साहित्य सध्याको ३ सय ९०औं शृङ्खलामा “समाज बादी यथार्थवाद र नेपाली साहित्य” बिषयक चर्चा

साहित्य सन्ध्याको नियमित मासिक ३९० औँ शृङ्खला पुस ७ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन प्रशान्त खरेलले गर्नुभएको थियो । समारोहका अतिथिहरूमा प्राज्ञ डा.हेमनाथ पौडेल, जनगायक जे.बी.टुहुरे, गायक एवम् सङ्गीतकार माधव प्रधान, समालोचक डा.हरिप्रसाद सिलवाल, वरिष्ठ कविहरू कणाद महर्षि, उमेश उपाध्याय, डिल्लीराज अर्याल, प्राज्ञ नन्दु उप्रेतीलगायत उपस्थित हुनुहुन्थ्यो ।

‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयमा प्राज्ञ डा.हेमनाथ पौडेलले तथ्यपरक, यथार्थपरक, विश्लेषणमूलकढङ्गले उदाहरणसहित विशद चर्चा गर्नुभयो । उहाँले साहित्य कहिल्यै विचार बाट अलग हुँदैन र राजनीति बाट अलग साहित्य साहित्य हुन सक्दैन भन्नुभयो । साथै समाजवादी यथार्थवादमा गतिशील यथार्थको चित्रणको साथसाथै भविष्यको पनि परिकल्पना हुन्छ भन्नुभयो ।

जन गायक जेबि टुहुरेले ” देशभक्तहरु सबै जुट्नु पर्ने भयो र कोशीको पानी सलल” गीत र जन गायक माधब प्रधानले ” जाती र पाती म मान्दै मान्दिन ” गीत गाउनु भयो। सो कार्यक्रममा देवकी केसीको बाल कथा संग्रह “अनौठो तरकारी”को लोकार्पण भएको थियोे ।

गोष्ठीमा कणाद महर्षि, उमेश उपाध्याय, धनबहादुर मगर, देवकी केसी, ओमप्रसाद कोइराला, डिल्लीराज अर्याल, राम विनय, मुकुन्द न्यौपाने, गोपाल नेपाल, डा.हेमनाथ पौडेल, डा.हरिप्रसाद सिलवाल, उर्मिला पन्त, कात्यायन, असीम सागर, गणेश घिमिरे ‘मार्मिक’, पार्वती ज्ञवाली, मिसन अधिकारी, मदन मगर, नन्दु उप्रेती, नारायण निरासी, प्रकाश जोशी, अनिता लामा, ऐश्वर्य जोशी, बैरागी जेठा, भावना न्यौपाने, प्रशान्त खरेल र ख्यालमान राईले आआफ्ना कविता, गजल वाचन गर्नुभएको थियो ।

वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै समालोचक डा.हरिप्रसाद सिलवालले वर्तमान अवस्थामा देखिएका विकृति र विसङ्गतिको विरोधमा कविता लेखिएका र जननेता मदन भण्डारीले भने जस्तै दलाल नोकरशाही पुँजीबाद अहिलेको समाजको दुस्मन भएको यथार्थलाई कविहरूले कवितामा सङ्केत गरेका छन् र समाज रूपान्तरणका पक्षमा बुलन्द आबाज उठाएका छन् । अधिकांश कविताको यो स्वर आजको गोष्ठीको उपलब्धि रहेको छ भन्ने धारणा राख्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिनामा कुनै न कुनै समसामयिक विषयमा गम्भीर बहस गर्ने र कवितावाचन गर्ने विशेष समारोहको आयोजना गर्ने गरेको छ । आजको यो विशेष समारोहमा अहिले हामी सबैका लागि सरोकारको विषय बनेको ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’का बारेमा बहस गर्नु हामीले आवश्यक ठान्यौँ र विद्वान प्राज्ञ डा.हेमनाथ पौडेललाई आग्रह गर्यौँ । उहाँले विशेष तयारीका साथ यहाँ उपस्थित भइदिएर विशद चर्चा गरिदिनुभयो, हामी हार्दिक आभार व्यक्त गर्दछौँ । त्यसैगरी आजको यो विशेष समारोहमा २८ जना स्रष्टाले आफ्ना रचना वाचन गर्नुभयो र ती सबैको केस्रा केस्रा केलाइदिएर डा.हरिप्रसाद सिलवालले समीक्षा गरिदिनुभयो । हामी उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ । उपस्थित सबै सबै कवि मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी महिनामा फेरि हामी कुनै समसामयिक विषयमा बहस गर्नेगरी उपस्थित हुने छौँ र यहाँहरूलाई आमन्त्रण गर्ने छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *