साहित्य सन्ध्यामा ‘दसैँ, यसको सांस्कृतिक महत्त्व र रूपान्तरणको आवश्यकता’ विषयमा विशद चर्चासहित कविगोष्ठी सम्पन्न

विगत अड्तिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३२ औँ विशेष शृङ्खला असोज १ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा विशेष गोष्ठीको आयोजना गरी ‘दसैँ, यसको सांस्कृतिक महत्त्व र रूपान्तरणको आवश्यकता’ विषयमा विशद चर्चासहित कविगोष्ठी गरी सम्पन्न भयो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा संस्कृतिविद् प्रा.डा.कृष्णबहादुर थापा उपस्थित हुनुहुन्थ्यो, विशिष्ट अतिथि प्रा.डा.जीवेन्द्र देव गिरी र अतिथिहरूमा ज्येष्ठ स्रष्टाहरू बेनीबहादुर थापा र रामबहादुर पहाडी, डा.नारायणप्रसाद चौलागाईँ, गायत्रीकुमार चापागाईँ, अग्रज स्रष्टा स्नेह सायमि, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल, उपप्रा.ज्ञानु विद्रोही, प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशका बैरागी जेठा उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा.कृष्णबहादुर थापाले ‘दसैँ, यसको सांस्कृतिक महत्त्व र रूपान्तरणको आवश्यकता’ विषयमा विशद चर्चा गर्नुहुँदै मानव भन्नेबित्तिकै संस्कृतिका निर्माता हुन् । हाम्रा जातीय, क्षेत्रीय थुप्रै संस्कृति छन् । समाजको निर्माणसँगै हरेक मान्छेले एउटा न एउटा धारणा निर्माण गर्दछ । ईश्वरको सृष्टिले मानव र समाजको उत्पत्ति भएको हो भन्ने एउटा धारणा र समाजविकासको क्रम वा प्रकृतिको नियम मान्ने अर्काे धारणा समाजमा व्याप्त छन् । समाजमा विद्यमान कुनै पनि पर्व वा संस्कृतिमा रूपान्तरण वा परिवर्तन हुन चाहिँ संस्कृतिका ठिक कुरालाई जगेर्ना गर्ने र गलत कुरालाई परिवर्तन गर्ने व्यवहारबाट मात्र सम्भव छ । राजनीतिजस्तो सहज तरिकाले संस्कृतिमा रूपान्तरण हुँदैन । पञ्चतत्त्व भनेको नै प्रकृति हो, सजीव र निर्जीव प्राणीको बनोटको प्रकृति फरक भए पनि सिर्जना चाहिँ प्रकृतिकै हो । मानव आजको अवस्थामा आउनु चाहिँ बुद्धिको फरकले गर्दा हो । त्यही बुद्धिको प्रयोग नभएको भए जङ्गली अवस्थाबाट मानव बच्नु सम्भव थिएन । मान्छेले नै संस्कार, संस्कृति, मूल्यमान्यता निर्माण गरेको हो । यथार्थमा ईश्वरले मान्छे बनाएको नभई मान्छेले ईश्वर बनाएको हो । समय वा प्रकृतिकै परिवर्तनअनुसार मानव पनि परिवर्तन हुन्छ ।


हाम्रो देशमा विविध धार्मिक विश्वास, जातीय विविधता छ तर अहिले विविधताका भन्दा विभेदका कुरा उचाल्ने प्रयत्न भइरहेको पाइन्छ ! विचारको समानता हुनुहुन्न तर विविधताभित्र समानता आवश्यक छ । रूपान्तरण भन्ने कुरा आजको भोलि हुँदैन, सम्भव छैन । वर्गीय समानताका कुरा यतिखेर नारामा सीमित छन् । राजनीतिक परिवर्तनले सांस्कृतिक रूपान्तरणमा धेरै सहजीकरण गर्नुपर्छ, गर्नसक्थ्यो तर त्यो अपेक्षा पूरा हुन सकेन ! हाम्रा संस्कृति वा सामाजिक प्रचलनका राम्रा कुराहरूलाई जोगाउँदै समयसापेक्ष पार्ने र गलत कुराहरूलाई हटाउने वा परिवर्तन गर्ने दिशामा राजनीतिले अलि कसरत गरेको भए सम्भव थियो तर भएन ! हाम्रा सांस्कृतिक मूल्यमान्यतामा विकृति छन् तर तिनको निराकरणमा सामाजिक, आर्थिक, नीतिगत सुधारका कुराहरू ल्याउने, कार्यान्वयन गर्ने, सचेतना भर्ने गर्नसकिन्थ्यो तर प्रयत्न नै भएन ! समाजको वर्गीय चरित्र यथावत राखेर रूपान्तरणको अपेक्षा पूरा हुनसक्तैन किनभने रूपान्तरणको प्रक्रिया निकै जटिल छ । दसैँ पर्व भनेको यो यो जातको हो त्यसैले मान्दैनौँ भन्नेहरू पनि छन् तर त्यही विचार पनि त हराइरहेकै छ । हाम्रा संस्कृतिमा यी यी विकृति हुन् भनेर किटान गर्न पनि कठिन छ । सबै सरोकारवालाहरूसँग छलफल गर्ने र सहमतिमा पुगेर रूपान्तरणको थालनी गर्ने हो भने रूपान्तरण केही सहज हुन्छ । मन्दिरमा हुने पशुबलि नराम्रो हो भनिन्छ तर स्लटर हाउसमा हुने काटमार चाहिँ ठिक हो त ? प्रमुख कुरा त मानवमस्तिष्कमा रहेको अन्धविश्वासमा रूपान्तरण आवश्यक छ । हाम्रा संस्कारमा अत्यन्त राम्रा गुण पनि छन् र अत्यन्त नराम्रा गुणहरू पनि छन्, रूपान्तरण गर्नुपर्ने कति हो कति कुरा छन् तर व्यक्तिका तहबाट मात्र हुने प्रयत्न रूपान्तरणका लागि पर्याप्त हुँदैन । सांस्कृतिक रूपान्तरणमा सरकारी प्रयत्न, नीतिनिर्माण, सहजीकरण, बहस, छलफल र निष्कर्ष बढी अपेक्षित हुन्छ भन्ने धारणा राख्नुभयो ।


विशिष्ट अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले आजको यो विशिष्ट र सभ्य समारोहमा साहित्य सन्ध्याले महत्त्वपूर्ण विषयमा बहस गरेको छ । साहित्य सन्ध्या भनेको विचारको प्रक्षेपण गर्ने, युवा पुस्तालाई परिचालन गर्ने र झक्झक्याउने संस्था हो । आज चर्चा गरिएको विषय संस्कृतिमा वैज्ञानिकीकरण र रूपान्तरण आवश्यक छ । समाजमा वर्ग र विचारका धुरी कायम रहुन्जेल यस्तो बहस चलि नै रहन्छ । विचारले समात्ने र समेट्ने काम गर्ने हो, यसैले रूपान्तरण गर्नसक्छ । परिवर्तन आवश्यक छ तर यो तत्कालै नहुन पनि सक्छ तथापि यसका पक्षमा निरन्तर चिन्तनमनन गर्ने, बहस गर्ने र प्रहार गर्ने काममा विचारका माध्यमबाट लागिरहनु आवश्यक छ । केही न केही सकारात्मक परिवर्तन भइ पनि रहेका छन् । नेपालको राजनीतिक परिवर्तन त्यसै भएको होइन । वैज्ञानिक विचारको ग्रहण समाजले गर्दै जाने छ । अपमानका, विभेदका, अन्धविश्वासका र रुढिका कुरालाई परिवर्तन गर्न निरन्तर प्रहार गरिरहनुपर्दछ । अर्थात् उदाउने चिजका पक्षमा लाग्ने र अस्ताउने चिजलाई त्याग्ने गर्नुपर्दछ । हामी लेखकको लेखनको धार पनि यसै दिशामा केन्द्रित गर्नु आवश्यक छ किनभने विचार नै परिवर्तनको बलियो हतियार हो भन्ने धारणा राख्नुभयो ।


गोष्ठीमा पञ्चकुमारी परियार, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, डम्बर पहाडी, खेमराज निरौला, विन्दु अधिकारी ढकाल, रश्मि रिमाल, गायत्रीकुमार चापागाईँ, कात्यायन, डा.नारायण चौलागाईँ, कुमार नेपाल, सविता ढुङ्गाना दाहाल, बैरागी जेठा, प्रशान्त खरेल, वासुदेव अधिकारी, गङ्गा कर्माचार्य पौडेल, डा.विनोद ढकाल, शिवप्रसाद आचार्य, गोपालकुमार मैनाली, रामबहादुर पहाडी, बेनीबहादुर थापा र स्नेह सायमिले आआफ्ना कविता, गीत, गजल, हाइकु वाचन गर्नुभएको थियो ।


वाचित रचनामाथि टिप्पणी गर्दै उपप्रा.ज्ञानु विद्रोहीले गोष्ठीमा वाचित रचना सुनेका आधारमा समीक्षा गर्नलागेको भन्नुहुँदै दुई स्रष्टाले एलाक, चार स्रष्टाले छन्दका कविता, दुईटा गजल र तेरओटा गद्यकविता आज वाचित भएका छन् । मानवेतर विषयलाई मानवसँग जोड्ने कार्य पनि आजका केही कविताले गरेका छन् । नवीन विम्बको प्रयोग भएको छ, पुँजीवादी प्रभावको सशक्त चित्रण केही कविताले गरेका छन् । देशप्रेम, विदीर्ण वर्तमान र प्रकृतिमहिमाको चित्रण कवितामा गरिएको छ । सरल र सम्प्रेष्य भाषाका माध्यमबाट मानवीय स्वभावको प्रतिविम्बन पनि कवितामा गरिएको छ । आजको गोष्ठीमा पुस्तान्तरणको सुन्दर प्रयोग भएको छ र तीन पुस्ताका सिर्जना सुनिएका छन् । अनुभवी पुस्ता, जिम्मेवारी लिइरहेको पुस्ता र जिम्मेवारी हस्तान्तरणको तयारी गरिरहेको पुस्ता एकै ठाउँमा भेला भएको छ । तथापि हामीले कवितामा शिल्पपक्षलाई कतै न कतै जोड्नु आवश्यक भने देखिएकै छ । विगतको पीडा, वर्तमानको नीरस अवस्था र भविष्यका प्रतिको आशावादिता कवितामा अभिव्यक्त भएको छ । स्खलित नेतृत्वको आलोचना, खबरदारी र सचेत विद्रोह पनि कवितामा सशक्तरूपमा देखापरेको छ । अबका सिर्जनमा स्रष्टाले केकस्ता विषयमा लेख्ने र कवितालाई कसरी सुन्दर बनाउने भन्ने विषयमा पनि बहस आवश्यक नै रहेको छ । समग्रमा चाहिँ आजको गोष्ठी निकै उपलब्धिमूलक रहेको छ भन्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा हामीले नजिकै आइरहेको हाम्रो सांस्कृतिक पर्व ‘दसैँ, यसको महत्ता र रूपान्तरणको आवश्यकता’ विषयमा विशेषज्ञ व्यक्तित्वबाट परिचर्चा सुन्यौँ । सामाजिक होस् या सांस्कृतिक होस् रूपान्तरणका लागि वर्गीय सचेतता र वैचारिक आग्रह आवश्यक हुन्छ । प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरू, स्रहष्टाहरू आजको यो समारोहमा हाम्रो निममन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुभयो त्यसका लागि हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार हुने सन्ध्याको विशेष समारोहमा उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.