साहित्य सन्ध्यामा ‘कोरोनामहामारीजन्य समयमा साहित्यको भूमिका’ विषयक परिचर्चासहित शुभ कामना आदानप्रदान कविगोष्ठीसम्पन्न

रमेश पोखरेल, २०७८ बैशाख ०४

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१५ औँ शृङ्खला वैशाख ४ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय गोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि व्यवस्थापन तथा कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि अग्रज साहित्यकार प्रा.राजेन्द्र सुवेदी हुनुहुन्थ्यो भने प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष एवम् साहित्य सन्ध्याका सल्लाहकार प्रा.डा.जीवेन्द्र देव गिरी, सन्ध्याका सल्लाहकार विधान आचार्य, डा.रवीन्द्र समीर, प्रा.डा.भीम खतिवडा, अग्रज स्रष्टाहरू सीताराम नेपाल, धीरकुमार श्रेष्ठ, डम्बर पहाडी, गङ्गा कर्माचार्य पौडेल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

जनस्वास्थ्यविद्, महामारीजन्य समयमा मानवजीवनको रक्षा हुनुपर्छ भन्ने मान्यताका साथ सचेतना अभियान चलाइरहनुभएका प्रखर अभियन्ता डा.रवीन्द्र समीरले ‘कोरोनामहामारीजन्य समयमा साहित्य र साहित्यकारको भूमिका’ विषयमा प्रकाश पार्नुहुँदै २०४६÷४७ सालतिर नेपाल ल क्याम्पस र आर.आर.क्याम्पसमा साहित्य सन्ध्याका यस्तै मासिक शृङ्खलामा उपस्थित भएर आफ्ना रचना सुनाएको स्मरण भयो । आजको विषय महामारीसँग सम्बन्धित छ र त्यसमा हाम्रो के दायित्व हुन्छ भन्ने रहेको छ । यससम्बन्धमा म केही तथ्यहरू जानकारी गराउन चाहन्छु । गत वर्षको महामारी अशक्त, वृद्धवृद्धा, दीर्घरोगीका निम्ति बढी हानिकारक थियो तर अहिले यसको स्वरूप बदलिएर यदि एउटा कोठामा कोही कसैलाई सङ्क्रमण भयो भने त्यो कोठामा भएका सबै सबैलाई एकैपटक सार्नसक्ने खतरनाक शैलीमा यो आएको छ र यसको वास्तविक तथ्याङ्क सरकारसँग पनि छैन । अहिलेको महामारीले लक्षण कुनै पनि नदेखाएरै एकैपटक निमोनिया बनाइदिन्छ । कसैलाई पखाला लाग्ने, शरीरमा बिमिरा आउने लक्षण देखाएर पनि सङ्क्रमण भएको पाइएको छ । यसले बालबालिकालाई छिटो सङ्क्रमण गरेको पाइएको छ । सङ्क्रमणको अहिलेको यो चेनलाई तोड्नका निम्ति कम्तीमा तीन हप्ता कलेज तथा विद्यालयका प्रत्यक्ष कक्षा स्थगन गर्नु आवश्यक छ । सरकारी सूचना र निर्देशनको पालन गरिनु अत्यन्त आवश्यक छ । पाएसम्म कुनै पनि नागरिकले खोप लगाउनुपर्दछ । हुन त खोप लगाए पनि कोरोना सर्नसक्छ तर खोपले मृत्युदर घटाउँछ, गम्भीर अवस्थामा पुर्याउने अवस्थालाई रोक्नसक्छ । नयाँ अध्ययनले खोप जस्तोसुकै विरामीले पनि लगाउन मिल्ने देखाएको छ । खोपको नराम्रो असर छैन । खोपको पहिलो मात्राले ६२% र दोस्रो मात्राले ७२% प्रभाव पार्छ । दोस्रो मात्रा आठ हप्तादेखि बार हप्तासम्ममा लगाउनुपर्दछ । जनस्वास्थ्यका मापदण्ड पूरा नगर्ने अनुशासनहीनता बाह्य मुलुकको तुलनामा हामीकहाँ बढी छ । जनस्वास्थ्यका मापदण्ड पालना गराउन सुरक्षाका सबै निकाय परिचालन गराएर भए पनि लागिपर्ने हो भने हामी सुरक्षित हुनसक्छौँ, यो मामलामा हाम्रो देशको गृहप्रशासन केही शिथिल देखिएको छ ! नाक र मुख राम्ररी छोप्नसके मात्र पनि ७०% बच्नसकिन्छ त्यसैले मास्क दुइटा लगाउनु जरुरी छ । हामी साहित्यकारले पनि आफ्ना सिर्जनाका माध्यमबाट जनचेतना फैलाउनु अत्यन्त आवश्यक छ । हामीले सुनेका, देखेका, भोगेका कुराहरू सिर्जनामार्फत अभिलिखित गरिदिने हो भने भावी पुस्ताका लागि पनि उपयोगी सावित हुन्छ । समाजमा कोही कोही कोरोना महामारी नै होइन भन्ने भ्रम फैलाइरहेका पनि छन्, यस्तो प्रवृत्तिलाई चाहिँ षडयन्त्रको सिद्धान्त भनिन्छ । यस्ता अवैज्ञानिक र अपुष्ट कुराका विरुद्धमा पनि साहित्य सिर्जना गरिनु आवश्यक छ । हाम्रै छिमेकी भुटानले भारतसँगको पूरै सिमाना बन्द गरेर परनिर्भरता घटाउने प्रयत्नस्वरूप कृषि, पशुपन्छीमा अत्मनिर्भर हुने र परनिर्भरता घटाउने अभियान नै चलायो, सरकारले लागू गरेका स्वास्थ्य मापदण्डको जनताले पनि पूरै पालना गरे । त्यसैको फलस्वरूप भुटानमा सङ्क्रमणको र मृत्युको दर अत्यन्तै कम रहेको छ, त्यहाँ खोपको धेरै आवश्यकतै परेको छैन, यस्ता अरू मुलुकहरू पनि छन् । हाम्रो साहित्यले यस्तै चेतनामूलक काम गर्ने भूमिका निर्वाह गर्नुपर्दछ । मुलुकले भोगेका सबै विपत्तिका समयमा र आन्दोलनमा साहित्यकारले उल्लेख्य भूमिका निर्वाह गरेका साक्षी पनि हौँ हामी । त्यसैले पनि अहिलेको महामारीका समयमा अत्यन्त सचेतताका साथ आपूm बच्ने र अरूलाई बचाउने दिशामा नै साहित्य सिर्जना गरिनुपर्छछ । जसरी साहित्य सामाजिक रूपान्तरण अभियानको बलियो हतियार हो त्यसैगरी जनचेतना जगाउने प्रभावकारी उपाय पनि हो भन्नुभयो । गोष्ठीमा चूडा निर्भीक, डम्बर पहाडी ‘एलाक’, विधान आचार्य, धीरकुमार श्रेष्ठ, ललिता दोषी, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, बन्दना पौडेल, देबु लुइटेल, रमेश गौतम पाल्पाली, डा.सावित्री श्रेष्ठ, प्रा.डा.भीम खतिवडा, प्रशान्त खरेल, दीव्यलक्ष्मी पोखरेल, कात्यायन, कृष्णदेव रिमाल, गङ्गा कर्माचार्य पौडेल, प्रा.डा.जीवेन्द्र देव गिरी र राम विनयले आआफ्ना कविता, गजल, गीत, हाइकु वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा उपस्थित प्राज्ञिक मित्रहरूलाई नव वर्षको हार्दिक शुभ कामना छ । आजको गोष्ठीमा वाचित सिर्जनामा फरक फरक अभिव्यक्ति आएका छन् । प्रकृतिको नियम नै चलिरहनु हो । सिङ्गो संसार नै चलायमान छ । सकारात्मक ऊर्जा प्रदान गर्ने र सत्यम्, शिवम्, सुन्दरम्का पक्षमा यो नव वर्ष आओस् भन्ने नै हामी सबैको कामना हो । शरीर स्वस्थ भए स्वस्थ भावना, विवेक र कल्पना विकसित हुन्छ अनि साहित्य सिर्जना हुन्छ । आजको यस समारोहमा वर्तमान कोरोना महामारी र अपनाउनुपर्ने सावधानीका बारेमा डा.रवीन्द्र समीरले दिनुभएको अत्यन्त तथ्यपरक, यथार्थपरक अभिव्यक्तिले नेपाली जनतालाई पक्कै पनि सुसूचित गर्ने छ । वास्तवमा स्रष्टाले पीडालाई पनि शक्तिमा र ऊर्जामा बदल्ने काम गर्दछन् । मानवले महामारीजन्य धेरै पीडा व्यहोरेको छ र प्रकृतिमैत्री भएरै अगाडि बढेको पनि छ । आज वाचित कविताले नेपाली समाज, राजनीति, समाजका विसङ्गति आदि अनेकानेक पक्षलाई समेटेका छन् । नेपाली राजनीतिमा यथास्थितिबाट मुक्ति चाहने, गतिशील हुन चाहने वामपन्थीहरूको बहुमत आएको नपचाउनेहरूले फुटाउने, भत्काउने प्रयत्न विगतमा पनि गरेका छन्, गरिरहन्छन् तर त्यसबाट वर्तमान नेपाली राजनीति पनि जोगिनसकेको छैन । यस्तो विसङ्गतिलाई पनि स्रष्टाले गम्भीरतापूर्वक मनन गर्नुपरेको छ । नेतृत्वमा स्वार्थी र परावलम्बी प्रवृत्ति बढेको देखिएको छ । सडकरूपी जनतामाथि त्रूmरतापूर्वक हिँडेको छ सत्ता ! आपूmले भोगेको समय र मान्छेका प्रवृत्तिको शाश्वतीकरण चाहिँ स्रष्टाले गर्छ र आजका कविताले त्यही गरेका छन् । यस्तै विकृत प्रवृत्तिसँग सङ्घर्ष गरेर, मानसिक पीडाबोध गरेर सिर्जनामार्फत स्रष्टाले पाठकसम्म सम्प्रेषण गरिरहेको हुन्छ । आज पढिएका रचना केही छन्दोबद्ध छन् भने केही छन्दमुक्त । प्रत्येक कविताले समाजका वर्ग, लिङ्ग र जातिलाई सचेत पारेका छन् । छोरी सृष्टि हुन् तर लाञ्छित र प्रताडित छन् भन्ने दृष्टान्तका माध्यमबाट निष्ठा र मर्यादाबाट पितृसत्ता च्यूत भएको चिन्ता जाहेर गरिएको छ कवितामा । त्यसैगरी कवितामा अत्यन्त तीव्र दृष्टि सम्प्रेषण गरिएको छ । प्रकृतिमाथि अव्यवस्थित दोहन भएका तथ्यलाई कवितामा उजागर गरिएको छ । थोरैमा धेरै भनिएका बहुअर्थी कविता आएका छन् । वर्तमान जीवनका यावत विसङ्गति निर्मूल हुनुपर्छ भन्ने नै कविताको आग्रह रहेको पाइन्छ । शिल्पपक्षमा त थप साधना आवश्यक हुन्छ नै । समग्रमा आजको गोष्ठी उपलब्धिमूलक रहेको छ । यो अवसर प्रदान गर्ने साहित्य सन्ध्या र अध्यक्षलाई हार्दिक धन्यवाद दिन्छु भन्नुभयो ।

साहित्य सन्ध्याका सल्लाहकार एवम् प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले झण्डै चार दशकदेखि अविच्छिन्न साहित्यिक गतिविधि गरिरहेको र इतिहास बनाएको, साहित्यकारको ठुलो पङ्क्ति निर्माण गरिसकेको र नेतृत्वतहमै पठाउन सफल भइसकेको साहित्य सन्ध्याले अहिलेको असहज वर्तमानमा संसारलाई थर्काइरहेको कोरोनामहामारीका समयमा साहित्यकारले केकस्तो सावधानी अपनाउनुपर्दछ र कस्तो साहित्य सिर्जना गरी सन्त्रास कम गराउन र बच्नसकिन्छ भन्ने विषयमा बहस गर्ने कार्यक्रमको आयोजना गर्नु र त्यसका निम्ति विशेषज्ञ चिकित्सकलाई आमन्त्रण गर्नु अत्यन्त सकारात्मक कार्य हो । त्यसैगरी शुभ कामना आदानप्रदान कवितावाचनका माध्यमबाट असहज वर्तमान सङ्लियोस् भन्ने कामना गर्नु पनि सकारात्मक कार्य हो भन्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा ‘कोरोना महामारी र स्रष्टाको दायित्व’ विषयमा अत्यन्त ज्ञानवर्धक जानकारी दिनुहुने डा.रवीन्द्र समीरज्यू, वाचित सिर्जनामाथि आफ्ना विचारसहित चिरफार नै गरिदिनुहुने प्रमुख अतिथि नेपाली साहित्यका अथक साधक प्रा.राजेन्द्र सुवेदीज्यू, प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष एवम् सन्ध्याका सल्लाहकार प्रा.डा.जीवेन्द्र देव गिरीज्यू, हाम्रो सूचना तथा निमन्त्रणालाई आधार मानेर उपस्थित भइदिने सम्पूर्ण स्रष्टाहरू, प्रविधि व्यवस्था गरिदिने सल्लाहकार विधान आचार्यज्यूलगायत सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु । कोरोनामहामारीका कारण समसामयिक विषयमा बहस गराउने सन्ध्याको प्रयत्न अवरुद्ध भएकोमा यसपटक कोरोनामहामारीकै समयमा साहित्य र साहित्यकारको भूमिका विषयमा गहन परिचर्चा भएको छ । अर्काे महिना पनि यस्तै कुनै समसामयिक विषयमा बहससहित सिर्जनावाचनका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.