साहित्य सन्ध्याको ४१८ औँ विशेष कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१८ औँ शृङ्खला पनि साउन २ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।


साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यले व्यवस्थापन गरिदिनुभएको प्रविधिका माध्यमबाट सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा प्रा.डा.प्रेमकुमार खत्री प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्राज्ञ डा.देवी नेपाल, प्राज्ञ लक्ष्मी माली, युद्धप्रसाद स्मृति प्रतिष्ठानका उपाध्याक्ष डा.फणीन्द्रराज निरौला, साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य, प्रा.डा.खेमनाथ दाहाल, प्राज्ञ हरि तिमिल्सिना, नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर तथा साहित्यकार चिन्तामणि सिवाकोटी, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमि, वरिष्ठ कवि जगन्नाथ आचार्य, वरिष्ठ स्रष्टाहरू अनिल पौडेल, सीताराम नेपाल, श्रीधर पौडेल, खेमराज निरौला र गोपाल बराल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


सकेसम्म मुलुकभरका स्रष्टाहरूलाई उपस्थित गराई सिर्जनावाचन गर्ने उद्देश्यले आमन्त्रण गरिएको प्रविधिमैत्री आजको गोष्ठीमा पूर्वको इलामदेखि मोरङ, बर्दिया, नेपालगन्ज हुँदै काठमाडौँसम्मका स्रष्टाहरूको सहभागिता रह्यो । गोष्ठीमा निलहरि शर्मा सुवेदी, डम्बर पहाडी, गोविन्द घिमिरे ‘वेदमणि’, बैरागी जेठा, खेमराज निरौला, डा.फणीन्द्रराज निरौला, गङ्गा कर्माचार्य पौडेल, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, श्रीधर पौडेल, नर्मदेश्वरी सत्याल, रेणुका पोखरेल, चिन्तामणि सिवाकोटी, डा.बालचन्द्र मिश्र, रमेश गौतम पाल्पाली, देवकी सिग्देल, अनिल पौडेल, चूडा निर्भीक, ललिता दोषी, गोपाल बराल, गायत्रीकुमार चापागाईँ, लक्ष्मी माली, दुर्गा नेपाली, सङ्गीता दाहाल, ओमप्रसाद कोइराला, सीताराम नेपाल, प्रशान्त खरेल, डा.खेमनाथ दाहाल, लक्ष्मी बस्याल, भक्ति घिमिरे, अनु विज्ञती, जयन्ती स्पन्दन, विन्दु ढकाल अधिकारी, रश्मि रिमाल, हरि तिमिल्सिना र प्रा.डा.प्रेमकुमार खत्रीले आआप्mना समसामयिक कविता, गीत, एलाक, हाइकु वाचन गर्नुभयो ।


वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्राज्ञ.डा.देवी नेपालले साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा विभिन्न छन्द र लयका कविताहरू सुन्न पाइयो तापनि कार्यक्रम लम्बिएको छ । पैँतिसजना कविले यहाँ सिर्जना वाचन गर्नुभएको छ । व्यङ्ग्य, नारीअस्मिता, वर्गीय चेत, आमाको महिमा, मानवता हराएको, स्वाभिमान, गुरुवन्दना, भानुको सम्झना, गाउँको सम्झना, वर्तमान राजनीतिक विकृति आदि विषयका कविता वाचित भएका छन् । कवितामा नेतृत्वका प्रति तीब्र आक्रोश व्यक्त भएको छ । बिगार्ने, सपार्ने र निकास दिने पनि राजनीति नै भएकाले नेतृत्व रूपान्तरित हुनुपर्ने चाहना कवितामा अभिव्यक्त भएको छ । आक्रोश अलि बढी र निराशा पनि बढी नै भएको हो कि जस्तो पनि लागेको छ । गोठको हान्ने गोरु हटाएर बाघ पाल्ने कुरा उचित हुन्छ र ? हामी प्रगतिशील स्रष्टालाई निराशा र पलायन स्विकार्य हुन्न । समयको विश्लेषण गर्दै स्रष्टाले सदैव आसाको किरण सम्प्रेषण गर्नु आवश्यक हुन्छ । व्यञ्जनामा भन्दा नसुनेको भनेर सोझो प्रहार गरियो भने पनि कलामूल्य मरेर जान्छ । आजका सबै कविताले वर्तमान बोलेका छन् र बेथितिका प्रति आक्रोश व्यक्त गरेका छन् । भानुभक्तको हकमा चाहिँ २०८ वर्षअघिको उनको समयकै चस्माले उनलाई हेरिनु र मूल्याङ्कन गरिनुपर्छ । छोटो र समग्रमा भन्दा आजको गोष्ठी गुणवत्ताका दृटिले सार्थक रहेको छ भन्नुभयो ।
आदिकवि भानुभक्तको व्यक्तित्व तथा कृतित्वमाथि सङ्क्षिप्त प्रकाश पार्नुहुँदै विधान आचार्यले भानुभक्त आचार्यलाई बाबुभन्दा बाजे श्रीकृष्ण आचार्यका नातिका नामले चिनियो । भानुभक्तका छजना बाबुहरूमध्ये जेठाका छोरा उनले बनारसबाट मध्यमासम्मको अध्ययन गरेका हुन् । संसारमा सत्ताको इतिहास बढी लेखिएको छ तर संस्कृति तथा इतिहास खोतल्ने काम अत्यन्त कम भएको पाइएको छ । भानुभक्तको मृत्युमा पनि एकमत पाइँदैन । अध्यात्म रामायणबाट कथानक मात्र लिएर उनले रामायणको रचना गरेका हुँदा उनको रामायण मौलिक रचनाका रूपमा रहेको पाइन्छ । बनारसमा पढेका हुँदा उनमा हिन्दी भाषाको प्रभाव रहेको, संस्कृतका विज्ञ रहे पनि उनले नेपाली भाषामा नै काव्य लेखेका छन् र उनको लेखनको उद्देश्य नै समाज रूपान्तरण रहेको देखिन्छ । ढिलासुस्ती, अन्यायका विरुद्धमा र लोकहितका निम्ति उनले सिर्जना गरेका छन् । पढ्नका लागि प्रेरित गर्न, व्यक्तिहृदयको रूपान्तरण गर्न र अनुकरणीय कामका पक्षमा लाग्न उनले आफ्ना रचनाका माध्यमबाट प्रेरित गरेका छन् । उनको समयको सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा महिलाले बाँचेको जीवनलाई आधार मानेर मात्र उनका सिर्जनाको मूल्याङ्कन गरिनुपर्दछ । भानुभक्त यथार्थमा समाज रूपान्तरणका पक्षमा उभिएका विद्रोही कवि हुन्, नेपाली भाषाका माध्यमबाट समाजको एकीकरण गर्ने महान् कवि हुन् भन्ने धारणा राख्नुभयो ।


प्रमुख अतिथि प्रा.डा.प्रेमकाुमार खत्रीले रूपान्तरण मूलतः सामाजिक, आर्थिक, धार्मिक, आस्थागत आधारमा हुने हो । रूपान्तरणको पहिलो र बलियो पक्ष चैँ सकारात्मक सोच हो । चुस्त, योजनाबद्ध, पारदर्शिताजस्ता पक्षले रूपान्तरणलाई सघाउँछन् । स्वच्छ समाज पनि रूपान्तरणको हतियार हो । कानुनी राज्य रूपान्तरणको आधार हो भने विकास चाहिँ साझा आधार हो । दृष्टिकोणलाई प्राथमिकतामा राखेर माथिबाट कार्यान्वयन गरियो भने रूपान्तरणलाई सघाउ पुग्छ । नमिलेका सबैखाले बेथितिमा रूपान्तरण आवश्यक छ । बहुलवादलाई सर्वस्विकार्य पार्ननसक्दा, समयानुकूल योजना र दृष्टिकोण नबन्दा अपेक्षित रूपान्तरण हुननसकेको देखिन्छ । सिकारी युग, पशुपालनको युग, कृषियुग हुँदै लिच्छवी कालमा अलि बढी रूपान्तरण भएको देखिन्छ । रूपान्तरण समयसापेक्ष नै हुन्छ । मल्लकालमा धर्म, कलाका माध्यमबाट रूपान्तरणको थालनी भएको पाइन्छ । त्यस समयका अवशेष दरबारिया वा सैनिकका क्षेत्रमा अझै पनि देख्नसकिन्छ । यतिखेर महिला र पुरुषको सहयात्राका पक्षमा निकै रूपान्तरण भएको छ तर शिक्षामा अपेक्षित रूपान्तरण हुनसकेको पाइँदैन । विचार र व्यवहारको तालमेल नमिलेको, सोचमा परिवर्तन नआएको र विकृति मौलाएको, अराजकता मौलाएको कारणले अपेक्षित रूपान्तरण हुननसकेको हो । रूपान्तरणका लागि सङ्घसंस्था, राज्यसंयन्त्र सक्रिय र सकारात्मक हुनु आवश्यक छ । सामाजिक रूपान्तरणमा सक्रिय भूमिका खेल्नुपर्ने सङ्घसंस्थाका प्रमुखहरू सरकार फेरिएसँगै फेरिन्छन् त्यसैले रूपान्तरण सम्भव भइरहेको छैन । हरेक क्षेत्रमा भइरहेको राजनीतीकरण रोक्नु आवश्यक छ, पाठ्यक्रमलाई संस्कृतिमैत्री र सम्पदामैत्री पार्नु आवश्यक छ । आजका हाम्रा सन्ततिलाई शिक्षा र संस्कृतिको समन्वय सिकाइएन भने आयातित सांस्कृतिक हस्तक्षेपले हामीलाई किनारामा पुर्याउँछ । भाषा, संस्कृति बिर्सने र अङ्ग्रेजीका पछाडि दौडिने प्रवृत्तिलाई रोकेर अगाडि बढ्नुपर्छ भन्ने चेतना सम्प्रेषण गर्ने खालका सिर्जना हामी साहित्यकारले पनि गर्नुपर्दछ । आफ्नो भाषा, संस्कृति र धरातल नबिर्सिने, जोगाउने र तिनमा रहेका कमीकमजोरीमा रूपान्तरणको प्रक्रिया अवलम्बन गरिनुपर्दछ । रूपान्तरण प्रशस्तै भएको छ तर पनि आवश्यकतानुसार भइरहेको छैन । सामाजिक रूपान्तरण भनेको राजनीतिक रूपान्तरणजस्तो सहज हुँदा पनि हुँदैन । चेतना सांस्कृतिक रूपान्तरणको मूल मन्त्र हो । बिग्रेकालाई सुधार्दै र संरक्षण गर्दै हामीले सिर्जनाका माध्यमबाट रूपान्तरण अभियान चलाउनुपर्छ भन्ने धारणा राख्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री गोष्ठीमा पूर्वको इलामदेखि, मोरङ हुँदै बर्दिया, नेपालगन्ज, काठमाडौँसम्मका स्रष्टाहरूको सहभागिता रहेको छ । साहित्य सन्ध्याको प्रविधिमैत्री गोष्ठीको निरन्तरताका कारण देशैभरिबाट प्रमुख अतिथिलगायत स्रष्टाहरूलाई जुटाउन सकिरहिएको छ । आजको यो गोष्ठीमा ‘भानुभक्तको कृतित्व’का बारेमा र ‘राजनीतिक परिवर्तन र सांस्कृतिक रूपान्तरणको सबाल’जस्तो गहन विषयमा परिचर्चा गरेका छौँ । चर्चाकार विधान आचार्य र प्रा.डा.प्रेमकुमार खत्रीलाई हार्दिक धन्यवाद छ । साहित्य समाजको ऐना हो र त्यही ऐनालाई सिर्जनाका माध्यमबाट उजागर गरेर सामाजिक रूपान्तरणमा हामी स्रष्टाले कलम चलाइरहनुपर्छ । वाचित सबै सिर्जनाका बारेमा प्राज्ञ डा.देवी नेपालले महत्त्वपूर्ण टिप्पणी गरिदिनुभएको हुँदा धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा पनि स्रष्टाहरूले आआफ्ना सुन्दर कविता, गीत, हाइकु, एलाक वाचन गर्नुभएको छ, सहभागिता जनाइदिनुभएको छ; म सबैलाई हार्दिक धन्यवाद दिन्छु । अर्काे समारोहको निम्तामा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ भन्नु हुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.