चैत्र ९ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४५ औँ शृङ्खला सम्पन्न गरियो । प्रगतिवादी नेपाली गजलका सशक्त गजलकार द्वय मधु पोखरेल र जित कार्कीका आधा आधा दर्जन प्रतिनिधि गजल वाचन गर्ने र ती सिर्जनामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सञ्चालन मञ्चकी काव्य विभागकी संयोजक डा.विन्दु शर्माले गर्नुभएको थियो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई प्रमुख अतिथि रहुनभएको उक्त विशेष समारोहमा महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, जनकलाकार माननीय सानु पहाडी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, प्रा.डा.खेम दाहाल, वरिष्ठ कवि वासुदेव अधिकारी, वरिष्ठ साहित्यकार डम्बर घिमिरे, डा.विदुर चालिसे, डा.भागवत आचार्य, डा.लेखराज खतिवडा, डा.षडानन्द पौड्याल, वरिष्ठ कवि तारा गाउँले, साहित्यकार डम्बर पहाडी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । टिप्पणीकारका रूपमा जनसाहित्यिक मञ्च नेपालका काठमाडौँ अध्यक्ष, गजल विधाका क्षेत्रमा क्रियाशील संस्था अनाम मण्डलीका अभियन्ता उपप्राध्यापक रूपक अलङ्कारलाई आसन ग्रहण गराइएको थियो । दुबै कविनायकलाई समारोहका अध्यक्ष राम विनयले माला लगाएर स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि खगेन्द्र राईले सम्मानपत्र अर्पण गर्नुभएको थियो ।
हरेक महिनाको दोस्रो शुक्रवार ठिक २.३० बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने कहिले एक जना र कहिले एक जनाभन्दा बढी प्रगतिवादी साहित्यकारका एक दर्जन वा केही बढी कविता÷गजल सुन्ने र ती सिर्जनामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको पैँतालिसौँ शृङ्खलामा अहिलेको समयका सशक्त प्रगतिवादी गजलकारहरू विराटनगरका मधु पोखरेल र दोलखाका जित कार्कीलाई ल्याइएको र उहाँहरूले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाका बारेमा समेत चर्चा गर्ने उद्देश्य रहेको जानकारी राम विनयले दिनुुभयो ।
समारोहका कविनायक मधु पोखेलले जनसाहित्यिक मञ्च, नेपालले विगत पौने चार वर्षदेखि थालनी गरेको यो अभियानमा आफ्ना गजल सुनाउने अवसर दिएकोमा गौरवबोध भएको छ । उपस्थित आदरणीय र प्रिय व्यक्तित्वका बिचमा कविता सुनाउने अवसरका लागि हार्दिक धन्यवाद दिन्छु । समाजका विकृति र विसङ्गति देखेपछि, भोगेपछि ती सबै पक्षलाई समेटेर सिर्जना गर्नेगरेको जानकारीसहित पाँचओटा सशक्त गजल सुनाउनुभएको थियो भने उहाँलाई रश्मि असफलले उहाँको एउटा गजल वाचन गरेर सहयोग गर्नुभएको थियो ।
त्यसैगरी अर्का गजललाई शास्त्रीय मान्यताका आधारमा लेख्ने र सस्वर वाचन गर्ने कलाका सशक्त गजलकार जित कार्कीले यति लामो समयदेखि सामाजिक रूपान्तरण अभियानमा साहित्य सशक्त माध्यम हुनसक्छ भन्ने मान्यताका साथ सञ्चालन भइरहेको यो अविरल जनसाहित्य यात्राको यो विशेष शृङ्खलामा उपस्थित हुनुभएका अग्रजका सामु आफ्ना गजल सुनाउन पाउँदा गौरवबोध भएको छ भन्नु हुँदै समसामयिक यथार्थ बोध हुने, समाजिक विकृति र विसङ्गतिका प्रति धावा बोलिएका आधा दर्जन अत्यन्त सुन्दर र सशक्त गजल वाचन गर्नुभयो ।
दुबै जनाका वाचित एक दर्जन गजलमाथि टिप्पणी गर्दै समालोचक एवम् गजललाई प्रेमको अभिव्यक्तिको माध्यम मात्र होइन सामाजिक रूपान्तरण अभियानको सशक्त माध्यम बनाउनुपर्छ भन्ने मान्यताका साथ गजल लेखनप्रशिक्षण, वाचनप्रशिक्षण अभियानका अभियन्तासमेत रहेका रूपक अलङ्कारले सासामयिक विषयमा अहिले थुप्रै गजलकारहरूले गजल लेखिरहेका छन् । त्यसमा पनि मधु पोखरेलले पूर्वको विराटनगरमा रहेर गजलमा पुर्याउनुभएको योगदान र जित कार्कीले दोलखामा क्रियाशीलता देखाएर शास्त्रीय छन्दमा गजल लेख्ने र वाचन गर्ने कार्यमा पुर्याउनुभएको योगदान उच्च कोटिको रहेको छ । उहाँहरूका गजलमा सामाजिक शोषण र उत्पीडनको आक्रोशयुक्त विरोध गरिएको छ, लम्पसारवादको विरोध गरिएको छ, छिमेकीको हेपाहा प्रवृत्तिको विरोध गरिएको छ, मान्छेका र राजनीतिज्ञका विचार र व्यवहारमा तालमेल नमिलेका पक्षलाई बडो चोटिलो ढङ्गले प्रहार गरिएको छ र चिन्ताभावसमेत व्यक्त गरिएको छ । समाजका सबै खाले बेथिति र विसङ्गतिका प्रति विरोध गरिएको छ । सिर्जनामा कहिलेकाहीँ समस्या चाहिँ के हुँदो रहेछ भने कुनै एउटा सन्दर्भलाई विषयवस्तु बनाएर लेखिएको गजल त्यो सन्दर्भको समाप्तिपछि असान्दर्भिक बन्नपुग्ने अवस्था पनि उत्पन्न हुँदो रहेछ । यो पक्षमा भने स्रष्टाले सचेतता अपनाउनु पर्ने हुन्छ भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि खगेन्द्र राईले जनसांस्कृतिक महासङ्घको घटक सङ्गठन जनसाहित्यिक मञ्चले महासङ्घसँगैको सहकार्यमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन गरिरहेको ‘अविरल जनसाहित्य यात्रा–४५’ औँ शृङ्खलामा प्रमुख अतिथिको रूपमा उपस्थित हुने अवसर फेरि पनि प्राप्त भएको छ । नेपालको सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानमा गजलले निकै ठुलो प्रभाव पारेको छ र नै आजको शृङ्खलामा यसलाई स्थान दिने कार्य भएको छ । अब तपाईँहरूले सञ्चालन गरिरहनुभएको अविरल जनसाहित्य यात्राको यो अभियानलाई विभिन्न विधामा समेट्ने प्रयास गर्नु आवश्यक छ । यस्ता अभियानलाई प्रादेशिकरूपमा सञ्चालन गर्नुपर्ने पनि आवश्यकता छ । त्यसतर्फ ध्यान दिनुहोस् । तपाईँ स्रष्टाको धारिलो कलमका माध्यमबाट समाजका विकृतिका प्रति सिस्नोपानी लगाउने र रूपान्तरणका पक्षमा सचेतना फैलाउने कार्य भइरहनु आवश्यक छ । यसतर्फ ध्यान गइरहोस्, हार्दिक शुभकामना छ भन्नुभयो ।
कार्यक्रम सञ्चालक डा. विन्दु शर्माले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने कविनायक द्वय तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्नुभयो र अर्काे शृङ्खलामा यहाँहरूलाई नव वर्षको उपलक्ष्यमा वैशाखको दोस्रो शुक्रवार फेरि प्रस्तुत गरिने स्रष्टासहित आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै अध्यक्षज्यूको अनुमतिले समारोहको समापन गर्नुभयो ।