मदन भण्डारीको सम्झनामा‘साहित्य सन्ध्या’

रमेश पोखरेल, काठमाडौँ
मितिः २०७१।२।३

साहित्य सन्ध्याको ३३८ औँ कार्यक्रम जेठ ३ गते शनिवार अपराह्न १ बजे ‘आर.आर क्याम्पस, प्रदर्शनी मार्गमा ‘मदन भण्डारीको सम्झनामा विशेष गोष्ठी’का रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सदस्य भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा झपाका के.पी ढकाल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिव मणि थापा, वरिष्ठ कवि जगन्नाथ आचार्य, साहित्यकार एवम् सभासद् शान्ता मानवी, वरिष्ठ कवि रामबहादुर थापा, पोषरमण चापागाईँ र सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी उपस्थित हुनु हुन्थ्यो ।  

image

मदन भण्डारीका समकालीन कवि जगन्नाथ आचार्यले बनारसमा सँगै काम गर्दा अनुभूत गरेका साहित्यकार मदन भण्डारीका छन्दमा लेखिएका केही कविता वाचन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । जननेता तथा सशक्त कवि मदन भण्डारी, हालै दिवङ्गत हुनु भएका नेपाली लोक साहित्यका विद्वान कृष्णप्रसाद पराजुली र राष्ट्रवादी साहित्यकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा १ मिनेट मौन धारण समेत गरिएको थियो ।

image

सहप्राध्यापक कवि देवी नेपालले जननेता मदन भण्डारी सशक्त कविताका माध्यमबाट २०२७/२८ सालमै राजालाई चुनौती दिने पहिला निर्भीक कवि हुन्, अहिले क्रान्ति चन्दामा सौदा हुन थालेको भए पनि सिर्जनाका माध्यमबाट दूरगामी विचार र प्रभाव दिन सक्ने विलक्षण प्रतिभा उनमा रहेको, भाषणमा समेत कवित्व फेला पार्न सकिने, बनारसमा बस्दा अर्काको घरमा पाले बसेर पनि सशक्त कविता सिर्जना गर्ने, संस्कृतका श्लोकलाई अत्यन्त जीवन्तताका साथ नेपालीमा अनुवाद गर्न सक्ने जिउँदो अनुवाद कला भएका व्यक्तित्व मदन भण्डारी सफल कवि भएकै कारण सफल राजनीतिज्ञ भएका हुन् भन्ने धारणा राख्नु भयो र मदन भण्डारीका केही कविता समेत वाचन गर्नु भयो ।

image

राजनीतिज्ञ एवम् साहित्यकार मणि थापाले साहित्य, संस्कृति र कलाले सुसज्जित व्यक्ति राजनीतिमा पनि शिखरमा पुग्छ । यो शाश्वत कुरा हो र यही कुरा मदन भण्डारीको जीवनमा पनि लागु हुन्छ । जीवन, जगत्, देश र कार्यकर्ताका पक्षमा आफ्ना अभिव्यक्ति सशक्त पार्न सक्ने विशेष कौशल मदन भण्डारीमा रहेको, उनी असल स्रोता समेत भएकाले अर्काका कुरा राम्ररी सुन्ने, नेताले र राजनीतिक पार्टीले जनताबाट अलग्गिनु हुँदैन भन्ने भावना अभिव्यक्त गर्ने वक्तृत्व क्षमताका अतुलनीय र विलक्षण प्रतिभा हुन् जसको तुलना अहिलेसम्म कसैसँग हुँदेन भन्ने धारणा राख्नु भयो । कविहरूको एउटै भाव हुने भएकाले राजनीतिमा एउटा उच्च स्थान निर्धारण गर्न सफल भइ सकेका स्रष्टा राजनीतिज्ञले त्यो क्षेत्र छोड्नु हुँदैन किनभने रुखो राजनीति र नेतालाई रूपान्तरण गर्ने क्षमता साहित्यमा हुन्छ, स्रष्टामा हुन्छ त्यसैले स्रष्टाहरू एकताबद्ध हुनु पर्छ भन्ने समेतको धारणा राख्नु भयो ।

अतिथि के.पी.ढकालले मदन भण्डारी उनका काका परमानन्द भण्डारीको साहित्यिक प्रेरणाबाट दीक्षित र अभिप्रेरित भएका हुन्, उनको साहित्यिक क्षमता निकै नै उच्च स्तरको रहेको भन्ने थप चर्चा गर्नु भयो । प्राज्ञ रामकृष्ण दुवालले नेपाली साहित्यमा प्रचलित लोकगीतहरू श्रम, काम, समय, संस्कार, रीति रिवाज आदिसँग सम्बन्धित रहेका र तिनलाई मदन भण्डारी ज्यादै माया गर्ने व्यक्ति रहेको आफूले पाएको धारणा राख्नु भयो । शीतल गिरीले लोक संस्कृतिका बारेमा चर्चा गर्नु भयो ।   

उक्त विशेष गोष्ठीमा जगन्नाथ आचार्य, भिजन गुरागाईँ, शान्ता मानवी, प्रेम सिलवाल, प्रमोदकुमार ढकाल, विष्णु अधिकारी, हरिकुमार सिलवाल, असीम सागर, देवी नेपाल, वैरागी जेठा, अतीन्द्र दाहाल, अपेक्षा अधिकारी, रामबहादुर पहाडी, रत्ननिधि रेग्मी, सरस्वती चिमौरिया, पुण्य गौतम ‘विश्वास’, उर्मिला पन्त पाण्डेय, नवराज श्रेष्ठ, पुनाराम गिरी, इन्दु अंशु, वीणा भट्टराई, पोषरमण चापागाईँ, रामकृष्ण दुवाल, यदुनन्दन वसन्तपुरे, लक्ष्मण श्रेष्ठ, के.पी.ढकाल र राम विनयले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित कवितामाथि कार्यक्रम सञ्चालनकै दौरानमा भागवत आचार्यले सङ्क्षिप्त टिप्पणी गर्दै जानु भएको थियो ।

गोष्ठीकी अध्यक्ष राम विनयले निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइ दिनु हुने सबैलाई हार्दिक धन्यवाद दिनु भयो । गोष्ठीमा वाचन गरिएका कविताहरू निकै उत्कृष्ट पनि आएका, साहित्य सन्ध्याको मासिक नियमित कार्यक्रम भनेको कार्यशाला पनि हो र यहाँ नयाँ तथा पुराना स्रष्टालाई भेला गरी सिर्जना वाचन गरिने, कुनै खास विषयमा चर्चा परिचर्चा गरिने, पुरानाबाट नयाँले सिक्ने वातावराण तयार गरिने भएकाले नै यसले विगत तिन दशकको आफ्नो यात्रा पार गरि सकेको छ । हाम्रो उद्देश्य भनेकै साहित्यका माध्यमबाट सामाजिक सांस्कृतिक रूपान्तरणमा योगदान गर्न सकियोस् भन्ने रहेकाले आजको यो गोष्ठी पनि त्यो दिशामा एउटा महत्त्वपूर्ण पाइला हुने छ भन्ने विश्वासका साथ गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *