शब्द संयोजन – दुर्गालाल विशेषाङ्कमाथि विशद् चर्चा

रमेश पोखरेल

साउन २४ गते शनिवार अपराह्न २ बजे क्षेत्रपाटी, काठमाडोँ स्थित हारती होटलमा शब्द संयोजन साहित्यिक मासिकको १२१ औँ अङ्क ‘दुर्गालाल विशेषाङ्क’माथि विशद् चर्चा गरियो । शब्द संयोजन साहित्यिक मासिकका प्रधान सम्पादक वासुदेव अधिकारीको अध्यक्षतामा र शशीकला मानन्धरको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहको प्रमुख अतिथि संस्कृतिविद् चित्तरञ्जन नेपाली हुनु हुन्थ्यो भने विशेष अतिथिमा वरिष्ठ साहित्यकर मदनमणि दीक्षित, प्राध्यापक अभि सुवेदी, समारोहका नायक जनकवि दुर्गालाल श्रेष्ठ हुनु हुन्थ्यो । त्यसै गरी अतिथिको रूपमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका उपाध्यक्ष एवम् भाषाविद् प्रा.डा.जीवेन्द्र देव गिरी, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष रोचक घिमिरे उपस्थित हुनु हुन्थ्यो ।

image

जनकवि दुर्गालाल श्रेष्ठले लेखेको गीत गीतकार तथा सङ्गीतकार न्हू बज्राचार्यले गाएर समारोहको थालनी गरिएको थियो भने सुरेशकिरण मानन्धरले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । स्वागतकै क्रममा उहाँले जनकवि दुर्गालालको परिचय समेत दिनु हुँदै नेपाली भाषा र नेवारी भाषामा कविता सिर्जना गर्ने जनकवि दुर्गालालका कविता अङ्ग्रेजी भाषामा समेत अनुवादित भएका, अन्य धेरै भाषामा उहाँका कविता अनुवाद भएका, मातृभाषालाई माया गर्ने स्रष्टा हुनुको साथै सरलता, सम्प्रेषणीयताका माध्यमबाट गम्भीर भाव तथा गहन विचारलाई प्रस्तुत गर्न सक्नु अनि भाषा आन्दोलनको अगुवाई गर्नु जनकवि दुर्गालालका विशेषता भएको चर्चा समेत गर्नु भयो ।

जनकवि दुर्गालाल श्रेष्ठका नेवारी कवितालाई डा.डेभिड हर्गिबले अङ्ग्रेजीमा अनुवाद गरी The Blossoms of Sixty-four Sunsets नामक कृति प्रकाशित भएको हुँदा उक्त कृति र शब्द संयोजनको दुर्गालाल विशेषाङ्कलाई प्रमुख अतिथि चित्तरञ्जन नेपालीले लोकार्पण गर्नु भयो । उक्त दुबै कृतिको सङ्छिप्त चर्चा गर्नु हुँदै प्रा.अभि सुवेदीले दुर्गालालका कवितामा सुन्दर, लयात्मक शब्दको प्रयोग भएको, अङ्ग्रेजीमा भएको अनुवाद समेत मौलिक, जीवन्त र सुन्दर रहेको, सूक्ष्म विषयलाई लयमा ढालेर प्रगीतात्मक बनाउन सक्नु उहाँको विशेषता रहेको, लेखनमा सूक्तिमयता पाइने, आदि भौतिक चेतना कवितामा तरङ्गित हुने, गेयात्मकता कविताको शक्तिका रूपमा आउने हुँदा उहाँ शक्तिशाली कवि हुनु भएको धारणा राख्नु भयो ।

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले जनकवि दुर्गालाल आफ्ना कवितामा झर्रा शब्दको प्रयोग गर्ने, मिठो नेपाली भाषामा लेख्ने असल साधक हुनु हुन्छ । दुइटा कृतिको लोकार्पण भएको यो अवसरमा म उहाँलाई हार्दिक बधाई दिन्छु भन्नु भयो ।

जनकवि दुर्गालालका बालसखा भृगुराम श्रेष्ठले १४/१५ वर्षकै उमेरमा नाटक लेखेर अभिनय समेत गर्ने दुर्गालाल सानैदेखि क्षमतावान् रहेको चर्चा गर्नु हुँदै दुर्गालालले लेख्नु भएको नेवारी गीत गाउनु भयो । आर.मानन्धरले स्रष्टाको महानतासँगै जाति, समाज र राष्ट्र महान हुँदै जाँदो रहेछ । उहाँका कविता सङ्कलन गर्ने, सुरक्षित गर्ने काम आफूले गरेको, अङ्ग्रेजी भाषामा अनुवाद गर्ने डा.डेभिड हर्गिबलाई पनि आफूले सहयोग गरेको, २० वर्ष आगाडि नै नेपाल आएका डेभिड नेवारी भाषा जान्ने विदेशी साहित्यकार हुन् र उनी दुर्गालालका कविता सबै तस्बिर जस्ता छन् भन्दछन् भन्ने जानकारी सहित अनुवाद गर्ने डेभिड र लेख्ने जनकवि दुर्गालाल दुबै मिहिनेती व्यक्तित्व हुन् भन्नु भयो ।

प्रमुख अतिथि चित्तरञ्जन नेपालीले जनकवि दुर्गालाल नेपाल भाषाका बेजोड कवि हुन्, उनको एउटा नेवारी भाषाको काव्यलाई आफूले नेपाली भाषामा अनुवाद समेत गरेको; उनी सरल, सरस, बोधगम्य स्रष्टा भएकाले प्रिय समेत छन् भन्ने धारणा सहित उनका दुइटा कृति आफूले लोकार्पण गर्ने अवसर समेत पाएकोमा स्रष्टा तथा आयोजकलाई धन्यवाद दिनु भयो ।

गायक तथा सङ्गीतकार योगेश वैद्यले जनकवि दुर्गालालले लेखेको एउटा सुन्दर गीत गाउनु भयो । समारोहका नायक दुर्गालालले आफू कवितालाई मन पराउने व्यक्ति भएकाले कवि मात्र हुन दिनु होस्, ममा अहङ्कार पैदा नहोस्, शब्द संयोजनले अत्यन्त क्रियाशीलता देखाएर आफ्ना कविता छोटो समयमा सम्पादन गरी विशेषाङ्क प्रकाशित गरी आफूलाई माथि उठाइ दिने काम गरेकोमा पत्रिका परिवार र विशेष गरी यसका प्रधान सम्पादक वासुदेव अधिकारी धन्यवादका पात्र हुनु हुन्छ भन्नु हुँदै विशेषाङ्कभित्रका पाँच ओटा कविता वाचन गर्नु भयो ।

समारोहका अध्यक्ष तथा शब्द संयोजनका प्रधान सम्पादक वासुदेव अधिकारीले यही साउन महिनादेखि ८० वर्षमा प्रवेश गरेका तर सिर्जनामा अति सक्रिय जनकवि दुर्गालालसँग २०४२ सालदेखि सङ्गत गरेको, सुरु सुरुमा उहाँसँग अन्तर्वाता लिँदा कुरा फुत्काउन कठिन लाग्ने गरेकोमा पछि स्तरीयतामा ख्याल गर्ने भएकाले समय लिनु हुँदो रहेछ भन्ने ज्ञात भएको, उहाँको लेखनमा स्वच्छन्दतावाद, प्रेम, प्रगतिशील चेतना, जनपक्षीयता, ईश्वरीय चेत रहेको पाइएको हुँदा प्रकाशित विशेषाङ्कमा जीवनका कविता, बुढ्यौलीको अनुभूति, शान्ति र आत्म प्रशंसाका पक्षलाई अलग अलग खण्ड गरी राखिएको, शब्द संयोजनका लागि उहाँसँग लिएको अन्तर्वार्तालाई कमल मानन्धरले अङ्ग्रेजीमा अनुवाद गरि दिनु भएकाले त्यो अनुवाद लन्डनबाट प्रकाशित हुने भएको, दुर्गालालको लेखनमा सशक्त विम्ब योजना रहेको, लेखन इमान्दार रहेको, राष्ट्र्यि-अन्तर्राष्ट्रिय परिवेश चित्रण हुने गरेको, निष्ठापूर्ण आत्म समीक्षा समेत कवितामा उहाँले गर्नु भएको विचार व्यक्त गर्नु भयो र यो विशिष्ट समारोह सम्पन्न गर्नका लागि अनि विशेषाङ्क प्रकाशित गर्नका लागि सहयोग पुर्याउने कवि, आर. मानन्धर, कमल, मानन्धर, समारोहमा उपस्थित भइ दिने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू, उपस्थित भइ दिने आदरणीय व्यक्तित्व लगायत सबै सबैमा हार्दिक धन्यवाद सहित समारोहको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *