साहित्य सन्ध्यामा ‘योग विज्ञान र मानव जीवनमा यसको उपयोगिता’ चर्चा

रमेश पोखरेल, काठमाडौं

साहित्य सन्ध्याको नियमित मासिक ३६२ औँ शृङ्खला साउन १ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । ‘योग विज्ञान र मानव जीवनमा यसको उपयोगिता’ विषयक विशेष चर्चा तथा कविगोष्ठी गरी सम्पन्न गरिएको उक्त गोष्ठीका प्रमुख अतिथि वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रित हुनु हुन्थ्यो भने विशेष अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनु हुन्थ्यो । उक्त विशेष समारोहको सञ्चालन सन्ध्याका सदस्य भागवत आचार्यले गर्नु भएको थियो । अतिथिहरू प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रा.लक्ष्मी गुरागाईँ, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्र निरौला, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डे, शब्द संयोजन साहित्यिक मासिकका सम्पादक शीतल गिरी, वरिष्ठ कविहरू कणाद महर्षि, रामबहादुर पहाडी र डिल्लीराज अर्याल, स्रष्टा समाजका अध्यक्ष अतृप्त पाण्डेय, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका सदस्य डा.षडानन्द पौडेल, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, अग्रज स्रष्टा आनन्दराम पौडेल उपस्थित हुनु हुन्थ्यो ।

image

image

image

image

‘योग विज्ञान र मानव जीवनमा यसको उपयोगिता’ विषयमा विशद चर्चा गर्नु हुँदै प्रमुख अतिथि वरिष्ठ प्रगतिवादी साहित्यकार, संस्कृतिविद् डा.मोदनाथ प्रश्रितले योग भनेको अध्यात्मसँग मात्र जोडिने विषय होइन, यसको क्षेत्र विशाल रहेको छ । सत्य युगमा ब्रह्मा, विष्णु र महेशसम्मको चर्चा रहेको छ । योगीले गेरु वस्त्र धारण गरी योगको अनुशरण गर्ने कुरा उल्लेख भएको पाइन्छ । जब योगीहरूले योग साधनाले सिद्धि प्राप्त गर्दै जान्छन् सासको मात्रा घटेर प्रति मिनेट ६–७ मा झर्दछ, अन्यथा सामान्य मान्छेले प्रति मिनेट १५–१७ पटक सास फेर्दछ । यस आधारमा १०० वर्षको आयु भएको एक जना मान्छले एक करोड पटक सास फेर्दछ; खरायोले प्रति मिनेट १५० पटक सास फेर्दछ र उसको आयु छ वर्ष मात्र हुन्छ, त्यसै गरी कछुवाले प्रति मिनेट ५–६ पटक मात्र सास फेर्ने हुँदा उसको आयु सरदटर २७५ वर्षसम्म हुने गरेको पाइन्छ । हाम्रो शरीरको दाहिने नाकले तातो सास बाहिर निकाल्छ र देब्रे नाकले चिसो सास बाहिर निकाल्छ, यो प्राकृतिक नियम हो । शरीर बलियो हुनका लागि रक्त सञ्चार ठिक हुनु पर्दछ, त्यसका लागि प्राणायम आवश्यक पर्छ । यो नै शरीर स्वस्थ बनाउने वैज्ञानिक प्रणाली हो अर्थात् शरीर विज्ञानसित यसको घनिष्ठ सम्बन्ध हुन्छ । प्राणायम घाम झुल्केपछि र साँझ घाम डुब्नुअघि गर्नु पर्छ । अध्यात्मवादले योगका प्रवर्तक शिवलाई मानेको छ र शैव सभ्यतालाई जेठो सभ्यता मानिन्छ, त्यसका अलावा आर्य सभ्यता र द्रबिड सभ्यता प्रचलित छन् । बुढेस कालमा चेतना कमजोर हुनु भनेको मस्तिष्कमा अक्सिजनको कमी भएर हो । प्राचीन ऋषिहरू अनुसन्धाता थिए तर अहिलेका हामी अनुसन्धानबाट टाढा भयौँ । दक्षिणतिर द्रबिडले फलामका औजार बनाए, उत्तरका आर्यले तामाका सामान चलाएर तामालाई शुद्ध भनि दिए । यसरी दार्शनिक दृष्टिकोणहरू फक फरक रहेका पाइन्छन् । हामीले चाहिँ व्यवहारमा लागु गर्न सकिने शारीरिक व्यायाम, खानपान, घुमफिर गर्ने जस्ता सामान्य नियमको पालना गर्छौँ, यही नै योग अभ्यास हो । भ्रामरी प्राणायमले मस्तिष्कलाई आराम दिन्छ, ताजा बनाइ राख्छ । हाम्रो मस्तिष्क ज्यादै चञ्चल हुने हुनाले चित्तको एकाग्रताका लागि ध्यान आवश्यक हुन्छ । राम्रो गीत सुनेर चित्त प्रफुल्ल पार्नु, नाच्नु, हाँस्नु पनि प्रकारान्तरले योग नै हो । अर्थात् योग भनेको जीवन प्रणाली हो । योग भनेको शान्तिको मार्ग पनि हो । हाँसो, खुसी, आहार बिहार सबै योग हुन्, प्राकृतिक र वैज्ञानिक कुरा हुन् । अझ यसो भन्न सकिन्छ –जीवनलाई व्यवस्थित गर्ने प्रणाली योग हो । अहिले विज्ञान अझ बढी सूक्ष्मतातिर गइ रहेको छ । त्यसैले हामीले पनि आफू स्वस्थ रहनका लागि नियमित रूपमा योग साधना गर्नु आवश्यक छ, विधिपूर्वक गर्नु आवश्यक छ भन्ने धारणा राख्नु भयो । उपस्थित सहभागीले अन्तरक्रिया समेत गर्नु भएको थियो ।
साहित्य सन्ध्याका कोषाध्यक्ष एवम् ध्यान गुरु गोपालकुमार मैनालीले पनि योग भनेको विज्ञान हो । यसले मानव शरीर स्वस्थ राख्न ठुलो भूमिका निर्वाह गर्दछ । नियमित कम्तीमा प्राणायम (आठ प्रकारका) मात्रै गर्ने हो भने मानिस नीरोगी हुन सक्छ भन्ने तथ्यलाई संसारका विकसित मुलुकले समेत स्विकारेका छन् भन्ने दृष्टान्त सहित प्रकाश पार्नु भयो ।
image

image

image

गोष्ठीमा कविहरू गीता खनाल, अमृता स्मृति, मुकुन्द न्यौपाने, पूर्ण विराम, अतृप्त पाण्डेय, सरस्वती चिमौरिया, रमेश गौतम पाल्पाली, सरु काबिया, हेमत्न शिशिर, कणाद महर्षि, डिल्लीराम अर्याल, पीताम्बर भण्डारी, आनन्दराम पौडेल, प्रेमराज सिलवाल, वसन्तराज फुयाल, रामबहादुर पहाडी, नारायण भण्डारी जनकपुरी, गोविन्द नेपाल, रामदेव पाण्डेय, रिता खत्री र राम विनयले आआफ्ना समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
image

image

image

वाचित रचनामाथि प्रा.लक्ष्मी गुरागाईँले टिप्पणी गर्नु हुँदै कविले समाजमा देखेका, भएका कुरालाई काव्यविम्बका माध्यमबाट यथार्थ अभिव्यक्ति दिन्छन् । शास्त्रीय छन्दका कविता कम लेखिन थालेको वर्तमानमा युवा पुस्ता शक्तिशाली चुम्बक जस्तै तान्न सक्ने कविताका साथ आइ रहेको पाउँदा खुसी पनि लागेको छ । आजका कवितामा सूत्रात्मकता अर्थात् थोरैबाट धेरै भन्न सक्ने विशिष्टता देखिएको छ । देशलाई ज्वरो आएको, विरामी भएको हुँदा उपचार आवश्यक छ भन्ने समसायिकता कवितामा आएका छन् । मर्न नसकेका प्रति मौन धारण जस्तो शक्तिशाली विम्ब कवितामा प्रयोग भएको छ । उब्जाउने हातहरू विदेश पलायन भएर देश बृद्धाश्रम भइ रहेको दुर्दशा कवितामा अभिव्यक्त भएको पाइन्छ । राजनीतिक भाइरस समाप्त पार्ने एन्टी भाइरस देशलाई आवश्यक भएको चिन्तन कवितामा अभिव्यक्त भएका छन् । समाजको पीडा र यथार्थ, उत्पीडनका अभिव्यक्ति कवितामा सशक्त रूपमा आएका हुँदा आजको गोष्ठी नै अत्यन्त सार्थक रहेको धारणा राख्नु भयो ।
image
image

image

गोष्ठीका सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । अहिले सहरीकरणका कारण हाम्रो वातावरण दूषित मात्र भइ रहेको छैन विषाक्त समेत बन्दै गइ रहेको छ । यस्तो अवस्थामा हामी आफैँले स्वस्थ रहने उपाय अवलम्बन गर्नुको विकल्प छँदै छैन त्यसैले ‘योग विज्ञान र मानव शरीरका लागि यसको उपयोगिता’ विषयमा विज्ञद्वारा परिचर्चा गर्नुलाई हामीले समसायिक र सार्थक ठान्यौँ अनि हाम्रा आदरणीय अग्रज वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितलाई अनुरोध गर्यौँ । उहाँले अनुरोध स्वीकार गरेर आइ दिनु भयो । त्यसै गरी वाचित रचनामाथिको टिप्पणीका लागि प्रा.लक्ष्मी गुरागाईँलाई आग्रह गर्यौँ । उहाँ पनि आइ दिनु भयो । योग विज्ञानका बारेमा विशद चर्चा र अन्तरक्रिया पनि भयो । यसबाट पक्कै पनि हामी लाभान्वित भयौँ भन्ने हाम्रो निष्कर्ष छ । विज्ञहरू, साहित्यकारहरू समय निकालेर यहाँ आइ दिनु भयो, सबै सबैमा हार्दिक धन्यवाद छ भन्नु हुँदै अर्काे महिना पनि कुनै विशेष विषय सहित उपस्थित हुने प्रतिवद्धताका साथ गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *