मितिः २०७०।३।१
रमेश पोखरेल, उपाध्यक्ष – साहित्य सन्ध्या
साहित्य सन्ध्याको ३२८ औँ विशेष गोष्ठी आज शनिवार १ बजे कुलेश्वर आवास परिवार कल्याण संस्था, कुलेश्वरको सभाकक्षमा ‘प्रगतिवादको आलोकमा संस्कृति’ विषयमा विशद् चर्चा तथा कविगोष्ठी आयोजना गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो ।
वरिष्ठ प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठीमा नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका लक्ष्मीभक्त उपाध्याय, प्राज्ञ द्वय विष्णु प्रभात र बूँद राना, राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, नेपालका सल्लाहकार रामप्रसाद प्रदीप, कुलेश्वर आवास कल्याण संस्थाका अध्यक्ष लक्ष्मीनाथ श्रेष्ठ, उपाध्यक्षहरू लोकनाथ पोखरेल, घनश्याम गौतम र रामराज पन्त, सचिव गृहमान सिंह, सह सचिव रामेश्वर श्रेष्ठ, कोषाध्यक्ष राजु दाहाल शर्मा, संस्थाकी महिला समूहकी अध्यक्ष उमा श्रेष्ठ पोखरेल, भूपि शेरचनलाई कम्युनिस्ट पार्टीको सदस्यता दिने वयोवृद्ध स्रष्टा हर्ष स्याङ्बो, ज्येष्ठ नागरिक मिलन केन्द्रका सह संयोजक फणीन्द्रप्रसाद पन्त, वरिष्ठ ज्येष्ठ नागरिक एवम् नेपाल सरकारका सचिव कृष्णहरि बास्कोटाका पिता हरिहर बास्कोटा, प्रा.डा.कृष्णप्रसाद घिमिरे, स्थापित कवि द्वय सहप्रा.देवी नेपाल र आनन्दराम पौडेल अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले प्राज्ञ विष्णु प्रभातद्वारा लिखित समाज, संस्कृति र नैतिकता पुस्तकको लोकार्पण गर्नु भयो र चिन्तक प्राज्ञ विष्णु प्रभातले मसिनोसँग नेपाली संस्कार, संस्कृति र तिनमा आएका विचलन, संस्कृतिको महत्ता, हामी नेपालीले हाम्रो संस्कृति र अखण्डता जोगाउनु पर्ने आजको आवश्यकता जस्ता अत्यन्त गम्भीर विषयमा बहसको थालनी गर्नु भएकाले यो पुस्तक पठनीय, सङ्ग्रहणीय रहेको चर्चा गर्नु भयो । पुस्तकका लेखक प्राज्ञ विष्णु प्रभातले पुस्तक लेखिनुको उद्देश्य, साझा प्रकाशनले छाप्न इन्कार गरेको सन्दर्भ र संस्कृतिका विषयमा गम्भीर छलफल तथा बहस प्रारम्भ गर्न ढिला भइ सकेको निष्कर्ष समेत पुस्तकमा दिने प्रयत्न आफूले गरेको चर्चा गर्नु भयो ।
कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष लक्ष्मीनाथ श्रेष्ठले उपस्थित वरिष्ठ साहित्यकारहरू तथा शुभेच्छुक सबैलाई स्वागत गर्दै मन्तव्य राख्नु भयो भने महिला समूहकी अध्यक्ष उमा श्रेष्ठ पोखरेलले पनि संस्थाको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो ।
गोष्ठीको छलफलको विषय प्रगतिवादको आलोकमा संस्कृति उपर चर्चा गर्दै डा. मोदनाथ प्रश्रितले व्यक्तिगत अहङ्कार प्रगतिशीलताको बाधक कुरा भएको, हामीमा आफूसँग भएको चिज अर्कालाई सुम्पेर अर्काको ग्रहण गर्ने गलत संस्कारको विकास भएको, अङ्ग्रेजले ३०० वर्ष भारतमा उपनिवेश चलाउँदा पनि आफ्नो संस्कृति र संस्कार नत्यागेको कुराबाट हामीले पाठ सिक्न नसकेको, कुनै कालखण्ड वा समयका आधारमा प्रगतिशीलताको मापन हुने; दास प्रथा, जातीय एकता, श्रम विभाजन जस्ता कुराहरू पनि त्यो कालखण्डका प्रगतिशील पक्ष बनेका; समाजको उत्पादन प्रक्रियासँगै संस्कृति पनि परिवर्तन हुँदै जाने; साम्राज्यवादी चिन्तन हुँदा हुँदै पनि सानो राज्यबाट ठुलो राज्य बन्नु प्रगतिशीलता हुने; धर्म अमूर्त कुरा भए पनि कुनै कालखण्डमा प्रगतीशीलताको काम गरेको; भेदभाव र विखण्डनले कहिलै प्रगति हुन नसक्ने; आपसमा लड्ने, भिड्ने कार्य प्रगतिवादी विरोधी हुने; विचार र व्यवहारको तादात्म्य नहुने कुरा कहिल्यै पनि प्रगतिशील नहुने; प्रगतिशीलता भनेको मान्छेको समग्र जीवन पद्धति भएकाले जाति विशेषको भेदभाव त्यागेर एकतावद्ध हुनु, हरेक विधि, व्यवहार, बोलीचालीलाई समान बनाउनु, दासत्व त्यागेर र मानसिक एवम् व्यवहारिक रूपान्तरणमा लाग्नु आजको प्रगतिशील संस्कृति हो र आजको समयमा यही आवश्यक छ भन्ने धारणा राख्नु भयो ।
गोष्ठीमा कुलेश्वर आवासीय माध्यमिक विद्यालयका बालकविहरू पुजन सापकोटा, स्वच्छन्द पाण्डे, रवि गजुरेल, रामकुमार वि.क., प्रफुल्ल सिग्देल, आरम्भ निरौला र सन्देश पराजुलीले सुन्दर कविता वाचन गरे भने मदनकुमार श्रेष्ठ, गोपाल नेपाल, प्रेम सिलवाल, गोपाल मैनाली, नीलहरि शर्मा सुवेदी, प्रशान्त खरेल, रामप्रसाद प्रदीप, देवी नेपाल, अतीन्द्र दाहाल, मोहनमणि पोखरेल, हर्ष स्याङ्बो, आनन्दराम पौडेल, विश्वविमोहन श्रेष्ठ, बूँद राना, डा.मानसिंह साथी, इन्दु अंशु जटारे, एटम विद्रोही, वेदनिधि खतिवडा, बेटी बज्राचार्य, प्रदीपरत्न शाक्य, सरु आस्था, रामबहादुर पहाडी, रमेश पोखरेल, श्यामबहादुर भावुक, विष्णु लामा र अचा सानीले आआफ्ना कविता, गीत, गजल, तान्का, मुक्तक वाचन गर्नु भएको थियो । प्राज्ञ बूँद राना र रामबहादुर पहाडीलाई गजल सम्राट नभनेर गजल वीर भन्ने प्रस्ताव पनि गोष्ठीमा परित गरियो ।
वाचित सिर्जनामाथि प्रा.डा.कृष्णप्रसाद घिमिरेले टिप्पणी गर्नु हुँदै कविताहरू समसामयिक धारामा लेखिएका, गद्यमा बढी र पद्यमा कम लेखिएका, विषयको विविधता रहेको र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषय समेटिएका, देशको पीडा, मर्म र व्यथालाई उजागर गरिएका, सुन्दर बिम्ब तथा प्रतीकको प्रयोग गरिएका, प्रस्तुतिको शैैलीमा नवीनता देखा परेकोे, बालकविहरू पनि त्यत्तिकै सशक्त रहेका तर कोही कोहीका सिर्जनामा निराशा देखिएकाले त्यो पक्षमा सुधार गर्नु पर्ने, मूलतः साहित्य सन्ध्याको उद्देश्य साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको प्रगतिशील आग्रह रहेकाले स्रष्टाले त्यो पक्षमा ध्यान पुर्याई यो एक खालको कार्यशाला पनि भएकाले वृद्ध तथा स्थापित स्रष्टाको सिर्जना शैलीबाट सिक्ने सकिने र तदनुरूप आफूलाई परिष्कृत गर्ने सकिने हुँदा त्यसतर्फ सचेत हुँदै सामाजिक, सांस्कृतिक एवम् राजनीतिक विकृतिका प्रति स्रष्टाले अझ सशक्त रूपमा प्रहार गर्नु पर्ने अवस्था अहिले झन् टडकारो रहेको र त्यस पक्षमा धेरै कविताहरू सचेत समेत रहेका, अत्यन्त गम्भरि विषयमा विशद् चर्चा गरिएको र विज्ञ चिन्तक प्राज्ञ विष्णु प्रभातको पुस्तक समेत लोकार्पण गरिएकाले गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नु भयो ।
गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा समसामयिक विषयमा परिचर्चा पनि गरिने गरिएकोमा यस गोष्ठीमा विशेष एवम् गहन विषय छानेर प्रगतिशील रूपान्तरण अभियानका अभियन्ता डा.मोदनाथ प्रश्रितलाई नै बोलाएर चर्चा गराइएको, कुलेश्वर आवास परिवार कल्याण संस्थाले अनुरोध गरेका कारण आर.आर.मा हुने गरेको साहित्य सन्ध्याको विशेष कार्यक्रम कुलेश्वरमा संस्थाको सभाकक्षमा सम्पन्न गरिएकोले संस्थालाई पनि धन्यवाद दिनु भयो र अर्काे गोष्ठीमा कुनै समसामयिक विषयको चर्चाको जानकारी सहित आमन्त्रण गरिने व्यहोराको सूचना दिँदै गोष्ठीको समापन गर्नु भयो ।