साहित्य सन्ध्याको बालकवि गोष्ठी सम्पन्न

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ
मितिः २०६९।८।२

 

साहित्य सन्ध्याको ३२१ औँ विशेष बालकवि गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष कविगोष्ठीको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीले गर्नु भएको थियो ।

 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालका समकक्षी वयोवृद्ध स्रष्टा हर्ष स्याङ्बो, प्रगतिशील लेखक सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद प्रदीप, प्राज्ञ बूँद राना, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, सह प्रा.हेमनाथ पौडेल, प्रतिभा प्रवाहका अध्यक्ष मित्रलाल पंज्ञानी, साहित्यकार नवराज रिजाल अतिथिको रूपमा उपस्थित हुनु हुन्थ्यो ।

 

आजको विशेष गोष्ठी बालकवि विशेष रहेकाले बालकविहरू प्रलिसा अधिकारी, सजल सेढाईँ, विज्ञता कार्की, प्रजिसा सत्याल, प्राञ्जल आचार्य, गरिमा लुइटेल, निहारिका दाहाल, रुमी नेपाल, जोनी नेपाल र प्रियङ्का सिलवालले अत्यन्त मिठा, रोमाञ्चक, उत्तेजक एवम् समसामयिक कविता वाचन गर्नु भयो भने ठुला कविले लेखेका बाल कविता, गीत तथा गजल वाचन गर्नेरूमा बूँद राना, कोइराला सूर्यकिरण, सीताराम नेपाल, गोपालकुमार मैनाली, ब्रह्मप्रिय प्रेमस्वरुप, मुक्तिनाथ शर्मा, पुण्य गौतम ‘विश्वास’, डम्बर पहाडी, प्रेम सिलवाल, विकास सिलवाल, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, ललिता दोषी, रमेश गौतम ‘पाल्पाली, निर्भीक राई, मित्रलाल पंज्ञानी, वैरागी जेठा, प्रशान्त खरेल, रमेश समर्थन, डिल्लीराज अर्याल, जी. के. एन. खडेरी, भारद्वाज मित्र, मोहन दङ्गाल, प्रमोद स्नेही, सानु पहाडी, मीना ज्ञवाली, ध्रुव घिमिरे, पारस ढकाल, गायत्री विष्ट, रामप्रसाद प्रदीप, ऋषिराम अर्याल, हरिकला उप्रेती र राम विनय हुनु हुन्थ्यो ।

 

वाचित कवितामाथि समीक्षक नवराज रिजालले टिप्पणी गर्नु हुँदे नेपाली साहित्यमा बाल साहित्यको परम्पराको थालनी गर्ने लक्ष्मीप्रसाद देवकोटाको समयदेखि हालसम्मका उतारचढाव, बाल साहितयको पाश्चात्य साहित्यको समृद्ध अवस्था, बाल बालिका केन्द्रित बाल साहित्यको रचना हुन नसकेको अर्थात् बालक भएर बाल साहित्य रचना नगरिएको हाम्रो देशको अवस्था, बाल बालिकालाई सम्मान गर्नु पर्छ भन्ने भावनाको विकासै हुन नसकेको अवस्था समेतको चर्चा गर्दै गोष्ठीमा बालकविले नै वाचन गरेका पन्द्र ओटा कविता निकै सुन्दर, उत्कृष्ट र समसामयिक रहेका र ठुला कविहरूले रचना गरेका बाल कविताले पनि समसामयिकतालाई अवलम्बन गरेकाले आजको गोष्ठी उपलब्धिमूलक रहेको भन्ने निष्कर्ष दिनु भयो ।

 

बाल साहित्यकार, पत्रकार विजय चालिसेले मुक्तिनाथ शर्माद्वारा लिखित बालकथा कुसमको काँकरीको लोकार्पर्ण गर्नु भयो र उक्त लोकार्पित बालकथा सङ्ग्रह शर्माको १२ औँ कृति भएको भन्दै बाल बालिकाका भावना र मर्मलाई समेटी बाल साहित्यकार मुक्तिनाथ शर्माले सचित्र कथा तयार पार्नु भएको र कथाहरू सन्देशमूलक समेत रहेका भन्ने टिप्पणी साहित्यकार शीतल गिरीले गर्नु भयो ।

 

बाल साहित्य समाजका पूर्व अध्यक्ष समेत रहेका विजय चालिसेले बाल साहित्य भनेको अर्ती होइन, वयस्कहरूको भावना मात्र पनि होइन, त्यसैले बाल साहित्यको रचना गर्दा स्रष्टा स्वयम् बाल बालिका भएर लेख्न सक्तैन भने त्यस्तो साहित्य जीवन्त र यथार्थपरक पनि हुन सक्तैन । साथै स्रष्टाले सदैव लेख्नका लागि लेख्ने होइन कि जिम्मेवारी बोध गरेर लेख्नु पर्दछ र त्यस्तो साहित्य पढि सकेपछि बाल बालिकाले सकारात्मक सन्देश ग्रहण गर्नु सक्नु पर्दछ भन्नु भयो ।

 

उपस्थित अतिथिज्यूहरू, आमन्त्रित व्यक्तित्वहरू सबैलाई धन्यवाद दिँदै साहित्य सन्ध्याले साहित्यका माध्यमबाट सामाजिक, साँस्कृतिक रूपान्तरण गर्ने उद्देश्यले थालनी गरेको अभियानको यात्राले लामो फड्को मारेको, अविच्छिन्न मासिक गोष्ठी गरी साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको अभियान सञ्चालन गरि रहेकाले पनि भोलिका कर्णधार भनेका नै बाल बालिका हुन्, यिनीहरूलाई सकारात्मक सिर्जनात्मक बाटोमा हिँडाउँने दायित्व पनि हाम्रै हो भन्ने ठानेर नै आजको गोष्ठी बाल साहित्यमा केन्द्रित गरिएको जानकारी सहित आगामी महिना फेरि कुनै विशेष कार्यक्रम सहित यहाँहरू सबैलाई उपस्थितिको आग्रह गरिने भन्दै  गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *