रमेश पोखरेल, काठमाडौँ
मितिः २०७२।४।२
साहित्य सन्ध्याको ३५१ औँ कार्यक्रम साउन २ गते शनिवार अपराह्न १ बजे आर.आर.क्याम्पस’ प्रदर्शनी मार्गमा ‘मृत्यु संस्कार र रूपान्तरण’ परिचर्चा, रमेश गौतम पाल्पाली’द्वारा लिखित उपन्यास सहारा’को र डा. अम्बिका घिमिरे ‘रिमाल’द्वारा लिखित समिक्षा सँगालो कृतिको लोकार्पण एवम् कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि वरिष्ठ प्रगतिवादी कवि एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता डा.मोदनाथ प्रश्रित हुनु हुन्थ्यो भने अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ गीता केशरी, डा.खेम कोइराला बन्धु, वरिष्ठ साहित्यकार द्वय रामप्रसाद प्रदीप र हरिहर खनाल, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, वरिष्ठ कवि उमेश उपाध्याय, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, समीक्षक सोमनाथ दाहाल, उपन्यासकार रमेश गौतम पाल्पाली’ उपस्थित हुनु हुन्थ्यो ।
गोष्ठीको प्रारम्भमै रमेश पोखरेलले समाज निर्माणमा साहित्यकारको महत्त्वपूर्ण भूमिका रहेको, हाम्रा जन्म र मृत्यु संस्कारमा समय सापेक्ष रूपान्तरण आवश्यक भएको र अहिले बदलिँदो समयमा हाम्रा संस्कारमा के कस्ता परिवर्तन आवश्यक छ भन्ने विषयमा स्रष्टाका बिचमा छलफल तथा बहस हुनु आवश्यक भएको हुँदा सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रितलाई आमन्त्रण गरिएको जानकारी सहित निमन्त्रण स्वीकार गरी आइ दिनु हुने सबै सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो ।
डा.मोदनाथ प्रश्रितले कुनै पनि बालक बाबु र आमाको लाक्षणिक रूप लिएर जन्मेको हुन्छ । सायद यसैलाई नै पुनर्जन्म भनिएको पनि हुन सक्छ । पूर्वजले स्वर्ग र नर्कको परिकल्पना गरेका छन्, पितृ वा आफन्तको मृत्युको पीडा वा शोकमा डुबेको अवस्थामा मृतकको त्याग, समर्पणको सम्झना गर्न वा निजको सम्मानस्वरूप काजक्रिया गर्ने परम्परा चल्दै आएको हो । हाम्रा पुराण र वेदहरूमा पनि यस्ता परिकल्पना उल्लेख गरिएका पाइन्छन् । अहिले समय परिवर्तन भएको छ, समयको यही व्यस्तताले पुराना प्रचलन र मान्यता छोट्याउने चलन चलेको छ । अहिले हाम्रो समाजमा विद्यमान शास्त्र अनुकूल हुने गरी नै तथ्य सहित काजक्रियालाई & दिन वा ५ दिनमा सम्पन्न गर्ने प्रस्तावित विचार हामीले अगाडि सारेका छौँ र यसको प्रयोग भइ पनि रहेको छ । आजको मानिस अत्यन्त व्यस्त छ, ऊ समयसँग गाँसिएको छ । उदाहरणको लागि एउटा दैनिक दर्जनौँ मानिसको ज्यान बचाउने डाक्टरलाई १३÷१३ दिनसम्म संस्कारका नाममा बन्द गरिनु पनि न्याय हुँदैन त्यसैले समयको माग अनुसार अनि शास्त्रसम्मत नै हुने गरी, समाजमा विद्यमान परम्परालाई जबरजस्ती नगरी सबै विज्ञसँग र समाजसँगै छलफल तथा बहस गरी सहमतिकै आधारमा संस्कारमा रूपान्तरण आवश्यक भएको छ । हामी स्रष्टाले पनि आफ्नो जीवनमा आफैँले समय सापेक्ष हुने गरी व्यवहार गरिनु आवश्यक छ । हाम्रो समाजमा मान्छेको मृत्यु भएपछि लासलाई गाड्ने वा चिहान बनाएर राख्ने पद्धतिभन्दा जलाउने तरिका भने वैज्ञानिक छ, यसलाई भने अवलम्बन नै गरिनु उपयुक्त हुन्छ भन्ने धारणा राख्नु भयो ।
गोष्ठीमा प्रमुख अतिथि डा.मोदनाथ प्रश्रितले रमेश गौतम पाल्पाली’द्वारा लिखित उपन्यास सहारा’को र डा. अम्बिका घिमिरे ‘रिमाल’द्वारा लिखित समिक्षा सँगालो कृतिको लोकार्पण गर्नु भयो । लोकार्पित उक्त कृतिमाथि डा.खेम कोइराला बन्धु’ले समीक्षा गर्नु हुँदै उपन्यासकार गौतमको यो कृति अनुभूतिको जीवन्त र कलात्मक सँगालो हो । लेखकले नौलो र पृथक विषयमा कलम चलाएका छन्, स्वदेशदेखि विदेशसम्मका आफूले देखेका वृद्धवृद्धाको पीडालाई, उनीहरूको आबाजलाई जीवन्त रूपमा उजागर गरेका छन्; कुनै पनि वाद, वर्ण र लिङ्गभन्दा माथि उठेर उत्कृष्ट उपन्यास तयार पारेका छन् त्यसैले यो कृति पठनीय मात्र होइन सङ्ग्रहणीय पनि बनेको छ भन्ने धारणा राख्नु भयो ।
गोष्ठीमा जगन्नाथ आचार्य, प्रेम सिलवाल, केशवराज निश्चल, पूर्ण विराम, रमेश पोखरेल, पीताम्बर भण्डारी, शिव नेपाल, अतृप्त पाण्डेय, मुकुन्द न्यौपाने, कृष्णदेव रिमाल, विधान आचार्य, जयन्ती स्पन्दन, भोलानाथ सुवेदी, रापी वाशिष्ठ, डम्बरध्वज लिम्बू, डम्बर घिमिरे, मोहनमणि पोखरेल, उमेश उपाध्याय, कमला देवकोटा, कल्पना काफ्ले, सानु पहाडी, पुण्य गौतम विश्वास’, हीरामणि पाण्डे, इन्दु अंशु, असीम सागर, नारायण ज्ञवाली, रूपक अलङ्कार, बालकवि पुष्कल किरण, उर्मिला पन्त पाण्डेय र सुदेश सत्यालले आआफ्ना कविता, गीत, गजल वाचन गरेका थिए ।
वाचित सिर्जनामाथि टिप्पणी गर्दै समीक्षक सोमनाथ दाहालले रचनाहरू समसामयिक भूकम्प विशेष र अन्य वाचित भएका, भौतिक र मानसिक क्षतिका कुराहरू कवितामा आएका, राष्ट्रियताका पक्षमा वकालत गरिएका, युवा बिदेसिएका पीडा कवितामा आएका, छन्दका केही रचना आए पनि केहीको छन्द नमिलेको तर पनि प्रायः कविता राम्रा रहेका; राहत सङ्कलन र त्यसमा देखिएको विकृति, थोत्रा संस्कृतिमा रूपान्तरणको आग्रह, अभिव्यञ्जनात्मकता र विम्बात्मकताको प्रयोग, मानवीय र राजनीतिक कमजोरी उपर व्यङ्ग्य, उद्योगी र व्यापारीका प्रति व्यङ्ग्य, केही कवितामा आध्यात्मिक प्रभाव रहे पनि प्रायः कवितामा आशावादी जीवन दृष्टि सम्प्रेषित रहेकाले गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नु भयो ।
लोकार्पित उपन्यासका स्रष्टा रमेश गौतम पाल्पाली’ले आफूले नेपालमा र अस्टे«लियामा रहेका वृद्धवृद्धाका समस्या नजिकबाट देखेको हुँदा त्यही विषयलाई औपन्यासिकता प्रदान गरी उनीहरूका प्रति न्याय गर्नु पर्छ भन्ने लागेर उपन्यास लेखेको हुँ । यसलाई पढि दिएर प्रतिक्रिया लिखित वा मौखिक रूपमा दिन सबैमा आग्रह गर्दछु भन्नु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले आजको यो विशेष गोष्ठीमा मृत्यु संस्कारका बारेमा डा.मोदनाथ प्रश्रितले गर्नु भएको परिचर्चा तथा कविता सुनेर आनन्दित हुन पाएको, चिनियाँ साहित्यकारहरूले विषय र क्षेत्र तोकेर आवश्यकतानुसारको साहित्य लेख्ने गरेको अनुभव सुनाएका हुँदा हामीले पनि हाम्रो देशलाई चाहिने कुरा कवितामा लेखिनु पर्दछ, अर्थात् मूर्त विषयमा लेखिनु पर्दछ । अब नव निर्माणका कविता लेखिनु पर्दछ । सांस्कृतिक रूपान्तरणका सम्बन्धमा भने समाजमा विद्यमान गारासाँघुरा संस्कारगत कुरालाई छोट्याउने, घटाउने वा रूपान्तरण गर्ने कार्य गरिनु पर्दछ र यस्ता बेवहारका कुरालाई आफैँबाट थालनी गर्नु पर्दछ तब मात्र समाज परिवर्तन हुन्छ, गतिशील हुन्छ । संस्कारगत कुरा पनि व्यवहारिक हिसाबले परिवर्तन गर्दै नलगेमा पालना गर्न कठिन हुन्छ । आखिर हामीले पितृको नाममा गर्ने श्राद्ध भनेको सम्झना र सम्मान न हो, यसलाई समय सापेक्ष गर्नु पर्दछ भन्नु भयो ।
गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ । आज हाम्रो समाजमा विद्यमान जन्म र मृत्यु संस्कार र त्यसमा रूपान्तरण’ विषयमा बहस चलाउनु पर्छ भन्ने लागेर यो विषय रोज्यौँ । यस कार्यक्रममा उपस्थित भई वरिष्ठ प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रितले विस्तृत रूपमा सामाजिक रूपान्तरणका लागि आफ्ना धारणा राखि दिनु भयो । उपन्यास लोकार्पित भयो र त्यसमा समीक्षा पनि भयो । स्रष्टाहरूले आआफ्ना उत्कृष्ट रचना वाचन गरि दिनु भयो, सोमनाथ दाहालले टिप्पणी गरि दिनु भयो सबै सबैलाई हार्दिक धन्यवाद छ भन्दै गोष्ठीको समापन गर्नु भयो ।