साहित्य सन्ध्यामा ‘नववर्ष विशेष कविगोष्ठी’ सम्पन्न

मितिः २०७०।१।७, काठमाडौँ
रमेश पोखरेल, उपाध्यक्ष – साहित्य सन्ध्या

साहित्य सन्ध्याको ३२६ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘नववर्ष विशेष कविगोष्ठी’को आयोजना गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो ।

साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वयोवृद्ध स्रष्टा एवम् पुष्पलालका समकक्षी तथा भूपि शेरचनलाई २००६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गर्ने हर्ष सयाङ्बो, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
गोष्ठीमा बालकवि द्वय प्रलिसा अधिकारी, प्रजिसा सत्याल, परशुराम पराजुली पराशर, अल्फाली साँझ, मोहनमणि पोखरेल, विजय विश्वास, प्रेमराज सिलवाल, रमेश गौतम पाल्पाली, अतीन्द्र दाहाल, कृष्णदेव रिमाल, जी.के.एन.खडेरी, भोलानाथ सुवेदी, लीलादेवी शर्मा ‘तर्कना’, विकास सिलवाल, ब्रह्मप्रिय प्रेम स्वरूप, गोपाल नेपाल, ध्रुवराज घिमिरे, नर्मदेश्वरी सत्याल, पुण्य गौतम विश्वास, पारस ढकाल, तारा गाउँले रसुवाली कवि, प्रमोद स्नेही, अतृप्त पाण्डे, रूपक अलङ्कार जय गौडेल, इन्दु अंशु जटारे, वैरागी जेठा, अनुज गन्मी, शङ्कर घिमिरे ‘सिउँडेली’, पुष्पा पलाँस, रामप्रसाद प्रदीप, हर्ष स्याङ्बो र पूर्णविरामले  आआफ्ना कविता, गीत, गजल, तान्का वाचन गर्नु भएको थियो ।

वाचित सिर्जनामाथि सन्ध्याका सल्लाहकार एवम् अग्रज साहित्यकार वासुदेव अिधकारीले टिप्पणी गर्नु हुँदै कविताहरू समसामयिक धारामा लेखिएका, गद्यमा बढी र पद्यमा कम लेखिएका, केही शास्त्रीय छन्दमा लेखिएका शिल्प तथा गेयात्मकताका दृष्टिले निकै उत्कृष्ट समेत रहेका, विषयको विविधता रहेको र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषय समेटिएका, देशको पीडा, मर्म र व्यथालाई उजागर गरिएका, सुन्दर बिम्ब तथा प्रतीकको प्रयोग गरिएका, प्रस्तुतिको शैैलीमा नवीनता देखा परेको, बालकदेखि वृद्धसम्मले कविता वाचन गरेका, कतिपय कविका कवितामा स्वर एवम् लय प्रखर रहेको तर वैचारिकता अल्मलिएको पाइएकाले त्यसमा पनि ध्यान दिनु पर्ने, निराशा र हतासा जस्ता पक्षलाई हटाउँनु पर्ने देखिएको, मूलतः साहित्य सन्ध्याको उद्देश्य साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको प्रगतिशील आग्रह रहेकाले स्रष्टाले त्यो पक्षमा ध्यान पुर्याई यो एक खालको कार्यशाला पनि भएकाले वृद्ध तथा स्थापित स्रष्टाको सिर्जना शैलीबाट सिक्ने सकिने र तदनुरूप आफूलाई परिष्कृत गर्ने सकिने हुँदा त्यसतर्फ सचेत हुँदै सामाजिक, साँस्कृतिक एवम् राजनीतिक विकृतिका प्रति स्रष्टाले अझ सशक्त रूपमा प्रहार गर्नु पर्ने अवस्था अहिले झन् टडकारो रहेको र त्यस पक्षमा धेरै कविताहरू सचेत समेत रहेका पाइएकाले गोष्ठी उपलब्धिमूलक रहेको, सिकारु कविले भने कविता माझ्ने तथा वाचन कला अग्रजबाट सिक्नु पर्नेतर्फ विचार गर्नु पर्ने धारणा राख्नु भयो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा सासामयिक विषयमा परिचर्चा पनि गरिने गरिएकोमा यस पटक नववर्षको उपलक्ष्यमा विशेष कविगोष्ठीको मात्र आयोजना गरिएको र अर्काे गोष्ठीमा कुनै समसामयिक विषयको चर्चाको जानकारी सहित आमन्त्रण गरिने व्यहोराको जानकारी सहित गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *