साहित्य सन्ध्यामा ‘दसैँ पर्व र यसको समावेशी ऐतिहासिकता’का बारेमा चर्चा तथा कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौँ
२०७२।६।२

साहित्य सन्ध्याको ३५३ औँ कार्यक्रम असोज २ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘दसैँ पर्व र यसको समावेशी ऐतिहासिकता’का बारेमा परिचर्चा एवम् कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि संस्कृतिविद् डा.जगमान गुरुङ हुनु हुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ विष्णु प्रभात, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, ब्रह्मप्रिय प्रेमस्वरूप, साहित्य सन्ध्याका सल्लाहकार द्वय वासुदेव अधिकारी र प्रा.जगत् उपाध्याय प्रेक्षित, हेमनाथ पौडेल, नरबहादुर बी.सी., शब्द संयोजन साहित्यिक मासिककका कला संयोजक गणेशकुमार जी.सी., वरिष्ठ कवि कणाद महर्षि, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय उपस्थित हुनु हुन्थ्यो ।

image

गोष्ठीको प्रारम्भमै भागवत आचार्यले समाज निर्माणमा साहित्यकारको महत्त्वपूर्ण भूमिका रहेको, हाम्रो नजिकिएको महान चाड दसँैको बारेमा समाजमा रहेको भ्रम निवारण गरी यसको समावेशी ऐतिहासिकताका बारेमा सबैमा जानकारी हुनु पर्ने र स्रष्टाका बिचमा छलफल तथा बहस हुनु आवश्यक ठानी संस्कृतिविद् डा.जगमान गुरुङलाई आमन्त्रण गरिएको जानकारी सहित निमन्त्रण स्वीकार गरी आइ दिनु हुने सबै सबैलाई स्वागत गर्दै हार्दिक आभार व्यक्त गर्नु भयो ।
image

साहित्य सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनाली आफ्नी धर्मपत्नीको मृगौलाको उपचारका लागि दक्षिण भारतमा जानु भएकै अवस्थामा यही भदौ २४ गते शुक्रवार उहाँकी ममतामयी आमा चन्द्रमाया मैनालीज्यूको ८६ वर्षको उमेरमा झापामा देहावान भएको हुँदा मृतात्माप्रति हार्दिक श्रद्धाञ्जलि एवम् शोक सन्तप्त गोपाल मैनाली तथा परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै एक मिनेट मौन धारण गरी गोष्ठीको थालनी गरियो ।
image

गोष्ठीका प्रमुख अतिथि संस्कृतिविद् डा.जगमान गुरुङले नेपालीले दश दिनसम्म मनाउने पर्व भएकाले यसको नाम दसैँ रहेको, हामी नेपाली फरक फरक संस्कृतिमा बाँचेका छौँ, दसैँ मनाउने परम्परा भने खस संस्कृति हो, हामी नेपालीको पहिचान तथा हाम्रो सांस्कृतिक मान्यताको आधार हेर्ने हो भने हामीबिच जातीय समानता छ । हरेक जातजातिका मान्छेले आआफ्नै तरिकाले दसैँ मान्ने चलन रहेको छ । कुरुक्षेत्रको युद्धले तहसनहस पारेको तत्कालीन पौराणिक समाजलाई जोगाउन, राष्ट्र जोगाउन रामायण र महाभारतका पात्रको नामबाट दसैँमा आशीर्वाद दिइने श्लोक निर्माण भएको छ तर मान्छेले कुरै नबुझी यो चाड भनेको बाहुन क्षेत्रीको मात्र हो, रातो रङ भनेको रगत हो त्यसैले हामीले सेतो टीका लगाउनु पर्छ भन्ने भ्रम छरेका छन्, त्यो नबुझी गरिएको टिप्पणी मात्र हो । हाम्रो देशमा कसैले कसैलाई दबाएको छैन, सबैमा समानता छ । राई लिम्बूले समेत सुँगुर काटेर अक्षतामा रगत चुहाएर टीका मुछ्ने चलन अद्यापि रहेको छ अनि कसरी दसैँ बाहुन क्षेत्रीको मात्र चाड भयो ? यो भ्रम मात्र हो, नबुझी छाँटिएको पण्डित्याइँ मात्र हो । बेलायती फौजमा क्रिस्चियनले समेत पहिले मौलोमा पूजा गरेर आफूले ढोगी सम्पूर्ण सैनिकलाई टीका लगाइ दिन्छ । त्यसैले दसैँ भनेको समावेशी चाड हो, यसले तिन चार पुस्तालाई एकै ठाउँमा भेट गराइ दिने गर्छ भन्ने ऐतिहासिकता समेतलाई तथ्य सहित प्रस्तुत गर्नु भयो ।    
image

गोष्ठीमा ओमप्रसाद कोइराला, नवराज श्रेष्ठ, भोलानाथ सुवेदी, कणाद महर्षि, मुकुन्द न्यौपाने, गोपाल नेपाल, अभ्यस्त यात्री, जगत् वाशिष्ठ, जयन्ती स्पन्दन, पुनाराम गिरी, रेशम विरही, वासुदेव अधिकारी, जनार्दन धड्कन, जङ्ग पहाडी, नरबहादुर बी.सी., ऋषिराम अर्याल, पुण्य गौतम ‘विश्वास’, असीम सागर, डम्बर पहाडी, भागवत आचार्य, लीलाराज दाहाल, प्रशान्त खरेल, डम्बरध्वज लिम्बू, प्रेमराज सिलवाल, विष्णुप्रभा उपाध्याय, केशवराज अर्याल, डा.रामप्रसाद ज्ञवाली, प्रदीपरत्न शाक्य, हिरामणि पाण्डे, कृष्ण गौतम, रश्मी रिमाल, यदुनाथ वसन्तपुरे, भारद्वाज मित्र, पुरुषोत्तम पौडेल, आत्माराम शर्मा, मणिराज सिंह, नारायण निराशी, निर्भीक राई, सानु पहाडी र गोमा कटुवालले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए ।

प्राज्ञ एवम् चिन्तक विष्णु प्रभातले दसैँ मनाउने परम्परा तथा प्राचीन ग्रन्थ ऋग्वेदमा रहेका व्यवस्थाका बारेमा तथ्यगत रूपमा थप प्रकाश पार्नु भयो भने डा.रामप्रसाद ज्ञवालीले सभा भनेको सभ्य मान्छे बस्ने थलो हो भनिन्छ तर गोष्ठीमा उपस्थित मित्रहरूको गोष्ठीका प्रति ध्यान कमजोर भएको हो वा कविता सुन्ने संस्कृति कमजोर भएको हो ? कविता कमजोर हुन् वा सुन्ने धैर्यता कमजोर हो ? आफ्नो कविता सुनाएर हिँड्ने हतारो अलि बढी देखिएको प्रति चिन्ता व्यक्त गर्नु भयो ।   

गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ । आज हामीले मनाइ आएको महान चाड दसैँ र यसको ऐतिहासिकताका बारेमा चर्चा गर्ने र त्यसमा समसामयिक रूपान्तरणका पक्षमा बहस चलाउनका लागि यो विषय रोज्यौँ । यस कार्यक्रममा उपस्थित भई संस्कृतिविद् डा.जगमान गुरुङले विस्तृत रूपमा अनि तथ्यगत रूपमा दसैँको परिचय, यसको ऐतिहासिकता, समावेशिताका बारेमा आफ्ना धारणा राखि दिनु भयो । स्रष्टाहरूले आआफ्ना उत्कृष्ट रचना वाचन गरि दिनु भयो, सबै सबैलाई हार्दिक धन्यवाद छ भन्दै गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *