युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले कविवर मिश्रको १०६ औँ जन्म दिवस मनायो

मितिः२०७० ।९।२६
 

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले पुस २६ गते शुक्रवार अपराह्न ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा ‘कविवर युद्धप्रसाद मिश्रको १०६ औँ जन्म दिवस’ मनाएको छ । मिश्र प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि हुनु हुन्थ्यो भने अतिथिहरूमा मिश्र प्रतिष्ठानका पूर्व अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ त्रय सुलोचना मानन्धर, बूँद राना र रामकृष्ण दुवाल, प्रा.गोपीकृष्ण शर्मा, नर्मदेश्वरी सत्याल हुनु हुन्थ्यो ।

image

मिश्र प्रतिष्ठानका सदस्य साहित्यकार कलाधर काफ्लेको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई मिश्र प्रतिष्ठानकी सदस्य लक्ष्मी मिश्रले स्वागत गर्नु भएको थियो भने कविवर मिश्रको तस्बिरमा प्रमुख अतिथि, अतिथिहरू र परिवारका तर्फबाट महेश्वरप्रकाश मिश्रले माल्यार्पण, पुष्पार्पण गर्नु भएको थियो ।

मिश्र प्रतिष्ठानका सदस्य जनार्दन न्यौपानेले कविवर मिश्रको एउटा कविता वाचन गर्नु भएको थियो भने प्राज्ञ रामकृष्ण दुवालले कविवर मिश्रको कालजयी कविता ‘ रक्तक्रान्तिको ज्लालामुखीमा ..’ लाई सस्वर गाउनु भएको थियो ।

प्राज्ञ प्रा.डा.महादेव अवस्थीले कविवर मिश्रको कवित्वका बारमो प्रकाश पार्नु हुँदै कविवर मिश्रका बारेमा जे जति शोध, अनुसन्धान भएका छन् ती पर्याप्त नभएका, दर्शनाचार्यमा र विद्यावारिधिमा प्राज्ञिक स्तरका अनुसन्धान हुनु आवश्यक रहेको; कविवर मिश्र स्वच्छन्दतावाद हुँदै प्रगतिशील अनि प्रगतिवादी साहित्य यात्रामा हिँडेका र प्रगतिवादी साहित्यमा शीर्षस्थ व्यक्तित्व बनेका शिखर पुरष भएकाले उनको बाल जीवनीपरक अनुसन्धान र प्रकाशन, बाल्यावस्थाको अनुसन्धान र प्रकाशन, उनको साहित्य सिर्जनाले सामाजिक, सांस्कृतिक रूपान्तरणमा र राजनीतिक तहमा पारेको प्रभाव खुट्याउने गरी अत्यन्त गहन अनुसन्धान हुनु पर्ने खाँचो रहेको विचार सहितको गहन विश्लेषण प्रस्तुत गर्नु भयो ।

समारोहमा प्राज्ञ एवम् साहित्यकार नर्मदेश्वरी सत्यालद्वारा लिखित ५२ ओटा कविताहरूको सङ्ग्रह ‘नयाँ नेपालको चित्र’ र ‘शब्दका तिमालहरू’ शीर्षकको समीक्षा सङ्ग्रहको प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नु भयो । लोकार्पित दुइटै कृतिहरूका बारेमा समीक्षक प्राज्ञ सुलोचना मानन्धरले टिप्पणी गर्नु हुँदै साहित्यकार नर्मदेश्वरी सत्याल कुशल शिक्षक, सामाजिक रूपान्तरणकी अभियन्ता, कुशल गृहिणी, सुशिक्षित परिवारकी नेतृत्वकारी व्यक्तित्व समेत रहनु भएको र उहाँँको परिपक्व दिमागले देखेका, भोगेका कुराहरूलाई अक्षरमा उतार्नु भएको हुँदा सिर्जनाका तहबाट हेर्दा प्रायः कविताहरू राम्रा रहेका; उहाँले आफ्नो विवेक प्रयोग गरी गर्नु भएका समालोचनाहरू समेत उत्कृष्ट रहेका भन्ने धारणा सहित पठनीय कृतिहरू सार्वजनिक गर्नु भएकोमा बधाई समेत दिनु भयो ।

लेखकीय मन्तव्य दिँदै नर्मदेश्वरी सत्यालले आफूले जोगाउन सकेको समयमा लेखेका कविता र आफूलाई प्राप्त भएका अनि राम्रा लागेका किनेरै पढेका कृतिहरूका बारेमा आफूले गरेका समीक्षालाई सङ्ग्रहको स्वरूप प्रदान गरेको जानकारी दिनु भयो र पढेर प्रतिक्रिया दिन आग्रह गर्नु भयो । त्यसै गरी आफ्ना जीवन साथी डा.मदन प्रसाद सत्याल, परिवारका सबै सुशिक्षित सदस्यहरूको सल्लाहमा ‘साहित्य सन्ध्या–मन प्रतिभा पुरस्कार’ स्थापना गर्न साहित्य सन्ध्यालाई अहिले प्रारम्भमा रु.१,५०,०००।–(एक लाख पचास हजार)को चेक अक्षय कोष स्थापनाका लागि हस्तान्तरण गर्नु भयो र उक्त चेक साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले लिनु भयो । नर्मदेश्वरी सत्यालका तिनै जना छोरीहरू (जयन्ती सत्याल, जया सत्याल र विजया सत्याल)का छोरीहरूको जन्म यसै पुस महिनामा भएकाले उनीहरूलाई शुभ कामना सहित पुष्पार्पण गर्नु भयो । नातिनीहरू प्रलिसा अधिकारी र प्रजिसा सत्यालले कविता वाचन गर्नु भयो । त्यसपछि नर्मदेश्वरी सत्याल र उहाँका जीवन साथी डा.मदन प्रसाद सत्यालको मृत्युपछि सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानलाई कायम राख्न, अझ जीवन्त पार्न कुनै प्रकारका ढोँग, आडम्बर र पाखण्डको प्रदर्शन नगर्ने, अवैज्ञानिक कार्यहरू नगर्ने, शैयादान र बर्सेनि गरिने श्राद्धलाई श्रद्धामा रूपान्तरण गरेर अक्षय कोष स्थापना गरी छत्रेबाँझ दाप्चा, काभ्रेपलाञ्चोकको श्री कालिका प्रा.वि.गैरापाटीमा अध्ययनरत असहाय टुहुरा बाल बालिकालाई पठनपाठनका लागि त्यसको ब्याजबाट प्राप्त रकमले पुरस्कार प्रदान गर्ने इच्छापत्र प्रस्तुत गर्नु भयो र सो समेतको कार्यान्वयनका लागि साहित्य सन्ध्यालाई अर्पण गर्नु भयो ।

समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले मिश्र प्रतिष्ठानले कविवर मिश्रको १०६ औँ जन्म जयन्तीको अवसर पारेर गरेको यो कार्यक्रम र विद्वान प्राज्ञ प्रा.डा.महादेव अवस्थीले कविवर मिश्रका बारेमा व्यक्त गर्नु भएका अत्यन्त गम्भीर विचार तथा हामीले गर्नु पर्ने दायित्वका बारेमा प्रकाश पार्नु भएका कुरा ज्यादै मननीय रहेका भन्नु हुँदै कविवर मिश्रका बारेमा प्राज्ञिक बहसको थालनी गरिएकोमा प्रसन्नता व्यक्त गर्नु भयो । त्यसै गरी सामाजिक सांस्कृतिक रूपान्तणको कडीका रूपमा साहित्यकार नर्मदेश्वरी सत्यालले दिनु भएको मृत्युपछिको इच्छापत्र ज्यादै सकारात्मक कार्य भएकाले यसले हामी सबै प्रगतिशील विचारका अनुयायीलाई भित्रैदेखि घच्घच्याउन बाध्य पारेको धारणा सहित दुइटा कृतिको एकै पटक लोकार्पण गराउनु भएको र त्यसको अवसर आफूलाई दिनु भएकोमा समेत नर्मदेश्वरी सत्याललाई बधाई दिनु भयो ।

सभाध्यक्ष वासुदेव अधिकारीले कविवर मिश्रको विचारको बिउ झाङ्गिएर अहिलेको गणतान्त्रिक नेपाल बन्न सकेको तर हामी अनुयायीले नै उनका योगदानका बारेमा जति बहस, खोज, अनुसन्धान गर्नु पर्ने थियो त्यति गर्न नसकेको ठानेर कार्यक्रमको आयोजना गरिएको र भविष्यमा पनि नेपाली प्रगतिवादी साहित्यका सतिसाल कविवर युद्धप्रसाद मिश्रका बारेमा सकेको प्रयत्न संस्थाका तर्फबाट गर्दै जाने धारणा राख्नु भयो र प्रतिष्ठानको निमन्त्रणा स्वीकार गरी सहभागी भइ दिने सबैलाई हार्दिक धन्यवाद सहित सभा विसर्जन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *