साहित्य सन्ध्याको ४६९ औँ शृङ्खलामा शुभकामना कविगोष्ठी र गोविन्द भट्ट स्मृति पुरस्कार समारोहको समीक्षा

२०८२ कार्तिक १ गते शनिबार अपराह्न १२ बजे गुगलमिटमार्फत साहित्य सन्ध्याको नियमित मासिक ४६९ औँ शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’ आयोजना गरिनुका साथै हालै असोज २५ गते सम्पन्न ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण विशेष समारोहको समीक्षा गरिएको छ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्य सन्ध्याका परिकल्पनाकार, वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रा.डा. जीवेन्द्र देव गिरी, प्रा.डा. कृष्णप्रसाद घिमिरे, प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा. हेमनाथ पौडेल, वासुदेव अधिकारी, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्याललगायत स्रष्टाहरूको सहभागिता रहेको थियो।

दुई सत्रमा सम्पन्न कार्यक्रममा पहिलो सत्रमा गङ्गाप्रसाद उप्रेतीले आफूले साहित्य सन्ध्यासँगको सहकार्यमा स्थापना गरेको रु. ५०,००० राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ पहिलोपटक असोज २५ गते नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई अर्पण गरिएको सन्दर्भ प्रस्तुत गर्दै त्यस समारोहको समीक्षा गर्नुभयो।

उहाँले समारोह प्रभावकारी, गरिमामय र सफल भएको उल्लेख गर्दै यो पुरस्कार समालोचना, कविता, निबन्ध र दर्शन विधामा पालैपालो प्रदान गरिने जानकारी दिनुभयो। आगामी वर्षदेखि गोविन्द भट्टको व्यक्तित्व र कृतित्वमाथि लिखित सामग्री सङ्कलन गरी चारै विधाका पुरस्कार सम्पन्न भएपछि पुस्तकाकार रूपमा प्रकाशन गर्न उपयुक्त हुने सुझाव दिनुभयो। सो कार्यका लागि सामग्री तयार पार्ने विद्वानलाई पारिश्रमिक दिने व्यवस्था पनि गरिनुपर्ने उहाँको प्रस्ताव थियो।

अन्य सहभागी समीक्षकहरूले कार्यक्रमको गरिमा उच्च रहेको, उपयुक्त पात्र छनोट गरिएको, व्यवस्थापन सन्तोषजनक भए पनि कार्यक्रम केही लामो भएको, वरिष्ठ स्रष्टाका लागि खाजाको व्यवस्था थप व्यवस्थित गर्नुपर्ने तथा युवा सहभागिता बढाउन पहल आवश्यक रहेको सुझाव दिनुभयो।

दोस्रो सत्रमा गङ्गाप्रसाद उप्रेती, प्रा.डा. जीवेन्द्र देव गिरी, प्रा.डा. कृष्णप्रसाद घिमिरे, प्रा.डा. हेमनाथ पौडेल, प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’, राम विनय, जयन्ती स्पन्दन, प्रशान्त खरेल, डम्बर पहाडी, ओमप्रसाद कोइराला, नर्मदेश्वरी सत्याललगायत स्रष्टाहरूले कविता, गीत, गजल र एलाक वाचन गर्नुभएको थियो।

वाचित रचनामाथि टिप्पणी गर्दै प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले दसैँ–तिहारको सन्धि समय, जेनजी आन्दोलन, बाढीपहिरो, युद्ध र भूराजनीतिक संवेदनशीलताले सिर्जनामा गहिरो प्रभाव पारेको उल्लेख गर्नुभयो। उन्नाइस स्रष्टाका बीस रचनामा मानवीय संवेदना, चेतना र न्यायको पक्ष प्रबल रूपमा अभिव्यक्त भएको उहाँको मूल्याङ्कन थियो।

प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले आजका गोष्ठीले साहित्य सन्ध्या सिर्जनात्मक कार्यशालाका रूपमा स्थापित भएको प्रमाणित गरेको उल्लेख गर्दै समसामयिक सामाजिक, राजनीतिक र मानवीय संकटहरूलाई सिर्जनाले यथार्थपरक रूपमा उजागर गरेको धारणा राख्नुभयो। चार दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील साहित्य सन्ध्याको योगदान नेपाली साहित्यका लागि महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

सभाध्यक्ष राम विनयले साहित्य सन्ध्याले २०३९ सालदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान अगाडि बढाउँदै आएको स्मरण गर्दै पछिल्लो समय युवा सहभागिता बढाउन थप प्रयास आवश्यक रहेको बताउनुभयो। सञ्चार माध्यमको दुरुपयोग, भ्रम र विध्वंसका विरुद्ध स्रष्टाले सिर्जनाका माध्यमबाट सत्य र न्यायको पक्षमा उभिनुपर्ने उहाँको धारणा थियो।

कार्यक्रमको समापन गर्दै उहाँले आगामी महिनामा पनि समसामयिक विषयमा बहस र कविगोष्ठी आयोजना गरिने जानकारी दिँदै सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *