रमेश पोखरेल
साहित्य सन्ध्या, काठमाडौँ
मितिः २०७१।१२।७
साहित्य सन्ध्याको ३४७ औँ कार्यक्रम चैत्र ७ गते शनिवार अपराह्न १ बजे ‘आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘दार्जेलिङको प्रगतिशील साहित्य’ विषयक परिचर्चा सहित कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, सभासद् एवम् साहित्यकार शान्ता मानवी, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ कवि कणाद महर्षि, समालोचक प्रा.गंगा अधिकारी उपस्थित हुनु हुन्थ्यो ।
गोष्ठीको प्रारम्भमै सञ्चालक रमेश पोखरेलले प्रगतिशील साहित्यको उत्थानमा विगत बत्तिस वर्षदेखि अविच्छिन्न रूपमा हरेक महिनाको पहिलो शनिवार सञ्चालन भइ रहेको साहित्य सन्ध्यामा आज ‘दार्जिेलिङको प्रगतिशील साहित्य’का बारेमा विशेष चर्चा गरिने र कविता वाचन गरिने जानकारी दिनु हुँदै विशेष चर्चाका लागि मेची क्याम्पसमा प्राध्यापन गरि रहनु भएका समालोचक प्रा.गंगा अधिकारीलाई अनुरोध गरिए मुताविक उहाँ उपस्थित समेत भइ दिनु भएकोमा स्वागत गर्नु भयो साथै हालै त्रिभुवन विश्व विद्यालयले उहाँलाई प्राध्यापकमा बढुवा गरेकोमा साहित्य सन्ध्याका तर्फबाट हार्दिक बधाई समेत दिनु भयो ।
गोष्ठीमा कविहरू डिल्लीराज अर्याल, रूपक अलङ्कार, असीम सागर, पूर्ण विराम, राम विनय, रमेश पोखरेल, अतृप्त पाण्डेय, कणाद महर्षि, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, ब्रह्मप्रिय प्रेमसवरूप, जय गौडेल, इन्द्रजित शर्मा चौलागाईँ, दीपा चौलागाईँ, अभ्यस्त यात्री, डम्बरध्वज लिम्बू, कृष्णदेव रिमाल, प्रेमराज सिलवाल, गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, रामप्रसाद उपाध्याय, भोलानाथ सुवेदी, अशोक सुवेदी, पुण्य गौतम ‘विश्वास’, ऋचा, ललिता दोषी, उर्मिला पन्त पाण्डेय, रश्मि रिमाल, रमेश गौतम ‘पाल्पाली’, प्रमोद स्नेही, यदुनाथ वसन्तपुरे र भागवत आचार्यले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।
गोष्ठीमा ‘दार्जेलिङको प्रगतिशील साहित्यको अवस्था’ विषयक गोष्ठीपत्र समालोचक प्रा.गंगा अधिकारीले विस्तृत रूपमा प्रस्तुत गर्नु भयो । उक्त गोष्ठीपत्र शब्द संयोजन साहित्यिक मासिकमा प्रकाशित समेत गरिने छ ।
प्राज्ञ विष्णु प्रभातले गोष्ठीमा वाचित कविता तथा प्रेषित गोष्ठीपत्र समेतमा टिप्पणी गर्नु हुँदै कविता पुरातनवादी चिन्तन राख्ने, यथास्थितिमा रूपान्तरणको आग्रह गर्ने र क्रान्ति चेतना सम्प्रेषण गर्ने खालका वाचन भएका; वास्तवमा कविको सिर्जना र उसको वाचन पनि दर्शनसँग सम्बन्धित हुने; आफ्नो संस्कृति, इतिहास र दर्शनको गहन अध्ययन नगर्ने र अहम् प्रदर्शन गर्ने रोगबाट स्रष्टा मुक्त हुन नसकेका; जीवनलाई खुसीसाथ सकार्नु पर्दछ निराशामा बाँच्नु हुँदैन भनेर करिब छब्बिस सय वर्षअघि नै बुद्धले भन्नु भए अनुसार स्रष्टाले मानव कल्याण, शान्ति, जातीय एवम् राष्ट्रिय एकता, समुन्नति र युगबोधका पक्षमा लेख्नु पर्दछ र लेखन तथा वाचनमा स्रष्टाले साधना गर्नु आवश्यक छ; स्रष्टाले सिर्जना गरि सकेपछि कम्तीमा तिन पटक परिष्कार गर्नु पर्दछ भन्ने धारणा राख्नु भयो । साहित्य सन्ध्याले कहिले काहीँ दश ओटा स्तरीय स्रष्टाका स्तरीय कविता मात्र छानी गोष्ठी गर्ने र चर्चा गर्ने कार्य पनि गर्नु उपयुक्त हुन्छ । स्रष्टाको सिर्जनालाई वा लेखनलाई परिष्कार गर्नका लागि समालोचना वा अनुसन्धान आवश्यक हुन्छ । आजको गोष्ठीमा दार्जेलिङको प्रगतिशील साहित्यको अवस्थाका बारेमा गोष्ठीपत्र प्रस्तुत भएको छ । विद्वान प्राध्यापकले
मिहिनेतपूर्वक गोष्ठीपत्र तयार गर्नु भएको छ र यो महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज हुने छ भन्ने विचार समेत व्यक्त गर्नु भयो ।
गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ । आज दार्जेलिङबाट नेपाली साहित्यमा भएको योगदान समेतको मूल्याङ्कन गरी त्यहाँको प्रगतिशील साहित्यको अवस्था कस्तो रहेको छ भन्ने जानकारी लिनका लागि विद्वान प्राध्यापकलाई हामीले अनुरोध गर्यौँ, उहाँले मिहिनेत गर्नु भएको छ, यो छापिएपछि थपघटको कुरा आउला नै । अहिले हामी उहाँलाई यो महत्त्वपूर्ण कार्यका लागि धन्यवाद भन्छौँ । अर्काे कार्यक्रममा कुनै विशेष विषय लिएर उपस्थित हुने नै छौँ भन्दै आइ दिनु हुने सबै सबैमा हार्दिक धन्यवाद सहित गोष्ठीको समापन गर्नु भयो ।