साहित्य सन्ध्यामा ‘मिमांशा दर्शन र प्रगतिशीलता’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको विगत दुई वर्षदेखि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक गोष्ठीको ४२८ औँ शृङ्खला पनि जेठ ७ गते शनिबार अपराह्न १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा विशेष गोष्ठीसहित ‘मिमांशा दर्शन र प्रगतिशीलता’ विषयमा परिचर्चाको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रा.डा.नारायण गडतौला उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा प्राज्ञ विष्णु प्रभात, त्रि.वि.नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, राष्ट्रिय जनसांस्कृकतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा वरिष्ठ साहित्यकार रामबहादुर पहाडी, साहित्य सन्ध्याका सल्लाहकारहरू विधान आचार्य र वासुदेव अधिकारी, प्रा.डा.खेम दाहाल, वरिष्ठ स्रष्टाहरू उमेश उपाध्याय, नर्मदेश्वरी सत्याल, कणाद महर्षि र डिल्लीराज अर्याल, सीताराम पद्मकुमारी ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याका सदस्य रूपक अलङ्कारको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि प्रा.डा.नारायण गडतौलाले ‘मिमांशा दर्शन र प्रगतिशीलता’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२८ औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन भएको साहित्य सन्ध्याको आजको यो विशेष शृङ्खलामा हामी अत्यन्त गहन र रमाइलो विषयमा बहस गरिरहेका छौँ । मिमांशा दर्शन भनेको तीन हजार वर्षअगाडिको चिन्तन हो । मानवजीवनको जङ्गली युग समाप्त भएर आगो खोज्दै हिँडेको समयमा जैमिनी ऋषिले यो दर्शनको प्रतिपादन गरेका हुन् । हुन त यो दर्शनलाई ब्रह्मादेखि नै आएको र अत्यन्त पुरानो दर्शन हो भन्ने पनि मानिएको छ । तर माक्र्सवाद चाहिँ निकै पछाडिको दर्शन हो । हामीकहाँ पूर्वीय दर्शनको पठनपाठन नहुने गरेको तर पाश्चात्य दर्शनको चाहिँ पठनपाठन गर्ने गरिएकाले ओझेलमा परेको मानिन्छ र अहिले पूर्वीय दर्शनको पनि पठनपाठन गर्ने गरिएको छ । मिमांशा दर्शनले वेदलाई प्रमाण मान्ने हुँदा यसलाई वैदिक दर्शन मानिएको छ । वेदका तीन प्रमुख विशेषताहरू ज्ञान, उपासना र कर्ममध्ये मिमांशा कर्मवादी दर्शन हो । यज्ञको व्यवस्थापन गर्ने काम मिमांशाले गर्दछ । पूर्वीय मिमांशा दर्शनले मान्ने भनेको उत्पादन प्रणाली हो । यज्ञको केन्द्र आगो हो र त्यो अग्निमा उत्पादनलाई हवन गरिन्छ र आगोबाटै मानवको जीवन सुरु हुन्छ भन्ने मान्यता मिमांशाले राख्दछ । उत्पादन प्रणालीको थालनी यज्ञबाट हुन्छ र पुरोहित भनेको सभ्यताको अग्रगामी उत्प्रेरक हो । माक्र्सले पनि उत्पादन प्रणालीलाई नै जोड दिएका छन् । मिमांशा दर्शनले गौ अर्थात् गाईलाई उत्पादन प्रणालीको महत्त्वपूर्ण औजार मानेको छ । अर्थात् कृषि उत्पादन प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पशुलाई सम्मान गर्ने काम मिमांशा दर्शनले गरेको छ । त्यसैले कार्ल माक्र्सले प्रतिपादन गरेको दर्शनसँग यसले मेल तादात्म्य राख्छ । उनले पनि आफ्नो दर्शनमा औजारको उल्लेख गरेका छन् । यज्ञमा पनि सामूहिकताको भावना हुन्छ र मिमांशा दर्शनमा कृषि यज्ञ, पशु यज्ञको चर्चा गरिएको छ र यज्ञबाट प्राप्त हुने भोजनलाई अमृतको संज्ञा दिइएको छ । पूर्वीय दर्शनले सूर्य, चन्द्रमा, हावा आदिलाई देवता मानेको छ र यी प्रकृति हुन् । प्रकृतिशक्ति अजेय छ भनेर उपासना गरिएको पाइन्छ । यही प्राकृतिक शक्ति मानवीकृत भएर मानवशक्ति बनेको हो । माक्र्सले पनि यही प्राकृतिक शक्तिका बारेमा वकालत गरेका छन् । पूर्वीय दर्शनलाई काल्पनिक ठान्ने प्रवृत्ति भए पनि यथार्थमा ब्रह्म भनेको सामूहिक रूप हो, निर्देशक सिद्धान्त हो, समाजकै बृहत् र सूक्ष्म दुबै रूप हो । मानवले परिकल्पना गरेको ईश्वरको मृत्युको घोषणा पाश्चात्य विद्वान नित्सेले गरेका छन् । पूर्वीय दर्शनमा चर्चा गरिएको वा परिकल्पना गरिएको कृष्णको सन्दर्भ ब्ल्याकहोलसँग सम्बन्धित छ । पश्चिमा दर्शनको अति प्रभावले पर्वीय दर्शन ओझेलमा परेको मात्र हो । पूर्वीय दर्शनको भाषा मिथकीय छ । यस्ता प्राचीन कुराहरूको पुनव्र्याख्या र अनुसन्धान अहिले पनि आवश्यक छ । कर्मप्रधान भएकाले मिमांशा दर्शनले भौतिक सुखका बारेमा कर्म वा यज्ञलाई जोड्दछ अनि आत्मा बुद्धि र मनभन्दा भिन्न छ भन्छ तर ईश्वर, मुक्ति वा मोक्ष र आत्माका पक्षमा वकालत नगरी कर्ममा विश्वास गर्नुपर्ने धारणा अघि सार्दछ । दर्शन कविता हुन्छ तर कविता दर्शन होइन । मिमांशा दर्शनका दुइटा पक्षमध्ये रामानुजले कर्म, भक्ति र ज्ञान आवश्यक छन् र यी ईश्वरका प्रतीक हुन्, ज्ञानमा विभेद हुनुहुन्न भनेका छन् भने उत्तर मिमांशा चाहिँ वेदान्त हो भन्नेसमेतको उल्लेख गर्नुभयो ।


गोष्ठीमा डिल्लीराज अर्याल, ओमप्रसाद कोइराला, मिसन अधिकारी, गायत्री लम्साल, विन्दु अधिकारी ढकाल, रामकुमार पण्डित क्षेत्री, गोपाल नेपाल, नर्मदेश्वरी सत्याल, प्रशान्त खरेल, रामबहादुर पहाडी, भावना न्यौपाने, डा.खेम दाहाल, गोपाल मैनाली, हेमन्त शिशिर, मुकुन्द ढकाल, कुमार नेपाल, ऋजु शर्मा, बेनीबहादुर थापा, कणाद महर्षि, वासुदेव अधिकारी, आभा सेतु सिंह, उमेश उपाध्याय, रमेश पोखरेल, प्रेमनाथ अधिकारी, रूपक अलङ्कार र राम विनयले आआफ्ना कविता, गीत, मुक्तक, गजल वाचन÷गायन गर्नुभएको थियो ।


वाचित सिर्जनामाथि विधान आचार्यले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा ‘मिमांशा दर्शन र प्रगतिशीलता’ विषयमा गहन परिचर्चा भयो । आजको यो समारोहमा छब्बिसओटा रचना वाचित भए । वाचित रचना समसामयिक छन्, प्र्रतीकात्मक छन्, चुनावी कविता पनि वाचित भएका छन्, कवितामा समृद्धिको चाहना र तदनुरूपको सन्देश सम्प्रेषित भएको छ । देशको राजनीतिक अवस्थाको प्रतिविम्बन पनि कवितामा भएको छ । कोरोना महामारीको तत्कालीन चासद अवस्थाको चित्र पनि कवितामा खिचिएको छ । कवितामा क्रान्तिचेत सम्प्रेषित भएको छ र साहित्यले देश बचाउने काम गर्छ तापनि भिलेनको प्रवेशका प्रति आपत्ति जनाइएको छ । ईश्वरको भक्तिले मात्र मनुष्यचोला सार्थक नहुने ध्वन्यार्थ सम्प्रेषित भएको छ । कवितामा देशमा व्यवस्थापनको पाटो असरल्ल भएकोप्रति चिन्ताभाव व्यक्त गरिएको छ । सशक्त व्यङ्ग्य चेतनाका बलिष्ठ कविता वाचित भएका छन् । श्रमको सम्मान गर्नुपर्ने पक्षका कविता वाचित भएका छन् । छोटा भएर पनि सशक्त कविता आज वाचित भएका छन् । अति ममता, स्नेह र चाप्लुसी उपयुक्त कुरा होइन भन्ने सन्देश सम्प्रेषण गर्ने कविता पनि वाचित भएका छन् । कवितामा उपमा अलङ्कारको सुन्दर प्रयोग पनि भएको छ । त्यति हुँदाहुँदै पनि छन्द आगो हो, यसलाई पकाउन जानिएन भने डढाउँछ भन्ने मान्यतालाई आत्मसात गरिनुपर्ने र शिल्पपक्षमा अझै केही स्रष्टाले बढी ध्यान दिनुपर्ने देखिएको छ । समग्रमा आजको गोष्ठीमा वाचित सिर्जनाको स्तर भने निकै माथि रहेको धारणा राख्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि, विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । स्रष्टाहरू आलोचनात्मक चेतले युक्त हुने भएकाले उनीहरूलाई प्रतिपक्ष भनिएको हो । देखेको लेख्ने र रूपान्तरणका पक्षमा आबाज उठाउने भएकाले स्रष्टा चेतनशील हुन्छ र ऊ राजनीतिनिरपेक्ष पनि हुनसक्दैन । आजको यो गोष्ठीमा ‘मिमांशा दर्शन र प्रगतिशीलता’जस्तो गहन विषयमा विशद चर्चा भएको छ र हामी सबैका लागि यो गोष्ठी उपलब्धिमूलक भएको मैले महसुस गरेको छु । सप्तरी जिल्लाका वासिन्दा आभा सेतु सिंह राष्ट्रिय जनसाहित्यिक सङ्घकी केन्द्रीय सदस्य हुनुहुन्छ र उहाँ मधेसी आयोगकी माननीय सदस्य बन्नुभएकोमा हार्दिक बधाई छ । साहित्य सन्ध्या पनि सप्तरीबाटै २०३३ सालमा थालनी भएको अभियान हो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका नवनिर्वाचित अध्यक्ष प्रेमनाथ अधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिन चाहन्छु । साहित्य सन्ध्यामा विगतमा नियमितरूपमा आइरहनुहुने स्रष्टाहरू पूर्णविराम र अतृप्त पाण्डेय बिरामी हुनुभएको खबर प्राप्त भएको छ त्यसैले उहाँहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु । साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य बुद्धिजीवी परिषद्को केन्द्रीय उपाध्यक्ष निर्वाचित हुनुभएकोमा उहाँलाई पनि बधाई ज्ञापन गर्दछु । हामी यसैगरी हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार हुने सन्ध्याको विशेष समारोहमा उपस्थितिका लागि अनुरोध गर्ने छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.