माघ २२ गते शनिवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्ष बाग बजारमा जन साहित्यिक मञ्च, नेपालको आयोजनामा दिवङ्गत कवि कविता बरुवाल र हरिबाबु बरवालद्वारा संयुक्त रूपमा लिखित ‘युग प्रवाह’ कविता सङ्ग्रहको लोकार्पण तथा परिचर्चा सम्पन्न भयो ।
वरिष्ठ साहित्यकार, भाषाविद् एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहका अतिथिहरूमा प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, समालोचक डा.राजेन्द्र खनाल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका का.वा.महासचिव प्रेमनाथ अधिकारी र सचिव कृपाराम धमला, जन साहित्यिक मञ्च नेपालका पदाधिकारीहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू नर्मदेश्वरी सत्याल, गायत्री विष्ट, सानु पहाडी, साहित्यकार डम्बर पहाडी लगायत उपस्थित हुनु हुन्थ्यो ।
मञ्चका उपाध्यक्ष रमेश पोखरेलले सञ्चालन गरेको उक्त विशेष समारोहमा ‘युग प्रवाह’ कविता सङ्ग्रहको लोकार्पण प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीज्यूले गर्नु भयो । लोकार्पित कविता सङ्ग्रहका स्रष्टा प्रा.डा.खुमबहादुर बरुवाल (साहित्यिक नाम हरिबाबु बरुवाल)को व्यक्तित्वमाथि प्रा.डा.कृष्णप्रसाद घिमिरेले प्रकाश पार्नु हुँदै त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरमा कार्यरत कवि बरुवाल स्रष्टा व्यक्तित्व, सङ्घर्षशील व्यक्तित्व र सङ्गठक व्यक्तित्व हुनु हुन्छ । जीवन सङ्गिनी कविता बरुवालको निधन भएपछि पनि सङ्गठन तथा लेखनमा सक्रिय रहेको व्यक्तित्व हो । उहाँले पाँच विषयमा स्नातकोत्तर गर्नु भएको छ भने खेल मनोविज्ञानमा विद्यावारिधि गर्नु भएको छ । नेपालका ७२ जिल्लामा प्रत्यक्ष पुगेर त्यहाँको जन जीवन र समाजका बारेमा गम्भीर अध्ययन गर्नु भएको छ । गर्न सकिने काम गरि हाल्ने र नसक्ने काम गर्दिन भनेर स्पष्ट भन्न सक्ने, विशेष गरेर मध्य पश्चिमको जन जीवनलाई कवितामा राम्ररी उतार्न सक्ने, सकारात्मक सोच राख्ने र तदनुसार राम्रो काम गर्ने, समाजको सूक्ष्म यथार्थको उद्घाटन गर्दै प्रगतिशील चेतना सहित समाज रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने साहित्य सिर्जना गर्ने व्यक्तित्व भएको धारणा राख्नु भयो ।
लोकार्पित कृतिका बारेमा विस्तृत समीक्षा गर्दै डा.राजेन्द्र खनालले कुनै पनि सिर्जनाको अन्तिम पठन हुँदैन भनिन्छ । जीवन सङ्गिनीलाई गुमाउनु परेपछि उनले लेखेका कविता प्रकाशित गरि दिने सन्दर्भमा उनैको प्रेरणाले कविलाई कविता लेख्न प्रेरित गरेको देखिन्छ । कविता सङ्ग्रहमा दिवङ्गत जीवन सङ्गिनीका दश ओटा, कवि हरिबाबु बरुवालका पच्चिस ओटा र सात ओटा अत्यन्त प्रतीकात्मक हरिबाबुकै मुक्तक रहेका छन् । कवितामा सामाजिक यथार्थको चित्रण गरिएको छ, बाल बालिकाले समाजमा भोगेका दारुण जीवनको चित्रण गरिएको छ, मानवीय जटिलता र असफलताले मानव जीवन विसङ्गत बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ, आक्रोश व्यक्त गरिएको छ र सुधारको आग्रह गरिएको छ । कवितामा मानवीय जीवन निरर्थक, जटिल र पीडामय बनेकोप्रति आक्रोश व्यक्त गरिएको छ । त्यसै गरी जीवनप्रतिको आस्था र सम्मान पूर्ण जीवनको खोजी गरिएको छ, इतिहासको स्मरण पनि गरिएको छ र सम्मान पनि गरिएको छ, राजनीतिक र प्रशासनिक विकृतिका प्रति आक्रोश व्यक्त गरिएको छ अनि कृषिकर्मका लागि प्रकृतिको सुन्दर उपहारको सदुपयोग नै गर्न नसकिएकोप्रति चिन्ताभाव व्यक्त गरिएको छ । कवितामा जीवन दर्शन अभिव्यक्त भएको छ, प्रेमपूर्ण भावना अभिव्यक्त भएको छ, आत्मिक प्रेमका पक्षमा वकालत गरिएको छ र सत्तालिप्सा, असमानता तथा भ्रष्टाचारले देश थलिएकोमा आक्रोश युक्त चिन्ताभाव प्रकट गएिको छ । कवितामा मुलुकको सङ्कुचनका प्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । युवा पलायन रोक्नु पर्ने, आत्मनिर्भरताका माध्यमबाट आत्मसम्मानको खोजी हुनु पर्ने अपेक्षा कवितामा गरिएको छ । क्युवाको सक्षमताबाट हाम्रो मुलुकले सिक्नु पर्ने आग्रह कवितामा रहेको छ । त्यसै गरी स्थानीय विशेषतालाई कवितामा चित्रण गरिएको छ, सुखद समयको र सम्भावनाको सदुपयोग नै गर्न नसकिएकोमा चिन्ता व्यक्त गरिएको छ, कृत्रिमता र यान्त्रिकताप्रति व्यङ्ग्य गरिएको छ । यो मुलुकका गरिबले नै प्राकृतिक पीडा पनि भोग्नु पर्ने यथार्थलाई कारुणिकताका साथ चित्रण गरिएको छ । मुक्तकका माध्यमबाट सबै दलका नीति, व्यवहारका प्रति सशक्त व्यङ्ग्य गरिएको छ । कवितामा कतै वर्गीय चरित्र सघन रहेको पाइन्छ भने कतै फितलो रहेको छ, कताकती दोहोरो अर्थ दिने वाक्यहरू पनि आएका छन् । अभिधा शक्ति प्रबल रहेको छ, वर्णनात्मकता, संस्मरणात्मकता, व्यङ्ग्यात्मकता र भावनात्मक पक्ष प्रबल र पर्याप्त पाइन्छ । शैली र संरचनागत पक्ष एवम् वर्ण विन्याशमा ध्यान पुग्नु आवश्यक छ भन्ने धारणा राख्नु भयो ।
प्रा.केशव सुवेदीले दिवङ्गत कविता बरुवाललाई बाहिर ल्याउन हरिबाबु बरुवाल पनि लागेको, कस्सिएको र दिवङ्गत पत्नी कविताले हरिबाबु बरुवाललाई कवि बनाएको देखिन्छ । कविता सङ्ग्रहका पछाडिका सात ओटा मुक्तक सशक्त रहेका छन् । नेपालको वस्तुस्थितिको यथार्थ कवितामा अभिव्यक्त भएको पाइन्छ । आसैआसमा तर अभावैअभावमा जीवन बाँच्ने कृषकको जीवन वृत्त सशक्त रूपमा उजागर भएको छ । कविको सरल र शालीन व्यक्तित्व जस्तै सरल प्रस्तुति कवितामा भएको छ । कविको अबको अवकाश प्राप्त जीवनले पछिल्ला दिनमा कलात्मक कविता सिर्जना गर्न सकोस् भन्ने शुभ कामना दिनु भयो ।
प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले प्राध्यापन र साङ्गठनिक क्षेत्रमा लामो समयसम्म सँगै काम गरेका हरिबाबु बरुवालले आफ्नी दिवङ्गत पत्नीलाई साहित्यका माध्यमबाट जीवित राख्ने मानवीय सत्कर्म गर्नु भएको, साहित्येत्तर व्यक्ति साहित्यमा आउनु अत्यन्त राम्रो कार्य भएको, विचार सहितको सुन्दरता र समाज रूपान्तरणको आग्रह कवितामा अभिव्यक्त हुनुका साथै दिवङ्गत पत्नीका कवितामा लोकलयको प्रगाढता रहेको देखिएको, कविता सङ्ग्रहको समालोचना पनि बडो सुन्दर ढङ्गले भएको, विश्वासिलो र जिम्मेवार कवि साहित्यका क्षेत्रमा आएका हुँदा आजको यो विशेष समारोहले कविलाई अवश्यै हौसला र प्रेरणा मिल्यो होला भन्ने आफूलाई लागेको भन्नु हुँदै शुभ कामना दिनु भयो ।
सभाध्यक्ष राम विनयले प्राध्यापन कर्ममा सिङ्गो जीवन व्यतीत गरेको व्यक्ति नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा आफूलाई समाहित गर्दै आफ्नी दिवङ्गत पत्नीको साहित्यका प्रतिको रुचिलाई जीवन्त राख्न आफू समेत कवि भएर संयुक्त कविता सङ्ग्रह प्रकाशित गरी सोको चर्चाको अवसर हाम्रो सङ्गठनलाई दिनु भएकोमा कवि हरिबाबु बरुवाललाई हार्दिक धन्यवाद दिनु भयो । नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउनु हुने अनि देश र समाजलाई सहयोग गर्ने असल कविको सिर्जनालाई हामीले आजको यो विशेष समारोहमा लोकार्पण र परिचर्चा गर्ने अवसर पायाँैँ । जन साहित्यिक मञ्च नेपाल नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको सोद्देश्यमूलक अभियान चलाउने संस्था भएकाले कविको कविता सङ्ग्रहमाथि परिचर्चाको लागि आयोजना गरिएको यो विशेष समारोहमा निम्ता स्विकारेर आइ दिने प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीज्यूू, टिप्पणीकार डा.राजेन्द्र खनालज्यू, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक धन्यवाद दिनु भयो ।