रमेश पोखरेल
मितिः २०७०।११।२४
फागुन २४ गते शनिवार अपराह्न १ बजे स्वावलम्बन विकास केन्द्र, माइती घरको सभाकक्षमा जन साहित्यिक मञ्च, नेपालको आयोजनामा प्रगतिशील कथाकारिता कार्यशाला गोष्ठी सम्पन्न भयो ।
मञ्चको केन्द्रीय सचिवालय सदस्य नवराज रिजालले अनौपचारिक रूपमा थालनी गर्नु भएको उक्त विशेष कार्यशाला गोष्ठीमा अतिथिका रूपमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई उपस्थित हुनु हुन्थ्यो भने कार्यशाला गोष्ठीको औचित्यका बारेमा मञ्चका अध्यक्ष राम विनयले प्रकाश पार्नु भएको थियो र कम्पुटर पावर प्वाइन्टका माध्यमबाट कार्यशालाको थालनी गर्न विज्ञ डा.नेत्र एटमलाई अनुरोध गर्नु भयो ।
उक्त विशेष कार्यशाला गोष्ठीमा राम विनय, रमेश पोखरेल, नर्मदेश्वरी सत्याल, विनोद मञ्जन, यशोदा अधिकारी, गोपालकुमार मेनाली, डा.यादबप्रकाश लामिछाने, भावगत आचार्य, भक्त कार्की, भगतदास श्रेष्ठ, सुमी लोहनी, शीतल गिरी, माधव सयपत्री, सूर्य बिसी, होमराज श्रेष्ठ, पार्वती शाही, विजया सत्याल, जयन्ती स्पन्दन, प्रकाश सिलवाल, प्रेम सिलवाल, नवराज रिजाल, प्रशान्त खरेल, देवकी के.सी., होमशंकर बास्तोला, डा.सुधन पौडेल, विद्या सापकोटा, अच्युत घिमिरे, बालमुकुन्द कार्की, रामचन्द्र खतिवडा र मञ्चका सल्लाहकार सीताराम नेपाल उपसिथत हुनु हुन्थ्यो ।
विज्ञ एवम् मञ्चका सल्लाहकार डा.नेत्र एटमले कथा भनेको के हो ? कथा लेखनको प्रयोजन के हो ? भन्ने सन्दर्भ समेत देखाउँदै र प्रकाश पार्दै समय क्रममा घटेका घटनाको जस्ताको तस्तै विवरण कथा होइन, यो बनाइएको लेखनी हो, बुनोटमा सूक्ष्मता, कलामूल्यको सम्प्रेषण गर्ने, एक बसाइमा पढि सकिने, सम्प्रेषणीय, खाँदिएको, समग्रमा एकल प्रभाव छाड्ने अनि पाठकको अनुभव र ज्ञानको समेत उपयोग गर्ने विशिष्ट लेखन कथा हो । लघु कथा, कथा र लामा कथाका रूपमा लेखिने, कथामा राजनीतिक सन्दर्भ जोडिएर आउने, आर्थिक असमानता, विभेद आदिको चित्रण गरिने, सामन्ती संस्कार, साम्राज्यवाद आदिको पनि चित्रण हुने, निम्न वर्गका प्रति सहानुभूति, सङ्घर्ष, भौतिकवादतर्फ उन्मुख जस्ता व्यापक क्षेत्र समेटेर कथा लेखिने; कथामा पाठक र समाजको स्तर सुहाउँदो प्रस्तुति भने आकर्षक हुने, कथाले विचार सम्प्रेषण गर्ने, समाज रूपान्तरणको आग्रह गर्ने, अनुभूतिको व्यावहारिक एवम् प्रत्यक्ष प्रकटीकरण गर्ने; प्रत्यक्ष अवलोकनको आग्रह सहितको कल्पनाको प्रयोग गर्ने, प्रभावपरक, यथार्थपरक अनि ग्रहणशील कथा लेखनले मात्र पाठकलाई आकर्षित गर्ने साथसाथै विचारको सम्प्रेषण पनि ठिक तरिकाले हुने; कथामा इन्द्रियगत अनुभूतिको प्रकटीकरण पनि हुने अनि त्यसका लागि घटनाहरूलाई राख्ने, काट्ने र थप्ने गरिनु पर्ने; कथामा पात्रका माध्यमबाट प्रेरणा वा सन्देश सम्प्रेषण हुने, कथाकारको विचारलाई अप्रत्यक्ष रूपमा पात्रका माध्यमबाट सम्प्रेषित गरिने, कथामा अनेकौँ प्रकारको द्वन्द्व हुने, कथाको संरचनामा आकारलाई ध्यान दिइनु पर्ने, कार्यको आदि, मध्य र अन्त्यको शृङ्खला मिलाउनु पर्ने, खण्ड वा परिच्छेद निर्माण गर्ने, समय क्रमलाई ध्यान दिने, कथालाई उत्कर्षमा पुर्याएर टुङ्ग्याउने, कथा जटिल नहोस् भन्ने पक्षमा ध्यान दिने; कथाको परिवेश र वातावरण वास्तविक जस्तो लाग्ने गरी प्रस्तुत गर्ने, पाठकलाई पात्रको अन्तरसम्म पुर्याउने गरी प्रस्तुत गर्ने, आफ्नो विचारलाई कलात्मक रूपले प्रस्तुत गर्ने, नयाँ विम्बको खोजी गर्ने, स्पष्ट दृष्टिकोण दिने, कथाको पात्र तल्लो वर्गको होस् तर उसले लिएको विचार उच्च देखाउने; कथामा आलोचनात्मक चेत निर्माण गर्ने र रूपान्तरणको सङ्केत गर्ने, आग्रह गर्ने समेतका व्यापक प्रयत्न एउटा राम्रो कथा सिर्जनाका लागि कथाकारले गर्नु पर्ने धारणा राख्नु भयो, देखाउनु भयो ।
कथाकारले कथा सिर्जना गर्दा पहिलो मस्यौदा तयार गर्ने, त्यसमा पात्र, घटना, परिवेशको योजना गर्ने, कलामूल्यको व्यवस्थापनको योजना गर्ने; दोस्रो मस्यौदामा दिमागमा बनेको रूपरेखालाई सम्पादन गर्ने, अन्तरक्रिया गर्ने, सुधार गर्ने, पात्रको विकास गराउने, स्मृति, योजना तथा कल्पनालाई यथोचित स्थानमा राख्ने, विम्ब, दृश्य, सम्वादको व्यवस्था मिलाउने, भाषिक संयोजन गर्ने र कथा लेखनको औचित्य पुष्टि गर्ने । तेस्रो मस्यौदामा काँटछाँट, परिमार्जन, भाषिक परिमार्जन, ध्वन्यार्थको प्रयोग, कथाकारको भाषा सतरीय एवम् लेख्य हुने तर पात्रको भाषा उसको स्तर अनुसारको हुने कुराको हेक्का राख्ने, कथाको प्रारम्भमै नाटकीय द्वन्द्वको सिर्जना गर्ने, कथाको अन्तिमको घटनाको सङ्केत (पूर्वाभासना), अन्त्यको अभीष्टको सङ्केत, पुनरावृत्ति (औचित्य पुष्टि गर्नका लागि दोहोर्याउने), प्रसङ्गलाई दोहोर्याएर ल्याउने र अभीष्ट देखाउने; कथामा द्वन्द्व आफैँसँग, अर्काे मान्छेसँग, प्रकृतिको शक्तिसँग, वर्गसँग हुने; कथाको पात्रलाई वास्तविक बनाउने, कथाकारले कुनै एक पात्रको मात्र पक्ष लिने (सबैको पक्ष लिनु सम्भव हुन्न), पात्रको देखिने रूप, सामाजिक रूप तथा मनोवैज्ञानिक रूप देखाइ दिने; पात्रको पतन वा उत्थान देखाउँदा मनोविज्ञानको प्रयोग उपयुक्त हुने; पात्रमा देखिने आवेग, संगेग, विचलन आदि अवस्थाको पुष्टि गर्न एकालाप आवश्यक हुने; सम्वादले पात्रको अन्तरको उद्घाटन गर्ने, सूचना दिने र कथालाई अगाडि बढाउन मदत गर्छ त्यसैले पात्रको चरित्र आन्तरिक एकालापबाट अगाडि बढ्न सक्छ, अरूले गरेको कुराकानीबाट पनि पात्रको चित्रण हुन्छ र पात्र र अरूका बिच भएको सम्वादबाट पनि उसको चित्रण हुन्छ । कथामा विपरीतता सिर्जना हुनु पर्छ जस्तै धार्मिक, सामाजिक, जातीय, लैङ्गिक, सांस्कृतिक, आर्थिक अवस्था एवम् सामन्ती शोषणको अवस्था आदि पक्षको चित्रण गर्ने, व्यक्ति छिटो बदलिन वा स्खलित हुन सक्ने तर समाज हत्तपत्त नबदलिने पक्षलाई देखाउने; कथाकारको क्षमता, दक्षता, उद्देश्य अनुसारको दृष्टिविन्दु प्रयोग हुने, कतै कथाकार आफैँ, कतै द्रष्टा बन्ने कतै बाहिरै बसेर वर्णन गरि दिने पनि हुन सक्ने । कथाकारले कथा लेख्दा नयाँ विषयको खोजी गर्ने तर उद्देश्यबाट विचलित हुनु नहुने, बहु आयामिकताको खोजी गरिनु पर्ने, आलोचनात्मक विचारप्रतिको आकर्षण हुनु पर्ने, पात्र र समाजको अन्तरसम्बन्ध हुनु पर्ने, कथामा पाठकको स्थान निर्धारण गरिनु पर्ने, सोझो होइन ध्वन्यार्थको प्रयोग गर्ने, सजाउने वा परिष्कार गर्ने (विपरिचितीकरण) गर्ने जस्ता कुरामा ध्यान दिएर कथाकारले कथा लेख्ने हो भने कथा उत्कृष्ट हुन्छ र प्रगतिशील कथा लेखनको भविष्य सुदृढ हुन्छ भन्ने धारणा समेत राख्नु भयो ।
बिच बिचमा सहभागी र विज्ञसँग प्रशस्त अन्तरक्रिया समेत भयो । कथाकार एवम् मञ्चका सल्लाहकार सीताराम नेपालले आफूले कथा लेख्ने भए पनि यति धेरै सैद्धान्तिक ज्ञान भने आफूसँग नभएको र कथा लेख्दा यी व्पापक पक्षमा ध्यान नै नपुगेको कुरा आजको कार्याशालाबाट थाहा भएको र अबदेखि यी पक्षमा विचार गरी कथा लेख्ने धारणा राख्नु भयो । राष्ट्रिय जन सांस्कृतिक महाङ्घका अध्यक्ष खगेन्द्र राईले यस्तो विशद् एवम् व्यवहारोपयोगी कार्याशालामा आफू कहिल्यै पनि सहभागी नभएको तर आज अत्यन्त लाभान्वित भएको महसुस भएको बताउँदै यस्तो गहन कार्यशाला गर्दा महासङ्घका सबै घटकलाई राखेर गर्न पाए सबै स्रष्टा लाभान्वित हुने ठानेको हुँदा यस दिशामा महासङ्ले पहल गर्ने धारणा राख्नु भयो ।
अन्तमा मञ्चका अध्यक्ष राम विनयले कार्यशालामा प्रविधिको प्रयोग सहित गहन एवम् व्यापक प्रस्तुति दिनु हुने विज्ञ डा.नेत्र एटम, महासङ्घका अध्यक्ष तथा सहभागी सबै स्रष्टा मित्रलाई चार घण्टा लामो सहभागिताका लागि हार्दिक धन्यवाद सहित गोष्ठीको समापन गर्नु भयो र चियापानका लागि आग्रह गर्नु भयो ।