रमेश पोखरेल, काठमाण्डु
भदौ १० गते शनिबार अपराह्न २ बजे मध्य बानेश्वरस्थित आनन्द बैङ्क्वेटमा प्रा.रामप्रसाद दाहालद्वारा लिखित नियात्रासङ्ग्रह ‘युरोपको यात्रा अक्षरको खेती’को माननीय सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्र शर्मा, साहित्यकार मोहन दुवालले संयुक्तरूपमा लोकार्पण गर्नुभयो ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा माननीय सञ्चार तथा सूचना मन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्व सचिव एवम् परराष्ट्रविद् मधुरमण आचार्य, संविधानविद् काशीराज दाहाल विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा प्रा.डा.माधवप्रसाद पोखरेल, जनमत मासिकका सम्पादक साहित्यकार मोहन दुवाल, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, पूर्व सचिव माधव रेग्मी, साहित्यकार शैलेन्द्र साकार, दाहाल समाजका अध्यक्ष हुतनाथ दाहाल, साहित्यकार बमबहादुर थापा जिताली, साहित्यकार रोचक घिमिरे, प्रा.डा.नरेन्द्रमान शाक्य, कृतिकारकी जीवन सङ्गिनी चन्दा दाहालगायत उपस्थित हुनुहुन्थ्यो ।
अनिता आचार्यले सञ्चालन गर्नुभएको र परशुराम दाहाल–शकुन्तला दाहाल स्मृति सेवा प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त विशेष समारोहमा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई रुद्राक्षको माला लगाएर शर्मिला कोइरालाले सम्मान गर्नुभएको थियो भने प्रतिष्ठानका सदस्य विदुर निरौलाले कविताबाट स्वागत गर्नुभएको थियो । कृतिकार रामप्रसाद दाहालले लेखेको ‘मेरो देशको पहिचान मलाई चाहिन्छ’ बोलको गीत सङ्गीतकार निरज रसाइलीले गाउनुभएको थियो । सोही विशिष्ट समारोहमा जापानिज नागरिक मेरिया युकी तथा साथीहरूको तर्फबाट रु.२५,०००।– राशि तथा सम्मान पत्रद्वारा रामप्रसाद दाहाललाई सम्मानित गरिएको थियो भने प्रतिष्ठानका तर्फबाट जापानिज नागरिक मेरिया युकी तथा साथीहरूलाई मायाको चिनो अर्पण गरिएको थियो ।
समारोहका प्रमुख अतिथि माननीय मोहनबहादुर बस्नेतलाई प्रतिष्ठानका तर्फबाट दोसल्ला ओडाएर सम्मान अर्पण गरिएको थियो भने सो विशिष्ट समारोहमा लोकार्पित कृति ‘युरोपको भ्रमण अक्षरको खेती’माथि प्रा.डा.माधवप्रसाद पोखरेलले टिप्पणी गर्नुहुँदै कृतिमा दुइटा पाटा रहेका छन् – एउटा यात्रा र अर्काे अक्षरको खेती । उहाँले पढाएका विद्यार्थीका राम्रा गुरु; आपूmले पढेको अर्थशास्त्रको बैङ्किङ क्षेत्रमा प्रयोग गर्न सफल, व्यवस्थापन गर्न जान्ने कुशल व्यक्तित्व हुन् रामप्रसाद दाहाल । सिर्जना भनेको समालोचनाभन्दा माथि हुन्छ । नियात्रा नेपाली साहित्यमा मात्र छ, अन्यत्र छैन । यात्रासँगसँगै कवितात्मक वा काव्यात्मक गद्य हुनुपर्छ नियात्रामा । लेखकले युरोपमा देखेका कुरा मात्र होइन नदेखेका कुरा पनि लेखेका छन् । युरोपमा देखेका राम्रा कुरालाई नेपालसँग दाँजेका छन्, नेपाललाई सम्झिएका छन् । लेखनमा फरक शैलीको प्रयोग गरिएको छ । यसकारण पनि यो कृति महत्त्वपूर्ण रहेको छ । बाँकी चाहिँ पाठकले कृति पढेर थाहा पाउनु हुने छ भन्नुभयो ।
कृतिकार रामप्रसाद दाहालले जापानदेखि यहाँ आएर आफूलाई नगद तथा सम्मानपत्रद्वारा सम्मान गर्नुभएकोमा मेरिया युकी तथा साथीहरूलाई हार्दिक आभार व्यक्त गर्नुभयो । शिक्षालाई माया गर्ने र निरक्षर एवम् गरिबको शिक्षादीक्षामा योगदान गर्नुपर्छ भन्ने मान्यता राख्ने माननीय मन्त्री मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथि बनाउन पाएकोमा गौरवबोध भएको छ । संयोगले युरोपको भ्रमण गरेको पक्षलाई त्यति धेरै व्यवस्थित नै त गर्न सकेको थिइनँ तथापि सम्झेजति टिपोट गरी पुस्तकाकार रूप प्रदान गरेको, प्रकाशकले छापिदने वचन दिनुभएको कारण यो कृति प्रकाशन हुनसकेको हो । कृतिका लागि हौसला दिनुहुने, सहयोग गर्नुहुनेहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु र यसलाई पढेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु भन्नुभयो ।
प्रमुख अतिथि सञ्चार तथा सूचना मन्त्री मोहनबहादुर बस्नेतले कृतिकार रामप्रसाद दाहाल सरको विद्यार्थी हुँ म । राम्रो पढाउने गुरुमध्येमा पर्नुहुन्थ्यो उहाँ । जता जता हात हाले पनि सफलता प्राप्त गर्ने व्यक्त्त्वि हुनुहुन्छ उहाँ । आज गुरुको नियात्रासङ्ग्रह लोकार्पणको अवसर पनि मलाई मिल्यो, प्रमुख अतिथि बनाउनुभयो, त्यसमा पनि सम्मानसमेत गर्नुभयो, यो सम्मानले ममा जिम्मेवारी थपिएको महसुस गरेको छु । साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने ज्यादै महत्त्वपूर्ण मान्यजन यहाँ उपस्थित हुनुहुन्छ, म सम्मान जाहेर गर्दछु । तपाईँहरू जस्ता विद्वत्जनको कलमबाट जन्मिने यस्ता कृतिले विकसित मुलुकको विकास, त्यहाँको समाज, संस्कृतिको जानकारी हुन्छ अनि आपूmले लेखेको कृतिकै माध्यमबाट आफूलाई नै सम्मान प्राप्त हुन्छ, कृतिले अमर बनाइदिन्छ । सम्मान नै सबैभन्दा ठुलो कुरा हो । यद्यपि राज्यले साहित्यकार र शिक्षक जस्ता विशिष्ट व्यक्तिलाई अपेक्षाकृत सम्मान गर्नसकेको छैन । दाहाल सरले विकसित मुलुकका राम्रा कुरा हामीसमक्ष पुर्याउने सत्कर्म गर्नुभएको छ । त्यसनिम्ति उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु । हाम्रो मुलुक अझै अप्ठ्यारो अवस्थामा छ त्यसैले देश र जनताले जित्नुपर्छ भन्ने सन्देश सम्प्रेषण गर्ने सिर्जना तपाईँ विद्वानहरूबाट सदैव भइरहनुपर्दछ भन्नुभयो ।
साहित्यकार शैलेन्द्र साकारले विमोचित कृतिका बिच बिचमा कविता र गीत राखिएका छन्, शैलीको नवीनता छ, देखेका दृश्यहरूलाई लेखकले काव्यात्मकता प्रदान गर्नुभएको छ । उहाँलाई हार्दिक बधाई छ भन्नुभयो । परराष्ट्रविद् पूर्व सचिव मधुरमण आचार्यले आजको यो विशिष्ट समारोहमा साहित्यिक र काव्यात्मक माहोल छ । यद्यपि हाम्रो मुलुकमा संविधान कार्यान्वयनमा भूराजनीतिक चुनौती छ । नेपालको संविधान नेपाल र भारतको चर्चाको विषय बन्नुहुँदैनथ्यो । छिमेकीले गाँजेको नियति हामीले भोगेका छौँ । भारतले स्पेस बनाउँदै गयो तर हामीले त्यसलाई उचित व्यवस्थापन गर्नसकेनौँ त्यसैले छिमेकी कल्पवृक्ष होइन विषवृक्ष बन्दै गएको छ । आफ्नो सुरक्षाको घेरामा नेपाललाई राख्ने छिमेकीको योजना यो मुलुकको हितमा छैन । स्वतन्त्र मुलुकले चीन तथा भारतसँगको सम्बन्ध सुमधुर बनाउनु अहिलेको आवश्यकता हो भन्नुभयो र कृतिकार रामप्रसाद दाहाललाई बधाई दिनुभयो ।
संविधानविद् एवम् प्रतिष्ठानका अध्यक्ष काशीराज दाहालले प्रतिष्ठानको आयोजनामा विभिन्न समयमा विभिन्न विषय तथा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू गर्नेगरिएको छ । आजको यो विशेष समारोहमा धेरै विज्ञका राम्रा कुरा सुन्ने अवसर प्राप्त भयो । प्रतिष्ठानका संरक्षक रामप्रसाद दाहालको कृति लोकार्पित भयो, लेखकलाई हार्दिक हार्दिक बधाई छ । मुलुकको पहिचान सुशासन, समुन्नत न्यायप्रणाली, राम्रा कुराको अनुशरण गर्ने र नराम्रा कुरा त्याग्ने जस्ता कामहरूबाट मात्र हुनसक्छ भन्ने प्रतिष्ठानको मान्यता रहेको छ । जापानिज मित्रबाट रामप्रसाद दाहाललाई सम्मान भएबाट प्रतिष्ठान नै सम्मानित भएको महसुस भएको छ । सबै सबैमा हार्दिक धन्यवाद अर्पण गर्दछु भन्नुभयो ।
सभाध्यक्ष नगेन्द्र शर्माले कृतिकारलाई बधाई दिनुभयो र यो विशेष समारोहको अध्यक्षता गर्ने अवसर दिएकोमा प्रतिष्ठानलाई पनि धन्यवाद दिनुभयो । पहिला पहिला अर्थ साहित्यमा कलम चलाइरहनुभएका रामप्रसाद दाहालको यो कृति पनि अवश्यै सुन्दर होला, यसलाई पढेर प्रतिक्रिया जनाउनुपरेमा जनाउने नै छु भन्नु हुँदै समारोहमा उपस्थित सबैलाई धन्यवादसहित समारोहको समापन गर्नुभयो ।