मितिः २०७१।८।१९
रमेश पोखरेल, काठमाण्डु
‘अविरल जन साहित्य यात्रा–९’ मा प्रगतिवादी हास्यव्यङ्ग्य कवि नरनाथ लुइँटेलका प्रतिनिधि कविता वाचनमङ्सिर १९ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–९’ सम्पन्न भयो ।
हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको नवौँ शृङ्खला यस पटक तेस्रो शुक्रवार गर्नु परेको जानकारी सहित राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक प्रगतिवादी हास्यव्यङ्ग्य कवि नरनाथ लुइँटेललाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू भुवनहरि सिग्द्याल, रमेश शुभेच्छु, विमला लुइँटेल, जय गौडेल र गरिमा लुइँटेल अनि टिप्पणीकारका रूपमा प्रा.डा.महादेव अवस्थीलाई पनि मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।
उक्त विशेष समारोहमा सभासद् तथा साहित्यकारहरू शान्ता मानवी र मधु गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य नर्मदेश्वरी सत्याल, प्राज्ञहरू पवित्रा घर्ती मगर र सानु पहाडी, वरिष्ठ नाट्यकर्मी विष्णुभक्त फुयाल, कवि श्यामबहादुर भावुक, महासङ्घका सचिव प्रेमनाथ अधिकारी, खड्ग बुढा मगर, डम्बर पहाडी, जय छाङ्छा राई, हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, भागवत आचार्य, महासङ्घका सहकोषाध्यक्ष जङ्ग पहाडी, वरिष्ठ कवि कणाद महर्षि अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।उपस्थित सबैलाई राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य तथा संस्कृति विभाग प्रमुख खगेन्द्र राईले स्वागत गर्नु भयो । विशेष समारोहका नायक नरनाथ लुइँटेललाई डम्बरकुमारी खादा ओडाएर सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि टीका लगाएर सम्मान गर्नु भयो । नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि सरल, सम्प्रेष्य कविता तथा गीतका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने अभियानका सफल अभियन्ता, सिर्जनाका माध्यमबाट समाजका विकृतिका प्रति सिस्नुपानी लगाउने, उछित्तो काड्ने र रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गर्न सक्ने सशक्त व्यङ्ग्यकवि नरनाथ लुइँटेललाई आजको यो विशेष प्रस्तुतिमा उभ्याइएको र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।
प्रखर हास्यव्यङ्ग्य कविको नरनाथ लुइँटेलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले सामाजिक रूपान्तरणको अभियानमा होमिएका नरनाथ लुइँटेलले २०३४÷३५ सालदेखि साहित्य सिर्जना गर्न थालेका; कविता र निबन्धमा विशेष प्रभावकारी भूमिका निर्वाह गर्न सकेका हुँदा उनको मूलतः राजनीतिक र साहित्यिक व्यक्तित्व देखा परेको, पटक पटक गरी आठ महिना जेल जीवन बिताएका, २०४५ देखि २०४& सम्म भूमिगत जीवन बिताएका, ‘ठूली’ शोककाव्य लगायत कविता र निबन्धका करिब एक दर्जन कृति प्रकाशित गरेका, भौतिकवादी चिन्तनलाई व्यवहारिकता प्रदान गर्ने, निमुखाको आबाज बोल्ने, समतामूलक समुन्नत समाज निर्माणको परिकल्पना आफ्ना सिर्जनामा गर्ने र व्याख्यात्मक समालोचना समेत गर्ने उनी सफल साहित्यकार रहेको धारणा राख्नु भयो ।विशेष समारोहका आकर्षण कवि नरनाथ लुइँटेलको व्यक्तित्वमाथि नै प्रकाश पार्दै लोकलयमा लेखिएको कविता श्यामबहादुर भावुकले वाचन गरी कार्यक्रमको शुभारम्भ गरियो र रिता निरौला ‘जिज्ञासु’ले सुन्दर लयमा संस्कृतको श्लोकबाट शुभ कामना दिनु भयो ।
कवि नरनाथ लुइँटेलले आफ्नो साहित्य यात्राको थालनीको लिखित मन्तव्य दिँदै साहित्य सोद्देश्यमूलक हुनु पर्दछ र जनताको लागि लेखिनु पर्छ भन्ने प्रेरणा श्यामप्रसाद शर्माबाट प्राप्त भएको र विचार तथा साहित्यका माध्यमबाट समाज रूपान्तरणको अभियानमा लागेको धारणा सहित कालक्रमकि रूपमा २०३९ सालदेखि २०&० सालसम्म आफूले लेखेका धेरै कवितामध्ये एक दर्जन छानेर ल्याएको जानकारी दिनु भयो र ‘यात्रा अधुरो छ’२०४८, ‘मुला’२०५६, ‘घिच्नु होस् हजुर घिच्नु होस्’ २०५८, ‘पिण्ड पायौ त ?’ (ठूली काव्यबाट) र ‘लुटतन्त्र अमर रहोस्’ २०&० शीर्षकका सशक्त कविताहरू उत्कृष्ट स्वरमा वाचन गर्नु भयो । उहाँलाई साथ दिने कविहरू गरिमा लुइँटेलले ‘भोकै मर्ने कवि’ २०३९ (गोकुल जोशीको सम्झनामा लेखिएको), भुवनहरि सिग्द्यालले ‘प्रेरणाको धुन’ २०४१ (ऋषिराज देवकोटा ‘आजाद’को सम्झनामा लेखिएको) र ‘उज्यालोको विरुद्धमा’ शीर्षकका दुइटा, विमला लुइँटेलले ‘पानी’ २०५३, जय गौडेलले ‘देश दुख्यो’ २०५८, रमेश शुभेच्छुले ‘काठमाडौँको नयाँ नेपाल’ र विमला तथा गरिमाको संयुक्त स्वरमा ‘आमा’ शीर्षकका उत्कृष्ट कविता वाचन गरिएका थिए ।
वाचित कवितामाथि प्रा.डा.महादेव अवस्थीले टिप्पणी गर्नु हुँदै कविताको शक्ति भनेको पढ्नुभन्दा सुन्नुको आनन्द हो अर्थात् ज्ञानभन्दा आस्वादनको पक्ष बढी प्रभावकारी हुन्छ कवितामा । स्रष्टाले भन्न बाँकी राखेका कुरा खोज्न मात्र समीक्षक आवश्यक हुन्छ तर नरनाथका कवितामा त्यो आवश्यक छैन । युग सन्दर्भका सरल, सशक्त र वर्णनात्मक अभिव्यक्ति हुन् नरनाथका कविता । उनले वाचन गरेका कविता समस्याका कविता हुन् ती सशक्त छन्, वर्णनात्मक छन् । वाचित आमा शीर्षकको कविताको आमा विम्ब देशआमामा विस्तार भएको छ, त्यो कविताको सामथ्र्य हो । यस अर्थमा कार्यक्रम प्रभावकारी भएको धारणा राख्नु भयो ।उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका का.वा.अध्यक्ष रमेश पोखरेलले सबै खाले निरङ्कुशताको विरुद्धमा आफ्ना सरल सिर्जनाका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्न सक्ने, आफ्नो पुरै परिवारलाई आफूले हिँडेको बाटोमा हिँडाउन सक्ने, २०३४÷३५ देखि नै झापाको जनता माध्यमिक विद्यालय, गौरादहमा पढ्दैदेखि कविता सिर्जना गर्न थालेका, २०३९ सालमा काठमाडौँमा ‘साहित्य सन्ध्या’ जस्तो गतिशील संस्थालाई क्रियाशील गरी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा सोद्देश्यमूलक यात्राको थालनी गर्नेमध्येका एक, ग्रामीण जन जीवनका उत्कृष्ट विम्ब प्रयोग गरेर सिर्जना गर्ने क्षमता राख्ने, इमान र निष्ठाका साथ सक्रिय उनी निम्न वर्गीय दुखी, पीडित जनताका पक्षमा कलम चलाउने व्यक्तित्व हुन् । यस्ता स्रष्टालाई अविरल जन साहित्य यात्रा –९ मा उपस्थित गराउन सकिएकोमा र उहाँले यहाँसम्म आइ दिनु भएर सहयोग गर्नु भई अरू स्रष्टालाई प्रेरणा प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।