साहित्य सन्ध्यामा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटोको सम्झना गर्दै शुभ कामना कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३३ औँ विशेष शृङ्खला कार्तिक ५ गते शनिबार अपराह्न १ बजे जुम क्लाउड मिटिङका माध्यमबाट भर्चुअलरूपमा आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गर्दै शुभ कामना कविगोष्ठी गरी सम्पन्न भयो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा अतिथि एवम् टिप्पणीकारका रूपमा प्रा.डा.ध्रुवप्रसाद घिमिरे उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा डम्बर पहाडी, डा.गोविन्दप्रसाद आचार्य, प्राज्ञ नन्दु उप्रेती, ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डेय, सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।
गोष्ठीमा महेशराज खरेल, खेमराज निरौला, विन्दु अधिकारी ढकाल, डा.गोविन्दप्रसाद आचार्य, ओमप्रसाद कोइराला, गीता सापकोटा, रामदेव पाण्डेय, नन्दु उप्रेती, कुमार नेपाल, गोपालकुमार मैनाली, जयन्ती स्पन्दन, राम विनयले आआफ्ना कविता, गीत, मुक्तक वाचन गर्नुभएको थियो ।


वाचित रचनामाथि टिप्पणी गर्दै प्रा.डा.ध्रुवप्रसाद घिमिरेले साहित्य सन्ध्याको आजको यो विशेष गोष्ठीमा नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मान गरियो । देवकोटाले लेखेको मुनामदन खण्डकाव्य नयाँ झ्याउरे लयमा लेखिएको भनिएको छ तर यथार्थमा तत्कालीन समयमा लेखिएका प्रेम लहरी, प्रिती लहरीजस्ता लहरी साहित्यमै यो लेखिएको छ र यसको सूत्र प्रिती लहरीसँग ठ्याम्मै मिलेको पनि छ । आजको यो गोष्ठीमा वाचित कविताहरूमा आशावादी एवम् समयको सामथ्र्यको महत्तागान गाइएका कविता आएका छन्, चुनावी गठबन्धनको विरोधका र देशभक्तले जित्नुपर्ने आह्वान गरिएका कविता वाचन गरिएका छन् । विदेशिएका नेपालीले भोगेका पीडा र त्यहाँ रगतपसिना एक गरेर पठाएको रेमिट्यान्सको दुरुपयोग भइरहेको अत्यन्त समसामयिकताका साथ बाकसमा आउने लासको प्रतीक्षा गर भन्नेजस्तो मर्मान्त पीडायुक्त व्यङ्ग्य पनि गरिएको छ । देवकोटाको सम्मानमा वाचित कविताले अग्रजको सम्मानको पक्षमा वकालत गरेको छ । विदेशिएका खसमलाई एउटी नवनायिकाले सम्झेको र पीडाबोध गरिरहेको प्रसङ्गका माध्यमबाट युवापलायनको पीडा थप उजागर गरिएको छ । सत्य सत्य नै हो मान्नु या नमान्नु व्यक्तिको मूल्याङ्कन क्षमतामा भर पर्ने कुरा हो, अति नारीवादी प्रवृत्तिले पुरुष प्रताडित भइरहेका प्रति चिन्ताभाव र मृत्युपछिका हाम्रा संस्कारजन्य अन्धविश्वासबाट पितृले पाउने होइनन् भन्ने यथार्थबोध गराइएका सिर्जनासमेत वाचित भएका छन् । आसन्न चनावमा जनता जागृत भए भने र विवेकको प्रयोग गरे भने कुँडाकर्कट बढारिने र घाम उदाउने आशावादी भाव अभिव्यक्त गरिएका कविता वाचित भएका छन् । अहिलेको नेपाली युवा पुस्ताले भोगेका पीडा, अवसरविहीनताको अवस्था, उनीहरूले देखेका वा साँचेका सपनालाई पनि कविताले उजागर गर्दै समाधानको गन्तव्य पहिल्याउनुपर्ने खाँचो औँल्याइएको छ । नजिकिएको तिहरमा भाइलाई दिने आशिषका माध्यमबाट समृद्धिको परिकल्पना गरिएको छ, रूपान्तरणको सन्देश सम्प्रेषण गरिएको छ । मान्छेको जीवनका जेजस्ता भोगाइ भए पनि निराशा होइन आशावादी जीवनदृष्टि राख्नुपर्ने स्पष्ट वैचारिक दृष्टिकोण समावेश गरिएका कविता वाचित भएका छन् । समग्रमा आजको गोष्ठीमा समसामयिकता स्पष्ट चित्रित भएको, अग्रजको सम्मान गर्नुपर्ने भाव अभिव्यक्त भएको, नेपाली मात्रका चाडबाड मनाउनुपर्ने तर ढोँग र आडम्बरको प्रदर्शन गरिनुनहुने, अन्धविश्वासको पक्षपोषण गरिनुनहुने पक्षका र वर्तमानको समसामयिक युगजीवनको प्रतिविम्बन भएका कविता वाचित भएका हुँदा गोष्ठी उपलब्धिमूलक, गुरुत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहलाई हामीले नजिकै आइरहेको हाम्रो दोस्रो ठुलो सांस्कृतिक पर्व ‘तिहार’को शुभकामना, महाकवि लक्ष्मीप्रसाद देवकोटोको सम्झना र उनको योगदानको सम्मान गर्ने प्रयोजनका लागि जुमका माध्यमबाट प्रविधिमैत्री तरिकाले आयोजना गर्यौँ । अतिथिज्यूहरू, स्रष्टाहरू आजको यो समारोहमा हाम्रो निममन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुभयो त्यसका लागि हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार सम्भवत: निर्वाचनको अघिल्लो दिन पर्छ, त्यसमा भौतिकरूपमै उपस्थित भएर वा यसैगरी प्रविधीमैत्री तरिकाले भेट हुने व्यवस्थाका साथ उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *