रमेश पोखरेल, काठमाडौं
साहित्य सन्ध्याको नियमित मासिक ३५६ औँ शृङ्खला माघ २ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले विशद चर्चा गर्नु भएको उक्त विशेष समारोहको सञ्चालन पूर्वार्धमा भागवत आचार्यले र उत्तराद्र्धमा रमेश पोखरेलले गर्नु भएको थियो भने अतिथिका रूपमा प्राज्ञ प्रा.जगत् उपाध्याय प्रेक्षित, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ सानु पहाडी, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, वरिष्ठ कवि कणाद महर्षि, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय उपस्थित हुनु हुन्थ्यो।
प्राज्ञ एवम् दार्शनिक, चिन्तक विष्णु प्रभातले प्रगतिशीलताको मापन कार्लमाक्र्सको उदय पश्चात मात्र गर्न थालिएको भए पनि आत्मा छैन भन्न सक्ने विदुषी योगमाया आफ्नो समयकी प्रगतिशील विचारक र विद्रोही स्रष्टा हुन् । वास्तवमा कविता भनेको चाहिँ कला, विचार र तानको संयोजन हो । विचार चाहिँ दर्शन हो, गुदी हो । आज सन्त कविरको जन्मदिन पनि हो । सन्त साहित्यले पनि परिवर्तनको गम्भीर विचार बोकेको छ । द्वन्द्वात्मक भौतिकवादी अवधारणा अनुसार हरेक विषय वस्तुलाई स्रष्टाले विश्लेषण गर्नु पर्छ, गम्भीरतापूर्वक केलाउनु पर्छ र आफ्ना सिर्जनालाई सुन्दर बनाउनु पर्छ । यस्ता दार्शनिक विषयमा पनि बहसको थालनी आवश्यक छ भन्नु भयो ।
प्रा.जगत् उपाध्याय प्रेक्षितले राहुल सांकृत्यानले पूर्वीय वाङ्मयका बारेमा बृहत् अध्ययन, विश्लेषण गर्ने र लेख्ने कार्य गरेका छन् तर नेपाली साहित्यमा त्यसरी विश्लेषण गरिएको पाइँदैन । सन १८४८ मा कार्लमाक्र्स र एङ्गेल्सले ल्याएको कम्युनिस्ट घोषणा पत्र अनुसार माक्र्सवादका विरुद्ध नगई सामाजिक रूपान्तरणका पक्षमा लेख्ने स्रष्टालाई प्रगतिशील भन्न सकिन्छ । प्रगतिलाई विकाससँग जोड्न पनि सकिन्छ । नेपाली साहित्यमा साधना गरि रहेका महिला स्रष्टाले नेपाली भाषा साहित्यको उत्पत्ति कालदेखि नै साहित्यको सेवा गरि रहेका छन् । १३३५–४० तिरको जितारी मल्लको ‘भारत’ पहिलो लोकभाका वा कविता मान्न सकिन्छ । २५० वर्षको लिखित साहित्यको इतिहासमा १८७० मा प्राणमञ्जरीदेवीदेखि ‘सर्वार्थ योगवाणी’की स्रष्टा न्यौपाने परिवारकी बाल विधवा योगमायाको सङ्घर्ष, विद्रोह हुँदै १९९१ को शारदा पत्रिकाको प्रकाशनपछि धेरै महिला स्रष्टा नेपाली प्रगतिशील साहित्यको फाँटमा देखा परेका छन् । पारिजात, शशिकला शर्मा, स्नेहलता पन्त (जसले महेन्द्रको रचनामाथि कठोर समालोचना गरेकी छन्), सरिता ढकाल (उनका कृतिगत समालोचना प्रकाशित छन्) जस्ता स्रष्टा देखिएका छन् । पारिजातले विशेष गरी २०३० को दशकपछि तानेको केन्द्रभागसम्म अहिलेसम्म अन्य महिला स्रष्टा पुग्न चाहिँ सकेको पाइँदैन । कुन्ता शर्मा, शान्ता मानवी, कविता पौडेल (जसले हलोक्रान्तिको अगुवाइ गरेकी थिइन्), सुधा त्रिपाठी (बौद्धिक दृष्टिले सशक्त), नर्मदेश्वरी सत्याल (चिन्तनलाई चरित्रमा बदल्न सक्ने र आफू मात्र होइन सिङ्गो परिवार तिन पुस्तालाई आफ्नै विचारमा डोर्याउन सक्ने), गौरी दाहाल, सानु पहाडी, गौरा रिजाल, लक्ष्मी माली, हरिदेवी कोइराला, सुलोचना मानन्धर, चन्द्रा थानी, सीता शर्मा, भवानी थापा क्षेत्री, मिश्र बैजयन्ती, तीला लेकाली, नम्रता गुरागाईँ, गायत्री विष्ट, कमला पराजुली, जयन्ती स्पन्दन, अनिता लामा, सिर्जना दुवाल, विजया स्मृति, झमककुमारी घिमिरे (२०३७ सालमा जन्मिए पनि २०५५ सालदेखि मात्र लेख्न थालेकी १५–१७ वर्षको यो अवधिमा एक दर्जन महत्त्वपूर्ण कृति प्रकाशन गरेर महत्त्वपूर्ण पुरस्कार समेत प्राप्त गर्न सफल तर सम्पूर्ण अपाङ्ग यी स्रष्टाले पारिजातपछि सशक्त योगदान गरेकी), सुस्मिता नेपाल, डा.विन्दु शर्मा, सत्या पहाडी, रजनी ढकाल, सुशीला प्रधानाङ्ग, हरिकला उप्रेती, यशोदा अधिकारी, गरिमा शाह, ओमी शर्मा, धनकुमारी सुनार, गरिमा लुइटेल, विज्ञता कार्की आदि आदि थुप्रै स्रष्टाहरू अहिले प्रगतिशील धारमा सिर्जनारत हुनु हुन्छ । यी स्रष्टाहरूले समाजमा देखिएका याबत विकृतिको अन्त गर्ने, लैङ्गक विभेदको अन्त्य र समतामूलक समाज निर्माणका पक्षमा आफूलाई उभ्याइ रहनु भएको छ भन्दै विशद चर्चा गर्नु भयो ।
कार्यक्रममा बालकविहरू प्रलिशा अधिकारी र प्रजिशा सत्याल, अन्य कविहरू ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, भोलानाथ सुवेदी, पूर्ण विराम, बैरागी जेठा, असीम सागर, अतृप्त पाण्डेय, कणाद महर्षि, मधुसूदन लामिछाने, डिल्लीप्रसाद मुल्तिहुन, रामचन्द्र दाहाल, डिल्लीराज अर्याल, मोहनमणि पोखरेल, सानु पहाडी, अभ्यस्त यात्री, ऋषिराम अर्याल, अर्जुन अन्यौल, इन्द्रजित शर्मा चौलागाईँ, ब्रह्मप्रिय प्रेमस्वरूप, निर्भीक राई, विजयध्वज थापा, गोपाल नेपाल, नर्मदेश्वरी सत्याल, गीता सापकोटा, गौरी दाहाल, टेकबहादुर कोइराला, इन्दु अंशु, उर्मिला पन्त पाण्डेय, कमलप्रसाद अर्याल, पुनाराम गिरी, नीलहरि शर्मा, अनुप चापागाईँ र राम विनयले समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
गोष्ठीका साभाध्यक्ष राम विनयले साहित्य सन्ध्याको हरेक महिनाको गोष्ठीलाई विशेष महत्त्वको पार्ने हाम्रो प्रयत्न अनुरूप हरेक महिना केही न केही विशेष विषयमा चर्चा गर्ने र कविहरूका सिर्जना सुन्ने गरेका छौँ । आज हामीले संस्कृत साहित्यका विद्वान प्राध्यापक जगत् उपाध्याय प्रेक्षितबाट नेपाली साहित्यको इतिहासदेखि वर्तमानसम्म योगदान गरेका र गरि रहेका प्रगतिशील महिला स्रष्टा र सिर्जनाका बारेमा विशद परिचर्चा सुन्यौँ । उपस्थित सबैलाई आजको यो गोष्ठी लाभप्रद भयो होला भन्ने हामीलाई लागेको छ । अर्काे कार्यक्रममा हामी फेरि अर्काे कुनै विषय लिएर आउने नै छौँ । आजको यो विशेष समारोहमा उपस्थित सबै सबैलाई हार्दिक धन्यवाद छ भन्नु हुँदै गोष्ठीको समापन गर्नु भयो ।