वरिष्ठ प्रगतिवादी कवि मुकुन्द न्यौपानेका प्रतिनिधि कविता वाचन

रमेश पोखरेल
मितिः २०७१।१०।९

माघ ९ गते शुक्रवार अपराह्न ठिक ३.० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा-११’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार पारेर ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको एघारौँ शृङ्खला भएको जानकारी सहित राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक वरिष्ठ प्रगतिवादी कवि एवम् सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता मुकुन्द न्यौपानेलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू रामकृष्ण दुवाल, डम्बर पहाडी, रमेश पोखरेल, जङ्ग पहाडी, मीना नेपाल, पवित्रा घर्ती अनि टिप्पणीकारका रूपमा प्रा.केशव सुवेदीलाई पनि मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।  

उक्त विशेष समारोहमा नेकपा एमालेका सचिव एवम् वरिष्ठ साहित्यकार प्रदीप ज्ञवाली, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले राज्य व्यवस्था विभाग सचिव सीताराम नेपाल, प्राज्ञ विष्णु प्रभात, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, वरिष्ठ कवि द्वय वासुदेव अधिकारी र कणाद महर्षि, वरिष्ठ गीतकार तथा सङ्गीतकार श्याम तमोट, प्राज्ञ सानु पहाडी, महासङ्घका सचिव प्रेमनाथ अधिकारी, प्राज्ञ माधव प्रधान, शुष्मा राजभण्डारी, शीतल गिरी, जन साहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनय, डा.लेखप्रसाद निरौला र पत्रकार प्रकाश सिलवाल अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

उपस्थित सबैलाई राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य तथा संस्कृति विभाग प्रमुख खगेन्द्र राईले स्वागत गर्नु भयो । विशेष समारोहका नायक मुकुन्द न्यौपानेलाई खादा ओडाएर र माला तथा टीका लगाएर सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि खादा तथा टीका लगाएर सम्मान गर्नु भयो । नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि सरल, सम्प्रेष्य कविता तथा गीत एवम गीति नाटकका माध्यमबाट रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने सफल स्रष्टा, सामाजिक रूपान्तरण अभियानका सफल अभियन्ता एवम् कुशल सङ्गठक एमाले स्थायी समिति सदस्य समेत रहेका कवि न्यौपाने आफ्ना सिर्जनाका माध्यमबाट समाजका विकृतिका प्रति कसेर प्रहार गर्ने र रूपान्तरणको स्पष्ट सन्देश सम्प्रेषण गर्न सक्ने सशक्त व्यक्तित्व हुनु हुन्छ त्यसैले आजको यो विशेष प्रस्तुतिमा उहाँलाई उभ्याइएको र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।

वरिष्ठ प्रगतिवादी कवि, साहित्यकार एवम् नाटककार मुकुन्द न्यौपानेको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले सामाजिक रूपान्तरणको अभियानमा होमिएका कवि मुकुन्द न्यौपाने २०२८ सालदेखि सामाजिक रूपान्तरणको राजनीतिक उद्देश्यका साथ भूमिगत हुनु भएको, प्रखर राजनीतिज्ञ मदन भण्डारीसँग दश वर्षसम्म एउटै कमिटीमा रहेर काम गर्नु भएको; बौद्धिक, अध्ययनशील र इमान्दार स्रष्टाका रूपमा स्थापित हुनु भएको; समाजको यथार्थलाई, विकृतिलाई कवितामा उतार्ने, आख्यानात्मक शिल्पले सजाउने, आफ्ना सिर्जनामा उत्पीडित वर्गको पक्ष पोषण गर्ने, प्रस्तुतिको शिल्प भने व्यङ्ग्यात्मक बनाउने स्रष्टाका रूपमा स्थापित हुनु भएको छ । उहाँको साहित्यकारितामा गुणात्मकताका हिसाबले गीति नाटक सबल रहेको पाइन्छ । पाँच ओटा गीति नाटक प्रकाशित भएका र तिनमा राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्मका उत्तर औपनिवेशिक चेतना सशक्त रूपमा उजागर गरिएको पाइन्छ । उहाँका सिर्जनामा नेपालमा चलि रहेको द्वन्द्व र दुइतर्फका सेनाको समायोजनको आदर्श परिकल्पना पहिले नै गरिएको थियो भने त्यही यथार्थमा अवतरित भएकाले उहाँ भविष्य द्रष्टा समेत रहेको पुष्टि हुन्छ । शिल्प तथा मञ्चीय हिसाबले पनि नाटकहरू सफल रहेका छन् र निबन्ध विधामा पनि आधा दर्जन कृति प्रकाशित भएका छन् । उहाँका कृतिमा लेखकको अहमको विलयन भएको र लेखकीय इमान्दारिताका माध्यमबाट पाठकलाई सिर्जनाको विचारसँग सहमत पार्न सक्ने खुबी वा क्षमता देखिनुको साथै समाजमा देखिएका समस्याको समाधान समेत दिने क्षमता विलक्षण रूपमा देखा परेको धारणा राख्नु भयो ।

विशेष समारोहका आकर्षण कवि मुकुन्द न्यौपानेले आफ्नो साहित्य यात्राको थालनीका बारेमा प्रकाश पार्दै सुरुमै भूमिगत जीवन थालनी गर्नु परेको र देश र जनतासँग, तिनका समस्या, पीडा, दुख, उत्पीडनसँग नजिकिनु परेका कारण तिनै पीडाको प्रस्फुटनबाट सिर्जना जन्मिएका; २०२८ सालपछि यसरी मञ्चमा बसेर यति धेरै आफ्ना रचना वाचन गर्ने अवसर पनि नमिलेको तर महासङ्घले आफूलाई सम्झेर एक दर्जन कविता छानेर वाचन गर्ने अवसर जुटाइ दिएकाले धन्यवाद दिन्छु भन्नु हुँदै एउटा स्रष्टा देश र जनताका प्रति इमान्दार हुनु पर्छ र उसको साधनाले समाज रूपान्तरणको अभियानमा योगदान गर्न सक्नु पर्छ भन्ने लागेकैले अनि सामाजिक रूपान्तरणको हतियार राजनीति मात्र होइन साहित्य पनि हुन सक्छ भन्ने लागेर आफू यतातिर आकर्षित भएको धारणा सहित ‘पिप्लेको पीडा’ (पहिरोमा परेका वृद्धको पीडा समेटिएको २०५९को), ‘रामजतन’(भूमिगत हुँदा आश्रय दिने आदरणीयका प्रति सम्मान व्यक्त गर्दै २०३३ सालमा लेखिएको), ‘रचनेदेखि राइनसम्म’ (जन्मस्थान भोजपुरदेखि कार्लमाक्स जन्मेको स्थानसम्मको यात्रा समेटिएको), ‘दियो’ शीर्षकका सशक्त कविता वाचन गर्नु भयो भने उहाँलाई साथ दिने कविहरू डम्बर पहाडीले ‘आमालाई चिठी (२०३३) र ‘फलैँचाको व्यथा’ शीर्षकका, पवित्रा घर्तीले ‘महिला मुक्तिको गीत’ शीर्षकको, रामकृष्ण दुवालले ‘किसान मार्चगान’ २०५७ ,  शीर्षकको, रमेश पोखरेलले ‘आमाको सपना’ (२०५७ ) र देशभक्त सिपाही गीति नाटकको एक अंश, मीना नेपालले ‘मरेपछि फुल’ शीर्षकको र जङ्ग पहाडीले ‘शान्ति आँखा उघारि देऊ’(२०५७) शीर्षकका उत्कृष्ट कविता र गीत वाचन गरेका थिए ।

वाचित कवितामाथि प्रा.केशव सुवेदीले टिप्पणी गर्नु हुँदै मानवता र स्वतन्त्रताका पक्षमा जीवन अर्पण गर्नु हुने स्रष्टाले साहित्यका विविध विधामा सक्रिय रूपमा कलम चलाउनु भएको, गीति नाटकमा विशेष सिर्जनात्मक क्षमता देखा परेको, सरलताका साथ सिर्जनाको पृष्ठभूमि बताउनु भए पनि कविताको भाव सन्दर्भ अत्यन्त जीवन्त, सशक्त अनि व्यञ्जनात्मक रहेको; सरलताभित्र पनि भाव सघनताको प्रस्तुतिको विलक्षण क्षमता देखा परेको, चालिस वर्षसम्मको समाजको भोगाइ, परिवर्तन आदि कुरालाई सफल साहित्यिक अभिव्यक्ति दिन स्रष्टा सफल हुनु भएको; समाजलाई बुझ्ने, आत्मसात गर्ने र सामान्यीकरण गर्न सक्ने सामथ्र्यका कारण उहाँका सिर्जना शक्तिशाली देखिएका हुँदा उहाँ फरक धारका विशिष्ट स्रष्टाका रूपमा स्थापित भएको पाइन्छ । कवितामा जीवनका पीडाका पक्ष बढी प्रभावकारी देखिएका र व्यञ्जना लेखन शक्ति बेजोड रहेको धारणा व्यक्त गर्नु भयो ।

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले २०३२ सालमा पार्टी सम्पर्कको सूत्र खोज्दै गर्दा २०३७ सालमा पहिलो पटक उहाँसँग सम्पर्क भएको, राजनीतिक अभियानमा होमिएका उहाँ इमान्दार र बढी दुखकष्ट भोगेको व्यक्तित्व हुनु भएको; आफ्ना सिर्जनामा सबै खाले निरङ्कुशताको विरुद्धमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्न सक्ने, कस्तै प्रतिकूल परिस्थितिमा पनि विचलित नभई अविच्छिन्न रूपमा लागि रहने, ग्रामीण समाजका र जन जीवनले भोगेका विम्बलाई सशक्त रूपमा प्रयोग गर्ने अविश्रान्त र अथकित योद्दा मुकुन्द न्यौपाने साहित्य र राजनीतिका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा सोद्देश्यमूलक यात्राको थालनी गर्ने, इमान र निष्ठाका साथ सक्रिय रहने अनि सदैव निम्न वर्गीय दुखी, पीडित जनताका पक्षमा कलम चलाउने व्यक्तित्व हुनु हुन्छ । यस्ता स्रष्टालाई अविरल जन साहित्य यात्रा -११ मा उपस्थित गराउन सकिएकोमा र उहाँले यहाँसम्म आइ दिनु भएर सहयोग गर्नु भई अरू स्रष्टालाई प्रेरणा प्रदान गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ कवि श्यामललाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.