टसाध्य जीवनलाई साहित्य लेखनकोे विषय बनाएर त्यसको जीवन्त चित्रण गर्दै सामाजिक रूपान्तरणको स्पष्ट आग्रह गर्नु, फरक विधाको व्यक्ति भएर पनि साहित्यको सेवामा समर्पित हुनु लोकनाथ पुडासैनीका विशेषता हुन् । उहाँको उपन्यासलाई भुँडी पुराण प्रकाशनले प्रकाशित गरि दिएपछि काठमाडौँमैै लोकार्पण गर्ने र परिचर्चा गर्ने इच्छा जाहेर गर्नु भएका कारण हामीले यो विशेष समारोहको आयोजना गर्यौँ । उपन्यासको समालोचना गर्नु पर्ने भएकाले उपन्यासमै विद्यावारिधि गर्नु हुने प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.यादबप्रकाश लामिछानेलाई आग्रह गर्यौँ र उहाँले पनि सहर्ष स्वीकार गरि दिनु भयो मात्र होइन आजको यो समारोहमा उपन्यासको मसिनो गरी विशद चर्चा गरि दिनु भयो । प्रमुख अतिथि, विशेष अतिथि र अतिथिज्यूहरूले हामीलाई समय दिनु भयो । हामी सबै सबैमा आभार व्यक्त गर्दछौँ । हाम्रो उद्देश्य स्रष्टाको व्यक्तित्व र कृतित्वमाथि विशद चर्चा गर्ने र त्यसलाई प्रकाशन गरी सबैसामु पुर्याउने हो त्यसैले हामीले भिड होइन ठिक्कको उपस्थितिमा यो विशेष समारोह सम्पन्न गर्यौँ । फेरि माघको दोस्रो शुक्रवार अर्काे नियमित शृङ्खलामा निमन्त्रणा गर्ने नै छौँ भन्ने जानकारीका साथ अध्यक्षज्यूको अनुमतिले समारोह समापन भएको जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published.