रमेश पोखरेल, उपाध्यक्ष साहित्य सन्ध्या
काठमाडौँ, मितिः २०७०।११।३
साहित्य सन्ध्याको ३३५ औँ कार्यक्रम फागुन ३ गते शनिवार अपराह्न १ बजे ‘आर.आर क्याम्पस, प्रदर्शनी मार्ग’मा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त ‘ज्येष्ठ कविका कविता वाचन’ कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरी हुनु हुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ विष्णु प्रभात, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ गजलकार रामबहादुर पहाडी, जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाल उपस्थित हुनु हुन्थ्यो ।
“अग्रज स्रष्टा राष्ट्रका गहना हुन् – जगेर्ना गरौँ ।” “ज्येष्ठ नागरिक देशका प्रतिष्ठा हुन् – सम्मान गरौँ ” भन्ने नाराका साथ सम्पन्न भएको उक्त विशेष एवम् गरिमामय कार्यक्रममा नरेश शाक्य, मोहन दुवाल, तीर्थराज वन्त, आनन्दराम पौडेल, जगन्नाथ आचार्य, रामबहादुर पहाडी, पुनाराम गिरी, तुलसी दिवस, ब्रह्मप्रिय प्रेम स्वरुप, रमेश गौतम ‘पाल्पाली’ र डिल्लीराज अर्याल ज्येष्ठ कवि एवम् युवा कवि रविना घिमिरेले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
उक्त विशेष समारोहमा कविता वाचन सहित आफ्नो मन्तव्य व्यक्त गर्दै वरिष्ठ कवि तुलसी दिवसले आफू साहित्यका प्रति त्यसमा पनि कविताप्रति बढी अनुरागी रहेको, अक्षर रोप्ने साहित्यकारले संसारभरि बाली काट्न पाउने अर्थात् साहित्यको कुनै सिमा नुहने आफूले अनुभुत गरेको; कवि भनेको स्रष्टा पनि हो र आविष्कारक पनि हो । वैज्ञानिकले प्रकृतिमा भएकै कुराको आविष्कार गर्छ तर स्रष्टाले प्रकृतिमा भएको÷नभएको सत्यको आविष्कार गर्दछ र कविताको पहिलो पाठक पनि कवि नै हो । स्रष्टा जहिले पनि उत्तरदायी र जिम्मेवार हुनु पर्दछ । परम्परागत, स्थापित मूल्य र मान्यतालाई पनि नवीन ढङ्गले हेर्ने काम आजका स्रष्टाले गर्नु पर्दछ । त्यसै गरी समालोचक पनि सिर्जनशील हुनु पर्दछ । स्रष्टाले र समालोचकले विचारको विविधतालाई पनि स्विकार गर्नु पर्दछ । स्वायत्तता सबैभन्दा बढी कविलाई चाहिन्छ । कविता ताली वा प्रशंसा पाउनका लागि लेखिने कुरा होइन । व्यक्तिले बाँचेको लामो आयुले उसको महानता स्थापित गर्दैन, सिर्जनशील आयु भने सम्मान योग्य हुन्छ । मान्छे भौतिक रूपमा नरहे पनि उसको सत्कर्मले मानसिक रूपमा बाँचि रहेको हुन्छ । स्रष्टाले इमान्दारीपूर्वक आफ्नो अन्तरआत्माको अभिव्यक्ति उजागर गर्नु नै कविताको सिर्जना हुनु हो । जब कवि आफ्नो कविताको रक्षा र वकालत गर्न सक्तैन त्यस्तो कवि धेरै परसम्म पुग्दा पनि पुग्दैन । राम्रो सिर्जनाले स्वतः ताली प्राप्त गर्दछ, कविताको सामथ्र्य र शक्ति भनेकै यही हो । स्रष्टाले प्राप्त गरेको ज्ञान उसैसँग मरेर नजाओस्, उसले अरूलाई हस्तान्तरण पनि गरोस्, त्यसो भयो भने मात्रै समाजलाई योगदान गरेको ठहरिन्छ । धामीलाई देउता चढे जस्तै हुन्छ कविलाई कविता लेख्दा पनि । स्रष्टा वा सिर्जनशील व्यक्तिको समूह सङ्गठित भएको संस्था अत्यन्त दीर्घजीवी हुन्छ । कुनै पनि स्रष्टाले प्रेममा मात्र कन्द्रित भएर समाजका अन्य पक्ष, लोक भावनालाई तिरस्कार गरी सिर्जना गर्नु हुन्न । जन भावना र त्यसको अन्तर्मर्मलाई स्रष्टाले मनन गर्नु पर्दछ त्यसैले उसले प्रकृतिबाट, अनुभवबाट, लोक जीवनबाट पाठ सिक्नु पर्छ । स्रष्टाको पाको उमेर भनेको जानकार र विज्ञ हुनु पनि हो । हाम्रो समाजमा सिर्जनालाई महत्त्व दिने तर स्रष्टालाई भुल्ने चलन छ, यो ठिक होइन । सिर्जना गर्ने त स्रष्टा हो नि त्यसैले स्रष्टालाई पनि सम्मान गरिनु पर्दछ । कविता सरल र जटिल हुने भन्ने बहस चलेको सन्दर्भमा भने कवितामा शक्ति र समाथ्र्य छ भने त्यो सशक्त हुन्छ, पाठकको क्षमतानुसार कुनै कविता दाँते ओखर पनि हुन सक्छ, कुनै कविता हाडे ओखर पनि हुन सक्छ भन्ने धारणा राख्नु भयो ।
प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले वाचित कवितामाथि टिपपणी गर्दै ज्येष्ठ कविका कविता वाचन गरिएको यो विशेष गोष्ठीमा विषयको विविधता युक्त कविता वाचन भएका, समाजका बेथिति, विसङ्गति उजागर गर्ने र त्यस्ता प्रवृत्तिका प्रति आक्रोश व्यक्त गर्नुका साथै रूपान्तरणको चाहना कवितामा अभिव्यक्त भएको, लोकहित र राष्ट्र निर्माणको सन्देश कवितामा समेटिएको, महिला सम्मानमा जोड दिँदै पशुता र क्रूरताका विरुद्धमा आबाज उठाइएको, राज्य संवेदनशील नभएको र बुख्याँचाहरूको साम्राज्य मडारिएको अवस्थाका प्रति गम्भीरतापूर्वक चिन्ता जाहेर गरिएको; राजनीतिक, सामाजिक चिन्ताका अलावा सवास्थ्यको चिन्ता र सावधानीका विषय पनि कवितामा आएका, सिद्धार्थ र शुद्दोधनको द्वन्द्व देखाउँदै बुद्धत्वका पक्षमा वकालत गरिएका कविता पनि आएका, पद प्राप्तिपछि मान्छेले आफ्नो धरातल बिर्सने प्रवृत्तिका प्रति वयङ्ग्य गरिएको, विम्बात्मक रूपमा प्रकृति चित्रण, समाज सुधार, समतामूलक समाज निर्माणका पक्षलाई कविताले विषय वस्तु बनाएका, अग्रज पुस्ताले नयाँ पुस्तालाई धेरै कुरा दिन सक्छ भन्ने सन्देश गोष्ठीमा वाचित कविताले सम्प्रेषण गरेको पाइएको, कविता धेरै थरीका हुने भए पनि लक्षित समुदायसम्म कविताको सन्देश सम्प्रेषण गर्नका लागि भने सरलताकै पक्ष स्रष्टाले लिनु पर्ने र यस्तो अग्रजको कविता वाचनलाई नयाँ पुस्तासँग समेत जोड्न पाएको भए अझ राम्रो हुन्थ्यो जस्तो लागेको; समालोचकले सर्जकलाई आँखा देखाउने काम गर्दछ र त्यो आवश्यक पनि छ भन्ने समेतको धारणा राख्नु भयो ।
समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्या नियमित मासिक कार्यक्रम हो । यसले हरेक महिना एउटा कुनै न कुनै विशेष विषयमा छलफल तथा बहस गराउने गरेको छ र अर्काे महिनामा पनि कुनै विशेष विषयमा छलफल बहस सहित कविता गोष्ठीको आयोजना गरिने जानकारी सहित जाडोको दिनमा समेत उपस्थित भइ दिने प्रमुख अतिथि, अतिथिहरू तथा सहभागी सबैलाई हार्दिक धन्यवाद दिनु भयो र आफ्नो एउटा कविता वाचन गर्नु भयो अनि गोष्ठीको समापन गर्नु भयो ।