साहित्य सन्ध्यामा ‘मदन भण्डारीको राजनीतिक एवम् साहित्यिक व्यक्तित्वमाथि चर्चा’

मितिः २०७०।०२।०४
रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या, काठमाडौँ

साहित्य सन्ध्याको ३२७ औँ विशेष गोष्ठी आज शनिवार १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा ‘मदन भण्डारीको राजनीतिक एवम् साहित्यिक व्यक्तित्व’को चर्चा तथा कविगोष्ठी आयोजना गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्य सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीले गर्नु भएको थियो ।

 

प्राज्ञ विष्णु प्रभात, प्राज्ञ बूँद राना, राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, नेपालका सल्लाहकार रामप्रसाद प्रदीप अतिथि रहनु भएको उक्त गोष्ठीमा प्राज्ञ विष्णु प्रभातले मदन भण्डारीको राजनीतिक एवम् साहित्यिक व्यक्तित्वका बारेमा विशद् रूपमा चर्चा गर्नु भएको थियो । नेपाली माटो सुहाउँदो माक्र्सवादको व्याख्या गरी जनताको बहुदलीय जनवादी वैज्ञानिक एवम् व्यवहारवादी दर्शनको प्रतिपादन गरी नेपालमा राजतन्त्र, नेपाली काङ्ग्रेस समेतले भरोसा गर्ने वैचारिकता अघि सार्नुका साथै अखण्ड नेपालका पक्षमा वकालत गर्ने काम मदन भण्डारीले गरेका, साथै अन्तर्राष्ट्रिय समुदायमा समेत नेपाली कम्युनिस्ट आन्दोलनलाई भरोसा युक्त, विश्वासिलो र जिम्मेवार देखाउँने कार्य पनि उनैले गरेका र माक्र्सवादी वैचारिकतालाई अत्यन्त सुन्दर कलात्मकताका साथ साहित्यमा समेत खरो रूपमा प्रस्तुत गरी सामन्तवादी, निरङ्कुश व्यवस्थाका विरुद्धमा प्रहार गरेकाले मदन भण्डारी साहित्यिक एवम् राजनीतिक दुबै पक्षमा सशक्त देखा परेका कारण नै आज पनि नेपाली कम्युनिस्ट आन्दोलन उनैको विचारबाट अगाडि बढि रहेको छ तापनि नेपाली राजनीतिमा अहिले मदन भण्डारीको अभाव भने ज्यादै खट्किएको चर्चा गर्नु भयो ।

 

गोष्ठीमा बालकवि सृजा शर्मा, जयन्ता पोखरेल, अतृप्त पाण्डे, राम विनय, नवराज श्रेष्ठ, पूर्ण विराम, बूँद राना, रमेश पोखरेल, स्मीता श्रेष्ठ, रामबहादुर पहाडी, प्रशान्त खरेल, तेजप्रसाद भण्डारी, अल्फाली साँझ, भोलानाथ सुवेदी, इन्दु अंशु जटारे, जी.बी.आचार्य, वैरागी जेठा, जी.के.एन.खडेरी, कृष्णदेव रिमाल, प्रदीपरत्न शाक्य, निहारिका दाहाल, तर्कना शर्मा, सीताराम नेपाल, गोपाल नेपाल, शिव भुसाल, हेमराज अधिकारी, मीन कौशिक, केशवराज निश्चल, विवेक विषालु, ललित सादा, प्रमोद स्नेही र नवीना सापकोटाले आआफ्ना कविता, गीत, गजल, तान्का, मुक्तक र कथा वाचन गर्नु भएको थियो । 

 

वाचित सिर्जनामाथि रामप्रसाद प्रदीपले टिप्पणी गर्नु हुँदै कविताहरू समसामयिक धारामा लेखिएका, गद्यमा बढी र पद्यमा कम लेखिएका, विषयको विविधता रहेको र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषय समेटिएका, देशको पीडा, मर्म र व्यथालाई उजागर गरिएका, सुन्दर बिम्ब तथा प्रतीकको प्रयोग गरिएका, प्रस्तुतिको शैैलीमा नवीनता देखा परेकोे तर कतै कतै वैचारिकता अल्मलिएको, गजलहरू गजलकै नियममा बाँधिएर लेखिनु पर्नेमा केही गजलमा सो पक्ष कमजोर रहेको पाइएकाले त्यसमा पनि ध्यान दिनु पर्ने, निराशा र हतासा जस्ता पक्षलाई हटाउँनु पर्ने देखिएको, मूलतः साहित्य सन्ध्याको उद्देश्य साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको प्रगतिशील आग्रह रहेकाले स्रष्टाले त्यो पक्षमा ध्यान पुर्याई यो एक खालको कार्यशाला पनि भएकाले वृद्ध तथा स्थापित स्रष्टाको सिर्जना शैलीबाट सिक्ने सकिने र तदनुरूप आफूलाई परिष्कृत गर्ने सकिने हुँदा त्यसतर्फ सचेत हुँदै सामाजिक, सांस्कृतिक एवम् राजनीतिक विकृतिका प्रति स्रष्टाले अझ सशक्त रूपमा प्रहार गर्नु पर्ने अवस्था अहिले झन् टडकारो रहेको र त्यस पक्षमा धेरै कविताहरू सचेत समेत रहेका पाइएकाले गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नु भयो ।

 
गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा सासामयिक विषयमा परिचर्चा पनि गरिने गरिएकोमा यस पटक मदन भण्डारी, गोकुल जोशी, कृष्णसेन इच्छुकको सम्झना गर्दै विशेष गोष्ठीको आयोजना गरिएको र अर्काे गोष्ठीमा कुनै समसामयिक विषयको चर्चाको जानकारी सहित आमन्त्रण गरिने व्यहोराको जानकारी सहित गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *