रमेश पोखरेल
वैशाख २३ गते शनिवार
आज वैशाख २३ गते शनिवार अपराह्न २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा शारीरिक रूपमा अपाङ्ग सुनसरीको इटहरीका कवि वियोग सापकोटाको मोफसलमा लुकेको, कवि तथा साहित्यकार व्यक्तित्वका बारेमा कोही कसैले नदेखेको, कतै चर्चामा नआएको प्रखर साहित्यिक प्रतिभा उजागर गर्ने विशेष कार्यक्रमको आयोजना गरियो । बसिबियाँलो कार्यक्रमका सञ्चालक साहित्यकार अनिल पौडेलको विशेष पहल र प्रयत्नमा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता पनि अनिल पौडेलले नै गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि सञ्चार माध्यमका प्रखर स्तम्भ लेखक, समीक्षक, विश्लेषक एवम कवि रवीन्द्र मिश्र हुनु हुन्थ्यो । अतिथिहरूमा कवि वियोग सापकोटालाई काठमाडौँसम्म ल्याउन तारतम्य मिलाइ दिने समाज सेवी विनोद अर्याल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.का महाप्रबन्धक विवेक झा, कवि वियोग सापकोटा, निजकी श्रीमती कमला सापकोटा, कवि सापकोटाका मित्र इरान राई, जन साहित्यिक मञ्च नेपालका अधयक्ष डा.जीवेन्द्र देव गिरी, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, साझा प्रकाशनकी अध्यक्ष तथा महाप्रबन्धक ममता झा, प्रखर लेखिका गौरा प्रसाईँ, अपाङ्ग चित्रकार सन्जय बान्तवा, हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराकी अध्यक्ष रिता पहारी, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, शब्द संयोजन साहित्यिक मासिक पत्रिकाका प्रधान सम्पादक वासुदेव अधिकारी, दायित्व वाङ्मय प्रतिष्ठानका रामप्रसाद पन्त, प्राध्यापक अच्युत रमण अधिकारी, साहित्यकार सुबसेन, वरिष्ठ कवि पूर्ण विराम र कणाद महर्षि, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, हास्यव्यङ्ग्य साहित्यकार डम्बर घिमिरे उपस्थित हुनु हुन्थ्यो ।
त्यसै गरी कवि वियोग सापकोटाका सिर्जना (कविता, गीत, गजल) वाचन गर्ने स्रष्टाहरू वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधि, प्राध्यापनरत ब्रेललिपिका कवि गोविन्दप्रसाद आचार्य, अपाङ्ग सम्बन्धी विभिन्न संस्थाका सक्रिय व्यक्तित्व बालकृष्ण गैरे, वरिष्ठ स्रष्टा एवम रेडियो नेपालका पूर्व बाल कार्यक्रम सञ्चालक वासुदेव मुनाल, विराटनगरकी कवि जयन्ता पोखरेल, वरिष्ठ कवि, गजलकार एवम स्वरका धनी रामबहादुर पहाडी, कवि तथा कान्तिपुर एफ.एम.का साहित्यिक कार्यक्रम प्रस्तोता हेम भण्डारी, वरिष्ठ गायिका लोचन भट्टराई, कवि, निबन्धकार एवम् सञ्चार कर्मी टङ्क उप्रेती र कवि, पत्रकार एवम् आख्यानकार फुलमान बललाई पनि अतिथिका रूपमा मञ्चमा राखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिलाई सभाध्यक्ष अनिल पौडेलले माल्यार्पण गर्नु भयो, कवि वियोग सापकोटा र निजकी श्रमिती कमला सापकोटालाई प्रमुख अतिथि रवीन्द्र मिश्रले दुबोको माला लगाएर सम्मान गर्नु भयो । त्यसै गरी कवि वियोग सापकोटालाई सभाध्यक्ष अनिल पौडेलले एक एक सर्ट र पाइन्ट उपहार प्रदान गर्नु भयो भने कविकी श्रीमती कमला सापकोटालाई भावना पौडेलले सारी, चोलो लगायतका महिलाका पहिरन उपहार प्रदान गर्नु भयो । कविता वाचन गर्ने मञ्चमा राखिएका एघारै जना स्रष्टा र कवि वियोग सापकोटा तथा निजकी श्रीमती कमला सापकोटालाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.का महाप्रबन्धक विवेक झाले उपहार अर्पण गर्नु भयो । कविता वाचन गरि दिने एघारै जना स्रष्टालाई साझा प्रकाशनले हालै प्रकाशित गरेको साहित्यकार गौरा प्रसाईँको चर्चित पुस्तक मेरा जीवनका पानाहरू उपहार दिने कार्यक्रम राखिएकोमा बजारमा आएको तिन दिनमै पुस्तक समाप्त भएको हुँदा पुनः पाँच हजार प्रति प्रकाशित हुन लागेकोले सबै स्रष्टालाई उपहारको रूपमा घरैमा पु¥याइँने जानकारी दिइयो ।
वरिष्ठ साहित्यकारहरूलाई यथास्थानमा आसन ग्रहण गराइएको र कविता वाचकलाई मञ्चमा बसाइएको उक्त पृथक कार्यक्रममा बसिबियाँलो कार्यक्रमका बारेमा कार्यक्रम सञ्चालक रमेश पोखरेलले जानकारी दिँदै मोफसलमा रहेर नेपाली साहित्यको उत्थानमा योगदान गर्ने र उपत्यकामै रहेका पनि विशिष्ट साधकको साहित्यक व्यक्तित्व तथा कृतित्व सार्वजनिकीकरण तथा संसारीकरण गर्ने उद्देश्य राखेको बसिबियाँलोले हालसम्म प्रख्यात गजलकार बूँद राना, पोखराकी चर्चित गायिका हरिदेवी कोइराला, लोक गायक डा.गोविन्द आचार्य, विख्यात आख्यानकार रमेश विकल, जनकवि केवलपुरे किसान, सिन्धुपाल्चोकका महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको साहित्यिक व्यक्तित्वलाई उजागर गरि सकेको र यस कार्यले निरन्तरता पाइ रहने बताउँनु भयो ।
त्यसपछि कवि वियोग सापकोटाको लघु परिचय मोरङका कवि इरान राईले प्रस्तुत गर्नु भएको थियो । सामान्य साक्षर मात्र कवि सापकोटा कुनै पनि सिर्जनालाई मनमा सोच्ने र घरमा आएका कोही शुभ चिन्तक वा आफ्नै छोरीलाई लेख्न लगाएर रचना तयार पार्ने, आफ्ना हातखुट्टाले काम नगर्ने, बोली थोरै आउँने तर राम्ररी बुझ्न नसकिने, रेडियो नै सम्पूर्ण ज्ञानको स्रोत बनाएर संसारका बारेमा जानकारी लिने, शारीरिक रूपमा अशक्त र अपाङ्ग भए पनि मानसिक रूपमा भने सशक्त साहित्यिक व्यक्तित्व रहेकै कारण हालसम्म खुकुरी र अक्षर गरी दुई कविता सङ्ग्रह प्रकाशित भइ सकेका र अन्य थुप्रै कृति बन्न लायक सिर्जना प्रकाशकको खोजीमा रहेका भन्ने समेतको लिखित परिचय प्रस्तुत गर्नु भयो ।
अतिथिका रूपमा मञ्चमा आसन ग्रहण गराइएका एघारै जना विभिन्न क्षेत्रका अपाङ्ग, सपाङ्ग चर्चित स्रष्टाले कवि वियोग सापकोटाद्वारा रचित कविता, गीत तथा गजल वाचन गर्नु भएको थियो । त्यसमा पनि गजलकार रामबहादुर पहाडीले गजल र लोचन भट्टराईले गीत गाउँदा दर्शक तथा स्रोता मन्त्रमुग्ध बनेका थिए ।
कवि वियोग सापकोटाले आफूलाई सुनसरीको इटहरीबाट आफ्नो व्यक्तित्व तथा सिर्जन क्षमता सार्वजनिकीकरण गर्न काठमाडौँसम्म ल्याएर यत्रो भव्य समारोह आयोजना गर्ने र पहिलो पटक काठमाडौँ आउने वातारण बनाइ दिने बसिबियाँलो कार्यक्रम र यसका सञ्चालक अनिल पौडेललाई धन्यवाद दिएको लामो लिखित (छोरीलाई लेखाइएको) तर अत्यन्त मार्मिक एवम् हृदय स्पर्र्शी मन्तव्य रमेश पोखरेलले पढेर सुनाउँनु भयो । उक्त मन्तव्य पढेर सुनाउँदा सभाकक्ष स्तब्ध भएको थियो । साझा प्रकाशनकी अध्यक्ष तथा महाप्रबन्धक ममता झाले कवि वियोग सापकोटाको सिर्जन क्षमताको खुलेर प्रशंसा गर्नु भयो, यस्तो व्यक्तित्वलाई उजागर गर्ने बसिबियाँलो कार्यक्रम र यसका सञ्चालक अनिल पौडेलको प्रयत्नलाई हार्दिक धन्यवाद दिनु भयो र कवि वियोग सापकोटाका अप्रकाशित कृति प्रकाशन गर्ने कार्यमा साझा प्रकाशनले हरसम्भव प्रयत्न गर्ने बचनवद्धता जाहेर गर्नु भयो ।
त्यसपछि चित्रकार सञ्जय बान्तवाले सोही समारोहमा प्रत्यक्ष रूपमा कोर्नु भएको चित्र प्रमुख अतिथि रवीन्द्र मिश्र तथा स्वयम् चित्रकारले संयुक्त रूपमा सार्वजनिक गर्नु भयो र उक्त चित्र चित्रकार बान्तवाले कवि वियोग सापकोटालाई अर्पण गर्नु भयो ।
प्रमुख अतिथि रवीन्द्र मिश्रले यस्ता वियोग सापकोटा जस्ता सशक्त प्रतिभा देशको कुनाकाप्चामा कहाँ लुकेका छन् भन्दै खोजी गरी अहिलेको स्वार्थी जमानामा पनि आफ्नो निजी सम्पत्ति सकेर सार्वजनिक गर्ने र निजको सिर्जनशील क्षमता उजागर गर्ने जस्तो महत्त्वपूर्ण कार्य गर्ने अनिल पौडेललाई धन्यवाद दिनु भयो, कवि वियोग सापकोटाको सिर्जन क्षमताको प्रशंसा गर्दै बधाई दिनु भयो ।
सभाध्यक्ष अनिल पौडेलले कार्यक्रमलाई सहयोग गर्ने, आइ दिने साहित्यिक व्यक्तित्व, कविता गीत वाचन गर्ने स्रष्टाहरू सबैलाई हार्दिक धन्यवाद दिनु भयो । राष्ट्रका यस्ता निधिलाई उजागर गर्ने यस्तो कार्य गरि रहने बचनवद्धता जाहेर गर्नु भयो र चियापानमा पनि सरिक भइ दिन आग्रह गर्दै कार्यक्रमको समापन गर्नु भयो ।
कवि वियोग सापकोटा सम्मान का हक़दार हुनुहुन्छ. उहाका सिर्जना प्रखर र भावुक छन . तर तिनमा पुनर्लेखन र सुधार कम छ. कवि का रचना मा पालिस लगाउने हो भने देश ले उहाँ बाट राम्रा रचना पाउने पक्का छ.