सन्ध्यामा ‘केबल पुरे किसान’ र ‘गोविन्द भट्ट’प्रति श्रद्धाञ्जलि

मितिः २०६८।७।५
रमेश पोखरेल – उपाध्यक्ष, साहित्य सन्ध्या

साहित्य सन्ध्याको ३०८ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा हालै दिवङ्गत जनकवि केबल पुरे किसान र विख्यात प्रगतिवादी समालोचक गोविन्द भट्टप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो र कविता वाचन गरियो । ठिक ११ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन र राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष श्रद्धाञ्जलि सभामा वरिष्ठ प्रगतिवादी साहित्यकार डा. मोदनाथ प्रश्रित प्रमुख आतिथि हुनु हुन्थ्यो भने सिन्धुपाल्चोकका कवि जगन्नाथ आचार्य, समीक्षक विनोद मञ्जन, प्राज्ञ बूँद राना, सन्ध्याका सल्लाहकारद्वय डा.जीवेन्द्र देव गिरी र वासुदेव अधिकारी, ललित बस्नेत ‘भिमाली’ अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

sandhya-221011-3_512.jpg

विख्यात प्रगतिवादी समालोचक, कवि तथा निबन्धकार गोविन्द भट्टको व्यक्तित्व तथा कृतित्वका बारेमा युवा समीक्षक विनोद मञ्जनले प्रकाश पार्दै भट्ट दार्शनिक तहको मौलिक व्याख्याता, विचारक, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका साहित्यिक व्याख्याता, तिन ‘ज’ (जीवन, जनता र जमिन) का सूत्रधार, सत्यम् भनेको यथार्थ, शिवम् भनेको ब्रह्मचर्य, निष्ठा, इमान र सुन्दरम् भनेको जनता, समय र भविष्यका बारेमा गम्भीर हुनु पर्छ भन्ने व्याख्यात्मक मान्यताका पक्षपाती, कला भनेर छाडा र विचार भनेर जनतासँग टाढा हुने होइन भन्ने स्पष्ट मान्यता राख्ने, जीवनलाई ऊर्जा नदिने र जगत्लाई उज्यालो पनि नदिने साहित्य साहित्य हुन नसक्ने, आत्मरतिमा मात्र रमाउँने लेखक लेखक नभएर लेखनदास मात्र हो भन्ने प्रस्ट मान्यता राख्ने व्यक्तित्व भएको चर्चा गर्नु भयो । साथै उहाँले ‘तिन घुम्ती कि छाडावादलाई स्वीकृति’ (वी.पी.कोइरालाको), शिरिषको फुल कि कागजको फुल (पारिजातको), आसमायालाई केलाएर हेर्दा (डी.पी अधिकारीको) र सिंहदरवार चाहार्दा (भीमनिधि तिवारीको) जस्ता चार ओटा निर्भीक समालोचना गर्नु भएको र त्यतिमै सर्वाधिक प्रख्याति कमाएका विद्वान, विचारक, दार्शनिक, बेवहारमा ज्यादै सरल तर लेखनमा कठोर, थोरै तर अत्यन्त जबरजस्त लेखनका धनी प्रखर व्यक्तित्व भएको, उहाँका ९ ओटा कृति प्रकाशित रहेका तर हाल अप्राप्य रहेका, उहाँको लेखन सशक्त भए पनि व्यवस्थापन अलि अव्यवस्थित रहेको धारणा राख्नु भयो ।

sandhya-221011-4_512.jpg

जनकवि केबल पुरे किसानको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्दै किसानको वनारस कालका सहयात्री वरिष्ठ प्रगतिवादी साहित्यकार डा. मोदनाथ प्रश्रितले अत्यन्त सरल भाषामा, जनताले बुझ्न र गाउँन सक्ने शैलीमा गीत तथा कविता रचना गर्ने र गाउँदै चेतनाको दुन्दुभि बजाउँदै हिँड्ने जनकवि किसान गरिब, दुखी तथा निमुखा जनताका कवि हुन् । उनले नेपाली समाजमा व्याप्त रहेको रुढिवाद, अहङ्कार, शोषण, उत्पीडन, छिमेकीको मिचाहा प्रवृत्ति, निरङ्कुशता, जातपात, छोइछिटो आदि यावत् प्रवृत्तिका विरुद्धमा प्रकाशित १२ ओटा गीत, कविता तथा काव्य सङ्ग्रहका माध्यमबाट हुङ्कार गरेका छन् । उनी निर्भीक, लोभ लालच विहीन, निष्ठा, इमान एवम् दृढ विचारका प्रतिमूर्तिका रूपमा आफ्नो छवि नेपाली प्रगतिवादी साहित्यमा स्थापित गर्ने कवि हुन् । त्यसैले हामीले पनि उनले अवलम्बन गरेको बाटोमा हिँड्नु नै उनका प्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राख्नु भयो ।

sandhya-221011-1_512

गोष्ठीमा कवि किसानकै आबाजमा नरनाथ लुइटेलले रेकर्ड गर्नु भएको कविता सुनाइएको थियो र राम विनय, जगन्नाथ आचार्य, कणाद महर्षि, रमेश पोखरेल, राजेन्द्र भट्टराई, अच्युत घिमिरे, गायत्री विष्ट र पर्शुराम पराजुली परासरले श्रद्धाञ्जलि कविता, गीत तथा गजल वाचन गर्नु भएको थियो ।

sandhya-221011-2_512

पर्दाहरू
– जी.बी.आचार्य
पर्दाहरू
यहाँ उघ्रि रहन्छन्, खसि रहन्छन्
यहाँ पर्दा उघ्रनुको पनि अर्थ छैन
पर्दा खस्नुको पनि अर्थ छैन
पर्दा उघ्रन्छ दृश्य बदलिँदैन
दृश्य बदलिन्छ पात्र बदलिँदैन
पात्र बदलिन्छ संवाद बदलिँदैन
संवाद बदलिन्छ अर्थ बदलिँदैन
यहाँ पर्दा उघ्रनुको पनि अर्थ छैन
पर्दा खस्नुको पनि अर्थ छैन
एउटा निस्सार नाटकका दर्शक हामी
ताली बजाइ रहेछौँ
हामी पर्दा खस्दा ताली बजाइ रहेछौँ
पर्दा उघ्रँदा ताली बजाइ रहेछौँ
हामीलाई ताली बजाउनुको अर्थ थाहा छैन
ताली नबजाउनुको अर्थ पनि थाहा छैन
यहाँ पर्दा खसाल्ने हात अर्कैको छ
पर्दा उचाल्ने हात अर्कैको छ
दृश्य बनाउँने सोच अर्कैको छ
पात्र छान्ने दिमाग अर्कैको छ
संवाद लेख्ने कलम अर्कैको छ
अथ्र्याउँने जिब्रो अर्कैको छ
हामी त बोधिसत्वको शालिन शान्तिमा
आफ्नो अस्तित्व अर्कैलाई सुम्पेर
चेतनाका आँखामा दासताको पट्टी बाँधेर
पराधिनतामा नाच्न अभ्यस्त
कठपुतली बन्नमा गौरवान्वित छौँ
हामीलाई स्वतन्त्रताको अर्थ थाहा छैन
हामी सहिद गेटमा उभ्याइएका सालिक हौँ
हामी नदी किनाराका ढुङ्गा हौँ
हामी बगरका बालुवा हौँ
हामी अकाल मर्नुलाई भाग्य ठान्छौँ
सहिद हुनुलाई दुर्भाग्य ठान्छौँ
गरिबीलाई नियति
र पछौटेपनलाई संस्कृति ठान्छौँ
पर्दाहरू खसि रहेछन्, उघ्रि रहेछन्
चाहे सात, सत्र, छयालिस वा त्रिसठ्ठी सालमा
र हामी केबल मुक दर्शक बनि रहेछौँ ।
(बर्दिया)

Leave a Reply

Your email address will not be published. Required fields are marked *