रमेश पोखरेल, काठमाडौँ
मिति: २०७२।२।२
साहित्य सन्ध्याको ३४९ औँ कार्यक्रम जेठ २ गते शनिवार अपराह्न १ बजे आर. आर. क्याम्पस’ प्रदर्शनी मार्गमा ‘भूकम्प विशेष परिचर्चा एवम् कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा वरिष्ठ इन्जिनियर एवम् प्राज्ञ महेन्द्र गुरुङ उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा जन गायक रामकृष्ण दुवाल, अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, प्रा.जगत् उपाध्याय प्रेक्षित, कवि सरस्वती चिमौरिया, जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्मा, उमेश उपाध्याय, शीतल गिरी, राष्ट्रिय जन सांस्कृतिक महासङ्घ केन्द्रीय लेखा आयोगका संयोजक राममणि ढुङ्गेल र वरिष्ठ कवि वासुदेव अधिकारी उपस्थित हुनु हुन्थ्यो ।
गोष्ठीको प्रारम्भमै विनाशकारी एवम् त्रासदी पूर्ण भूकम्पका कारण सिङ्गो देश तहसनहस भएको, करिब दश हजारको ज्यान गएको, हजारौँ मानिस घाइते भएका, पाँच लाख घर संरचना ध्वस्त भएकाले यो विपत्ति पूर्ण एवम् त्रासदी पूर्ण अवस्थामा पनि हाम्रो निमन्त्रणा स्विकारेर आइ दिनु हुने सबै सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो र जीवन रहुन्जेल यस्ता विपत्ति पूर्ण अवस्थाको सामना गरि रहनु पर्ने र आशावादी जीवन बाँच्नु पर्ने हुँदा धैर्य र साहसको खाँचो रहेको, यथार्थ जानकारी लिई त्यसै अनुसार व्यवहार गर्नु पर्ने अनि अरूलाई पनि चेतना जागृत गराउनु पर्ने, स्रष्टाले सोही अनुसारका सिर्जना गर्नु पर्ने अवस्था रहेकाले आजको यस गोष्ठीलाई भूकम्प विशेष’ पारिएको, भूकम्पकै बारेमा चर्चा गरिने र भूकम्पकै बारेमा लेखिएका सिर्जना वाचन गरिने व्यवस्था गरिएको, विशेषज्ञ वरिष्ठ इञ्जिनियर एवम् प्राज्ञ महेन्द्र गुरुङलाई अनुरोध गरिएकोमा उहाँले अहिलेको प्रतिकूल वेलामा पनि हामीलाई समय दिनु भई उपस्थित हुनु भएको जानकारी सहित आभार व्यक्त गर्नु भयो ।
विनाशकारी भूकम्पले ज्यान गुमाएका सबैका प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।
वरिष्ठ इन्जिनियर एवम् प्राज्ञ महेन्द्र गुरुङले देशमा आइ लागेको यो विपत्ति पूर्ण घडीमा साहित्य गोष्ठीको आयोजना हुनु नै उत्साहप्रद रहेको, यस्तो दुखद अवस्थामा झन् उत्साहका साथ, धैर्यका साथ र आँटका साथ काम गर्नु पर्छ भन्ने आशावादी मान्यताले यो गोष्ठीको आयोजना भएको जस्तो लागेको र खुसी पनि भएको भन्नु हुँदै समग्र हिमालय शृङ्खला नै भूकम्पीय दृष्टिले सम्वेदनशील रहेको, जोखिम पूर्ण रहेको; इन्डियन र युरेसियन प्लेट ठोक्किएर लाखौँ वर्ष पहिले हिमालय खडा भएको, यी दुई प्लेटको घर्षण अद्यापि जारी रहेको र यी दुईको घर्षणपछि निस्किने शक्ति भनेकै भूकम्प हो भन्ने जानकारी दिनु भयो । यस पटकको भूकम्प गोरखादेखि पश्चिमतिर भूकम्प नगएको लामो समय भएका कारण त्यही पश्चिमतिर जान्छ भन्ने अनुमान विज्ञले गरेका भए पनि यो फेरि पूर्वतिरै आयो र विनाश मच्चायो । भूकम्पका बारेमा अगृम जानकारी दिन वा लिन सकिने खालको अनुसन्धान हालसम्म विज्ञानले गर्न नसकेको तर भूकम्प गइ सकेपछि त्यसको रूप, आकार, क्षमता आदिका बारेमा विगतसँग तुलना गरेर विश्लेषण गरिने परिपाटी अहिले संसारमा रहेको जानकारी दिनु भयो । काठमाडौँ खाल्डो थियो र यो तलाउबाट बनेको, कमजोर माटो भएको ठाउँ हो । भूकम्पको गति दलदलमा कम र ढिस्कोमा तीव्र हुन्छ त्यसैले घर संरचना निर्माणमा माटोको समेत परीक्षण गरिनु पर्छ भनिएको हो । कुनै पनि घर संरचनामा डेड लोड (पिलर, बिम, ढलान जस्ता स्थिर) र चलायमान (लोड बढ्ने र घटने) लोड हुन्छन् । कङ्क्रिटले थिचिएको लोड वा भार वहन गर्न सक्छ भने फलामले लचक भएर त्यस्तो भार ग्रहण गर्न सक्छ । रडमा बाँधिएको रिङ, त्यसको आकार, दूरी र भित्र फर्काएर बाँधेको समेतको अवस्थाले निर्माण बलियो वा कमजोर पार्ने काम गर्छ । अहिलेको यो विनाशकारी भूकम्पले दुई लाख पचासी हजार शिक्षण संस्था भत्केका, पाँच लाख आवासीय एवम् कार्यालयीय भवन ध्वस्त भएका छन् । यस्तो विपत्ति पूर्ण अवस्थामा पनि धन्न बत्ती, टेलिफोन, पानीको हाहाकार भएको छैन; एयरपोर्ट र बाटाघाटा बिग्रेका छैनन्, सुरक्षा निकायले सञ्चालन गरेको र गरि रहेको उद्धारको कार्य अत्यन्त प्रशंसनीय रहेको छ, विदेशी सहयोग पनि सराहनीय रहेको छ । पीडितलाई आश्रय निर्माण अहिलेको प्रमुख प्राथमिकता हो, वर्षा नजिकै रहेको हुँदा छिटो गरिनु आवश्यक छ; कम लागतको निर्माण, गोठ, भकारी जस्ता संरचना निर्माण गरिनु आवश्यक छ । पीडा जतिसुकै भयानक भए पनि धैर्य, साहस र आँट आवश्यक छ । रह्यो भूकम्पको त्रासदीपछि कस्ता घर संरचनामा बस्न सकिन्छ र कस्तामा बस्न सकिदैन भन्ने कुरा त्यसमा पिलर र बिम चर्किएको भए बस्नै नमिल्ने, गारो मात्र चर्केको भए त्यसको मात्रा बढी भए त्यहाँ पुननिर्माण नगरी बस्नु हुन्न, गारोवाला घर भए चर्केको मात्रा आफैँले हेरी सानोतिनो धक्का आउँदा पनि भत्कन सक्छ भन्ने लागेमा बस्नु हुँदैन । घरका सबै पिलर र बिम पुरै चर्केको अवस्थामा बाहेक एउटा दुइटा पिलर चर्केको अवस्थामा पनि त्यसमा मर्मत गर्ने प्रविधि छ, आत्तिइ हाल्नु हुँदैन । पराकम्पन जति बढी आयो त्यति ठुलो भूकम्प आउने सम्भावना न्यून हुन्छ, त्यसैले नआत्तिइकन घरको अवस्था हेरी आफ्नै घरमा सुरक्षित हुने गरी बस्नु पर्दछ भन्ने अत्यन्त महत्त्वपूण जानकारी दिनु भयो । सहभागीले सोधेका जिज्ञासाको पनि सरल तरिकाले उत्तर दिनु भयो र हल्लाका पछि लाग्नु हुँदैन भन्दै आश्वस्त पार्नु भयो ।
गोष्ठीमा कविहरू रामप्रसाद प्रदीप, मुकुन्द न्यौपाने, उमेश उपाध्याय, वेदमणि घिमिरे, वासुदेव अधिकारी, जन गायक रामकृष्ण दुवाल, रमेश पोखरेल, केशवराज अर्याल, प्रेमराज सिलवाल, सरस्वती चिमौरिया, ललिता दोषी, बैरागी जेठा, डम्बरध्वज लिम्बू, राममणि ढुङ्गेल, ब्रह्मप्रिय प्रेमस्वरूप, गोपाल नेपाल, प्रशान्त खरेल, गीता सापकोटा, रत्ननिधि रेग्मी, उर्मिला पन्त पाण्डेय, उदास कार्की र देवकी के.सी.ले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।
वाचित कवितामा टिप्पणी गर्नु हुँदै प्रा.जगत् उपाध्याय प्रेक्षितले त्रासैत्रासको बिचमा आशाको सञ्चार भर्ने प्रयत्न हो आजको गोष्ठी भन्नु हुँदै सिङ्गो देश पीडामा छ; हामी स्वयम् आहत, दुखी र सन्त्रस्त भएको अवस्थामा समेत यस्तो गोष्ठीको आयोजना हुनु र त्यसमा उपस्थित भएर कविता वाचन गर्नु ज्यादै नै महत्त्वपूर्ण कार्य भएको; त्यसमा पनि भूकम्पका बारेमा विज्ञबाट जानकारी दिने र कविता पनि भूकम्पकै बारेमा सुनाइनु झन् विशिष्ट कार्य हो भन्नु भयो । वाचित बाइस ओटा कवितामा तिन ओटा शास्त्रीय छन्दका कविता रहेका र सुन्दर रहेका, एउटा लोकलयको रहेको र अन्य कविताहरू गद्य लयका रहेका, अहिलेको पीडालाई कविले आत्मसात गर्ने र त्यसलाई अरूका लागि सम्प्रेषित गर्ने, कलात्मक पार्ने कार्य कविले गर्छ र आजका प्रायः सबै कवितामा त्यो क्षमता झल्किएको छ । निराशाका बिचमा आशा जगाउने कार्य आजका कविताले गरेका छन् र प्रगतिशील स्रष्टाले गर्ने कार्य भनेकै यही हो । वास्तवमा मान्छे ज्यादै निराश भएको यो वेलामा हामी स्रष्टाले गर्नु पर्ने काम पनि यही नै हो । अहिलेसम्म प्रकृतिलाई विज्ञानले जित्न सकेको छैन, प्रकृतिको शक्ति मापन गर्न सकिएको छैन, यसका लागि निरन्तरको साधानाबाट अध्ययन र अनुसन्धान आजको आवश्यकता हो र त्यो भइ पनि रहेको छ । अहिलेको अवस्थामा अध्यात्मवाद र भौतिकवादको समन्वय आवश्यक छ । आजका कविताले जीवन मूल्यको खोजीको पक्षलाई छोड्नु हुन्न भन्ने सन्देश सम्प्रेषण गरेका छन् । अहिलेका मान्छेको त्रासद अवस्थाको जीवन्त चित्रण र आशावादी सन्देश सम्प्रेषण, प्रकृतिको मानवीकरण, समाजको वर्गीय विभेदलाई समाप्त पार्दै भूकम्पले एउटै पालमुनि ल्याइ दिएको अवस्थाको चित्रण, बाल मनोविज्ञानको सुन्दर प्रस्तुति सबै पक्ष कवितामा समेटिएको पाइएको; भाषा, भाव र लयको समन्वय आजका कवितामा पाइएको, कलमै नचल्ने त्रासदी पूर्ण अवस्थामा पनि कविता सिर्जना भएकाले सन्ध्याको इतिहासकै त्रासदी पूर्ण कलङ्कित यो घडीमा यो गोष्ठी हुनु र यति सुन्दर कविता वाचन हुनु आफैँमा विलक्षण, अदभूत र सफल कार्यक्रम सम्पन्न भएको धारणा राख्नु भयो ।
गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ । आज हाम्रो देशले भाग्नु परेको यो विपत्ति पूर्ण, त्रासद महाविनाशकारी भूकम्पले सिर्जना गरेको दर्दनाक त्रासदीलाई न्यूनीकरण गर्न भूकम्पका बारेमा जानकारी दिने, सावधानी अपनाउने र आफ्ना सिर्जनाका माध्यमबाट चेतना फैलाउने अनि समाजलाई सामान्यीकरण गर्ने उद्देश्यका साथ भूकम्प विशेष कविगोष्ठीको आयोजना गरिएकोले यस कार्यक्रममा उपस्थित भई वरिष्ठ इन्जिनियर प्राज्ञ महेन्द्र गुरुङले गराइ दिनु भएको जानकारी र यस्तो त्रासदी पूर्ण अवस्थामा पनि उपस्थित भएर आफ्ना उत्कृष्ट रचना वाचन गर्ने सबै कविलाई हार्दिक धन्यवाद दिँदै गोष्ठीको समापन गर्नु भयो ।