प्रगतिवादी साहित्यकार छवि सुवेदी विजयी’द्वारा लिखित ब्रह्माण्डको मन’ उपन्यास र माटो बोल्छ’ निबन्ध सङ्ग्रहको लोकार्पण तथा परिचर्चा

मितिः २०७३।२।२९
रमेश पोखरेल

जेठ २९ गते शनिवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष, बाग बजारमा जन साहित्यिक मञ्च, नेपालको आयोजनामा प्रगतिवादी साहित्यकार छवि सुवेदी विजयी’द्वारा लिखित ब्रह्माण्डको मन’ उपन्यास र माटो बोल्छ’ निबन्ध सङ्ग्रहको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न गरियो । जन साहित्यिक मञ्च, नेपालका केन्द्रीय सदस्य एवम् पोखरामा रहेर नेपाली प्रगतिवादी साहित्यको साधनामा निरन्तर लागि रहेका छवि सुवेदी विजयी’का यस अगाडि माटोको सन्देश’ निबन्ध सङ्ग्रह, माटाको मन’ निबन्ध सङ्ग्रह र आमा’ शोककाव्य प्रकाशित भइ सक्नुका साथै निरन्तर साधनामा रहि रहेको जानकारीका साथ जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहको प्रमुख आतिथ्यका लागि वरिष्ठ प्रगतिवादी साहित्यकार, संस्कृतिविद् डा.मोदनाथ प्रश्रितलाई आग्रह गर्नु भयो । जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा विशिष्ट अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा प्रा.डा.कृष्णप्रसाद घिमिरे, समीक्षक हरिप्रसाद सिलवाल, प्राज्ञ विष्णु प्रभात, पाल्पाका साहित्यकार झपेन्द्र जिसी, महासङ्घका केन्द्रीय सदस्य डा.षडानन्द पौडेल, एमाले केन्द्रीय लेखा आयोग सदस्य गोपाल बराल, प्राज्ञ नर्मदेश्वरी सत्याल, महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, सहकोषाध्यक्ष जङ्ग पहाडी, वरिष्ठ कवि उमेश उपाध्याय, साहित्यकार कलाधर काफ्ले, पत्रकार प्रकाश सिलवाल, जन साहित्यक मञ्चका उपाध्यक्ष रमेश पोखरेल, कोषाध्यक्ष यशोदा अधिकारी र आख्यान विभाग प्रमुख नवराज रिजाल उपस्थित हुनु हुन्थ्यो ।

प्राज्ञ एवम् जन साहित्यिक मञ्च नेपालको निबन्ध विभाग प्रमुख नर्मदेश्वरी सत्यालले बोली जस्तै लेखनमा सरलता भएका साहित्यकार छवि सुवेदीले पनि छोरीले पढ्न नपाउने हाम्रो समाजकै झैँ समयमा पढ्न नपाएर निकै ढिलो मात्र अवससर पाई स्नातकोत्तर गर्नु भएको देखिएको, निरन्तर साधना गरेर दुइटा निबन्ध सङ्ग्रह प्रकाशित गरि सक्नु भएको र माटो बोल्छ’ तेस्रो निबन्ध सङ्ग्रहका रूपमा प्रकाशित गर्नु भएको हुँदा आजको यो अवसर जुटाउन सकिएको धारणा सहित स्रष्टाको यो साधना निरन्तर चलि रहोस् भन्ने कामना व्यक्त गर्नु भयो ।

त्यसै गरी मञ्चको आख्यान विभाग प्रमुख नवराज रिजालले आख्यानका विषयमा मञ्चले आयोजना गरेको यो तेस्रो विशेष कार्यक्रम रहेको जानकारी दिनु हुँदै पोखरामा रहेर साधना गर्ने छवि सुवेदी विजयी’को यो उपन्यास पहिलो साधना हो । साहित्यका सबै विधामा कलम चलाइ रहनु भएका स्रष्टाको लेखनी परिष्कृत छ र यो उपन्यास पनि तदनुरूप नै होला, यसका बारेमा परिचर्चा होस् र प्रवुद्ध पाठकले पढेर प्रतिक्रिया पनि दिनु होस् भन्ने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।

प्रमुख अतिथि डा.मोदनाथ प्रश्रित र विशिष्ट अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले संयुक्त रूपमा ब्रहमाण्डको मन’ उपन्यास र माटो बोल्छ’ निबन्ध सङ्ग्रहको लोकार्पण गर्नु भयो । त्यसपछि लोकार्पित निबन्ध सङ्ग्रह माटो बोल्छ’माथि समीक्षा गर्नु हुँदै समीक्षक हरि सिलवालले सुन्दर कृतिको परिचर्चाको अवसरका लागि धन्यवाद भन्नु हुँदै छानिएका विशिष्ट व्यक्तिको उपस्थितिमा निबन्धकारले स्नातकोत्तरमा सिर्जना विधा अन्तर्गत निबन्ध रोजेर लेख्नु भएका पन्द्र ओटा निबन्धहरूलाई यस सङ्ग्रहमा समेट्नु भएको र त्यसमाथि चर्चा गर्ने अवसर प्राप्त भएको, निबन्धहरूमा एकताको आग्रह गरिएको, लेखनको मौलिक र प्राकृत शैली देखा परेको, उपभोक्तावादको विरोध गरिएको, प्रगतिवादी चिन्तन राख्ने तर व्यवहार भने सो अनुरूपको नरेहकोप्रति आक्रोश व्यक्त गरिएको, सबै निबन्धको मूल भाव राष्ट्रवाद रहेको, समाजमा देखा परेको वैचारिक स्खलनको बिरोध गरिएको, धेरै निबन्धहरू सन्तुलित रहेका, केही निबन्धहरू वस्तुगत र दार्शनिक समेत रहेका, एउटै वाक्यमा धेरै कुरा भन्न सक्ने सामथ्र्य निबन्धमा देखिएको, कतै चिन्तनको भावनात्मक प्रस्तुति समेत रहेको, सांस्कृतिक विचलनका प्रति चिन्ता जाहेर गरिएको, केही निबन्धमा कला र विचारको सन्तुलनमा कमी समेत रहेको, कतै कतै शब्ददोष देखा परेको, व्याकरणका सबै मानकको प्रयोग भएको देखिएको (कुनै एउटा मानकको प्रयोग हुनु पर्ने), कतै अर्थदोष देखिएको, तिन ओटा निबन्ध चाहिँ कथाका स्वरूपका रहेका, आवरण साजसज्जा भने आकर्षक रहेको हुँदा लेखकको साधनाको निरन्तरताले भविष्यसम्ममा उत्कृष्टता हासिल गर्न सक्ने पर्याप्त आधारहरू देखा परेका धारणा सहित बधाई तथा शुभ कामना दिनु भयो ।

समालोचक प्रा.डा.कृष्णप्रसाद घिमिरेले ब्रहमाण्डको मन’ उपन्यासमाथि चर्चा गर्नु हुँदै यो आख्यान भए पनि यसमा कविता र गीत समेत आएका, प्राकृतिक सौन्दर्यमा डुबेका लेखकको जीवन उपन्यासमा चित्रित भएको; कतै निबन्धकार, कतै गायक र कतै कविका रूपमा लेखक उपन्यासमा प्रस्तुत भएका, उपन्यासको शीर्षकले नै एक छिन् रन्थन्याइ दिन्छ र मान्छे जस्तै ब्रहमाण्डका सबै पक्ष गतिशील छन् त्यसैले मान्छेले थप गतिशील हुनु आवश्यक छ भन्ने स्पष्ट सङ्केत शीर्षकले गरेको छ । अन्तरजातीय विवाहका पक्षमा वकालत गरिएको छ; बाह्य र आन्तरिक द्वन्द्व, कौतूहलता, सङ्घर्ष, समाजप्रतिको सचेत दृष्टि; चरित्रको चित्रण गर्दा बाहुन, क्षेत्री, गुरुङ, चौधरीका बिचको अन्तरजातीय विवाह गराएर समाजको एकताका लागि र जातीय विखण्डनबाट बच्नका लागि अन्तरजातीय विवाह आवश्यक छ भन्ने समन्वयवादी दृष्टिकोण प्रस्तुत गरिएको, सामाजिक एकताको सन्देश सम्प्रेषण गरिएको, नेपाली नारीहरू सबै क्षेत्रमा सक्षम छन् भन्ने देखाउन खोजिएको, वर्गीय पक्षधरताका पक्षमा वकालत गरिएको, परिवेश अनुकूलका चरित्रको स्थापना गरिएको, पर्वतको भाषिकाको प्रयोग गरिएको तर संवाद मिठो रहेको, गीतमा स्थानीय लयको प्रयोग भएको, सामाजिक रूपान्तरणको आग्रह गरिएको, सबै नेपाली एक हौँ र एक हुनु पर्छ भन्ने स्पष्ट दृष्टिकोण आएको, भन्न खोजका कुराहरू स्पष्ट भन्न पनि सकेको र अभिव्यक्ति शिष्ट पनि रहेको, जीवन भोगाइको यथार्थ प्रस्तुति रहेको, उपन्यास पढि सकेपछि पाठकका तहमा पनि आफ्ना कमी कमजोरी सुधार्न अभिप्रेरित गर्ने खालको शक्ति रहेको, महिलालाई हेप्ने प्रवृत्तिप्रति कडा प्रहार गरिएको हुँदा उपन्यास निकै सफल रहेको छ । त्यति हुँदाहुँदै पनि संविधान निर्माण भइ सकेपछि छापिएको कृतिमा संविधान निर्माण नभएको हुरा उल्लेख हुनु, निबन्धकार व्यक्तित्व उपन्यासमा हाबी हुनु, लेखकको चिन्तन प्रधान भाषण अलि बढी देखा पर्नु र टुङ्ग्याउनी स्पष्ट नुहुनु जस्ता केही सुधार गर्नु पर्ने पक्ष रहेको धारणा राख्नु भयो ।

दुबै कृतिका स्रष्टा छवि सुवेदी विजयी’ले परिवार सबै सुतेपछि आफूले राति लेख्ने गरेको, समयको सदुपयोग गर्नु पर्छ भन्ने मान्यता रहेको, पाँच ओटा कृति प्रकाशित भए पनि अझै ६७ ओटा प्रकाशोन्मुख अवस्थामा रहेका, केही नष्ट भएका, आफ्नो लेखनमा पारिवारिक सहयोग रहेको, हामी मानिसले बाहिरी ब्रहमाण्डको भ्रमण गर्नुभन्दा पनि आफ्नै आन्तरिक ब्रहमाण्डको अध्ययन र चिन्तन गर्नु पर्छ भन्ने आफूलाई लागेको, आफ्नो विवेकले निर्देश गरेपछि लेख्ने गरेको, सङ्घर्षले जीवन खारिँदै जान्छ भन्ने महसुस गरेको, आजका विद्वानहरूको टिप्पणी र सुझाबले आफूमा ऊर्जा थपिएको धारणा राख्नु भयो र सबै सबैमा हार्दिक धन्यवाद दिनु भयो ।

प्राज्ञ विष्णु प्रभातले प्रगतिशील चिन्तकहरूमा दार्शनिक चिन्तन र त्यसका बारेमा प्रशिक्षण आवश्यक रहेको, व्यवस्थापनमा देखा पर्ने कमी कमजोरी सुधार्नु आवश्यक रहेको, बुर्जुवाले लगाउने गरेको आरोपबाट मुक्त हुन तदनुरूपको सुधार र सावधानी आवश्यक रहेको धारणा राख्नु भयो र एकै पटक दुइटा कृति प्रकाशन गर्ने र सार्वजनिक गर्ने लेखकलाई बधाई दिनु भयो ।

प्रा.डा.जीवेन्द्र देव गिरीले महासङ्ले सोद्देश्यमूलक ढङ्गले व्यवस्था गरेको यो डबलीको सार्थकता बढ्दै गएको, आफूले लेखेका कृतिको माउ संस्थामै आएर लोकार्पण तथा परिचर्चा गराउने छविजीको इच्छाले उहाँको प्रतिवद्धता पुष्टि गरेको, जीवन भोगाइलाई साहित्यिक बान्की प्रदान गरिएको, साहित्य वक्र नै हुने हुँदा अभिव्यक्तिको विलक्षणता हुन्छ र नै कलात्मक पनि हुन्छ । यी दुइटै कृतिमा प्रकृतिको मानवीकरण गरिएको छ । सामाजिक सद्भाव कायम राख्न अन्तरजातीय विवाहका पक्षमा उपन्यासमा वकालत गरिएको छ, जुन निकै सान्दर्भिक पनि छ । उहाँ राष्ट्रिय स्तरको सर्जक भएकाले राष्ट्रियताको सम्वद्र्धन, स्थानीय भाषाको प्रयोग, सामाजिक रूपान्तरणको आग्रह आफ्ना कृतिमा स्पष्ट रूपमा गर्नु भएको छ र अहिले यही विचारले नेतृत्व पनि गरि रहेको छ र यसै विचारले मात्र समाजलाई डोहोर्याउन सक्छ भन्ने पुष्टि गरि रहेको छ भन्ने धारणा राख्नु हुँदै लेखकलाई थप यस्तै कृति सार्वजनिक गर्ने सफलता मिलोस् भन्ने शुभ कामना समेत दिनु भयो ।

पाल्पाका साहित्यकार झपेन्द्र जिसीले एकतावद्ध नेपाल निर्माणका लागि अराजक भएका र भ्रम छर्ने कार्यमा लागेकाहरूलाई रूपान्तरण गर्ने सिर्जना नै आजको आवश्यकता हो भन्नु भयो ।

महासङ्घ अध्यक्ष खगेन्द्र राईले साहित्य सिर्जना भनेका मानिसले आफ्नो जीवनमा भोग्ने ठक्कर हन्डरका उपज नै हुन् भन्ने आफूलाई लाग्ने गरेको, स्रष्टाका सिर्जना प्रकाशित गर्ने नै मूल समस्या रहेको र यसको के उपाय हुन सक्ला भन्ने चिन्ता आफूलाई लागि रहेको, सानो ठाउँमा व्यवस्थापन गरि रहनु परेकाले महासङ्घलाई नै पनि धेरै व्यवस्थित गर्न नसकिएको, समाजलाई जातीय, धार्मिक र भौगोलिक रूपमा विभाजन गर्ने प्रयत्न भइ रहेका वेला सामाजिक सद्भाव र एकताको सन्देश सम्प्रेषण गर्ने कृति नै आवश्यक हुन्छन् । यस अर्थमा छविजीका यी दुबै कृति कोसेढुङ्गा सावित हुने आफूलाई लागेको, उहाँको प्रयत्न सराहनीय रहेको धारणा राख्नु भयो ।

प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले निर्जीव जीवमा चेतनाको आरोप गरी कृतिहरूको शीर्षक राखिएको, थोरै वर्ष अमेरिकमा बस्न गएकालाई अमेरिकी बनाएर त्यहीँ समर्पित गरि दिन्छन् उनीहरु तर हामी हजारौँ वर्ष आफ्नो मुलुकमा बसेर पनि टुक्रा टुक्रा हुन खोज्दै छौँ । अहिलेको विडम्बना पूर्ण अवस्थामा ब्रहमाण्डको मन शीर्षक दिनु नै चुनौती पूर्ण कार्य हो । राजधानी जस्तो ठाउँमा बस्नेको त प्रवुद्ध चेतना हुनु पर्ने हो नि तर यहाँ जत्तिको सङ्कीर्णता कतै छैन ! आज हामीले चर्चा गरेको र विश्लेषण गरेको यो गहन चिन्तन कतै सार्वजनिक हुन सक्दैन, प्रचारको राम्रो व्यवस्था गर्न सकिएको छैन, यस्ता गहन कार्यक्रम गर्ने आफ्नो फराकिलो ठाउँको व्यवस्था हुन सकेको छैन, स्रष्टाको समग्र मूल्याङ्कन गर्ने हामो परिपाटी कमजोर रहेको छ, राजनीति बढी हाबी भएका कारण साहित्यकारको आबाज नै कमजोर पारिएको छ तापनि स्रष्टाहरू यस्ता गहन विषयका साथ कृति सहित उपस्थित भइ रहेका छन् । यही यात्रामा होमिएका यात्री छवि सुवेदीलाई हार्दिक बधाई भन्नु भयो ।

सभाध्यक्ष राम विनयले वैचारिक सङ्गठन, साहित्यिक अभियान आदि विविध क्षेत्रमा सक्रिय रूपमा समर्पित हुँदै प्रगतिवादी साहित्यका फाँटमा सिर्जना कर्मका माध्यमबाट आफूलाई सशक्त रूपमा उभ्याउन सफल हुनु भएका पोखराका स्रष्टा छवि सुवेदी विजयी’ले आफ्ना दुइटै कृतिको काठमाडौँमा लोकार्पण तथा परिचर्चाको इच्छा राख्नु भयो र हामीले यो विशेष समारोहको आयोजना गर्ने अवसर पायौँ । मोफसलमा बसेर पनि नेपाली प्रगतिवादी साहित्यको उत्थानमा सक्रिय भइ रहेका, निरन्तर कलम चलाइ रहेका, लगातार कृति प्रकाशन गरि रहेका साधक सुवेदीका दुइटा कृतिको परिचर्चा कार्यक्रममा उपस्थित भइ दिनु भएका सबै साहित्यकारहरूलाई हार्दिक स्वागत गर्नु भएको थियो ।

धन्यवाद सहित कार्यक्रमको समापन गर्दै जन साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रमेश पोखरेलले सरल एवम् सबैसँग घुलमिल हुने हँसिलो व्यक्तित्व, अत्यन्त मिलनसार, नेतृत्वदायी भूमिका निर्वाह गर्ने कौशल, आफ्ना निबन्ध या उपन्यासमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने क्षमता, मोफसलमा बसेर पनि सामाजिक रूपान्तरण अभियानका सशक्त अभियन्ताको पहिचान कायम राख्न सफल, पोखराका स्रष्टा छवि सुवेदी विजयी’लाई हामीले आज यो विशेष समारोहका माध्यमबाट प्रस्तुत गर्यौँ । हाम्रो निमन्त्रणा स्विकारेर पोखरादेखि आइ दिनु हुने स्रष्टा तथा उहाका परिवारका सदस्य, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरू लगायत सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक आभार व्यक्त गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *