भूपेन्द्र महतको गजल संग्रह “अलिकति जून देऊ” लोकार्पित

२७ साउन, २०६९
काठमाण्डु

साहित्य सञ्जाल नेपालको आयोजनामा भूपेन्द्र महतको गजल संग्रह “अलिकति जून देऊ” आज वरिष्ठ गजलकार कृष्णहरि बरालले एक कार्यक्रममा लोकार्पण गर्नुभयो । विष्णु प्रवा सापकोटाको संचालन रहेको तथा साहित्य सञ्जाल नेपालका अध्यक्ष दिपक कथितको अध्यक्षता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णहरि बराल हुनुहुन्थ्यो भने अतिथिहरूमा संगितकार दिपक जंगम, गजलकार सनत कुमार वस्ती, कवि तथा समालोचक देवी नेपाल, साहित्यकार किशोर पहाडी, गजलकार डा. दिपक के. खड्का तथा गजलकार करूण थापा हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै उमा सुबेदीले भन्नुभयो साहित्य सञ्जाल नेपालको स्थापना जहाँ नेपाली त्यहाँ नेपाल भन्ने मुल नाराका साथ भएको हो र यसले सार्थकता पाउँदै गएको छ । शुभकामना मन्तब्य दिँदै डा. दिपक के. खड्का ले भन्नुभयो कि साहित्यमा अबको समयमा पियर रिभ्यू हुनु पर्छ र गजलमा त्यो पहिलेनै शुरू भैसकेको छ । शुभकामना मन्तब्यकै क्रममा गजलकार करूण थापाले सर्जकका अधिकांश गजलहरू राम्रा छन् तर गजलकारले अलिक हतार गरेर प्रकाशन गरेको हुनाले केहि गजलहरूमा समस्या देखिएको बताउनु भयो । साथै नेपाली गजल बिधा अझै अन्योलमै रहेको र यसको मर्म बुझेर लेख्ने सर्जकहरू अब नेपाली साहित्यमा उम्रनै पर्छ भन्नुभयो । सनत कुमार वस्ती, किशोर पहाडी, दिपक जंगम तथा कृष्णहरी बराल लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

देवी नेपालले समालोचन गर्दै भन्नुभयो गजलमा मात्रात्माक मात्र होर्इन गुणात्मक कुरा आउनुपर्छ भन्ने जुन कुरा उठाइएको छ, त्यो सहि कुरा हो । गजलमा श्रृङ्गारको नाममा बिभत्सता पार्इन्छ तर भूपेनका गजलमा त्यो शिष्ट ढंगले उठाइएको कुरा बताउँदै उनका गजलहरूमा मानवियता, संस्कृती, जीवन र प्राकृतिक जीवन रहेको कुरा बताउनुभयो । कार्यक्रमको अन्त्यमा सभाध्यक्षद्वारा भूपेनलाइ शुभकामना दिँदै उनका गजलहरूमा अझै धेरै लय मिलेर अवोस् भन्दै उपस्थित सबैलाइ धन्यबाद दिँदै सभा विसर्जन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *