महासङ्घको २६ औँ स्थापना दिवसमा आनन्ददेव भट्ट सम्मानित

मितिः २०७०।९।२०

राष्ट्रिय जन साहित्यिक ममहासङ्घको स्थापनाको २६ औँ वर्ष गाँठ पुस २० गते शनिवार बिहान ११ बजे नेकपा एमाले मुख्यालयको सभाकक्षमा विशेष समारोहको आयोजना गरी मनाइयो । नेकपा एमालेका प्रभावशाली नेता के.पी.शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष खगेन्द्र राईले गर्नु भएको थियो भने समारोहका विशिष्ट अतिथि एमाले संस्कृति विभाग प्रमुख वाचस्पती देवकोटा हुनु हुन्थ्यो । उपस्थित अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ रामकृष्ण दुवाल, प्राज्ञ शान्तकुमार राई, वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट, प्रा.डा.पारसमणि भण्डारी, प्राज्ञत्रय विष्णु प्रभात, सुलोचना मानन्धर र बूँद राना, महासङ्घका पूर्व महासचिव वासुदेव अधिकारी, वरिष्ठ कलाकार लय सङ्ग्रौला, संस्कृति पुरस्कारका लागि स्रष्टा चयन समितिका माया ठकुरी र रमेश पोखरेल; लक्ष्मी बस्याल, अनेरास्ववियुका उपाध्यक्ष थोमस बास्तोला, दिनेश डी.सी., श्याम तमोट, श्याम सापकोटा, योग गुरु तिलकबहादुर लुइटेल, रामप्रसाद प्रदीप, प्रज्ञाका प्राज्ञहरू लगायत हुनु हुन्थ्यो ।

माधव प्रधान, रामकृष्ण दुवाल, श्याम तमोट, डम्बर पहाडी, सानु पहाडी, नारायण परिश्रमी र नारायण जर्घा मगरले सामूहिक गीत गाएर सबैको स्वागत गर्नु भएको थियो भने महासङ्घकी सचिव कालिका पाठकले शब्द स्वागत गर्नु भएको थियो ।

महासङ्घका महासचिव राजेश थापाले सञ्चालन गर्नु भएको उक्त विशेष समारोहको समुद्घाटन प्रमुख अतिथि के.पी.शर्मा ओलीले २६ ओटा मेनबत्ती प्रज्ज्वलन गरेर गर्नु भयो ।

संस्कृति पुरस्कार चयन समितिका संयोजक प्राज्ञ विष्णु प्रभातले वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै अङ्ग्रेजी साहित्यमा एम.एम., एड.सम्मको अध्ययन गरी प्राध्यापन सेवामा लामो समयसम्म कार्यरत रही अवकाश लिनु भएका आदरणीय गुरु आनन्ददेव भट्टले २०१३ सालमा कविता प्रकाशित गरी साहित्यमा प्रवेश गर्नु भएको, २०१९ सालमा उहाँको समालोचना सङ्ग्रह नै प्रकाशित भएको, करिब एक दर्जन कविता सङ्ग्रह र त्यति नै सङ्ख्यामा समालोचना सङ्ग्रह प्रकाशित गरेका भट्टका विवेचना र विश्लेषणले आज पनि नेतृत्वदायी भूमिका निर्वाह गरि रहेका, पञ्चायत कालमै स्वतन्त्रताका पक्षमा वकालत गर्नु भएको, हेनरिक इब्सनको प्रसिद्ध नाटक ‘जनताको शत्रु’ लाई नेपालमिा अनुवाद गरी अनुवाद साहित्यमा आफ्नो गतिलो उपस्थिति जनाउनु भएको र राजनीतिक एवम् सङ्गठनात्मक भूमिका समेत निर्वाह गर्नु भएका र हामी सबैका जीवित पुस्ताका अग्रणी व्यक्तित्व रहनु भएकाले २०&० सालको ‘संस्कृति पुरस्कार’द्वारा सम्मानित गर्नका लागि सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिनु भयो । त्यसपछि २०६० सालमा स्थापना गरिएको र हालसम्म १० जना सम्मानित भइ सकेको रु.२५,०००।–पच्चिस हजार राशिको ‘संस्कृति पुरस्कार’ तथा सम्मान पत्र प्रमुख अतिथि के.पी.शर्मा ओलीले वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई अर्पण गर्नु भयो भने विशिष्ट अतिथि वाचस्पती देवकोटाले दोसल्ला ओडाउनु भयो र सभाध्यक्ष खगेन्द्र राईले फुलको बुके अर्पण गर्नु भयो ।

प्रा.डा.पारसमणि भण्डारीले ‘जन संस्कृति युवा प्रतिभा पुरस्कार’ छनोट समितिको संयोजकका तर्फबाट उक्त पुरस्कारले सम्मानित हुनु भएकी श्री प्रतिभा पुनको व्यक्तित्वका बारेमा प्रकाश पार्दै धवलागिरि अञ्चलको लोक साहित्यको अध्ययन अनुसन्धान गरि रहनु भएकी, एम.फिल. गरि रहनु भएकी पुनको नाम सर्व सम्मतिले सिफारिस गरिएको जानकारी दिनु भयो र प्रमुख अतिथिले रु.१०,०००।–दश हजार राशिको उक्त पुरस्कार तथा सम्मान पत्र अर्पण गर्नु भयो भने विशेष अतिथिले दोसल्ला ओडाउनु भयो र सभाध्यक्षले फुलको बुके अर्पण गर्नु भयो ।

त्यसै गरी ‘सहिद कलाकार अनिलकुमार लामा स्मृति ललित कला युवा प्रतिभा पुरस्कार’द्वारा सम्मानित नेम बादुर गोलेको व्यक्तित्वमाथि उक्त पुरस्कार छनोट समितिका संयोजक कलाकार राधेश्याम लेकालीले प्रकाश पार्नु भयो र प्रमुख अतिथिले यसै वर्षदेखि दिन थालिएको रु.५,०००।–पाँच हजार राशिको उक्त पुरस्कार तथा सम्मान पत्र अर्पण गर्नु भयो, विशिष्ट अतिथिले दोसल्ला ओडाउनु भयो र ललित कला मञ्चका अध्यक्षले फुलको बुके अर्पण गर्नु भयो ।

प्राज्ञहरूका तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको सांस्कृतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने हैसियतमा महासङ्घ पुगेको र सबैका आदरणीय एवम् जीवित वरिष्ठ अग्रज गुरु सम्मानित हुनु भएकोमा गौरव बोध भएको छ भन्ने धारणा राख्नु भयो । ‘संस्कृति पुरस्कार’द्वारा सम्मानित स्रष्टा आनन्ददेव भट्टले जीवनमा आफूले गरेका क्रियाकलाप मूल्याङ्कनमा परी सम्मानित हुन पाएकोमा गौरव बोध भएको, भविष्यसम्म देश र जनताका पक्षमा निष्ठावान् रहने वाचा गर्दै देशको धमिलो राजनीति सङ्लियोस्, यथासमयमा संविधान बनोस्, स्थानीय निर्वाचन सम्पन्न होस् र जनताका आकाङ्क्षा पुरा हुन् भन्ने अपेक्षाका साथ राजनीतिक नेतृत्वले गम्भीर रूपमा ध्यान देओस् भन्ने आग्रह गर्नु भयो ।
समारोहका प्रमुख अतिथि के.पी.शर्मा ओलीले सेवाको कठिन चौथाइ वर्ष पार गरेको महासङ्घको यस विशेष एवम् गरिमामय समारोहमा नेपाली समाजको रूपान्तरणमा साहित्य, संस्कृति तथा कलाका क्षेत्रबाट योगदान गर्ने आदरणीय गुरु तथा अग्रज एवम् युवा प्रतिभाहरूलाई सम्मानित गर्ने विशेष समारोहमा आफूलाई मौका प्रदान गरेकोमा महासङ्घलाई धन्यवाद दिन्छु । साहित्य, स.स्कृति र कलाले समाज रूपान्तरण अभियानको नायकत्व लिन सकोस् र उन्नत संस्कृति निर्माण हुन सकोस् भन्ने कामना गर्दछु । महासङ्घलार्य कठिन कालखण्डबाट यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सबै पदाधिकारी र वर्तमान नेतृत्वलाई समेत धन्यवाद दिँदै संस्था सीमित छ तर यसले गरेको आन्दोलन वयापक छ, पुराना र नयाँ पुस्तालाई एकै पटक सम्मान गर्ने परम्परा पनि अनुकरणीय छ । वास्तवमा विद्वानहरूले गरेको प्रयत्नले समाज रूपान्तरण हुन्छ, कृतज्ञ हुन्छ र मौरीको मह काडे झैँ हामी रसानुभूति गर्छाैँ, लाभान्वित हुन्छौँ । साहित्य, कला र संस्कृतिले सदैव आफूलाई आकर्षित गर्ने गरेको हुँदा यो महासङ्घले समग्र नेपाली समाजको समुन्नतिमा थप योगदान गर्न सकोस् भन्ने लागेको छ । अग्रज एवम् सम्मानित स्रष्टाको चाहना बमोजिम नै यथा समयमा हाम्रो देशको लोकतान्त्रिक संविधान बन्छ, अतिवादीका सबै प्रयास विफल हुने छन् । जनताले दिएको अहिलेको जनमत पनि यही रहेको छ भन्ने धारणा राख्नु भयो ।

सभाध्यक्ष महासङ्घका अध्यक्ष खगेन्द्र राईले समुन्नत संस्कृति निर्माणको अभियानमा समर्पित महासङ्घ रचनात्मक क्रियाकलापका माध्यमबाट अगाडि बढ्ने, पुराना र नयाँ स्रष्टालाई सम्मान र प्रोत्साहन गर्ने अभियानमा रहेको जानकारी दिनु भयो र उपस्थित सबैलाई हार्दिक धन्यवाद सहित सभा विसर्जन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *