प्रा.डा.भीम खतिवडाका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल, काठमाडौं

फागुन १४ गते शुक्रवार अपराह्न ठिक २.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२३’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक २.३० बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको आज तेइसौँँ शृङ्खला सम्पन्न गर्न लागिएको जानकारी सहित जन साहित्यिक मञ्च, नेपालकी कोषाध्यक्ष यशोदा अधिकारीले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहको अध्यक्षताका लागि जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयलाई आग्रह गर्नु भयो । प्रमुख अतिथिका रूपमा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् राजनीतिज्ञ प्रदीप नेपाल, विशेष अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, प्राज्ञ नर्मदेश्वरी सत्याल, नेकपा एमाले केन्द्रीय लेखा समिति सदस्य गोपाल बराल, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ सानु पहाडी, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी, वरिष्ठ कवि कणाद महर्षि, महासङ्घका सहकोषाध्यक्ष जङ्ग पहाडी, जसाम इन्चार्ज प्रा.केशव सुवेदी, डा.लेखप्रसाद निरौला, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, युद्धप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, वरिष्ठ साहित्यकार रामबहादुर पहाडी उपस्थित हुनु हुन्थ्यो ।

प्रमुख अतिथि प्रदीप नेपालले आजको कार्यक्रमका प्रमुख नायक वरिष्ठ प्रगतिवादी कवि प्रा.डा.भीम खतिवडालाई सम्मान पत्र अर्पण गर्नु भयो, विशेष अतिथि खगेन्द्र राईले टीका लगाइ दिनु भयो भने सभाध्यक्ष रम विनयले माल्यार्पण गरी समारोहमा स्वागत गरियो । त्यसै गरी उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू डा.सुधन पौडेल, रत्नावली शर्मा, सुदेश सत्याल, प्राज्ञ खेम नेपाली र ज्ञानु विद्रोहीलाई मञ्चमा आसन ग्रहण गराइयो र विशेष अतिथिले सहयोगी कविहरूलाई टीका लागाएर स्वागत गर्नु भयो ।

समारोहका नायक प्रा.डा.भीम खतिवडाको व्यक्तित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले मूलतः कवि त्यसपछि समालोचक र निबन्धकार खतिवडाको व्यक्तित्वलाई तिन भागमा बाँड्न सकिन्छ भन्नु हुँदै उहाँको पहिलो र प्रमुख व्यक्तित्व भनेको कवि व्यक्तित्व हो अनि समालोचक व्यक्तित्व र निबन्धकार व्यक्तित्व हो । दोस्रो उहाँको व्यक्तित्व कुशल सङ्गठक व्यक्तित्वका रूपमा देखा परेको छ र जन साहित्यिक मञ्च, नेपालको केन्द्रीय उपाध्यक्ष हुनुका साथै पूर्वाञ्चलका मेची, कोसी र सगरमाथाका सबै जिल्लामा सङ्गठन निर्माण, युवाहरूलाई जीवनवादी र आशावादी सिर्जनामा उत्प्रेरणा प्रदान गर्ने तथा सामाजिक रूपान्तरणको अभियानमा समर्पित गराउने उहाँ कुशल कमान्डर हो । तेस्रो उहाँको व्यक्तित्व भनेको प्रशासक व्यक्तित्व हो । उहाँ हाल पिण्डेश्वर क्याम्पस धरानमा प्राचार्यका रूपमा सेवारत रहनु भएको छ । उहाँका हालसम्म संस्कृत र नेपालीमा कविता, काव्य, समालोचना र गजल गरी पौने एक दर्जन कृति प्रकाशित भएका छन् भने करिब आधा दर्जन महाकाव्य, हाइकु, समालोचना, गजल र बाल कविताका सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेका छन् । २०५१ सालमा संस्कृत विश्व विद्यालयमा सेवा प्रवेश गर्नु भएका उहाँले २०६७ सालमै विद्यावारिधि गर्नु भई २०६९ सालमा सेवाको सर्वाेच्च पद प्राध्यापकमा बढुवा भई प्राचार्य बन्न सफल हुनुले सफलताका शिखर छिटो छिटो चढि रहनु भएको पुष्टि भएको छ । विभिन्न मान सम्मानबाट सम्मानित उहाँ आफ्ना कवितामा राष्ट्र, राष्ट्रियता, ग्रामीण जन जीवनका दुख, कष्ट, पीडा मर्म र व्यथालाई उजागर गर्ने र रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गर्ने; ग्रामीण जनबोलीको र ग्रामीण विम्बको सुन्दर संयोजन गर्न सक्ने, विचारलाई रूपान्तरणको बीज मानेर कलात्मक बान्की दिन सक्ने, सुन्दर तर निर्भीक अभिव्यक्ति सम्प्रेषण गर्ने; शोषण, उत्पीडन, अन्याय, अत्याचारको विरोध गर्दै निमुखा र उत्पीडित वर्गका पक्षमा वकालत गर्ने, कवितामा विषयको विविधता प्रस्तुत गर्ने विशेषता उहाँमा विद्यमान रहेका हुँदा उहाँको कवि व्यक्तित्व सफल रहेको छ ।

त्यसै गरी मिलनसार व्यक्तित्वका रूपमा पनि हामीबिच परिचित हुनु हुन्छ, उहाँका यी सबै व्यक्तित्वको एकमुष्ठ उद्देश्य नै सामाजिक रूपान्तरण अभियानलाई बल पुर्याउनु हो, जुन उहाँले गरि रहनु भएको छ । सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नु र आवश्यक परे बौद्धिक टक्कर समेत गर्न सक्ने क्षमता राख्नु उहाँका विशेषता हुन् । साहित्य जनताका लागि र समग्र सामाजिक रूपान्तरणका लागि हो भन्ने स्पष्ट मान्यता राख्ने, शास्त्रीय छन्दलाई बिरालाले मुसो खेलाए जस्तो गरी आफ्नो वशमा राख्न सक्ने, लोक दोहोरी गाए जस्तै अनुष्टुप छन्दमा घण्टौँसम्म समस्या पूर्ति कविता वाचन गर्ने सक्ने उहाँको व्यक्तित्व विलक्षण रहेको छ भन्नु भयो ।

विशेष समारोहका आकर्षण प्रा.डा.भीम खतिवडाले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र यसको सक्रिय घटक संस्था जन साहित्यिक मञ्च, नेपालले चलाइ रहेको यो गरिमामय अभियानमा अत्यन्त अग्रज साहित्यकार एवम् सामाजिक रूपान्तरणको अभियानमा समर्पित विशिष्ट व्यक्तित्वका माझ उपस्थित भएर कविता वाचन गर्ने यो अवसर आफ्नालागि ऊर्जामय भएको; यो विशिष्ट कार्यक्रम कविता, वाचन र व्यक्तित्वको परीक्षणको कार्यक्रम समेत भएको विचार व्यक्त गर्दै कविता लेखनको पृष्ठभूमिको जानकारी समेत गराउँदै ‘देशको माया’ ‘बाल गजल’, ‘झुम्राको पुतली’, ‘विषतन्त्र’, ‘गजल’, ‘सर्पगीत’ र ‘आस्थाको गीत’ शीर्षकका ७ ओटा सुन्दर र शक्तिशाली कविता वाचन गर्नु भयो । सहयोगी कविहरू डा.सुधन पौडेलले ‘सहिदप्रति’ शीर्षकको, सुदेश सत्यालले ‘नेपालको गौरव’ शीर्षकको, रत्नावली शर्माले ‘अग्निचर्चा’ शीर्षकको, प्राज्ञ खेम नेपालीले ‘उज्यालाको खोजी’ शीर्षकको र ज्ञानु विद्रोहीले ‘आमा –गजल’ शीर्षकका मझौला आकारका तर शक्तिशाली कविता वाचन गर्नु भयो ।

वरिष्ठ प्रगतिवादी साहित्यकार डा.रामप्रसाद ज्ञवालीले राष्ट्रियताका पक्षमा वकालत गर्दै समकालीन राजनीतिक विकृति र विसङ्गतिमाथि कवितामा सशक्त प्रहार गरिएका, जातीय र लैङ्गिक विभेदमाथि प्रहार गर्दै रूपान्तरणको आग्रह गरिएका कविताहरू वाचन भएका छन् । आफ्नो विचार बोक्ने स्रष्टाका सिर्जनामाथि गम्भीर बहस गर्ने, टिप्पणी गर्ने र व्यक्तित्व तथा सिर्जनामा निखार ल्याउन सहयोग पुर्याउने यो परम्परा निक्कै प्रशंसनीय छ, अनुकरणीय छ । कविताले चार तहमा स्रोतालाई प्रभाव पार्छ त्यसमा अब्बल चाहिँ कविताको प्रभावले स्रोताका मनलाई ताली बजाउन बाध्य पार्नु र हातले ताली बजाउन बाध्य पार्नु हो । प्रा.डा.खतिवडाका कविताका शीर्षक नै साङ्केतिक रहेका छन् । स्रष्टाको असन्तुष्टि, आक्रोश, व्यङ्ग्य कवितामा सुन्दर ढङ्गले अभिव्यक्त भएको छ । समाजप्रतिको जाग्रत चेतना अभिव्यक्त भएको छ, कवि आफूले भोगेको परिवेशलाई आत्मसात गर्ने र कवितामा रूपान्तरण गर्न सक्ने क्षमता कविमा रहेको देखिन्छ । कविताको शक्ति भनेको आफैँलाई गाली गर्नु पनि हो जुन कविले गरेको पाइन्छ । देशभक्ति, राष्ट्रियता र स्वाधीनताका कुरालाई कविताले आफ्नो मर्म बनाएका छन् । छन्दमा राम्रो कविता लेख्नु चुनौती हो, गद्य कवितामा पनि अनुप्रास मिलाउने प्रयत्न भएको छ, मौलिकताको प्रकटीकरण कवितामा भएको पाइन्छ । अब स्रष्टाले विम्बको नयाँ प्रयोग गर्नु आवश्यक छ, अर्थात् विम्ब प्रयोगमा ख्याल गरिनु आवश्यक छ, नयाँ नयाँ अर्थ प्रक्षेपण गर्ने विम्ब प्रयोग गरिनु आवश्यक छ । हरेक वस्तु आपैmँमा सुन्दर र कुरुप हुँदैन त्यसको सही प्रयोगका माध्यमबाट भावकको मनमा तरङ्ग उत्पन्न गराउनु नै कविताको शक्ति हो जुन उहाँका सिर्जनामा देख्न सकिन्छ भन्नु हुँदै आफ्नो विविध व्यक्तिवका आयामका बिच समय निकालेर सुन्दर कविता सिर्जना गर्ने कार्यमा समर्पित प्रा.डा.खतिवडालाई हार्दिक बधाई समेत दिनु भयो ।

प्रमुख अतिथि प्रदीप नेपालले प्रतिनिधिमूलक विज्ञको उपस्थिति रहेको यो शालीन र भद्र विशेष समारोहमा कविताको विषय, शिल्प र प्रस्तुति जस्ता कविता सशक्त पार्न आवश्यक तत्त्वलाई तालमेल मिलाएर कविले प्रस्तुत गरेका, प्रस्तुति निकै शक्तिशाली रहेको आजको गरिमामय यस कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको छ । आफू पनि साहित्यबाटै जन्मिएर चिनिएको व्यक्ति भएको र अब राजनीतिलाई त्यागी साहित्यमै समर्पित हुने अठोट गरेको, परशु प्रधानको प्रेरणाले आफू साहित्यमा आकर्षित भएको, २०२७ सालदेखि कविता लेख्न थालेको, तर अहिलेको युवा पुस्ता विचार विहीन, संस्कार विहीन बन्दै गएकोमा पीडाबोध भइ रहेको छ तर यस्तो विशृङ्खलित पुस्तालाई रूपान्तरण गर्ने भनेको चाहिँ साहित्यले नै हो । अहिले हामीमाथि भारतले लादेको नाकाबन्दीले अहिलेको युवा पुस्तालाई छिमेकीको दुष्ट्याइँका बारेमा राम्रो जानकारी भएको छ, यो सकारात्मक छ । सामाजिक संस्कार बिगार्ने काम केही राजनीतिक भनिएका पार्टीले समेत गरेका छन् तर हामी सर्जकले सिर्जना गर्दा भने प्रयुक्त विम्बलाई स्थापित गर्न सक्नु पर्छ र धेरैभन्दा धेरै साहित्यका विविध विधामा कलम चलाएर सामाजिक रूपान्तरणको अभियानलार्य तीव्र पार्नु पर्छ भन्ने धारणा राख्नु भयो ।

वैचारिक सङ्गठन, साहित्यिक अभियान र प्राध्यापन एवम् प्रशासकको भूमिका आदि विविध क्षेत्रमा सक्रिय रूपमा समर्पित हुँदै प्रगतिवादी साहित्यका फाँटमा आफूलाई सशक्त स्रष्टाका रूपमा स्थापित गर्न सफल प्रा.डा.भीम खतिवडाका कविता सुन्न उपस्थित भइ दिनु भएका सबै साहित्यकारहरूलाई धन्यवाद सहित विशेष समारोहको समापन गर्दै सभाध्यक्ष राम विनयले चैत्र महिनाको कार्यक्रममा मोरङकी स्रष्टा मिश्र बैजयन्तीलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *