वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादको नागरिक अभिनन्दन

रमेश पोखरेल, काठमाडौं

वैशाख २९ गते बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका शिखर व्यक्तित्व वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादको नागरिक अभिनन्दन गरिएको छ । ‘साहित्यकार श्यामप्रसाद राष्ट्रिय अभिनन्दन समिति’को आयोजनामा सम्पन्न भएको उक्त राष्ट्रिय अभिनन्दन समारोहको अध्यक्षता अभिनन्दन समितिका अध्यक्ष वरिष्ठ कवि राम विनयले गर्नु भएको थियो भने प्रमुख अतिथि सम्माननीय प्रधान मन्त्री के.पी.शर्मा ओली हुनु हुन्थ्यो । राष्ट्रिय अभिनन्दन समितिका सदस्य सचिव डा.देवी नेपालले सञ्चालन गर्नु भएको उक्त विशेष समारोहमा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेती हुनु हुन्थ्यो भने अतिथिहरूमा वरिष्ठ संस्कृतिविद् डा.मोदनाथ प्रश्रित, एमाले नेता  वाचस्पति देवकोटा, माक्र्सवादी चिन्तक निनु चापागाईँ, वरिष्ठ कवि शान्तदास मानन्धर, पशुपंछी विकास मन्त्री शान्ता मानवी, एमाले सचिव प्रदीप ज्ञवाली, प्रज्ञाका उपकूलपति डा.विष्णुविभु घिमिरे र सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेल, प्राज्ञ श्रवण मुकारुङ, आहुति, ईश्वरचन्द्र ज्ञवाली, एमाले संस्कृति विभाग प्रमुख खगेन्द्र राई, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, पाका राजनीतिज्ञ कमलराज रेगमी लगायत उपस्थित हुनु हुन्थ्यो ।

image

उपस्थित विशिष्ट व्यक्तित्वलाई अभिनन्दन मूल समितिका सहसंयोजक हेमनाथ पौडेलले स्वागत गर्नु भएको थियो भने अभिनन्दित वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादको सङ्क्षिप्त परिचय प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले दिनु भएको थियो । उहाँले श्यामप्रसादको परिचय गरिएको ३० पृष्ठको पुस्तिका नै तयार पार्नु भएको थियो । मूल अभिनन्दन पत्रमा लेखिएको व्यहोरा श्रीओम श्रेष्ठ ‘रोदन’ले वाचन गरेर सुनाउनु भएको थियो । वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादलाई प्रमुख अतिथि सम्माननीय प्रधान मन्त्रीबाट दोसल्ला ओडाइएको थियो र सम्मान पत्र अर्पण गरिएको थियो भने समारोहका अध्यक्ष राम विनयले माला लगाउनु भएको थियो र विशिष्ट अतिथि गङ्गाप्रसाद उप्रेतीले टोपी लगाइ दिनु भएको थियो ।

image

समारोहमा उपस्थित व्यक्तित्वहरूको स्वागत राष्ट्रिय अभिनन्दन मूल समितिका सहसंयोजक हेमनाथ पौडेलले गर्नु भएको थियो भने वरिष्ठ साहित्यकार श्यामप्रसादको सङ्क्षिप्त परिचय प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले गराउनु भएको थियो । उहाँले ३० पृष्ठको वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादको सङ्क्षिप्त परिचय पुस्तिका समेत तयार पार्नु भएको छ । 

सामूहिक नागरिक अभिनन्दन गर्दै प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका खगेन्द्र राई, एकीकृत अखिल नेपाल जन सांस्कृतिक महासङ्घ, अखिल नेपाल जन सांस्कृतिक महासङ्घ, साहित्य सन्ध्याबाट रमेश पोखरेल, भदन भण्डारी फाउन्डेसनबाट उषाकिरण भण्डारी, पुष्पलाल प्रतिष्ठान, मदन भण्डारी साहित्य कला प्रतिष्ठानबाट डा.विजय सुब्बा, जन साहित्यिक मञ्च, नेपालबाट विनोद मञ्जन, रमेश विकल साहित्य प्रतिष्ठान, नागार्जुन साहित्य प्रतिष्ठानबाट प्रकाश सिलवाल, साहित्य सदन नेपाल, साहित्यिक पत्रकार सङ्घबाट वासुदेव अधिकारी लगायत ७४ ओटा सङ्घसंस्थाले अभिनन्दन सहित सम्मान पत्र अर्पण गरेका थिए ।

श्यामप्रसाद नेपाली प्रगतिवादी साहित्यका शिखर व्यक्तित्व मात्र होइन प्रगतिशील आन्दोलनलाई सङ्गठित रूपमा अगाडि बढाउने सिङ्गो संस्था र पाठशाला बन्नु भएको, समाज रूपान्तरणको अभियानमा विशिष्ट योगदान गर्नु भएको, जनताको साहित्य लेख्ने खास स्रष्टा हुनु भएको, सांस्कृतिक आन्दोलनका युग पुरुषका रूपमा स्थापित हुनु भएको, रूपान्तरणका अथकित अगुवा योद्दाका रूपमा देखिनु भएको, सामाजिक जीवनमा चाहिने सबै कुरालाई साहित्य र साहित्य इतर कृति लेख्ने व्यवहारिक लेखकका रूपमा इतिहास निर्माण गर्नु भएको, सबैका प्रेरणाका स्रोत बन्न सक्नु भएको, सामूहिक विम्ब बन्नु भएको, कठिन र बाङ्गोटिङ्गो सामाजिक रूपान्तरणको अभियानमा उहाँ अगुवा बनि दिनु भएको, सबैलाई समेटेर, एकताबद्ध पारेर सात दशकसम्म अविच्छिन्न रूपमा त्याग, सङ्घर्ष र योगदान गर्नु भएको हुँदा उहाँको सम्मान र अभिनन्दन गरिनु भनेको जनपक्षीय साहित्यकारहरूको अभिनन्दन हो, उहाँको लालनपालनमा लागि पर्नु भएका छोरीहरूको अभिनन्दन हो भन्दै श्यामप्रसादको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्नु हुनेहरूमा नेपाली लेखक सङ्घका उपाध्यक्ष एवम् प्राज्ञ श्रवण मुकारुङ, प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेल, ईश्वरचन्द्र ज्ञवाली, डा.मोदनाथ प्रश्रित, गङ्गाप्रसाद उप्रेती, वासुदेव अधिकारी र राम विनय हुनु हुन्थ्यो ।

समारोहका अध्यक्षता गर्दा नै राम विनयले श्यामप्रसादको २०२३ सालका लेखिएको ‘तिमी कतापट्टि ?’ शीर्षकको कविता वाचन गर्नु भएको थियो । अभिनन्दित स्रष्टा तथा उपस्थित सबैमा वासुदेव अधिकारीले धन्यवाद अर्पण गर्नु भएको थियो ।

प्रमुख अतिथि सम्माननीय प्रधान मन्त्री के.पी.शर्मा ओलीले नेपाली साहित्यका र विशेष गरी नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका आदरणीय गुरु, सामाजिक रूपान्तरण अभियानका अगुवाका रूपमा स्थापित हुन सफल हुनु भएका श्यामप्रसादले हाम्रो तत्कालीन विभेदजन्य, उत्पीडक शासन व्यवस्थाका समयमा धेरै पढ्न लेख्न पाउनु भएन । मकवानपुरको सोलिथुमबाट बीरगन्जमा अध्ययनका लागि जानु भएको भए पनि अनुकूल वातावरण बनेन । यति हुँदाहुँदै पनि धर्तीको यो भेग चिन्तकहरूको थलो, विचारकहरूको थलो, सिर्जनाको थलो भएका कारणले विभिन्न गुणग्राही व्यक्तित्व हाम्रो समाजले प्राप्त गरेको छ । यति हुँदाहुँदै पनि बिचमा विभिन्न कारणले मुलुकको समुन्नतिमा सुस्तता आएको हो र यसै कारणले विकासमा समेत बाधा उत्पन्न हुन पुगेको यथार्थ हो । हाम्रा पुर्खाको सर्जक, चिन्तक व्यक्तित्वका प्रभावले हामीलाई बाटो देखाउने सत्कर्म प्राप्त भएको छ । विभिन्न खाले उथलपुथल रहेको हाम्रो समाजमा वरिष्ठ साहित्यकार श्यामप्रसाद अगुवा हुनु भयो । आजका दिनमा पनि हाम्रो देशलाई तिमी कतापट्टि छौ ? भनेर सोधि दिने व्यक्तित्व चाहिएको छ तर श्यामप्रसादले सात दशक अगाडि नै ‘तमी कता ?’ जस्ता कविता लेखेर समाज रूपान्तरण अभियानको निर्भीक रूपमा दुन्दुभि बजाउनु भएको थियो । हामीलाई अहिले पनि यस्ता स्रष्टा चाहिएको छ तर त्यो समय कठोर थियो, जोखिम युक्त थियो । आफ्नो जीवनको जोखिम मोलेर देश र जनताका प्रति समर्पित हुने सारै थोरै मान्छेहरू थिए त्यो समयमा, तिनैमा पर्नु हुन्छ आदरणीय श्यामप्रसादज्यू । साहित्यका माध्यमबाट मुलुकको परिवर्तनमा ठुलो योगदान रहेको छ त्यसमा पनि श्यामप्रसादको अगुवा र नेतृत्वदायी व्यक्तित्वको ज्यादै ठुलो योगदान रहेको छ । राणा शासनकै समयमा साहित्यिक सङ्गठन उहाँले निर्माण गर्नु भएको थियो । उहाँले असाधारण क्षमता प्रदर्शन गर्नु भएको छ । क्रान्ति र सङ्घर्षका माध्यमबाट समाज आधुनिक युगमा प्रवेश गर्न लागेसँगै साहित्यमा पनि रूपान्तरणको नयाँ जमानाको सुरुवात उहाँले गर्नु भएको छ । उहाँको विशिष्ट योगदानको विस्तृत मूल्याङ्कन विशद स्मृतिग्रन्थका माध्यमबाट गरिने छ भन्ने आयोजकको अभिव्यक्तिबाट मलाई झनै बढी खुसी अनुभूत भएको छ । प्रगतिवादी साहित्य यात्राका प्रमुख अभिभावक जसले नेपाल र नेपालीको मुक्तिका निम्ति योगदान गर्नु भयो, सबैलाई एकताबद्ध गर्दै रूपान्तरण अभियानको नेतृत्व गर्नु भयो, उहाँको यो सत्कर्म ज्यादै स्तुत्य छ । यस्ता गुणग्राही, अगुवा नायकलाई अभिनन्दन गरिने यो विशिष्ट समारोहमा उपस्थित हुन पाउनुलाई मैले सुखद अवसर ठानेको छु । त्यसैले आजको यो दिन ऐतिहासिक दिन बनेको छ । औपचारिक शिक्षा कम भए पनि यो विशाल ब्रह्माण्डबाट स्वाध्यायनका भरमा विद्वता हासिल गरी साहित्यिक तथा साहित्येत्तर कृति लेखेर अगुवाको सकुशल भूमिका निर्वाह गर्न सफल यी त्यागी, तपस्वी साधकले समाज निर्माणका लागि सिङ्गो जीवन निस्वार्थ रूपमा सपर्मण गर्नु भएको पक्षलाई म अभिनन्दन गर्दछु । उहाँको अत्यन्त सरल एवम् समाजोपयोगी लेखन, जनता र देशलाई केन्द्रमा राखेर लेख्ने प्रवृत्ति, सिङ्गो समाजलाई नैतिकवान् बनाउने उद्देश्य आदि सबै पक्ष अनुकरणीय छन्, बन्दनीय छन् । आजको यो नागरिक अभिनन्दनको ऐतिहासिक दिनमा म फेरि उहाँको सुस्वास्थ्य तथा दीर्घ जीवनको कामना गर्दछु । तपाईँ आयोजक मित्रहरूले गर्नु भएको यो सत्कर्मका प्रति हार्दिक धन्यवाद अर्पण गर्दछु । यस्तो पुनित अवसरमा समाज निर्माणका नायकलाई अभिनन्दन गर्ने अवसर मलाई प्राप्त भएकोमा गौरवान्वित भएको छु, मलाई सुखानुभूति भएको छ भन्नु भयो ।

(तस्बिर : वासुदेव अधिकारी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *