साहित्य सन्ध्यामा ‘लघु कथा लेखन’ परिचर्चा तथा कविगोष्ठी सम्पन्न

साहित्य सन्ध्याको नियमित मासिक ३७० औँ शृङ्खला फागुन ७ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । उक्त विशेष गोष्ठीमा ‘लघु कथा लेखन सम्बन्धी प्रशिक्षणमूलक परिचर्चा’ तथा गोष्ठी गरिएको थियो । उक्त विशेष गोष्ठीमा डा.विजय सुब्बा, प्रा.गङ्गाप्रसाद अधिकारी, डा.षडानन्द पौड्याल, वरिष्ठ कविहरू पूर्ण विराम, वासुदेव अधिकारी र कणाद महर्षि, लघु कथा समाजका पुष्करराज भट्ट, प्रा.डा.खेम दाहाल, ललित बस्नेत ‘भिमाली’, हरि भण्डारी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

अन्तर्राष्ट्रिय कवि होचिमिनको पुरानो अनुवाद कविता साहित्य सन्ध्याका लागि पूर्ण विरामले ल्याउनु भएको र त्यसलाई साहित्य सन्ध्याका अध्यक्ष राम विनयले वाचन गरेर गोष्ठीको शुभारम्भ गर्नु भएको थियो ।

​गोष्ठीका अतिथि लघु कथा समाजका पुष्करराज भट्टले लघु कथा लेखनको ऐतिहासिक पृष्ठभूमि, लघु कथा लेखनको विकास क्रम, वर्तमान अवस्था, लघु कथा लेखनमा ध्यान दिनु पर्ने पक्षहरू, लघु कथाको आकार, विषय वस्तुको उठान र समापनमा ध्यान दिनु पर्ने पक्ष आदि समग्र विषयमा विशद चर्चा गर्नु हुँदै छोटोमा धेरै कुरा साङ्केतिक वा विम्बात्मक रूपमा भन्नु पर्ने हुँदा लघु कथा लेखकले विशेष ध्यानु दिनु पर्ने, सचेत हुनु पर्ने, पाठकको ध्यान तान्न सक्नु पर्ने हुन्छ र यी यावत पक्षमा सचेत भएर लघु कथा लेख्ने हो भने मात्र सुन्दर सिर्जना तयार हुन सक्छ भन्ने धारणा व्यक्त गर्नु भयो ।

गोष्ठीमा स्रष्टाहरू अम्बिका अधिकारी, प्रेमराज सिलवाल, रमेश गौतम ‘पाल्पाली’, पूर्ण विराम, मोहनमणि पोखरेल, अभ्यस्त यात्री, जयन्ती स्पन्दन, नवराज श्रेष्ठ, मुकुन्द न्यौपाने, गङ्गा पौडेल कर्माचार्य, कणाद महर्षि, हरि भण्डारी, खेम दाहाल, गोपाल नेपाल, ललित बस्नेत ‘भिमाली’, डम्बर पहाडी, चूडा निर्भीक, भावना न्यौपाने, डा.षडानन्द पौडेल, डा.विजय सुब्बा, वासुदेव अधिकारी, उत्सव, कृष्णदेव रिमाल, पाण्डवराज कार्की र राम विनयले आआफ्ना कविता, गीत, गजल, लघु कथा वाचन गर्नु भयो ।

​वाचित कवितामाथि टिप्पणी गर्नु हुँदै प्रा.गङ्गाप्रसाद अधिकारीले कविले भाषा, भाव र लयमा मात्र ध्यान दिएर कविता बन्दैन; कविता हृदय स्पर्शी हुनु पर्छ, कलात्मक हुनु पर्छ र विम्बात्मक हुनु पर्छ । कविता लेख्नु भनेको सिर्जना गर्नु हो । नवोदितहरूले स्थापितहरूका विम्ब प्रयोग, अभिव्यक्तिको शैली, विषयको प्रस्तुति आदि पक्षबाट सिकेर कविता सिर्जना गर्न सकियो भने मात्र कविता सुन्दर हुन्छ । आज वाचित कविताहरू उच्च स्तरका देखि सामान्यसम्मका पाइए तर प्रायः सबै कवितामा देश दुखेको समस्या प्रतिविम्बित भएको छ, समाजका होचाअर्गेला र विभेद आदिको अभिव्यक्तिका माध्यमबाट रूपान्तरणको आग्रह गरिएको छ । कविहरूले बिउँझाउने र झक्झक्याउने काम गरेका छन् । समग्र कविताको स्वर चाहिँ रूपान्तरणका पक्षमा नै केन्द्रित रहेको छ । यसर्थ आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नु भयो ।

​गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । यसले हरेक महिना कुनै न कुनै विशेष समसामयिक विषयमा परिचर्चा गर्ने गर्दछ । आजको यो शृङ्खलामा हामीले ‘लघु कथा लेखन प्रशिक्षणमूलक परिचर्चा’ विषयमा छलफल चलायौँ र कविगोष्ठी सम्पन्न गरेका छौँ । लघु कथा समाजलाई यस विषयमा परिचर्चाका लागि आग्रह गर्यौँ र पुष्करराज भट्ट आइ दिनु भयो, जानकारीमूलक, प्रशिक्षणमूलक परिचर्चा गरि दिनु भयो । प्रा.गङ्गाप्रसाद अधिकारीले हाम्रो निम्ता स्विकारेर आजको गोष्ठीमा वाचित कवितामाथि मसिनो टिप्पणी गरि दिनु भयो । आगामी शृङ्खला हामी ‘कविता लेखन तथा वाचन कार्यशाला’को रूपमा सांस्कृतिक संस्थानसँगको सहकार्यमा राष्ट्रिय नाचघरमा सम्पन्न गर्ने छौँ । आजको यस गोष्ठीमा हाम्रो निम्ता स्विकारेर आइ दिनु हुने अतिथिज्यूहरू तथा सहभागी साहित्यकारकारू सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु भन्नु हुँदै गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *