मितिः २०६८।२।७
रमेश पोखरेल
उपाध्यक्ष – साहित्य–सन्ध्या
साहित्य–सन्ध्याको ३०४ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न नेपाल मानविकी क्याम्पस, प्रदर्शनीमार्गमा ‘आजको महिला लेखन समस्या र सम्भावना’ विषयमा विशेष परिचर्चा, युवा कथाकार आत्माराम शर्माको कथा सङ्ग्रह ‘डाक्टर अङ्कल’ माथि टिप्पणी एवम् कवि गोष्ठी गरी सम्पन्न गरियो । ठीक १ बजे सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सुरु भएको उक्त विशेष गोष्ठीमा प्राज्ञ सुलोचना मानन्धर प्रमुख अतिथि हुनु हुन्थ्यो भने साहित्य सन्ध्याका सल्लाहकार द्वय डा. जीवेन्द्र देव गिरी र वासुदेव अधिकारी, नेपाल किसान महासङ्घकी उपाध्यक्ष शान्ता मानवी, प्राज्ञ विष्णु प्रभात, सह.प्रा.हेमनाथ पौडेल, कार्यपत्र प्रस्तोता उपप्रा.लीला लुइटेल, टिप्पणीकार उप.प्रा.रजनी ढकाल, कथा सङ्ग्रहका टिप्पणीकार एवम् शब्द संयोजन साहित्यिक मासिकका कार्यकारी सम्पादक आर.एम.डङ्गोल, डा.अरुणा उप्रेती अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो । गोष्ठीको अध्यक्षता साहित्य सन्ध्याका सदस्य तथा राष्ट्रिय महिला आयोगकी सदस्य धनकुमारी सुनारले गर्नु भएको थियो ।
साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विशेष विषयमा परिचर्चा गर्ने गरेको र सोही क्रमको निरन्तरता सहित अहिलेको समसामयिक र जल्दोबल्दो विषय ‘अहिलेको महिला लेखन समस्या र सम्भावना’लाई छनोट गरी नेपाली साहित्यमा महिलालेखनको अवस्था कस्तो छ, समस्या के के छन् र सम्भावना कस्तो देखिन्छ भन्ने विषयमा केन्द्रित रहेर महिला साहित्यमा विद्यावारिधि गरि रहनु भएकी लीला लुइटेलले आफूले तयार पारेकोे कार्यपत्र प्रस्तुत गर्नु भयो र उक्त कार्यपत्रमाथि सहप्रा.हेमनाथ पौडेल र उपप्रा.रजनी ढकालले टिप्पणी गर्दै मिहिनेतसाथ कार्यपत्र तयार पारिएको र महिला साहित्यकारले भोगेका समस्या उजागर गरिएको अनि सम्भावना पनि राम्रो रहेको कुरा खुट्ट्याइएको धारणा राख्दै विषय अतयन्त गहन भएका कारण पूर्णता दिनका लागि अध्ययनको व्यापकता आवश्यक छ र तदनुरूप नै कार्यपत्रलाई परिमार्जन गरी पूर्णता दिनु पर्दछ भन्ने विचार व्यक्त गर्नु भयो ।
गोष्ठीम युवा कथाकार आत्माराम शर्माले लेख्नु भएको र साझा प्रकाशनले प्रकाशित गरेको डाक्टर अङ्कल कथा सङ्ग्रहका बारेमा समीक्षात्मक टिप्पणी गर्दै समालोचक आर.एम.डङ्गोलले छोटा आयामका, समसामयिक विषय वस्तुलाई र समाजकै पात्रलाई लिएर लेखिएका कथाले गहिरो छाप र प्रभाव पार्न सक्ने क्षमता राखेका र कथाकारको कौशल स्पष्ट देखिएको धारणा राख्नु भयो ।
गोष्ठीमा सुलोचना मानन्धर, अतीन्द्र दाहाल, गोविन्द बराल, डिल्लीराज अर्याल, रमेश पोखरेल, गोपालकुमार मैनाली, शान्ता मानवी, ब्रह्मप्रिय प्रेम स्वरुप, प्रशान्त खरेल, नितु दाहाल, प्रेम सिलवाल, कपिल बन्धु, जी.बी.आचार्य, देवी नेपाल, रमेश गौतम, पीताम्बर भण्डारी, बालाकृष्ण अधिकारी, कृष्णदेव रिमाल, सरस्वती चिमौरिया, कणाद महर्षि, जीतेन्द्र श्रेष्ठ, असीम सागर, अजित सागर, नरेश शाक्य, ख्यालमान राई, भागवत आचार्य, गोविन्दप्रसाद आचार्य, पुण्य गौतम ‘विश्वास’, सरु आस्था र पूर्णविरामले आआफना कविता, गीत, गजल, हाइकु वाचन गर्नु भएको थियो ।
प्रमुख अतिथि सुलोचना मानन्धरले नेपाली समाजमा विद्यमान महिला असमानता, विभेद र अधिकार विहीनताको असर महिला साहित्य लेखनमा पनि परेको तर महिला लेखन एक पक्षीय वा पुरुष विरोधी भने हुन नहुने धारणा राख्नु भयो ।
रेडियो अडियो १०६.३ ले कार्यक्रमको रेकर्डिङ गरेको थियो र उक्त रेडियोका दीपेन्द्र खनियाँले संविधान निर्माणको दबाब दिनका लागि साहित्य रोजेको र यी कविताहरू निरन्तर बजाइँने जानकारी दिनु भयो । गोष्ठीका अध्यक्ष धनकुमारी सुनारले साहित्य सन्ध्याले समसायिक विषयमा गहन छलफल गर्ने र रूपान्तरणको अभियान सुचारु गर्ने वार्षिक क्यालेन्डर बनाएकोले अर्काे महिना यस्तै अर्काे समसामयिक विषयमा विस्तृत छलफल गर्ने र कवि गोष्ठीको आयोजना गर्ने जानकारी दिनु भयो ।