मदन भण्डारी कला साहित्य पुरस्कार विष्णुभक्त फुयाललाई मरणोपरान्त प्रदान

चैत्र २२ गते मङ्गलवार अपराह्न ३ बजे राष्ट्रिय नाचघरको सभाकक्षमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहमा रु.२५,०००।– राशिको ‘मदन भण्डारी कला साहित्य पुरस्कार तथा सम्मान’ दिवङ्गत विख्यात जन कलाकार विष्णुभक्त फुयाललाई कार्यक्रमका प्रमुख अतिथि एवम् एमाले अध्यक्ष पूर्व प्रधान मन्त्री के.पी.शर्मा ओलीले मरणोपरान्त अर्पण गर्नु भयो । पुरस्कार तथा सम्मान कलाकार फुयालका जेठा छोरा कमल फुयाललाई प्रदान गरिएको थियो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा.विजय सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री केपी शर्मा ओली प्रमुख अतिथि र विशेष अतिथिमा एमाले सचिव एवम् साहित्यकार प्रदीप ज्ञवाली हुनु हुन्थ्यो भने अतिथिहरूमा एमाले केन्द्रीय सदस्यहरू देवराज घिमिरे र खगेन्द्र राई, सांस्कृतिक संस्थानका अध्यक्ष उद्योग राई, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार अधिकारी, सांस्कृतिक संस्थानका नि.महाप्रबन्धक प्रभाकरदेव शर्मा, प्रतिष्ठानका सल्लाहकारहरू प्रा.डा.महादेव अवस्थी, प्रा.केशव सुवेदी, पूर्व मन्त्री शान्ता मानवी र जन गायक श्याम तमोट, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, वरिष्ठ कलाकार लय सङ्ग्रौला, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, साहित्य सदन नेपालका उपाध्यक्ष हेमनाथ पौडेल, डा.रामप्रसाद ज्ञवाली, प्राज्ञ सुलोचना मानन्धर, माननीय विनोद श्रेष्ठ, चिन्तामणि भट्टराई, कमल फुयाल, विभिन्न प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानकी सचिव डा.विन्दु शर्माले सञ्चालन गरेको उक्त समारोहमा एक मिनेट मौन धारण गरिएको थियो र कार्यक्रमको शुभारम्भ राष्ट्रगानबाट भएको थियो । कार्यक्रमको औचित्यमाथि प्रतिष्ठानका महासचिव डा.देवी नेपालले प्रकाश पार्नु भएको थियो ।

समारोहमा राष्ट्र, राष्ट्रियता र स्वाभिमानका पक्षका चौध ओटा कविता कविहरू डा.देवी नेपाल, जय गौडेल, रूपक अलङ्कार, टङ्क आचार्य, डा.अमर गिरी, टिका चाम्लिङ, अनिल पौडेल, फुलमान बल, रमेश पोखरेल, प्रतीक ढकाल, विना थिङ, रमेश श्रेष्ठ र शशी लुमुम्बुलद्वारा वाचन गरिएका थिए ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानबाट प्रकाशित ‘शार्दूल(–२’ अर्ध वार्षिक प्रकाशनको लोकार्पण प्रमुख अतिथिले गर्नु भएको थियो ।
विशेष अतिथि प्रदीप ज्ञवालीले समकालीन नेपाली राजनीतिका शीर्षस्थ व्यक्तित्व, आजको समाजको साहित्य र संस्कृति कस्तो हुनु पर्छ भन्ने दृष्टिकोण दिने क्षमताका धनी जन नेता मदन भण्डारीका नाममा स्थापित प्रतिष्ठानले अत्यन्त योग्य पात्र छनोट गरी मरणोपरान्त नै भए पनि विष्णुभक्त फुयाललाई सम्मान गरेको कार्य सराहनीय छ । अहिलेका स्रष्टा निरन्तर राष्ट्रियताका पक्षमा लागि रहनु भएकाले छुट्टै केही भनि रहनु आवश्यक छैन तापनि राष्ट्रिय भावनाको अभूतपूर्व जागरण र जोखिम दुबैको दोधारमा मुलुक गुज्रि रहेको छ, साना राष्ट्रमाथि प्रत्यक्ष हस्तक्षेप निष्प्रभावी रहेकाले राष्ट्रिय मनोविज्ञान कमजोर पार्ने प्रयत्न भइ रहेको छ, खोक्रो राष्ट्रवाद भनेर भ्रम फैलाउने दुश्प्रयास भइ रहेको छ, कसैको उपनिवेश नव्यहोरेका संसारका २०–२२ मुलुकमा पर्ने हाम्रो देशलाई आन्तरिक उपनिवेश बनाउने प्रयत्न देखा परि रहेको छ, विभिन्न स्वरूपका अनावश्यक बहस सिर्जना गराइ दिएर नेपालीका बिचको एकतामा विखण्डन ल्याउने प्रयत्न भइ रहेको छ, कोही कसैको दोषलाई सिङ्गो समुदायमाथि थोपर्ने प्रयत्न पनि भइ रहेको छ त्यसैले अमेरिकाको जन्म र नामाकरण हुनुभन्दा पहिले अस्तित्वमा रहेको हाम्रो देशको सभ्यताको गौरव बोध हुने खालका, सार्वभौमसत्ता भन्ने कुरा सानो र ठुलो हुँदैन भन्ने चेतना र जागरणका; देशको भविष्य, समृद्धि तथा रूपान्तरण सम्भव छ भन्ने जागरणका, प्रविधि विज्ञ अहिलेको युवा पुस्तामा आत्म विश्वास पैैदा गराउने खालका र विखण्डनको विरोधमा सशक्त एवम् धुवाँदार सिर्जना स्रष्टाले गर्नु पर्दछ भन्ने धारणा राख्नु भयो ।
प्रमुख अतिथि केपी शर्मा ओलीले लामो यात्राका तपाईँ विज्ञ स्रष्टाहरूलाई भन्नु पर्ने केही छैन । यो देश, जनता र मानव जातिको अहित हुने कुनै पनि काम नगर्ने मेरो अठोट रहेको छ । यिनै कुरालाई धरापमा पार्ने, पासो थाप्ने काम गर्न खोजिँदै छ । हामीले अरूसम्म पुर्याउन सकेनौँ भने राम्रा कुरा र विचारले पनि सार्थकता पाउँदैनन् । स्रष्टाको शिल्प र सक्रियताका माध्यमबाट राम्रा कुरा उजागर गर्ने, हाम्रो यात्राको गन्तव्यसम्म पुर्याउने, हामी कसैसँग बैरभाव राख्दैनौँ तर गरि खान नदिने प्रयत्नका विरुद्धमा चाहिँ हुन्छौँ भन्ने सन्देश सम्प्रेषण गर्ने, तथ्यको र यथार्थको सामना गर्न नसक्ने लाचारहरूले लगाइ रहेका आरोपलाई तथ्यपरक ढङ्गले चिर्ने काम तपार्इँ साहित्यकारहरूले गरि दिनु पर्छ भन्ने मेरो आग्रह हो । हुन त नक्कलीहरूको हावा पन्चर भइ रहेको छ र राष्ट्र खारेज गर्नु पर्छसम्म भनि रहेका छन् ! केही नक्कलीहरू बुझेर हो वा नबुझेर उपनिवेशबाट मुक्ति चाहन्छौँ पनि भनि रहेका छन् ! यो के भनेको ? राज्यलाई दोहन पनि गरि रहने र पछाडिको भित्ताको आडमा मौलाउने काम भइ रहेको छ ! यो राष्ट्रको अस्तित्वसँग र जीवन मरणसँग जोडिएको कुरा हो । यी सबै अतिवादका विरुद्धमा स्रष्टा जुर्मुराउनु आवश्यक छ । सुन्दर र देशको माया गर्ने सिर्जना आफैँ अमर हुन्छ, सक्रियता चाहिँ निरन्तर राख्नु होस् भन्ने धारणा राख्नु भयो ।
सभाध्यक्ष डा.विजय सुब्बाले जनतासँग जोडिएका संस्थासँग नाचघरको सम्बन्ध विकसित भइ रहेको छ । इमानका प्रतीक, कामप्रतिको समर्पण, सरल, उत्साही र वचनका पक्का विष्णुभक्त फुयाल जस्ता स्वभाविक अभिनयका अब्बल स्रष्टालाई मरणोपरान्त नै भए पनि हामीले सम्मान गर्यौँ । सत्कर्म जहिले पनि सम्मानित हुन्छ भन्ने उदाहरण हो यो । मुलुक सङकटमा भएकैले हामी स्रष्टा सचेत बन्नु पर्छ र मुलुक बचाउने अभियानमा सिर्जना मार्फत होमिनु पर्छ भन्ने पनि उद्देश्य राखेर आयोजना गरिएको यो कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद दिन्छु भन्नु भयो र समारोह विसर्जन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *