विद्याको ‘नीलो तृष्णा’ सार्वजनिक

काठमाडौ

कथाकार बिद्या सापकोटाको प्रथम कृति कथा संग्रह ‘नीलो तृष्णा’को प्रिन्टबुक र ईबुक शनिबार सार्वजनिक भएको छ ।
राजधानीको मिक्किज फ्यामिली रेष्टुरेष्टमा साहित्यकारहरु हरि अधिकारी, किशोर पहाडी, प्रतिक ढकाल, नयनराज पाण्डे, दिपककुमार खड्का र करुण थापाले संयुक्त रुपमा संग्रहको प्रिन्टबुक सार्वजनिक गरेका हुन् । संग्रहको इबुक साहित्यकार अधिकारीले सार्वजनिक गरेका थिए ।


कथाकारसमेत रहेका समीक्षक हरि अधिकारीले विद्याको कथामा सकारात्मक सोच आदर्शवादी होइन, व्यवहारिक ढंगले आएको बताए । नयाँ पुस्ताले भोगिरहेको समयको जटिलतालाई बिद्याले राम्ररी समेटेको भन्दै अधिकारीले नगर जीवनको अधिकांश बिषय उनको कथामा आएको दावी गरे । उनले भने, ‘उनी सहरी जीवनको वास्तविकताप्रति सचेत छिन् । उनको कथामा सहरीकरणले आजका मानिसबीच बनेको असहज सम्बन्धलाई राम्ररी उतारिएको छ ।’

कार्यक्रममा साहित्यकार दिपककुमार खड्काले अहिलेको समय लेखकको लागि स्वर्णयुगको प्रवेशद्वार भएको बताए । नेपालमा ३२ लाख पाठक रहेको दावी गर्दै उनले लेखक त्यसमध्ये १ प्रतिशत पाठकमा मात्रै पुगेपनि निकै सफल हुने धारणा व्यक्त गरे । त्यसको लागि लेखकले गुणस्तरीयतामा ध्यान दिनुपर्ने उनको भनाई थियो । सापकोटाको कथा सम्पादनमासमेत संलग्न खड्काले उनी राम्रो सम्भावना रहेको कथाकार भएको बताए ।


कार्यक्रमका सभापतिसमेत रहेका साहित्यकार प्रतीक ढकालले अक्षरको समष्टि नै बिद्या हो भन्दै विद्याले आफूलाई अक्षरमा अभिव्यक्त गरेकोमा खुशी व्यक्त गरेका थिए । सापकोटाको कथा संग्रहको प्रिन्टबुक शब्दहार क्रियशनले प्रकाशन गरेको हो भने पाण्डुलिपी बुक्सले इबुकको व्यवस्थापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *