विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४४४ औँ विशेष शृङ्खला असोज ६ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘अन्तरभाषिक साहित्यिक पठन र अनुवाद’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठीको आयोजना गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सदस्य रूपक अलङ्कारको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अतिथिका रूपमा प्रा.डा.पशुपतिनाथ तिमल्सिना, डा.हरिप्रसाद सिलवाल, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, डम्बर पहाडी ‘एलाक’, गायत्रीकुमार चापागाईँ, डा.गोविन्दप्रसाद आचार्य, खेमराज निरौला, पोषरमण चापागाईँ, नारायण चौलागाईँ, विन्दु अधिकारी ढकाल, बैरागी जेठा उपस्थित हुनुहुन्थ्यो ।
उक्त विशेष समारोहका अतिथि डा.हरिप्रसाद सिलवालले ‘अन्तरभाषिक साहित्यिक पठन र अनुवाद’ विषयमा विशद चर्चा गर्नुहुँदै भाषा भनेको माध्यम, सम्पर्क, विचार, भाव, संस्कृति, मनोविज्ञान, क्रियाप्रतिक्रिया, राजनीति, सिप, प्रविधि, कला, स्वभाव, शैली, सिर्जना, पहिचान आदि सबै सबै हो । नेपाली साहित्यमा विभिन्न भाषाका साहित्यको अनुवाद भएको छ । अनुवाद गर्दा स्रोत भाषा र लक्षित भाषा मिल्नुपर्छ अर्थात् सिसी र बिर्काे मिल्नुपर्छ भनिन्छ किनभने साहित्य शब्द र अर्थमा मात्र सीमित हुनसक्तैन । अनुवादलाई भाव, विचार एवम् सांस्कृतिक पक्षबाट समेत हेरिनुपर्दछ । अनुवादले भाषिक संस्कृतिलाई अवलम्बन गरेको हुनुपर्दछ । भाषाको अर्थ ठाउँअनुसार, संस्कृतिअनुसार फरक फरक हुन्छ, अन्तरभाषिक सम्बन्ध कायम गरेको हुन्छ । भाषाका बिचमा बोधगम्यता आवश्यक हुन्छ । भाषाका बिचमा विकास र विस्तारको पनि सम्बन्ध हुन्छ, आञ्चलिक हुन्छ । यद्यपि अनुवाद प्रत्यक्ष एवम् अप्रत्यक्षरूपमा समाजमा भइ नै रहेको हुन्छ । द्विभाषी र बहुभाषी हुँदै अनुवाद अन्तरभाषी हुँदै जान्छ । त्यसमा पनि हाम्रो समाज नै अन्तरभाषी छ त्यसैले अन्तरभाषिक साहित्य र अनुवादका क्षेत्रमा धेरै कामहरू त भएका पनि छन् तर पर्याप्त छैन । अनुवादले एउटा व्यक्तिको विचारलाई अर्काे व्यक्तिसम्म पुर्याउँछ, भावनात्मक सम्बन्धको विस्तार गर्छ, पठन संस्कृतिमा मलजल गर्छ, साझा भाषाको विकास गर्छ, भाषिक सम्पन्नता हासिल गराउँछ र भाषिक सिपको विकास पनि गरिदिन्छ । अनुवाद हुँदा लिपि, वर्ण, चिह्न, संरचना, ध्वनि तथा अर्थमा पनि भिन्नता हुन्छ । विद्वानहरूले साहित्यलाई खासमा अनुवाद नै गर्नसकिँदैन, गरियो भने त्यो अर्कै स्तरको साहित्य बन्दछ भनेका छन् । कविता, गीत, गजल, छन्द र लयको त अनुवाद हुनै सक्तैन भनिएको छ । अनुवादका क्षेत्रमा काम गर्नेहरू चाहिँ मानवीय र यान्त्रिक अनुवाद हुनसक्ने, दृश्य र श्रावणिक अनुवाद हुनसक्ने, आख्यान र गैरआख्यानको अनुवाद हुनसक्ने, सिर्जनात्मक र अनुकरणात्मक अनुवाद हुनसक्ने भए पनि आख्यान र गैरआख्यानको चाहिँ सहज अनुवाद हुनसक्ने धारणा राख्दछन् । अनुवाद जटिल र जिम्मेवारीपूर्ण काम हुँदाहुँदै पनि स्रोत भाषाबाट लक्षित भाषासम्म पुर्याएर सहज पारिदिने काम अनुवादमा हुन्छ तर अभिधा, लक्षणा र व्यञ्जनाको अनुवाद जटिल हुन्छ त्यसैले अनुवादकले समाज, समय, सभ्यता तथा संस्कृतिसमेत बुझेको हुनुपर्दछ भन्नुहुँदै विभिन्न दृष्टान्तहरू पनि प्रस्तुत गर्नुभयो ।
गोष्ठीमा डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइराला, गायत्रीकुमार चापागाईँ, कुमार नेपाल, बैरागी जेठा, खेमराज निरौला, प्रदीपरत्न शाक्य, महेशराज खरेल, नारायण चौलागाईँ, बलराम विष्ट, सोइना दाहाल, डा.गोविन्दप्रसाद आचार्य, पोषरमण चापागाईँ, सोमनाथ दाहाल, प्रशान्त खरेल, वासुदेव अधिकारी र राम विनयले आआफ्ना कविता, गजल, एलाक, लघुकथा वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.पशुपतिनाथ तिमल्सिनाले साहित्य सन्ध्याको यो चार दशकको यात्रामा यसअघि तीनओटा विशेष समारोहमा उपस्थित भएको, युद्धप्रसाद मिश्रलाई साहित्य सन्ध्याले अभिनन्दन गरेको भव्य एवम् विशेष समारोहमा उपस्थित भएको छु । प्रगतिशील धार भनेको बहुमुखी धार हो । आजको यो विशेष समारोहमा गुणात्मक उपस्थिति रहेको छ । हामी यतिखेर राष्ट्रियता भन्दाभन्दै अन्तर्राष्ट्रिय भइरहेका छौँ । अविश्रान्त यात्रामा रहेको साहित्य सन्ध्याको यो यात्रा आफैँमा दुर्लभ छ, प्रशंसनीय छ । यस्तै कार्यक्रमले संस्था जीवन्त हुन्छ । खासमा कविता लेखन भावनात्मक हुन्छ । कविले पनि आफ्नै कविता वाचन गर्दासमेत न्याय गर्नसक्नुपर्दछ । आजको यो विशेष समारोहमा डेढ दर्जन कविता वाचन भएका छन् । समकालीन नेपाली समाजका विकृति, विसङ्गति, ढोँग, अन्याय, अत्याचार, भ्रष्टाचार, आडम्बर सबैलाई उजागर गरी रूपान्तरणको स्पष्ट ध्वन्यार्थ आजका कविताले सम्प्रेषण गरेका छन् । सबै कविताले सामाजिक न्यायको खोजी गरेका छन् । सुगौली सन्धीपछि अहिलेको गणतन्त्र नेपालमा सर्वाधिक निराशा मडारिएको छ ! हामीले गणतन्त्रात्मक व्यवस्था ल्याइसकेपछि युद्धप्रसाद मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न आग्रह गरेँ मैले; तर शासनसत्ताले विगतकैलाई सम्मान गरिरह्यो ! परिवर्तनको अनुभूति दिलाउनै सकेन ! कडवेलले ‘कविलाई सदाबहार विद्रोही’ भनेका छन् । त्यहीअनुसार आजका सबै कविताले सामाजिक विकृति उदाङ्गो पारेका छन् र भावी पुस्तालाई सुसूचित गरेका छन् । एलाकको एउटै पङ्क्तिले पनि कुराको चुरो खोतलेको छ । छोटो कवितामा आख्यान जोडेर कविताको आकार बढ्दै जाने हो । आजका कवितामा सामाजिक रूपान्तरणको स्पष्ट आग्रह रहेको पाइन्छ । हामीकहाँ वर्गीयताभन्दा बढी जातीयताका कुरा उठाउने गरिन्छ र त्यस्ता विभेदका कुरा पनि आजका कवितामा आएका छन् । सामाजिक सद्भाव, सामाजिक न्याय, श्रम र सिपको समन्वयको कुरा, शङ्काविहीन मित्रताको आग्रह, नेपाली संस्कृतिमा हस्तक्षेप भइरहेको प्रति चिन्ता, पानी र सामाजिक जीवनको सङ्गति खोज्ने प्रयत्न, विश्वासको सङ्कटले वितृष्णा सिर्जना गरेको, सबै सबैको बाँच्ने जिजीविषामा क्षयीकरण भइरहेको, युवापलायनका पीडा र सन्तानरूपी पूmल परिवारबाट र समग्र राष्ट्रबाटै चुँडिँदै गइरहेकामा चिन्ताभाव व्यक्त भएको, प्रकृतिको मानवीकरण तथा अहिले पनि मानव आदिम हिंस्रक भइरहेको प्रति चिन्ता एवम् आक्रोश, प्रकृतिका अनुपम विम्ब र सौन्दर्यको प्रयोग; दुःख, अभाव र महत्वाकाङ्क्षलाई सँगसँगै चित्रण गरिएकाजस्ता पक्षलाई आजका कविताले सशक्तरूपमा उजागर गरेका छन् । त्यसैले आजको यो गोष्ठी सार्थक रहेको छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
सभाध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा ‘अन्तरभाषिक साहित्यिक पठन र अनवाद’जस्तो गहन विषयमा डा.हरिप्रसाद सिलवालले विस्तृत अध्ययनसहित प्रविधिका माध्यमले पावरप्वाइन्टबाट गहन विश्लेषण गरिदिनुभयो भने वाचित रचनामाथि मसिनोगरी प्रा.डा.पशुपतिनाथ तिमल्सिनाले टिप्पणी गरिदिनुभयो । वर्तमानमा नेपाली समाजमा निराशा छाएको भए पनि हामी स्रष्टाले भने आशावादी जीवनदृष्टि राखेर सिर्जना गर्नुपर्ने र विकृति विसङ्गति उजागर गरी रूपान्तरणका पक्षमा झक्झक्याइरहनु आवश्यक छ । आफ्नो समय व्यवस्थापन गरी उपस्थित भइदिने स्रष्टाहरू र अतिथिहरूप्रति हामी आभारी छौँ । यो अविच्छिन्न र निरन्तर साहित्यका माध्यमबाट हाँकिएको वैचारिक अभियान हो । हाम्रो अभियानको आत्मसमीक्षासहित हामी अगाडि बढिरहन्छौँ भन्नुभयो र यो विशेष समारोह सफल पार्न योगदान गर्ने सबैका प्रति आभार व्यक्त गर्दै फेरि अर्काे महिनामा खास विषयमा परिचर्चा गर्नेगरी आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।