रमेश पोखरेल
मिति: २०७३।१२।११।६
चैत्र ११ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको संयोजन र सांस्कृतिक संस्थान अनि जन साहित्यिक मञ्च नेपालको संयुक्त आयोजनामा राष्ट्रिय नाचघरको सभाकक्षमा विगत तिन वर्षदेखि अविच्छिन्न रूपमा सम्पन्न भइ रहेको ‘अविरल जन साहित्य यात्रा’को ३५ औँ शृङ्खला सम्पन्न गरियो । प्रखर प्रगतिवादी कवि एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता भारद्वाज मित्रका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणी समेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गरियो । जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले अध्यक्षता गर्नु भएको उक्त विशेष समारोहको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो । नेपाली प्रगतिवादी साहित्यका शीर्षस्थ धरोहर, वरिष्ठ संस्कृतिविद् एवम् सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता डा.मोदनाथ प्रश्रितज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा अतिथिहरूमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, एमाले नेता डा.विजय सुब्बा, सांस्कृतिक संस्थानका कार्यक्रम प्रमुख प्रभाकरदेव शर्मा, प्रा.जगत् उपाध्याय प्रेक्षित, डा.देवी नेपाल, डा.रामप्रसाद ज्ञवाली, समीक्षक विनोद मञ्जन, डा.षडानन्द पौडेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, वरिष्ठ कवि जगन्नाथ आचार्य, पीताम्बर भण्डारी, जन गायक रामकृष्ण दुवाल, वरिष्ठ साहित्यकार मोहन दुवाल, वरिष्ठ कवि रमेश खकुरेल महासङ्घका सहकोषाध्यक्ष जङ्ग पहाडी, सहयोगी कविहरू यशोदा अधिकारी, सरु आस्था उपस्थित हुनु हुन्थ्यो ।
हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको पैँतिसौँैँ शृङ्खला सञ्चालन गर्न लागिएको, साहित्य सिर्जना एवम् सामाजिक रूपान्तरणको अभियानका माध्यमबाट योगदान गरि रहनु भएका प्रखर प्रगतिवादी कवि भारद्वाज मित्रका एक दर्जन कविता सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारी रमेश पोखरेलले दिनु भयो । यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरि दिन गरिएको अनुरोध स्वीकार गरी आइ दिनु भएका डा.मोदनाथ प्रश्रितलाई सभाध्यक्ष राम विनयले स्वागत गर्नु भयो अनि प्रमुख अतिथिले समारोहका कवि नायक भारद्वाज मित्रलाई माल्यार्पण गरी सम्मान पत्र अर्पण गरी सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरू जन गायक रामकृष्ण दुवाल, मोहन दुवाल, जगन्नाथ आचार्य, पीताम्बर भण्डारी, रमेश खकुरेल, यशोदा अधिकारी र सरु आस्थालाई आसन गराइयो ।
समारोहका नायक प्रखर प्रगतिवादी कवि भारद्वाज मित्रको व्यक्तित्वमाथि प्रकाश पार्नु हुँदै जन साहित्यिक मञ्च नेपालका सल्लाहकार कवि एवम् समालोचक डा.देवी नेपालले सांस्कृतिक संस्थानसँग यस्ता साहित्यिक कार्यक्रमहरूमा सहकार्य गर्न पाउनुले संस्थान नै आफ्नो जस्तो अनुभूति भइ रहेको, सिर्जनाका माध्यमबाट आफ्नो पहिचान बनाइ सकेका व्यक्तित्वलाई अविरल जन साहित्य यात्रामा ल्याउने गरिएको, लुकेका प्रतिभालाई पनि र स्थापित प्रतिभालाई पनि यो मञ्च प्रदान गर्ने गरिएको, २०११ सालमा जन्मेका कवि भारद्वाज मित्र कवि पनि र सामाजिक रूपान्तरण अभियानका अभियन्ता पनि हुनुका साथै अरूलाई तार्ने गुणग्राही माझी प्रवृत्तिका व्यक्ति हुन् । कविता यात्राको चार दशक लामो यात्रा तय गरि सकेका, गुणात्मक महत्त्वका कृति सिर्जना गर्ने र होहल्लाभन्दा टाढा रहन रुचाउने; डा.मोदनाथ प्रश्रित, राहुल साङ्कृत्यायन र गोर्कीबाट प्रभावित रही साहित्य सिर्जना गर्ने; समाजमुखी, जीवनमुखी र यथार्थपरक सिर्जना गर्ने; ‘चहचह’ वाल कविता सङ्ग्रह र ‘मित्रका कविताहरू’ कविता सङ्ग्रह प्रकाशित गरेका, सात ओटा कृति सम्पादन गरेका, राहुल साङ्कृत्यायनको उपन्यासको नेपाली अनुवाद समेत गरेका, दश ओटा कृति प्रकाशोन्मुख अवस्थामा रहेका; २०३२ सालदेखि सामाजिक, सांस्कृतिक र वैचारिक अभियान सञ्चालन गरि रहेका; करिब दुई दर्जन साहित्यिक सङ्घसंस्थामा सक्रिय भूमिका निर्वाह गरि रहेका; अति भावुकता र उडन्ते होइन मिश्री जस्ता रसिला कविता सिर्जना गर्ने; सोद्देश्यमूलक लेखनमा रमाउने स्रष्टा गुणात्मक उचाइ प्राप्त गर्ने लक्षण सहितको सिर्जना यात्रामा रमेका व्यक्तित्व हुन् भन्ने धारणा राख्नु भयो ।
कवि नायक भारद्वाज मित्रले आफूले सिर्जना गरि रहेका कवितामाथि विश्वास गरेर यो विशिष्ट र गरिमामय समारोहमा आफूलाई स्थान दिनु भएकोमा आयोजकलाई धन्यवाद दिनु भयो । सांस्कृतिक गुरु डा.मोदनाथ प्रश्रितको प्रेरणाले साहित्य सिर्जनामा लागेको आफूले आज उहाँकै रोहवरमा अग्रज र विद्वान व्यक्तित्वका माझमा कविता सुनाउन पाएकोमा गौरवान्वित भएको धारणा सहित ‘चेतनाको दियो सल्काएर’, ‘मेरो नयाँ आगत’, ‘अरुणिमाको विश्वासमा’, ‘आगो’, ‘रोटी महात्म्य’ र ‘अन्तरध्वनिको कोरसमा’ शीर्षकका अत्यन्त शक्तिशाली, सुन्दर र वैचारिक कविता वाचन गर्नु भयो भने वाचन सहयोगी रमेश खकुरेलले ‘केवल अँध्याराको विरुद्ध’ शीर्षकको, मोहन दुवालले ‘आस्थाको नयाँ जमरा’ शीर्षकको, जगन्नाथ आचार्यले ‘आशा खुल्दैन कि अब’ शीर्षकको अनुष्टुप छन्दको, पीताम्बर भण्डारीले ‘साझा वसन्त आउँछ’ शीर्षकको अनुष्टुप छन्दको, रामकृष्ण दुवालले ‘माटाको गीत’ शीर्षकको सशक्त गीत, यशोदा अधिकारीले ‘कल्याण तिम्रो छ है’ शीर्षकको शार्दूलविक्रीडित छन्दको र सरु आस्थाले गजल गरी सबै अत्यन्त शक्तिशाली, विचार प्रधान र कलात्मक कविता, गीत, गजल वाचन गर्नु भयो ।
वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक विनोद मन्जनले कविता भनेको कल्पना, विम्ब, प्रतीक र विचारको कुशल संयोजन हो । आज वाचित कवितामा आशावादी जीवन दृष्टि, निराशालाई चिर्दै अगाडि बढ्ने प्रेरणा दिने, मानवीय रुचिका पक्षलाई समेटिएका, आफू जन्मेको माटोको माया गर्नु पर्छ भन्ने राष्ट्रवादी भावना उजागर गर्ने, आगोको शक्तिको बखान गरिएका र पानीसँग तुलना गर्दा मात्र आगोको महत्ता बोध हुन्छ भन्ने तुलनात्मक भाव बोकेका, समाजमा राम्रा नराम्रा कुरा हुन्छन् तर राम्रा कुरा मात्र ग्रहण गर्नु पर्ने, स्रष्टाको होस् वा ग्रहण कर्ताको होस् भित्री आँखा खुल्नु पर्ने सन्देश सम्प्रेषण गर्ने खालका रहेका छन् भन्नु भयो । सबै मान्छेको विचार एकै खालको हुँदैन जस्तै फ्रायडले मनका कविता लेखे भने डार्बिनले प्रकृतिको अनुसन्धान गरे तर माक्र्सले जन जीवन र भोगाइलाई विषय छाने । यसबाट एकै समयमा पनि फरक फरक सिर्जना हुन सक्छ भन्ने स्थापित भयो । मान्छेले विश्वेश्वरप्रसाद कोइराला र साहित्यको फरक फरक परिभाषा गरे पनि उनी साहित्यमा होस् या राजनीतिमा होस् उच्च स्वतन्त्रताको वकालत गर्दछन् । त्यसै गरी सिर्जनाको सुन्दरता, बाल बालिकाको सुन्दर भविष्य निर्माणको लक्ष्य र चलाइ रहेको अभियान भारद्वाज मित्रका उल्लेख पक्ष हुन् । कवितामा प्रयुक्त विम्बहरू नवीन र समसामयिक हुनु पर्छ, कलात्मक र सुन्दर दृष्टिकोण आउनु पर्छ भन्ने कुरामा भने सबै स्रष्टाको ध्यान जानु जरुरी छ । विचारको दृढता, उज्यालोको पक्षधरता, जन्मभूमिको जयगान, समाजमा व्याप्त यावत विसङ्गतिहरूको पूर्ण विसर्जनको आग्रह, श्रमको सम्मान र वर्गीय बन्धुत्वको गायन कवि भारद्वाज मित्रका कविताका विशेषता हुन् भन्ने धारणा राख्नु भयो ।
महासङ्घका अध्यक्ष खगेन्द्र राईले अविरल जन साहित्य यात्राको यो पँैतिसाँै शृङ्खलासम्म आइ पुग्दा नायक स्रष्टा मात्र होइन धेरै वाचन सहयोगी कवि प्रतिभाहरूको समेत व्यक्त्त्वि उजागर भइ सकेको छ । अब यो यात्रामा कविता मात्र होइन लघु कथाले समेत प्रवेश पाउनु उपयुक्त हुने छ । आर्थिक रूपमा सबल नहुँदानहुँदै पनि व्यवस्थापन भइ रहेको छ र यात्राले निरन्तरता पाइ रहेको छ । यस्तो खालको समारोहलाई बन्द सभाकक्षमा मात्र होइन खुला चोकमा समेत लैजान प्रयत्न अब गरिनु पर्छ र साहित्यलाई जनतासँग जोड्नु पर्छ भन्ने सुझाब समेत दिनु भयो र आज यो विशेष शृङ्खलामा उपस्थित कवि भारद्वाज मित्रलाई बधाइ दिनु भयो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार पूर्वमन्त्री डा.मोदनाथ प्रश्रितले हामी स्रष्टाहरू साहित्यका माध्यमबाट मुलुकमा एकता र शान्तिको कुरा गरि रहेका छौँ, विस्तारवादको विरोध गरि रहेका छौँ तर राजनीति त्यही विस्तारवादसँग लम्पसार परि रहेको छ, चाकरी गरि रहेको छ र उसैको सहयोगमा ध्वंश मच्चाइ रहेको छ । अधिकांश साहित्यकार स्वार्थी नभएका कारण यथार्थ कुरा लेखि रहेका छन्, बोलि रहेका छन् । उनीहरू गीत, नाटकका माध्यमबाट मुलुकभरि जागरण अभियान चलाइ रहेका छन्, कला र संस्कृतिको रक्षा गरि रहेका छन्, सिर्जनाको बलले चेतना सम्प्रेषण गरि रहेका छन् । नेपालको राजनीति नौ महिने भएको छ र यो चाकरीमा निर्लिप्त भएको छ । हाम्रो शिक्षा प्राविधिक र निर्वाहमुखी हुनु पर्छ भन्ने सामान्य चेतना समेत राजनीतिले ग्रहण गर्न नसक्दा बेरोजगार उत्पादन बढि रहेको छ । कुनै पनि प्रकारको प्रविधि जानियो भने जहाँसुकै गएर जीवन निर्वाह गर्न सकिन्छ भन्ने राजनीतिले सोच्न सकेन ! हाम्रा चुरे, हिमाल, महाभारत संरक्षण गर्नुको सट्टा ती सबैलाई ध्वंश पारेर हामी कस्तो देश निर्माण गरि रहेका छौँ ? साहित्यकारको चिन्ताको विषय यो बन्नु पर्ने आजको आवश्यकता छ । त्यसैले साहित्यले चेतनाका, जागरणका, जीवन निर्वाहका, पर्यावरण जोगाउने र बचाउने खालका, देश बचाउने खालका, नेताहरूलाई झकझक्याउने खालका कविता लेख्नु पर्दछ किनभने संस्कृति र साहित्यको चेत अझै जीवितै छ । हाम्रो समाजले भौतिकवादी र वैज्ञानिक चेतनाका हिसाबले कहिल्यै अध्ययन नै गरेन । यदि यसरी अध्ययन गरिएको हुन्थ्यो भने रामायणको रावण महान हुन्थ्यो तर धर्मको नाम जोडेर विज्ञानलाई अवमूल्यन गर्ने काम हुँदै आएको छ । चिन्तन प्रणाली, विकास प्रणाली अवलम्बन नगर्ने तर अरूको नराम्रो पक्ष नक्कल गर्ने प्रवृत्तिले समाज निर्माण हुन सकेको छैन । अबको साहित्य पनि उद्योगमुखी, शिल्पमुखी, प्रविधिमुखी हुनु पर्यो किनभने अहिलेसम्म कम्तीमा साहित्यमा इमानदारी बाँकी रहेको छ । आज सुनिएका भारद्वाज मित्रका कवितामा यस्तै भाव छताछुल्ल भएको पाइन्छ भन्ने धारणा राख्नु भयो ।
सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा झन्डै चार दशकसम्म आफूलाई समर्पित गर्दै नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउनु हुने अनि देश र समाजलाई सहयोग गर्ने असल कविलाई हामीले आजको यो विशेष समारोहमा प्रस्तुत गर्यौँ । सशक्त प्रगतिवादी कवि भारद्वाज मित्रका एक दर्जन कविता सुन्ने र उहाँको साहित्यकार व्यक्तित्वका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता स्विकारेर आइ दिने प्रमुख अतिथि सामाजिक रूपान्तरण अभियानका निष्ठावान् एवम् शीर्षस्थ धरोहर मोदनाथ प्रश्रितज्यूू, टिप्पणीकार विनोद मन्जनज्यू, व्यक्तित्व चर्चाकार डा.देवी नेपालज्यू, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक स्वागत गर्नु भएको थियो ।
धन्यवाद सहित कार्यक्रमको समापन गर्दै जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको एक छत्र चार दशक नेतृत्व गर्ने, सामाजिक रूपान्तरणका पक्षमा, मानव अधिकारका पक्षमा, बाल बालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कुशल अभियान सञ्चालन गर्ने, कुशल सङ्गठक, निष्ठाका साथ आफ्नो कर्ममा र सिर्जनामा लाग्ने, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, तेजिलो र ओजस्वी स्वरका धनी, विचारले मान्छेलाई शिखरमा पुर्याउँछ भन्ने कुराका साक्षी वा दृष्टान्त व्यक्तित्व; समाजका विकृति, विसङ्गति र आदर्शको स्खलनका प्रति आक्रोश व्यक्त गर्ने र सशक्त कविता सिर्जना गर्न सक्ने, विचारलाई कलाको सुन्दर लेपन गरी शक्तिशाली सम्प्रेषण गर्न सक्ने र अरूको हितमा सदैव समर्पित हुने गुणग्राही स्रष्टा भारद्वाज मित्रको व्यक्तित्व उजागर गर्ने र लेखकीय क्षमताका बारेमा परिचर्चा गर्ने कार्य हामीले सम्पादन गरेका छौँ । यो कार्यक्रमको उद्देश्य पनि यही नै हो । हाम्रो निम्ता स्विकारेर आइ दिनु हुने प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू र विद्वान व्यक्तित्वमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ भन्नु हुँदै आगामी छत्तिसौँँ शृङ्खलामा अग्रज स्रष्टा घनश्याम कँडेललाई प्रस्तुत गरिने अनि सोको जानकारी पनि गराइँने व्यहोरा निवेदन गर्दै अध्यक्षज्यूको अनुमतिले समारोह समापन भएको जानकारी गराउनु भयो ।