सन्ध्यामा ‘लोक संस्कृतिको निर्माणमा साहित्यको भूमिका’विषयमा चर्चा

मितिः २०६८।९।२
रमेश पोखरेल (उपाध्यक्ष – साहित्य सन्ध्या)

साहित्य सन्ध्याको ३१० औँ नियमित मासिक कार्यक्रमका रूपमा आज नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘लोक संस्कृतिको निर्माणमा साहित्यको भूमिका’ विषयमा चर्चा गरियो र कविता वाचन गरियो । ठिक १ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन र राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष कार्यक्रममा प्राज्ञ विष्णु प्रभात, लोक साहित्यमा अनुसन्धान गर्ने विज्ञ एवम् जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष डा.जीवेन्द्र देव गिरी, जन साहित्यिक मञ्च, नेपालका संस्थापक महासचिव सह प्राध्यापक कृष्णप्रसाद घिमिरे, ललित बस्नेत ‘भिमाली’, लोक गायक एवम् वाध्यवादक प्रेमदेव गिरी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

‘लोक संस्कृतिको निर्माणमा साहित्यको भूमिका’ विषयमा लोक साहित्यका अनुसन्धाता एवम् विज्ञ डा. जीवेन्द्र देव गिरीले विस्तृत रूपमा प्रकाश पार्दै लोक भनेको सामान्य अर्थमा जन साधारण वा संसार बुझाउने र यसै संसारमा बस्ने मान्छेका संस्कार, संस्कृति, रीति रिवाजको निर्माणमा साहित्यले अहम् भूमिका खेल्ने र समयसँगै परिवर्तन हुने भौतिक विकासको पाटो पनि संस्कृति नै हो । मौखिक परम्परामा जीवित साहित्यले ऐतिहासिक मूल्य स्थापित गरेको हुन्छ र संस्कृति क्रमिक रूपमा परिवर्तन हुँदै युगकै प्रतिविम्बका रूपमा स्थापित भएको हुन्छ । यो आफ्नो वर्गीय स्वार्थ अनुकूल पनि विकसित भएको हुन्छ । लोक जीवनमा प्रशस्त जन पक्षीय कुराहरू हुन्छन् तर ती दबिएर रहेका हुन्छन्, तिनलाई उजागर गर्ने काम, व्याख्या, विश्लेषण गर्ने काम साहित्यकारले गर्नु पर्दछ । एउटा संस्कृतिले दासताको वकालत गरेको हुन्छ भने अर्काे संस्कृतिले जन पक्षधरतालाई आत्मसात गरेको हुन्छ । त्यसैले एक पक्षीय दृष्टिले मात्र हेर्नु पनि हुँदैन । सचेत साहित्यकारको एउटै साहित्यले संस्कृतिको रूपान्तरण गर्न सक्दछ । त्यसमा पनि हाम्रो जस्तो बहुधर्म, बहु जाति, बहुभाषा भएको देशमा सबैका बिच सुसम्बन्ध कायम गर्दै राष्ट्रिय अखण्डता जोगाउने विषयमा साहितय सिर्जना गर्नु साहित्यकारको आजको कर्तव्य हो, दायित्व हो । श्रमको सम्मान गर्ने संस्कृतिको निर्माणमा लाग्नु, युवा रोजगारी सिर्जना गर्ने भौतिक विकासका पक्षमा लेख्ने, असल संस्कृतिको संरक्षण र खराबको विरोध गर्ने अनि चेतना फैलाउने, स्वार्थ होइन त्यागको संस्कृति निर्माणमा साहित्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने धारणा राख्नु भयो ।

गोष्ठीमा गोपाल नेपाल, वैरागी जेठा, आनन्दराम पौडेल, पूर्ण विराम, कृष्णप्रसाद घिमिरे, ललित बस्नेत ‘भिमाली’, रमेश पोखरेल, अतृप्त पाण्डेय, हेम प्रभास, सोझो गाउँले, राम विनय, प्रेमदेव गिरी, पुण्य गौतम ‘विश्वास’, नवराज खतिवडा र निशान निष्कर्षले आआफ्ना कविता, गीत तथा गजल वाचन गर्नु भएको थियो । प्रेमदेव गिरीले पश्चिमी भाखाका विविध लयका लोकगीत समेत गाउनु भएको थियो र लोकगीतको रचना एक्लै पर्दा, समूहमा र संस्कार, संस्कृति, मेलापात, सुखदुख, जात्रापर्वमा गाइँने र यस्ता गीतले नै समाज र राष्ट्रको प्रतिष्ठा कायम गर्ने विचार समेत व्यक्त गर्नु भयो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिना विशेष कुनै सम सामयिक विषयमा यस्तै खाले परिचर्चा गर्ने गरि रहेको र यो चर्चा पनि थालनीकै रूपमा रहेको हुँदा विषय विज्ञका माध्यमबाट यस्ता गम्भीर विषयलाई छलफल तथा बहस गराउँने योजना मुताविक नै अर्काे महिना ‘नेपाली मूलका भारतीय साहित्यकार र रचनामा प्रगतिशीलता’ विषयमा चर्चा गरिने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *