साहित्य सन्ध्यामा ‘अमेरिकामा नब्बे दिन’ र ‘साबिती बयान’ नियात्रासङ्ग्रहको परिचर्र्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको साहित्य सन्ध्याको ४३० औँ शृङ्खला साउन ७ गते शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा विशेष गोष्ठीसहित ‘अमेरिकामा नब्बे दिन’ र ‘साबिती बयान’ नियात्रासङ्ग्रहको परिचर्र्चाका साथ विशेष कविगोष्ठी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा प्राज्ञ प्रा.डा.हेमनाथ पौडेल उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, साहित्यकार नर्मदेश्वरी सत्याल, साहित्यकार जयन्ती स्पन्दन, वरिष्ठ स्रष्टाहरू रामबहादुर पहाडी, प्रा.डा.खेमनाथ दाहाल, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), पोषरमण चापागाईँ र डम्बर पहाडी, प्रगतिशील लेखक सङ्घ काठमाडौँ अध्यक्ष ज्ञानु विद्रोही, प्रगतिशील लेखक सङ्घ भक्तपुर अध्यक्ष गणेश घिमिरे ‘मार्मिक’, सीताराम पद्मकुमारी ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल, डा.नारायण चौलागाईँ, डा.विनोद ढकाल उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा राम विनयद्वारा लिखित ‘अमेरिकामा नब्बे दिन’ नियात्रासङ्ग्रहका बारेमा टिप्पणी गर्दै साहित्यकार जयन्ती स्पन्दनले नियात्राकार राम विनय पारिवारिक भेटघाटका लागि अमेरिका जाँदाका संस्मरणलाई तेर खण्डमा उतारेका, देशभित्रकै जीवनभोगाइका विवरणसमेत तुलनात्मकरूपमा समेटिएका, पाठकले नचिने पनि यो नियात्रासङ्ग्रह पढ्दा लेखक पुगेको ठाउँसम्म पाठकलाई पुर्याइदिने र त्यहाँको आर्थिक, समाजिक, ऐतिहासिक पक्षलाई उजागर गरी पठनीय र रोचक शैलीमा परिपक्व लेखनीका माध्यमबाट वैचारिक दृष्टिकोणसमेत सम्प्रेषण गरी नियात्रालाई प्रभावपूर्ण पार्न लेखक सफल भएका देखिन्छन् । प्रस्थानकै दिनदेखिका संस्मरणका साथै अमेरिकाको आर्थिक, सामाजिक परिवेश मात्र होइन प्रशासनिक अवस्था र प्रविधिको सदुपयोगका सकारात्मक पक्षलाई उजागर गर्दै हाम्रा गाउँघरको अवस्था, हामी पछाडि पर्नुका सम्भावित कारण तथा हाम्रा भोगाइका परिवेशसमेतलाई तुलनात्मकरूपमा उजागर गरी पाठकलाई आफैँले यात्रा गरेकोजस्तो पारिदिने काम लेखकले गरेका छन् । शिक्षणसिकाइका क्षेत्रमा अमेरिकामा अवलम्बवन गरिएको शैलीलाई हामीले पनि अवलम्बन गर्नुपर्ने धारणा राखेका छन् । आपूmले यात्राका क्रममा देखेका भोगेका कुराहरूलाई सूक्ष्मरूपले विश्लेषण गर्नुका साथै वैचारिक दृष्टिकोणसमेत सम्प्रेषण गरिएको छ । अभिव्यक्तिको शैली रोचक र आकर्षक रहेको छ । लेख्नु भनेको लागेका कुराको अभिलेखन मात्र होइन भन्ने देखाउन यात्राका क्रममा त्यहाँ देखिएका प्रगतिका, समृद्धिका र यथार्थका राम्रा पक्ष उजागर गर्दै आफ्नो देशसँग तुलना गरिनुले नियात्रा बढी मनोहारी भएको, आकर्षक भएको धारणा राख्नुभयो र लेखकलाई सुन्दर कृतिका लागि हार्दिक बधाई पनि दिनुभयो ।
त्यसैगरी राम विनयको ‘साबिती बयान’ संस्मरणसङ्ग्रहमाथि टिप्पणी गर्दै साहित्यकार आर.सी.न्यौपानेले ‘सुन्दरस्य भाव सौन्दर्य’ भन्ने मान्यताको स्मरणका साथ हामीले लेख्ने सामग्री कलात्मक हुनुको साथै सामाजिक रूपान्तरणका पक्षमा केन्द्रित पार्नु आवश्यक छ, समाजवादी यथार्थवादी मानकलाई ध्यान दिनु आयश्यक छ । यही मानकको धरातलमा उभिएर मूल्याङ्कन गर्दा ‘साबिती बयान’ प्रगतिवादी धाराको संस्मरणसङ्ग्रहका रूपमा देखा पर्छ । हामीले भोगेको समाजको यथार्थलाई चित्रण गर्ने र लेखनको मानक बनाउने सन्दर्भमा हाम्रा लेखक, समालोचक, राजनीतिक अभियन्ता, पाठक सबै पछाडि परेकै देखिन्छ तर यस कृतिले समेटेका विषय समाजका यथार्थपरक भोगाइ हुन् । आपूmले घुमेका, देखेका, भोगेका तेरओटा संस्मरण यहाँ समेटिएका छन् र तिनले राम विनयको सिङ्गो जीवनले देखेका, भोगेका, अनुभूत गरेका अनि समाजका देखिएका विकृतिका पक्षलाई उजागर गर्दै रूपान्तरणका पक्षको स्पष्ट सन्देश सम्प्रेषण गर्ने कार्य गरिएको छ । जागिरे जीवनभोगाइ, प्रशासनिक ढिलासुस्ती, उल्झनजस्ता विषयलाई पनि उजागर गरी त्यही यथार्थभित्र वैचारिकता घुसाउने र रूपान्तरणको आग्रह सम्प्रेषण गर्ने राम विनयको शैली सुन्दर छ, अनुकरणीय छ । रूप र सारका हिसाबले, गतिशील यथार्थलाई उजागर गर्ने हिसाबले हेर्दा यो कृति निकै सुन्दर देखिएको छ । अभिव्यक्तिको सरल, आकर्षक र प्रवाहपूर्ण शैली पनि सुन्दर रहेको हुँदा लेखकलाई यो कृतिका लागि बधाई दिन्छु भन्नुभयो ।


भुँडी पुराण प्रकाशनका केशवप्रसाद पराजुलीले साहित्य सामाजिक रूपान्तरणको बलियो हतियार हो र साहित्य, कला एवम् संस्कृति देशका पहिचान हुन् भन्ने ठानेर संयुक्त अभियान सञ्चालन गरौँ, तपाईँ साहित्कारहरूसँग सहयात्रा गरौँ भनेर नै राम विनयको यात्रासंस्मरण आपूmले प्रकाशन गरेको धारणा राख्नुभयो ।


गोष्ठीमा डम्बर पहाडी, विन्दु अधिकारी ढकाल, मुकुन्द न्यौपाने, महेशराज खरेल, कात्यायन, राम प्रसाईँ, कुमार नेपाल, मिसन अधिकारी, डा.राजेन्द्रप्रसाद अधिकारी, डा.विनोद ढकाल, खेमराज निरौला, डा.नारायण चौलागाईँ, रामबहादुर पहाडी, धनबहादुर मगर, गणेश घिमिरे ‘मार्मिक’, नारायण निरासी, यदुनाथ वसन्तपुरे, डा.फणीन्द्रराज निरौला, नर्मदेश्वरी सत्याल, भावना न्यौपाने, पोषरमण चापागाईँ, ज्ञानु विद्रोही, प्रकाशचन्द्र ढकाल, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), होमप्रसाद गौतम, शिवप्रसाद आचार्य, डा.खेम दाहाल र राम विनयले आआफ्ना कविता, गीत, मुक्तक, गजल, एलाक वाचन÷गायन गर्नुभएको थियो ।
प्रमुख अतिथि प्राज्ञ प्रा.डा.हेमनाथ पौडेलले झण्डै चार दशकदेखि निरन्तर, अविच्छिन्न तर सङ्घसङ्गठनहरूमध्येको सर्वहारा सङ्गठनका रूपमा साहित्य सन्ध्या चलिरहेको छ । नेपालको सामाजिक रूपान्तरण अभियानमा यो संस्थाले साहित्यका माध्यमबाट महत्त्वपूर्ण योगदान गरेको छ । त्यसैले पनि यस संस्थाको भौतिक पूर्वाधार निर्माण एवम् व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । खास एवम् महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने, समीक्षा गर्ने काम यस संस्थाले निरन्तर गरिरहेको छ । आजको यो समारोहमा दुइटा कृतिको समीक्षा भएको छ । ‘अमेरिकामा नब्बे दिन’ नियात्रासङ्ग्रहमाथि साहित्यकार जयन्ती स्पन्दनले मसिनो र सटिक समीक्षा गर्नुभएको छ र यो कृति विवरणात्मक छैन बरु यथार्थपरक, कलात्मक र चित्ताकर्षक छ । त्यसैगरी साहित्यकार आर.सी.न्यौपानेले समीक्षा गर्नुभएको ‘साबिती बयान’ संस्मरणात्मक कृति हो । यसमा तेरओटा संस्मरणात्मक निबन्ध छन् र ती नियात्राभन्दा थोरै भिन्न छन् । माक्र्सवादी सौन्दर्यशास्त्रीय कोणबाट भन्दा पनि आलोचनात्मक यथार्थवादी दृष्टिकोण यहाँ बढी पाउनसकिन्छ । हाम्रो समग्र लेखनमा नै समाजवादी यथार्थवादी दृष्टिकोण आउन भने सकेको पाइँदैन । उद्देश्यपरक र प्रयोजनपरक दृष्टिले सृजना हुननसक्नु वैचारिक अलमल हो, अस्पष्टता हो र यो अवस्था समग्र साहित्य लेखनमा मात्र होइन नेपाली राजनीतिमा समेत देखिएको छ । विचारधारको निर्माण गरी रूपपक्षलाई प्राथमिकतामा राखी अन्तरवस्तु समावेश गरी लेखिनु आजको आवश्यकता हो । छ दशकभन्दा बढी अविच्छिन्न साधना गरेका राम विनयको लेखन सरल, त्यागमय र निष्ठावान् रहेको छ । उनका आठओटा कृति प्रकाशित भइसकेका छन् । जनतालाई केन्द्रविन्दुमा राखेर सम्प्रेष्य साहित्य सिर्जना गर्ने राम विनय नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा महत्त्वपूर्ण धरोहर हुन् ।


आज वाचित अट्ठाइसओटा रचनामा विषयगत विविधता छ, रूप र विधागत विविधता रहेको छ । नेपाली साहित्यमा सबैभन्दा बढी कविता नै लेखिन्छ तर गुणात्मकताको चाहिँ अध्यापि खडेरी छ । आजका कवितामा समसामयिकता पनि र परम्परागत मान्यता पनि पाइन्छ, कविता राम्रा पनि वाचित भए भने सिकारु कविता पनि सुनिए । समाजका कुरूप यथार्थलाई रूपान्तरण गर्न हस्तक्षेप आवश्यक छ । आलोचनात्मक चेत भएन भने साहित्यकार नै हुँदैन । सबै स्रष्टाले अझै बढी साधना गर्नै पर्छ, खार्ने माझ्ने काम गर्नै पर्छ । आफ्नो लेखनीमा मानक, पहिचान निर्माण गरी सिर्जना गरिनु आवश्यक छ, विषयको चुरो पक्रेर सिर्जना गरिनु आवश्यक छ । समसामयिक यथार्थ फुत्केला कि भन्ने हेक्का स्रष्टाले राख्नुपर्छ । आजका कविले बोलेका कुरा हाम्रो समाजको यथार्थ हो । समग्रमा आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको दिन नेपाली समाजको रूपान्तरणका लागि वैचारिक अभियान सञ्चालन गर्ने अभियन्ता पुष्पलाललाई सम्झना गर्ने र सम्मान गर्ने दिन हो । सिङ्गो जीवन देशका लागि समर्पण गर्ने कुशल विचारक र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालप्रति सम्मान जाहेर गर्दछौँ । आजको विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि, अतिथिज्यूहरू, टिप्पणीकारहरू, स्रष्टाहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । स्रष्टाहरू आलोचनात्मक चेतले युक्त हुने भएकाले उनीहरूलाई प्रतिपक्ष भनिएको हो । देखेको लेख्ने र रूपान्तरणका पक्षमा आबाज उठाउने भएकाले स्रष्टा चेतनशील हुन्छ र ऊ राजनीतिनिरपेक्ष पनि हुनसक्दैन । आजको गोष्ठीमा मेरै दुइटा कृतिका बारेमा समीक्षा भएको छ र यो कार्यमा सरिक भई मलाई प्रेरणा दिनुहुने टिप्पणीकारहरू तथा प्रमुख अतिथिज्यूमा विशेष आभार व्यक्त गर्दछु । कविहरू सम्वेदनशील हुन्छन् । अहिले हामी साम्राज्यवादले हस्तक्षेप गर्नखोजिरहेको नियति भोग्दै छौँ, त्यसका लागि हामी स्रष्टाले सशक्त हस्तक्षेप गर्ने र आफ्ना सिर्जनामा नाङ्गो हस्तक्षेपको विरोध गरिनु आवश्यक छ । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हामी यसैगरी हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार हुने सन्ध्याको विशेष समारोहमा उपस्थितिका लागि अनुरोध गर्ने छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *