साहित्य सन्ध्यामा ‘युवा पलायनः राष्ट्रिय समस्या र समाधान’ विषयक गोष्ठी सम्पन्न

रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या, काठमाडौँ

मितिः २०७०।१२।१

साहित्य सन्ध्याको ३३६ औँ कार्यक्रम चैत्र १ गते शनिवार अपराह्न १ बजे ‘माइल स्टोन कलेज, बालकुमारीको सभाकक्षमा ‘युवा पलायनः राष्ट्रिय समस्या र समाधान’ विषयक विशेष कार्यशाला गोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष कार्यशाला गोष्ठीका विशेष अतिथि डा.विजयकुमार पौडल हुनु हुन्थ्यो भने अतिथिहरूमा सभासद् शान्ता मानवी, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरी, महासङ्घका महासचिव राजेश थापा, महासङ्घका सल्लाहकार रामप्रसाद प्रदीप र देवी नेपाल उपस्थित हुनु हुन्थ्यो ।
image

साहित्य सन्ध्याका अध्यक्ष राम विनयले विषय प्रवेश गर्दै कार्यशाला गोष्ठीको आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्नु भएपछि “युवा पलायनः राष्ट्रिय समस्या र समाधान” विषयमा केन्द्रित रही डा.विजयकुमार पौडेलले कम्पुटर पावर प्वाइन्टबाट कार्यपत्र प्रस्तुत गर्नु भयो । प्रतिभा पलायनका कारणहरूमा स्वदेशमा रोजगारीको अभाव हुनु, व्यावसायिक वातावरणको अभाव हुनु, युवाले प्रतिभा देखाउने अवसरको अभाव, विनाउद्देश्यका आन्दोलनहरू भइ रहनु, राजनीतिक अस्थिरता उत्पन्न हुनु; राजनीतिक पार्टीहरूमा राष्ट्र निर्माणको स्पष्ट नीति, दृष्टिकोण तथा व्यावहारको अभाव हुनु जस्ता प्रमुख रहेका दृष्टान्त दिनु भयो । माक्र्सले हरेक मुलुकमा हरेक दश वर्षमा कुनै न कुनै परिवर्तनकारी आन्दोलन हुन्छ भनेर गरेको भविष्य वाणी हाम्रो मुलुकमा यथार्थ सावित भएको, हाम्रो देशको सामाजिक अवस्था अझैसम्म पनि सामन्ती चरणमै रहेको, हाम्रो आर्थिक–सामाजिक अवस्था परम्परागत, आधुनिक एवम् वैज्ञानिक सबै खालको रहेको; अर्थतन्त्रले नागरिकको मनोविज्ञानमा समेत प्रभाव पार्ने, नेपालको सामाजिक अवस्थामा परिवर्तन हुँदै आएको जस्तै २०१६ सालमा विर्ता, रजौटा उन्मूलन भएको, २०२१ मा भूमि सुधार लागु गर्न तत्कालीन निरङ्कुश सत्ता बाध्य भएको, समाजमा धेरै प्रकारका कुप्रथा हालसम्म विद्यमान रहे पनि तिनले वैधानिकता नपाएका तर तिनको अवशेष भने रहि रहेको, यही विसङ्गत समाजिक संरचनाभित्र पनि निजामतीमा ७६ हजार, संस्थानमा ३७ हजार, जनपद र सशस्त्रमा गरी एक लाख, सेनामा एक लाख, सेवा व्यावसायमा २ लाखले रोजगारी प्राप्त गरेका भए पनि अन्य लाखौँको सङ्ख्या युवा पलायन भएका छन् । युग अनुसारको दिशा, दृष्टिकोण र योजना मुलुकले अवलम्बन गर्न नसकेकाले युवा पलायन हुन बाध्य हुनु परेको तथ्य तथ्याङ्कगत रूपमा उजागर गर्नु भयो ।
image

अहिले हाम्रो मुलुकमा विद्यमान रहेको पुँजीवाद स्वतन्त्र पुँजीवाद नभएर दलाल पुँजीवाद हो जसले कृत्रिम मूल्यवृद्धि सिर्जना गर्दछ, मूल्य अभिवृद्धि नहुने अनुत्पादक क्षेत्रमा कमिसन, सिन्डिकेट लागु गर्छ । स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धालाई अस्वीकार गरी एकाधिकार, सिन्डिकेट जस्ता कुराले प्राथमिकता पाउने भई अर्थतन्त्र, प्रशासन, पार्टीहरू सबै सबै ठाउँमा दलाली तन्त्रले राज गर्छ जो अहिले प्रत्यक्ष देखिएको पनि छ । यसले गर्दा रोजगारीको तथा अन्य अवसरको अभावमा युवा पलायन हुन बाध्य हुन्छन् । युवा पलायन हुने र देश वृद्दाश्रम हुने यो विकराल समस्यालाई रोक्ने उपाय भनेका – राष्ट्रिय जागरणको आन्दोलन गरिनु पर्ने, उत्पादकहरूले सङ्गठन निर्माण गर्न नपाउने कानुनी व्यवस्था गरिनु पर्ने, जस्तोसुकै अपमान सहेर पनि मानिसहरू विदेश जान लालायित हुने अवस्थाको अन्त्यका प्रभावकारी योजना ल्याइनु पर्ने, राष्ट्र निर्माणको सही कार्यक्रम, कार्यनीति र कार्यदिशा तय गरिनु पर्ने, प्रतिवद्ध राजनीतिक नृतृत्व हुनु पर्ने, राजनीतिक स्थिरताका लागि सोझै जनताले निर्वाचित गरेको प्रधान मन्त्री वा राष्ट्रपति हुनु पर्ने, स्रष्टाले सिर्जनाका माध्यमबाट जागरण फैलाउने, दबाब दिने कार्य गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

image

राज्यले ठिक ढङ्गले काम नगरेका कारण दलाल पुँजीवाद सक्रिय भएको र त्यसको मार जनतामा परेको, राष्ट्रमा अवसर नपाउँनुको पीडा वा बाध्यताले बाहिरिनु पर्ने मनोविज्ञान सिर्जना भएको कारणले जन जीवन प्रभावित बनेको, पलायनको मनोवृत्ति युवामा मात्र होइन अन्यमा समेत लतकै रूपमा विकसित भएको हुँदा जनताको आवश्यकता र आकाङ्क्षा अनुसार राज्यले काम गर्नु आजको नितान्त आवश्यकता रहेको तर भोट काटिने सन्त्रास समेत पालेर राजनीतिक नेतृत्वले काम गर्ने गरेको जस्ता पक्षले युवा पलायनमा सहयोग गरि रहेका धारणा राख्नु भयो । उक्त विशेष कार्याशाला गोष्ठीमा प्रेमराज सिलवाल, गोपाल बराल, प्रशान्त खरेल, शान्ता मानवी, शिवप्रसाद नेपाल, निर्भीक राई लगायतले अन्तरक्रियामा भाग लिनु भएको थियो ।

image

प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरीले अहिले मुलुकले नव औपनिवेशिक उत्पीडन व्यहोरि रहेको, दलाल पुँजीवादको विकास तीब्र रूपमा भइ रहेको, ठुला राजनीतिक परिवर्तनहरू भए पनि राजनीतिक संस्कारमा परिवर्तन हुन नसकेको, विदेशी शक्तिको नाङ्गो हस्तक्षेप भइ रहेको, समकालीन पुँजीवादले उद्देश्यमूलक ढङ्गले पश्चिमी मोह बढाइ दिएको र उपभोक्तावादको यो चरम रूपले मानवीय आकाङ्क्षा पनि बढाइ दिएकाले युवा पलायनमा तीब्रता आएको हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि काव्यिक हस्तक्षेप आवश्यक छ र साँचो अर्थमा सांस्कृतिक रूपान्तरण आवश्यक छ भन्ने धारणा राख्नु भयो ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले अत्यन्तै आवश्यक र समसामयिक कार्यक्रमको आयोजना भएको, अर्थशास्त्रलाई साहित्यमा जोड्ने सकारात्मक कार्य भएको, तथ्यपरक रूपमा यथार्थको मूल्याङ्कन गर्ने र साहित्यकारलाई दायित्व बोध गराउने अत्यन्तै महत्त्वपूर्ण गोष्ठी सम्पन्न गरेकोमा साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिनु भयो । देवी नेपालले  थाहा पाएका जस्ता लाग्ने कुराहरूलाई अत्यन्त तथ्यपूर्ण ढङ्गले समाज विकासका ऐतिहासिक तथ्य समेत समावेश गरी पानी सुकेको ट्युबवेलमा एक लोटा पानी हालेर फेरि पानी निरन्तर तान्न मिल्ने बनाएसरि स्रष्टालाई ऊर्जा प्रदान गर्ने कार्यपत्रलाई प्रविधिका माध्यमबाट पेस गर्नु भएकोमा डा.पौडेललाई हार्दिक धन्यवाद दिनु भयो र वाचित केही कविताको समीक्षा समेत गर्नु भयो । सभासद् शान्ता मानवीले राज्यले सामाजिक सुरक्षाका प्रभावकारी कायक्रम नल्याएको, कृषि नीति नल्याएको कारणले पनि अवसरको खोजी गर्दै युवा पलायन हुनु परेको तथ्य कार्यपत्रमा आएकाले गोष्ठी उपलब्धिमूलक रहेको धारणा राख्नु भयो ।

गोष्ठीमा डिल्लीराज अर्याल, प्रेमराज सिलवाल, पुनाराम गिरी, प्रशान्त खरेल, अतीन्द्र दाहाल, नरेश शाक्य, शिवप्रसाद नेपाल, रमेश गौतम ‘पाल्पाली’, जयन्ता पोखरेल, निर्भीक राई, गोपालकुमार मैनाली, रामप्रसाद प्रदीप र राम विनयले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भयो ।

अध्यक्ष राम विनयले सबैलाई हार्दिक धन्यवाद दिनु भयो र समसामयिक विषयमा गरिएको गोष्ठीमा कार्यपत्र पेस गरि दिने डा.यिकुमार पौडेल, महासङ्घका अध्यक्ष खगेन्द्र राई, प्रलेस अध्यक्ष अमर गिरीलाई विशेष धन्यवाद दिँदै गोष्ठीको प्रभाव हाम्रो लेखनमा परोस् र सामाजिक सांस्कृतिक रूपान्तरणमा प्रभाव पार्न सकियोस् भन्ने कामना सहित गोष्ठीको समापन गर्नु भयो ।                                                                                      

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *