सन्ध्यामा नेपाल भाषाका साहित्यको चर्चा

मितिः २०६८।१२।४
रमेश पोखरेल – उपाध्यक्ष, साहित्य सन्ध्या 

साहित्य सन्ध्याको ३१४ औँ विशेष कार्यक्रम आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘नेपाल भाषाका साहित्यका बारेमा चर्चा’ र कवि गोष्ठी गरी सम्पन्न गरियो । ठिक १.०० बजे सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीको सञ्चालन र अध्यक्ष राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष गोष्ठीमा नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती क. पुष्पलालका समकालीन हर्क स्याङ्बो, नेपाल भाषाका विश्लेषक पूर्णकाजी ताम्राकार, समालोचक डा. लक्ष्मणप्रसाद गौतम, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ कवि पूर्ण विराम, कवि ललित बस्नेत ‘भिमाली’ अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

sandhya_20681204_1_500.jpg

नेपाल भाषाका साहित्यका बारेमा समीक्षक पूर्णकाजी ताम्राकारले चर्चा गर्दै नेपाल भाषाको उत्पत्ति, विकास, विभिन्न विधा, उपविधामा विमक्त भई विकसित भएको नेपाल भाषाको अवस्था, राज्यले उपेक्षा गरेको अझ विशेष गरी राणा शासनमा नेपाल भाषामा लेख्ने साहित्यकारलाई दण्डित समेत गरिएको कारणले नेपाल भाषा जहिल्यै पनि राज्यसत्ताको विरुद्धमा रहेको समेतका कारणले हुन सक्छ यस भाषामा प्रगतिवादी धार सशक्त रहेको समेतको विषद् चर्चा गर्नु भयो ।

sandhya_20681204_2_500.jpg

नेपाली कम्युनिस्ट आनदोलनका अगुवा एवम् हस्ती क.पुष्पलालका समकालीन ८५ बर्से कवि हर्क स्याङ्बोले पुख्र्याैली थलो सिन्धुपाल्चोकबाट निरङ्कुशता र शोषणको सिकार भई भारतको सिक्किम पलायन हुनुको पीडा सँगसँगै बनारसमा क. पुष्पलालसँग भेट भएर कम्युनिस्ट आनदोलनमा लागेको र उहाँकै सल्लाहले भैरहवा हुँदै मुस्ताङमा लामो समय बसेर नेपाली कम्युनिस्ट आन्दोलनलाई बढाएको संस्मरण सुनाउँनु भयो र करिब ४५ वर्ष अगाडि लेखिएका तर अहिले पनि सशक्त लाग्ने सुन्दर दुइटा कविता आफ्नै सङ्ग्रहबाट वाचन समेत गर्नु भयो ।

sandhya_20681204_3_500.jpg

गोष्ठीमा नर्मदेश्वरी सत्याल, राम विनय, अल्फाली साँझ, पूर्ण विराम, शीतल गिरी, बालकवि प्रियङ्का सिलवाल, मञ्जु मार्मिका, प्रेम सिलवाल, अतृप्त पाण्डे, ललित बस्नेत ‘भिमाली’, गोपाल नेपाल, प्रशान्त खरेल, गोपाल मैनाली, भागवत आचार्य, रसुवाली कवि, जी.केयन खडेरी, बलराम विष्ट, प्रकाशबाबु तिवारी, पुण्य गौतम ‘विश्वास’, विष्णुप्रभा उपाध्याय, बलराम राई र पारस ढकालले आआफ्ना कविता, गीत, गजल तथा तान्का वाचन गर्नु भएको थियो ।

sandhya_20681204_4_500.jpg

वाचित कवितामाथि समालोचक डा.लक्ष्मणप्रसाद गौतमले टिप्पणी गर्नु हुँदै गोष्ठीमा पुराना र नयाँ पुस्ताको जमघट साहित्य सन्ध्याले गराएको र सिक्ने सिकाउँने कार्यशालाका रूपमा लामो समयदेखि साहित्य सन्ध्याले सबैलाई मञ्च प्रदान गरि रहेको आफूले पनि पढेको, सुनेको; पुराना स्रष्टाका उत्कृष्ट कवितादेखि नयाँ स्रष्टाका सिकारु कविता वाचन गरिएका, सबैले कविता भनेको अन्तरमनको भावनालाई वैचारिक र कलात्मक रूपमा अभिव्यक्त गर्ने विशिष्ट विधा हो भन्ने मान्यतालाई आत्मसात गर्नु पर्ने र कम्तिमा पनि ह्वाङ्ग नपारी कलाको मलमलले छोपेर अरु अग्रजका स्वदेशी तथा सम्भव भए विदेशी पनि कविता पढेर आफूले सिर्जना गर्नु पर्ने सुझाव दिनु भयो र समग्रमा आज वाचित कविताले विसङ्गत एवम् विकृत आजको नेपाली समाजका युगीन पीडा अभिव्यक्त गरेका मात्र होइन सत्ता भनेको जुनसुकै पनि निरङ्कुश हुने र स्रष्टा सदैव प्रतिपक्षी हुने मान्यताको अनुसरण गरेकाले समग्रमा केही कवितामा कलामूल्यको पाटो बाहेक अन्य विचार, सम्प्रेषणीता, अभिव्यक्ति आदि पक्ष राम्रो रहेको धारणा राख्नु भयो । उपस्थित सबै स्रष्टालाई धन्यवाद दिँदै साहित्य सन्ध्याको उद्देश्य तथा अभियानका बारेमा समेत जानकारी दिई स्रष्टाहरूको निरन्तर सहभागिताको अपेक्षा सहित अध्यक्ष राम विनयले गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *