रमेश पोखरेल, काठमाण्डु
शनिबार, बैशाख ३, २०७९
साहित्य सन्ध्याको विगत दुई वर्षदेखि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक गोष्ठीको ४२७ औँ शृङ्खला वैशाख ३ गते शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा शुभकामना विशेष गोष्ठीसहित ‘नेपालको मौलिक दर्शन’ विषयमा परिचर्चाको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा दार्शनिक चिन्तक प्राज्ञ विष्णु प्रभात उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रूपमा डा.नारायण चौलागाईँ, रामबहादुर पहाडी, गोपालकुमार मैनाली, प्रगतिशील लेखक सङ्घ काठमाडौँ जिल्ला अध्यक्ष ज्ञानु विद्रोही, सीताराम पद्मकुमारी फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।
साहित्य सन्ध्याकी सदस्य देबु लुइटेलको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि प्राज्ञ विष्णु प्रभातले ‘नेपालको मौलिक दर्शन’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२७ औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन भएको साहित्य सन्ध्या यथार्थमा अविरल बगिरहेको नदी हो । आजको सन्ध्याको यो विशेष समारोहमा हामी गहन एवम् गम्भीर विषयमा बहस चलाइरहेका छौँ । दर्शन भनेको भावनाको विषय होइन, दर्शन भन्नेबित्तिकै यो तर्कसम्मत हुने गर्दछ । दर्शन संस्कृतबाट आएको शब्द हो । धेरै सत्यहरूका बारेमा छलफल गरेर दर्शन निष्कर्षका रूपमा आएको हुन्छ । नेपालका मौलिक दर्शनहरूमध्ये प्रकृतिपूजा पहिलो हो । यसको उत्पत्ति डोल्पा जिल्लाको छारकाबाट भएको र यो तीन हजारदेखि पैँतिस वर्ष पहिलेको दर्शन हो भन्ने मानिएको छ । कपिलवस्तुमा कपिलमुनिका समयका सभ्यताका चिह्नहरू प्राप्त छन् । मान्छे घुमन्ते अवस्थाबाट विस्तारै विस्तारै तर्क गर्ने, खोजअनुसन्धान गर्ने कार्यमा सरिक भयो । त्यसपछि प्रकृति नै सर्वाेपरि हो भन्ने चिन्तन हुर्कियो । ठुला रुखमा पितृ बस्ने ठानेर पिपलआदिको पूजा गर्ने, ठुला ओडारको पूजा गर्ने यो प्रकृतिपूजक दर्शनलाई इशापूर्व दश हजारदेखि सात हजार वर्ष पहिलेको अर्थात् ऋग्वेदभन्दा पहिलेको दर्शन मानिन्छ ।
पोन (गैरआर्य) र मोन (आर्य) गरी दुई जातीय समाज रहेको, गैरआर्य भनेका सिपमा बाँच्ने शिल्पी मानिएका प्रमाणहरू डोल्मा, हुम्ला, मनाङतिरका गुफामा पायएका तथ्यले पुष्टि गरेका छन् । ऐतिहासिक सामग्री पाइएको पोन सभ्यतालाई अङ्ग्रेजले ‘पी’लाई ‘बी’ उच्चारण गरेर बोन लेख्ने गरेको पाइन्छ । प्रारम्भदेखि अहिलेसम्मको शाश्वत सत्य भनेको पदार्थ हो, अर्थात् प्रकृति हो । धर्म, ईश्वर भन्ने अनुमान मात्र हो, यथार्थ होइन । शंकराचार्यले सरकारी शैन्यबलसमेतका आधारमा अद्वैत वेदान्तको स्थापना गरे । यज्ञवल्कले यजुर्वेद लेखे र त्यसमा उनले शरीर र आत्मावादी चिन्तन अघि सारेका छन् । ब्रह्म सर्वाेपरि छ भन्ने उनको भनाइमा गार्गीले अविश्वास गर्दा यज्ञवल्कले धम्क्याएको चर्चा पाइन्छ । सुरुमा पृथ्वी, जल, वायु र अग्नि गरी चार तत्त्वको चर्चा रहेको पाइन्छ । प्रकृति, जीवन, सदाचारका पक्षमा वकालत गर्ने प्रकृतिपूजक चिन्तन वा बोन दर्शन हो । रामायणमा चारवाक दर्शन पक्षधर ऋषि देखिन्छन् र उनले राजा दशरथले गरेको आदेशको पालना आवश्यक छैन भन्ने विपरीत मान्यता राखेका छन् तर महाभारतमा युधिष्ठिरको जय होइन, यो त भाइ मारेर गरिएको पराजय हो भन्दा उनलाई कुटेर मारिएको छ । भौतिकवादी चिन्तन राख्नेलाई दबाइएको इतिहास देखिन्छ । पछि सर्वदर्शन प्रकाशित गर्दा चारवाक दर्शनलाई पनि त्यसैमा समावेश गरिएको छ ।
आठौँ शताब्दीमा रिम्पोछे पद्मसम्भवले बोनलाई (द्वैतवाद) दबाएर एकापट्टि मात्र बज्ने ढ्याङ्ग्रोको चलन चलाए, अद्वैतवाद लादे । तिब्बतमा पद्मसम्भवलाई नमान्नेलाई लखेटे, मुस्ताङसम्म आएर गुम्बा बनाएको, लामायन चिन्तन स्थापना गरेको इतिहास फेला परेको छ । बोन चिन्तन नेपालबाट रसिया हुँदै साइबेरियासम्म प्रसार भएको चर्चा मदनमणि दीक्षितले आफ्नो पुस्तकमा गरेका छन् । संस्कृतिको विकास, पशुपालनको थालनी नारीले गरेका, नारी सत्ता रहेको हुँदा गौतम बुद्धले आफ्नो शाक्य थर नलेखेर आमाको गौतम थर लेखेबाट प्ुष्टि हुन्छ । बोन दर्शनले शुभसूचक चिह्नका रूपमा स्वस्तिक चिह्न प्रयोगमा ल्याएको पाइन्छ । यसै सिलसिलामा देवीपूजनको संस्कृति विकसित भयो । मष्टोपूजक, लिङ्गोका माध्यमबाट धरती र आकाश जोडेको मान्ने, मातृदेवो भवः भनिएको पाइन्छ । शाक्त दर्शनले पनि चार तत्त्वमा आकाश तत्त्व थपेर पाँचओटा मूल तत्त्व मानेको छ । शाक्त दर्शन नारीहरूबाटै प्रतिपादित दर्शन हो । शैव दर्शन भनेको चाहिँ अनार्यले मान्ने, शिवलाई प्रमुख मान्ने, नर र नारी बराबरी ठान्ने, सबैको कल्याणको कामना गर्ने मानिएको र यज्ञवल्कले यजुर्वेद लेख्दा पनि शिवको महत्तागान गाएका छन् । शिवलाई रुद्र मान्ने र रुद्र पवित्रताको प्रतीक मानिने गरेको देखिन्छ । शैवपछि ब्रह्म दर्शन आयो । नेपाल तथा भारतबाट उत्पत्ति भएर फैलिएको द्वैतवादी चिन्तनलाई पछि शङ्कराचार्यले ऋग्वेदको प्राकृतिक भौतिकवाद छाडेर अद्वैतवादी वेदान्त स्थापित गराए । वेदान्त दर्शन नै हिन्दु दर्शन हो भन्नथालियो ।
शाङ्ख्य दर्शनसम्म आइपुग्दा चौबिस तत्त्वको चर्चा गरिएको पाइन्छ र प्रकृतिवादी, अनात्मवादी, अनिश्वरवादी अवधारणाले गौतम बुद्धलाई प्रभावित पारेको छ । बुद्ध दर्शन संसारकै पहिलो मानवतावादी दर्शन मानिन्छ । बुद्धले मनुष्यको मात्र होइन अरू जीव तथा वनस्पतिको पनि नाश गर्न पाइँदैन भनेका छन् । उनले सम्यक अष्टमार्गको चर्चा गरेका छन् । ‘प्रयोग गर, सिद्ध गर अनि मात्र मान’ भन्ने बुद्धको भनाइ वैज्ञानिक छ । पूर्वीय दर्शनमा सङ्घातको सिद्धान्त रहेको छ जुन पश्चिमा विद्वानले प्रयोग गरेभन्दा निकै धेरै पुरानो मानिन्छ । यसैका आधारमा कार्लमाक्र्सले द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रतिपादन गरेका हुन् भन्नसकिन्छ । म्याक्समुलरले वेदलाई अङ्ग्रेजीमा अनुवाद गरेपछि संसारले पूर्वीय दर्शनका बारेमा गहन अध्ययन गरेको पाइन्छ । माथि चर्चा गरिएका दर्शनका आधारमा नेपालको मौलिक दर्शन यकिन हुनसक्तछ भन्ने धारणा राख्नुभयो ।
गोष्ठीमा ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, कात्यायन, रामकुमार पण्डित क्षेत्री, विन्दु ढकाल, कुमार नेपाल, डा.नारायण चौलागाईँ, लीलाराज दाहाल, भावना न्यौपाने, सङ्गीता ढुङ्गाना दाहाल, ज्ञानु विद्रोही, रामबहादुर पहाडी, प्रशान्त खरेलले आआफ्ना कविता, मुक्तक, गजल वाचन गर्नुभएको थियो ।
वाचित सिर्जनामाथि गोपालकुमार मैनालीले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा नयाँ वर्षको सन्दर्भ पारेर शुभकामना कविगोष्ठी गर्ने र गहन विषयमा बहस गर्ने उद्देश्य राखिएको थियो । आज वाचित सबै रचनाले देशको अवस्था, नेपाली विकृत राजनीतिक अवस्थाका प्रति दर्बिलो झापड हानेका छन् । साहित्य सन्ध्या स्रष्टा र सिर्जना उत्पादन गर्ने कार्यशाला हो । स्रष्टा समुन्नत चेतनाको धनी हुन्छ, प्रकृति चेतना अब्बल हुन्छ र उसको सिर्जनाले सामाजिक बेथितिलाई उजागर गर्दै रूपान्तरणको सन्देश वा ध्वन्यार्थ सम्प्रेषण गर्नसक्नुपर्दछ र त्यो काम आजका सिर्जनाले गरेका छन् । अबका शासकीय जङ्गबहादुरले सामाजिक रूपान्तरणको चेतना भर्ने र सोहीअनुसारको काम गर्नसक्नुपर्दछ भन्ने आग्रहका साथ विकृत मानसिकता र व्यवहार बोकेका नेतृत्वका प्रति पनि आजका कविताले सशक्त व्यङ्ग्य गरेका छन् । थोरैमा धेरै भन्ने सामथ्र्य पनि आजका कविताले राखेका छन् । स्रष्टाले विपरीत धारका साहित्यको अध्ययन र त्यसबाट ग्रहण गर्नुपर्ने कुरा ग्रहण गर्दै त्यहाँ देखिने विकृत पक्षमाथि भने कटाक्ष गर्नुपर्ने आजको आवश्यकता रहेको छ भन्ने धारणा राख्नुभयो ।
गोष्ठीका अध्यक्ष राम विनयले आजको विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । स्रष्टाहरू आलोचनात्मक चेतले युक्त हुने भएकाले उनीहरूलाई प्रतिपक्ष भनिएको हो । देखेको लेख्ने र रूपान्तरणका पक्षमा आबाज उठाउने भएकाले स्रष्टा चेतनशील हुन्छ र ऊ राजनीतिनिरपेक्ष पनि हुनसक्दैन । स्रष्टाका सुन्दर सिर्जनाको खोजी यो समाजले आफैँ गर्दछ भन्ने धारणा राख्दै भूपि शेरचनको नव वर्ष शीर्षकको कविता वाचन गर्नुभयो अनि साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरहन्छ, आजको यो विशेष समारोहमा ‘नेपालको मौलिक दर्शन’ विषयमा अत्यन्त गहन परिचर्चा भएको छ । हामी यसैगरी हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि पनि अनुरोध गर्दछौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।