साहित्य सन्ध्यामा ‘उत्पादन, उत्पादन शक्ति, मूल्य अभिवृद्धि र वितरण प्रणालीमा माक्र्सवादी दृष्टिकोण’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाण्डु

साहित्य सन्ध्याको नियमित मासिक ४०२ औँ शृङ्खला पुस ५ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा ‘उत्पादन, उत्पादन शक्ति, मूल्य अभिवृद्धि र वितरण प्रणालीमा माक्र्सवादी दृटिकोण’ विषयक अत्यन्त महत्त्वपूर्ण एवम् समसामयिक अन्तरक्रिया गरिनुका साथै समसामयिक  रचना वाचन गरी सम्पन्न भयो ।

वरिष्ठ आर्थिक विश्लेषक डा.विजय पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोहका अतिथिहरूमा प्रा.डा.खेमनाथ दाहाल, माननीय सानु पहाडी, प्राज्ञ नन्दु उप्रेती, साहित्यकार डम्बर पहाडी, शब्द संयोजन साहित्यिक मासिककी कार्यकारी सम्पादक सुमी लोहनी, साहित्यकार सीताराम नेपाल, वरिष्ठ कवि विधान आचार्य र साहित्यकार स्नेह सायमी हुनुहुन्थ्यो ।

 सन्ध्याकी सदस्य देबु लुइटेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ आर्थिक विश्लेषक एवम् नेकपाका नेता डा.विजय पौडेलले ‘उत्पादन, उत्पादन शक्ति, मूल्य अभिवृद्धि र वितरण प्रणालीमा माक्र्सवादी दृष्टिकोण’ विषयमा बृहत् विश्लेषण गर्नुह्ुँदै माक्र्सवादी अर्थशास्त्रले बाँच्नका लागि उत्पादन गर्नुपर्छ भनेको र एङ्गेल्सले पनि बानरबाट मानिस बन्नमा श्रमले भूमिका खेलेको छ भनेका, ६५ लाख वर्षपहिले बानरबाट मानिस भएको इतिहास फेला परेको, मानव शाकाहारी हो तर खाननपाएपछि मांसाहारी बनेको तथ्य फेला परेको, रुखको फल झार्न वा सिकार गर्न धारिलो ढुङ्गो खोजिएको र क्रमैसँग हतियारको उत्पादन भएको, औजारको आधुनीकीकरण हुँदै गएको, उत्पादनकै क्रममा नयाँ चेतनाको निर्माण हुँदै गएको; मान्छेका दुःख, पीडा, आँसु, हाँसो आदि सबै उत्पादनसँग जोडिने, मानवले पशुबाट खान सिकेको, सगोत्रमा विवाह गर्नुहुन्न भन्ने पनि मानवले पशुबाटै देखेको, सिकेको; उत्पादनले नै भाषाको विकास गर्ने र शब्द निर्माण गर्ने देखिएको जस्तै ननदु=नन्दु=नरोउ । वास्तवमा भाषाको समस्या समाधान गर्न, कुटनीति फस्टाउन र आफ्ना उत्पादन बिक्री गर्न पनि हामीलाई संसारकै अप्ठ्यारो भाषा चाइनिज सिक्नु जरुरी भएको छ । त्यसैगरी निजी सम्पत्तिको थालनीपछि चोरी शब्दको व्युत्पत्ति भएको छ । आजभन्दा १५–२० वर्षअघिसम्म भ्रूणहत्यालाई अपराध मानिन्थ्यो भने अहिले परिवारको समृद्धिका लागि, स्वास्थ्यका लागि भनेर सहज मान्न थालिएको छ । कुनै समयमा विरोधीजति मार्ने चलन थियो तर पछि मार्नुभन्दा काम गर्ने दास बनाउनु ठिक मानियो र दासयुगको सुरुवात भयो । संसारका सबै मानव एउटै आमाका सन्तान हुन्, बाबुहरू फरक, बसाइ, रहनसहन, हावापानीको पृथकताले मानवको स्वरूप फरक भएको छ ।

उत्पादन शक्तिअन्तर्गत श्रम, श्रमका औजार र श्रमका वस्तु पर्दछन् । श्रम र श्रमका औजार परिस्कृत भएसँगै उत्पादनमा नयाँपन र विविधीकरण हुन्छ, आधुनीकीकरण हुन्छ । त्यसैगरी उत्पादनका सम्बन्धका आधारमा हेर्दा मान्छेका बिचमा समानताको युग, दास र मालिकको सम्बन्धको युग, सामन्ती उत्पादनको युग, पुँजीवादी उत्पादनको युग र समाजवादी उत्पादनको युगका आधारमा पहिचान गर्नसकिन्छ । एउटा घरको जगमा उत्पादन शक्ति हुन्छ, त्यसले बनाउने उत्पादन सम्बन्ध हुन्छ र यसलाई अर्थव्यवस्था भनिन्छ । त्यही अर्थव्यवस्था जोगाउन घररूपी देशमा राज्यव्यवस्था हुन्छ र दुइटैको समन्वय समाजव्यवस्था हुन्छ । राज्यव्यवस्थाकै आवश्यकतानुसार संविधान र कानुन बनाइन्छ । उत्पादनशक्ति बदलिएअनुसार नै राज्यव्यवस्थामा परिवर्तन आउँछ । संविधान र कानुनको रक्षा सेना, प्रहरी र गुप्तचरले गर्छन्, जेल र अदालत बन्छन्, प्रणाली चलाउन कर्मचारीतन्त्र आवश्यक हुन्छ र ती सबैको सञ्चालन गर्न विचार, दर्शन, परम्परा, मूल्यमान्यता आवश्यक हुन्छ । अर्थतन्त्र गतिशलि हुन्छ तर कानुन, विचार, दर्शन कम गतिशील हुने हुँदा  जडता देखा पर्छ र द्वन्द्वको सिर्जना हुन्छ । नयाँ दर्शन मान्नेले पनि विकसित चेतनानुसार नचलेका कारण वर्तमानमा असन्तुष्टि र द्वन्द्व बढेको छ । विकासको प्रक्रिया माथि नै जान्छ तर सोझै माथि भने जाँदैन, बिच बिचमा प्रतिगमन हुन्छ तापनि प्रगति र प्रतिगमनका बिचमा द्वन्द्व हुन्छ र केही प्रगति नै हुन्छ । आधारभूत समानता भएन भने, न्यूनतम आवश्यकता परिपूर्ति भएनन् भने जनताको मनोविज्ञान असन्तुष्ट हुन्छ, पहिलेभन्दा यति विकास त भयो नि भनेका भरमा हुँदैन । विकसित देशको पुँजीवादी व्यवस्था, त्यहाँ देखिएको कथित सुख र त्यसैको अवलम्बन चाहिँ मान्छेलाई जीवनभर कङ्गाल बनाउने प्रवृत्ति हो । वस्तुमा मूल्य श्रमले बनाउँछ । मान्छेको श्रम नलगाई घर बन्दैन, कुनै पनि उत्पादन हुँदैन । श्रमले उत्पादनलाई आकार दिन्छ तर त्यही श्रम बाँडिदा बाँडिदा अदृश्य जस्तो देखिन्छ तर श्रम सँगालेर नै पुँजी बन्छ अर्थात् पुँजी भनेको सञ्चित श्रम हो । उत्पादनमा चाहिने पुँजी श्रमले नै सिर्जना गर्दछ भन्नुहुँदै सोदाहरण, सुस्पष्टरूपमा अत्यन्त विशद चर्चा गर्नुभयो ।   

गोष्ठीमा सानु पहाडी, गोविन्दप्रसाद आचार्य, कुमार नेपाल, पदम मुनारी बाहिङ, कमल मिश्र, सुमी लोहनी, डम्बर पहाडी, दुर्गा रिमाल, बाबुराम खनाल, सम्पत काफ्ले, रूपक अलङ्कार, मुकुन्द न्यौपाने, बेनीबहादुर थापा, नन्दु उप्रेती, रश्मि रिमाल, डा.खेम दाहाल, सीताराम नेपाल, अनिता लामा, भावना न्यौपाने, नारायण निरासी, रह शर्मा, विधान आचार्य, जनार्दन धडकन, स्नेह सायमी र रमेश पोखरेलले आआफ्ना कविता, गीत, गजल, हाइकु बाचन गर्नुभयो ।

वाचित सिर्जनामाथि टिप्पणी गर्दै रमेश पोखरेलले वाचित पच्चिसओटा रचनामध्ये एउटा सिर्जना अध्यात्मवादका पक्षमा र एउटा रचनामा थोरै निराशाको स्वर सुनिए पनि बाँकी रचनाले सामाजिक रूपान्तरणको स्पष्ट आग्रह गरेका छन्, साम्राज्यवादका प्रतिको समर्पण र चिन्तनमा आएको स्खलनका प्रतिको चिन्ताभाव व्यक्त गरेका छन्, युवापलायनको पीडा अभिव्यक्त छ, भ्रष्टाचार, उत्पीडन र सेवासुविधाभन्दा पनि जनतामा थोपरिएको करवृद्धिको विरोध गरेका छन्, कवितामा चाडपर्वका नाममा गरिने हिंसाको विरोध गरिएको छ, मातृभूमिप्रेम प्रकट भएको छ, स्वर्गको भ्रममा परेर मान्छेले नराम्रा काम गरिरहेकोमा चिन्ताभाव व्यक्त गरिएको छ, श्रमको सम्मानका पक्षमा वकालत गरिएको छ, सीमा अतिक्रमणको चर्काे विरोध गरिएको छ, राजनीति बोली र व्यवहारमा फरक भइरहेको प्रति चिन्ता र आक्रोश व्यक्त गरिएको छ, गाउँसम्म पुगेको सिंहदरवार जनतापीडक भएकोमा आक्रोश व्यक्त गरिएको छ । चेतना सम्प्रेषणका दृष्टिले अधिकांश सिर्जना उत्कृष्ट रहेका छन्, विकृत यथास्थितिका प्रति आक्रोश व्यक्त गर्दै रूपान्तरणको दन्दुभि बजाउन सफल छन् त्यसैले आजको गोष्ठी अत्यन्त सार्थक रहेको छ भन्नुभयो ।   सभाध्यक्ष राम विनयले आजको यो विशेष समारोह ४०२ औँ नियमित शृङ्खला हो । आज अत्यन्तै गहन, महत्त्वपूर्ण र अहिलेको सन्दर्भमा सामयिक पनि रहेको विषयमा यस विषयका विश्लेषक तथा जानकार डा.विजय पौडेललाई हामीले आग्रह गर्यौँ । उहाँले सहजै स्वीकार गरी आइदिनुभयो र विशदरूपमा अत्यन्त स्पष्टताका साथ चर्चा गरिदिनुभयो । २५ जना स्रष्टाले आआफना रचना वाचन गर्नुभयो । सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । निमन्त्रणा स्वीकार गरी आइदिने सबैप्रति हामी आभारी छौँ । फेरि अर्को शृङ्खलामा कुनै विशेष विषयमा बहस गर्नेगरी उपस्थित हुने छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *